नेपाल म्युजिक एवार्डको मनोनयन
चैत्र ५, २०७४
वि.सं. २०७५ वैशाख १५ गते वितरण गरिन लागिएको नेपाल म्युजिक एवार्डको टप फाइभका लागि गीत–संगीत तथा कलाकर्मीहरूको सूची सार्वजनिक गरिएको छ । चाहना मिडियाको आयोजनामा वितरण गरिने उक्त एवार्डका लागि परेका एक हजार बढी आवेदनबाट आयोजकले विभिन्न विधाका उत्कृष्ट पाँचको नाम सार्वजनिक गरेको हो ।
एवार्डमा पहिलो पटक अनलाइन प्रणालीमार्फत फारम भर्ने व्यवस्था मिलाइएको छ । नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको एवार्डमा ३८ विधाका कलाकारलाई पुरस्कृत गरिने छ भने राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लाइफ टाइम अचिभमेन्ट एवार्ड, वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई लोकसाहित्य सम्मान तथा प्राज्ञ हरिदेवी कोइरालालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।
टप फाइभ जुरीकै निर्णयअनुसार छानिए पनि सर्वोत्कृष्ट छान्ने प्रक्रियामा भने जुरीसँग ५० प्रतिशतमात्र हुनेछ । त्यसबाहेक २० प्रतिशत एसएमएस, १० प्रतिशत आयोजक र २० प्रतिशत अनलाइन भोटिङका आधारमा हुनेछ । अनलाइन भोटिङ नेपालमा हुने एवार्डको इतिहासमै पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो ।
उत्कृष्ट पाँचअन्तर्गत आधुनिक तथा पपका उत्कृष्ट मोडल (महिला) मा प्रियंका कार्की, वर्षा राउत, वर्षा सिवाकोटी, स्वस्तीमा खड्का तथा शिल्पा पोखरेल छन् । यस्तैगधरी उत्कृष्ट मोडल (पुरुष) मा पल शाह, नीराजन प्रधान, आयुषमान देशराज, पुष्प खड्का, सनम कठायत छन् । लोकदोहोरीतर्फ उत्कृष्ट महिला मोडलहरूमा रन्जिता गुरुङ, पार्वती राई, सारिका केसी, सगुन शाही, पूर्णिमा श्रेष्ठ छन् । त्यस्तै उत्कृष्ट पुरुष मोडलहरूमा आशिर प्रताप, धु्रव हिमाली, बुद्धवीर थापा, विक्रम चौहान, ओम रायमाझी छन् । आधुनिक पपअन्तर्गत उत्कृष्ट पुरुष मोडलमा देवेन्द्र क्षेत्री, दीपक काफ्ले, भुपेन्द्र बानियाँ, सूर्य ढकाल, कौशल नेपाल छन् ।
सार्वजनिक भएको उत्कृष्ट महिला गायन (लोकदोहोरी) मा विष्णु माझी, पूर्णकला विसी, देवी घर्ती, मुना थापा, सीता थापा छन् । उत्कृष्ट महिला गायन (आधुनिक पप) मा अन्जु पन्त, मेलिना राई, श्रीयसी चेम्जोङ, रिता केसी, रेजिना रिमाल छन् । नव उत्कृष्ट महिला मोडल (लोकदोहोरी) मा करिश्मा ढकाल, अन्जली अधिकारी, रिचा थापा, रूपा कँडेल, सञ्चिता शाही छन् ।
नव उत्कृष्ट महिला मोडल (आधुनिक पप) मा कृष्टिना थापा, श्रृष्टि खड्का, दिपशिखा खड्का, करिश्मा ढकाल, अनु पराजुली छन् । यसबाहेक आधुनिक पपतर्फ उत्कृष्ट मोडल (पुरुष), लोकदोहोरीअन्तर्गत उत्कृष्ट मोडल (पुरुष), आधुनिक पप, लोकदोहोरी (गायक–गायिका) उत्कृष्ट भिडियो निर्देशक, एरेन्जर, म्युजिक कम्पनी, भिडियो सम्पादक आदि विधाबाट पनि विभिन्न प्रतियोगी छनौट भएका छन् ।
प्रकाशित :चैत्र ५, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्