बिहेको सिजनमा विज्ञान

- किशोर नेपाल

चैत्र ४, २०७४

आजका हाम्रा नवीन पुस्ताका मानिसहरू प्रेममा फैलिन चाहन्छन् । साथी नभएसम्म उन्नति सम्भव छैन भन्ने चिन्तन बढेको छ । मन र शरीरको न्यास्रो मेटाउन साथी त चाहिन्छ, तर फेला पार्ने कसरी ? मानिसहरू मुखले यो समस्यालाई हलुका तवरमा लिएको जस्तो देखाउँछन्, तर उनीहरूको मनमा यही प्रश्न आघातका रूपमा तेर्सिइरहेको हुन्छ । अलिकति विज्ञानले र धेरै बजारले मानिसको विवेकलाई नराम्रोसँग गाँजिसकेको छ । यस्तो समयमा हामीले आफूभित्रको सचेतना बढाउन सकेनौं भने पृथ्वी मानिसका लागि बस्न योग्य नहुन पनि सक्छ । 

बितेका केही वर्षहरूमा हामीले हाम्रो मस्तिष्क, मगज वा दिमाग जे भने पनि त्यसको संरचनामा परिवर्तन गरेका छौं । हामीले हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण विषय आफ्नो धर्तीको संरचना नै बदल्यौं । यो नै हाम्रो सबैभन्दा ठूलो अचेतना थियो ।

भुइँचालोले पृथ्वीलाई हल्लाउन थालिसकेपछि मानिसले अभूतपूर्व आनन्दको अनुभव गर्न सक्छ । भुइँचालोको करामती धक्कापछि हामी मानिस र हामी मानिसले थुपारेका धन–सम्पत्ति, अन्न–पात, लुगा–फाटो एक–अर्कामा मिसिन थाल्छन् । बजारको बीचको कफी स्टोरमा बसेर जसरी हामी स्मुथीसँग गिजोलिइरहेका हुन्छौं, त्यसरी नै प्रकृतिले हामीलाई गिजोलिरहेको हुन्छ ।

‘तिमी के गर्दैछ्यौ ?’ कसैले सोध्यो प्रजितालाई । 

उसले अनौठो जवाफ दिई, ‘आइ मिस, डुइङ नथिङ ।’

अहिले बिहेको सिजन छ । मानिसहरूलाई एकदमै धेरै सूचना चाहिन्छ । जाडो र गर्मीको सूचना । घाम र पानीको सूचना । साँझ र बिहानको सूचना । गोडा धुने सूचना । दुलहीले सके दुलाहालाई माउर ख्वाउने समयको सूचना । दुलहीले नसके ‘भाइसभर्सा’ । आखिर सूचना भनेको मानिसको गति र उसको सिर्जना हो ।

अद्भुत र अचम्मको छ यो संसार । २० वर्षअघि युरोप, अमेरिकामा इन्टरनेटको प्रयोग हुँदै हुदैन भने पनि हुन्थ्यो । मानिसले प्रयोग गर्ने ऊर्जाको शून्य प्रतिशत पनि इन्टरनेटमा खर्च हुँदैनथ्यो । अब अहिले युरोप–अमेरिकाको चर्चा किन गर्नु ? बेथानी माइली घाँस–दाउरा खोज्न जाँदा चौबीसै घण्टा मोबाइलमा इन्टरनेट प्रयोग गरेर विभिन्न भाषाका लोकदोहोरी सुन्छे । डाटाको प्रयोग विधि पनि उसैलाई आउँछ । युट्युबमा कसको गीत कति सय पटक बज्यो ? त्यो पनि त्यही मोरीलाई आउँछ ।

अहिले के कुरा गर्नु डिजिटल इकोनोमीको ? विश्वमा उत्पादन हुने बिजुलीको १० प्रतिशत बिजुली खान्छ डिजिटल इकोनोमीले । हवाईजहाजले डाटा ओसार्दा ५० प्रतिशत लाग्थ्यो भने अहिले त्योभन्दा बढी इनर्जी खपत हुन्छ अनि यो प्रतिशतचाहिं बढदे छ, घटदो हुने कुरै भएन ।

मानिसको इलेक्ट्रोनिक जीवनमा जति कार्बनको प्रयोग भैरहेको छ, त्यति नै हिमशिखरहरू पग्लिन थालेका छन् । यसरी पग्लिएका अर्बाैं टन हिउँले पृथ्वीको कोक्राबाट ठूलो संख्यामा ग्य्राभिटेसनल प्रेसर मुक्त हुन्छ । यो प्रेसर यसरी नै रिलिफ हुने हो भने हिमाली युगका बचेखुचेका अवशेषहरू लोप हुन केही दशक पनि लाग्नेछैन । यही ग्य्राभिटेसनल प्रेसरका कारण भुइँ हल्लिन्छ । भुइँचालो आउने–जाने गर्छ । सन् २०११ मा जापानमा गएको भुइँचालो संयोगले गएको थिएन । प्रकृतिसँग खेलबाड गर्ने, प्राकृतिक सम्पदाको सुरक्षा नगर्ने र प्रकृतिसँग विवेकपूर्ण सम्बन्ध नराख्ने मानिसहरूको स्वभावले उसैको क्षति गरिरहेको छ ।

प्रजिता भन्दै थिई, ‘मानिसहरूले कसरी हेरेका छन्, त्यो त मलाई थाह छैन तर मेरा पुस्ताका हामी साथीभाइहरू केही कुरा ‘मिस’ गरिरहेका छौं । हाम्रो जीवन त्यति रोचक हुन छाडेको छ । हाम्रो जुन समय थियो, जसलाई हामी अत्यन्त स्वतन्त्रतापूर्वक खर्च गथ्र्यौ, त्यो नै खुम्चिन लागेको छ । यसरी मानिसको मन र ह्दय खुम्चिनु भनेको राम्रो विषय त हुँदै होइन ।”

प्रजिताको हिसाबमा समय सार्‍ह चर्को स्पिडमा दौडिएको जस्तो पनि लाग्दैन, तर होइन, समयले आफ्नो स्पिड छाडेको छैन । यत्ति हो कि इन्टरनेटसँग दिमागको रिवाइरिङ गर्दा हामीले पुरानो पद्धतिको विकल्प स्थापित नगरी केही गर्नु नै मूर्खता हो ।

जग त जसो गरे पनि चाहिन्छ । 

प्रकाशित :चैत्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्