मधुमेहले उत्तेजनामा समस्या हुनसक्छ

- डा. सुमनराज ताम्राकार

फाल्गुन ३०, २०७४

मधुमेहबाट ग्रसित पुरुषमा लिंग उत्तेजनाको समस्या सिर्जना हुन सक्छ । सफल र सुखद यौनसम्बन्धका लागि पुरुष लिंग राम्रोसँग उत्तेजित हुनु जरुरी छ भने यौन उत्तेजनासँगै महिलामा पर्याप्त मात्रामा योनिरसको उत्पादन पनि आवश्यक छ । लामो समयसम्मको अनियन्त्रित मधुमेहले मृर्गौला, आँखा, मुटुमा तथा जस्तै स्नायु (नशा) मा पनि असर पुुर्‍याउन थाल्छ । फलस्वरुप पुरुषमा लिंग उत्तेजना हुन तथा महिलामा योनिरस उत्पादनमा नकारात्मक असर पुगी यौनक्रिया सफल हुन पाउँदैन । मधुमेह भएकाहरूमा उच्च रक्तचाप तथा अधिक कोलेस्ट्रोलको समस्यासमेत देखा पर्न सक्छ । यसले गर्दा यौन उत्तेजनासम्बन्धी थप समस्या निम्तिन सक्छ । 

पटक–पटकको लिंग उत्तेजना नहुने समस्याले पुरुषमा हीनताबोध सिर्जना भै यौन स्वास्थ्यमा बढी नकारात्मक असर पुग्छ । महिलामा पर्याप्त योनिरसको अभावमा योनिमार्ग सुख्खा भै यौनसम्पर्कका दौरान निकै पीडा महसुस हुन्छ । परिणामस्वरूप बिस्तारै यौनसम्पर्क राख्न नै तर्किने वा डराउने स्थिति उत्पन्न हुन्छ । नियन्त्रित मधुमेह भएका महिलामा सेतो पानी बग्ने अर्थात् योनिमार्गमा फङ्गल (ढुसी) संक्रमण हुने सम्भावना बढी हुन्छ ।

तुलनात्मक रूपमा मधुमेहले ग्रसित पुरुषमा लिंग उत्तेजनाको समस्या छिटै देखा पर्छ । यद्यपि मधुमेह भएकाहरूले पनि सफल यौनजीवन बिताउन सक्छन् । मधुमेह लाग्नै नदिन प्रयत्न गर्नुपर्छ । लागि सकेको भए मधुमेहको औषधि सेवन गर्नेबाहेक आफ्नो जीवनशैलीमा समेत परिवर्तन ल्याउनुपर्छ । गुलियो (मिठाई) नखाने, हरिया सागपात खाने, व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने आदि कार्यले यसमा फाइदा पुर्‍याउन सक्छ । रगतमा चिनीको मात्रा नियन्त्रणमा नआए लिंग उत्तेजित बनाउने औषधि तथा महिलामा योनिमार्ग चिप्लो पार्ने औषधि प्रयोग गर्न सकिन्छ । महिलामा सेतो पानी बग्ने समस्या छ भने त्यसको पनि यथोचित उपचार गराउनुपर्छ । 

आफू मधुमेही भएका कारणले लिंग उत्तेजनामा कमी आइहाल्छ वा यौन उत्तेजना नहोला कि भन्ने चिन्ता मनमा लिनु हुँदैन । यौन कल्पना र यौन सामग्रीको उपयोग सँगै लिंगमा उत्तेजना एवं परिवर्तन आउँछ भने यौनिक रूपमा आफू स्वस्थ्य छु भन्ने आत्मविश्वास हुनु पर्छ । दम्पतीहरूले आफ्नो जीवनसाथीको मधुमेह नियन्त्रणमा राख्न तथा उनको यौन दुर्बलता घटाउन सघाउ पुर्‍याउनुपर्छ ।

मधुमेहसँगै उच्च रक्तचाप, एलर्जी, मानसिक रोगको औषधि सेवन गरिरहेको र त्यसैले गर्दा यौन उत्तेजनामा असर पुगिरहेको भए सम्बन्धित चिकित्सकसँग परामर्श गरी वैकल्पिक औषधि सेवन गर्नुपर्छ ।

 

प्रकाशित :फाल्गुन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्