नेपालको अर्थ सेना

- मनोज गजुरेल

फाल्गुन २८, २०७४

गुप्तचर विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाबाहेक अर्को पनि एउटा सुरक्षा निकाय छ नेपालको । त्यो हो— नेपाली अर्थ सेना । यो सेनामा सेनापति, जर्नेल, कर्नेल केही हुँदैनन् । सबैको एउटै दर्जा हुन्छ, सिपाही । अर्थ सेनाका सिपाहीहरू विदेशमा क्याम्प खडा गरेर स्वदेशको अर्थतन्त्रलाई सुरक्षा दिने काम गर्छन् ।

बाहिरबाट हेर्दा उनीहरू वैदेशिक रोजगार हुन्, श्रमिक हुन्, कामदार हुन्, वर्कर हुन् तर वास्तवमा उनीहरू नेपालको अर्थतन्त्रलाई ढल्न नदिने आर्थिक सिपाही हुन् । नेपाली अर्थव्यवस्थाको एक चौथाइभन्दा बढी सुरक्षा यिनै अर्थ सेनाका सिपाहीहरूले गरेका छन् ।

नाकाबन्दी लाग्यो तैपनि हाम्रो चुलो निभेन । भुकम्प गयो तैपनि भोकमरी लागेन । बाढीपहिरो आयो तर पनि खान नपाएर कोही मरेन । जस्तोसुकै विपद्मा अर्थ सैन्य बलका यी सिपाहीहरू रणमैदानमा लडिरहे, देशको अर्थव्यवस्थालाई ढल्नबाट जोगाइरहे ।

अर्थ सेनाको कुनै हेड क्वार्टर छैन तर यसका पृतना, बाहिनी, गण, बटालियन, गुल्म र पोष्टहरू बिश्वभर छरिएका छन् । पुर्वी पृतना मलेसियामा छ जहाँ ५ लाखभन्दा बढी अर्थ सैनिक खटिएका छन् । साउदी अरेबिया र कतारमा पश्चिम पृतना छ त्यहाँ पनि त्यत्तिकै अर्थ सेना लडिरहेका छन्, भिडिरहेका छन् ।

कोरिया र जापानमा पचासौं हजारको बाहिनी छ । हङकङ अनि सिंगापुरमा लाखौंको गण छ ।

यसबाहेक ओमान, कुवेत, बहराइन, मालदिभ्स, अफगानिस्थान आदि देशमा नेपाली अर्थ सेनाहरू गुल्म, गण एवं पोस्ट खडा गरेर बसेका छन् । इजरायलमा करिब ५ हजार हाराहारीको टुकडी छ जहाँ लडाकु महिलाहरूले कमाण्ड सम्हालेका छन् ।

युरोप, अमेरिका, अस्ट्रेलिया आदि देशमा पनि ठूल्ठूला बटालियन छन् । फरक यति हो, यिनिहरू अर्थ सेनाका जगेडा सिपाही हुन् । भन्नुको मतलब यी सिपाहीमध्ये धेरै जना सधैंका लागि उतै पोस्टिङ भएका हुन् तर मातृभूमिको अर्थतन्त्र अप्ठेरोमा पर्दा यी सिपाहीहरू पनि युद्धभूमिमा उत्रिहाल्छन् । 

अर्थ सेनाको हतियार पाखुरी र पसिना हो । यसैको भरमा उनीहरू त्यहाँ युद्ध लड्छन् र स्वदेशमा भएको आफ्नो परिवारलाई आर्थिक रेस्क्यू गर्छन् । वैदेशिक हस्तक्षेपको चर्को डिफेन्स गर्छन् । फस्र्ट लाइटमा उठ्छन् र श्रमको पिटी खेल्छन् । लास्ट लाइटसम्म कामको परेड खेलेर परिवारको समस्यालाई डिस्पोज गर्छन् । गरिबिको रेखाबाट देशबासीलाई माथी उठाउन कर्मको रेड र श्रमको अट्याकमा सामेल हुन्छन् ।

यिनिहरू नेपाली अर्थतन्त्रका शक्तिशाली सिपाही हुन् भन्ने कुरा राज्यले बुझेर पनि बुझ पचाउने गरेको छ । त्यसको ज्वलन्त उदाहारण काठमाडांै एयरपोर्टमा देखिन्छ । इमिग्रेसनमा ‘कामदार’को लाइन छुट्टै हुन्छ । छुट्टैको अर्थ उनीहरूलाई विशेष सम्मान दिइएको होइन । उनीहरू कामदार हुन्, कामदार र अरू फरक हुन् भन्ने सोच त्यहीं देखिन्छ । 

यी सिपाहीहरूप्रति दलाल, म्यान पावर एजेन्सीदेखी लिएर जहाजमा समेत अलग व्यवहार गरिएको पाइन्छ । जहाजको बोर्डिङ पास लिने काउन्टरदेखि लिएर इमिग्रेसन अफिसरसमेतले राम्रो व्यवहार नगरेको ती सिपाहीहरूको गुनासो हुन्छ । इमिग्रेसनमा यी अर्थ सिपाही र अरूसँग बोलिने बोलीमा आकाश–जमिनको अन्तर पाइन्छ, जुन एकदमै दुखद कुरा हो ।

आर्थिक मिसनबाट फर्कंदा पनि उनीहरूप्रति गरिने व्यवहार दु:खलाग्दो छ । चर्को स्वरले बोल्ने, ‘तिमी’भन्दा माथी सम्बोधन नगर्ने, ग्रिन च्यानलमा धेरै बेर झुलाउने, दुख दिने, दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गर्ने कारणले पनि अर्थ सेनाको मनोबल गिराउने काम भएको पाइन्छ ।

सुने अनुसार, फिलिपिन्स आदि देशमा यस्ता सेनालाई रातो कार्पेटले स्वागत गरिन्छ । उनिहरूको इन्ट्री काउन्टर पनि फरक हुन्छ तर नेपालको जस्तो होइन, सम्मान स्वरूप फरक गरिएको । व्यवहारमा त हामीले त्यो खालको सम्मान दिने प्रयास गरेनौं तर बोलीमा त सम्मान गर्न सकिन्छ नि ।

त्यसका लागि हामीले वैदेशिक रोजगारहरूप्रतिको हेय दृष्टि बाहिर निकाल्नुपर्छ । उनीहरू कामदार मात्र होइनन्, नेपालको अर्थतन्त्रलाई सुरक्षा दिने सिपाही हुन् भन्ने तत्वबोध हुनु जरुरी छ— मङ्गल होस् । 

 

प्रकाशित :फाल्गुन २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्