दिल्लीको त्यो भेट

- प्रदीप सुवेदी

फाल्गुन २७, २०७४

यहाँ काम सकेर रघुवीर नगर जानु छ, मैले मुख खोलेपछि उनको अनुहार मलिन भयो । तपाईं द्वारका सेक्टरवाला मेट्रोमा जानुहोला । मलाई थाहा थियो ब्लू लाइनमार्फत रजौरी गार्डन मेट्रो स्टेसन पुगेपछि भारु १० मा ‘ब्याट्रीमा’ पुग्नेछु । नई दिल्लीमा आफ्नो करियरका लागि संघर्ष गरिरहेकी कृतिसँग भेट हुनु चानचुने संयोग थिएन, चाँदनी चोकको व्यस्त फेसन स्टोरमा भएको हाम्रो परिचयले हामीलाई राजीव चोकसम्म सहयात्री बनाउँदै थियो, केही लेहेङ्गा र गाउनको छनौटपछि मेरो काम सकियो । 

सामान कुरियरलाई जिम्मा लगाएर हामी चाँदनी चोक मेट्रोस्टेसनतर्फ लाग्यौँ, भीड छिचोल्न मुस्किलै थियो, जसरी पनि पुग्नु नै छ । मेट्रोको कार्ड छ तपाईंसँग ? स्टेसन पुग्नै लाग्दा उसले सोधी, छैन टोकन लिनुपर्छ, एकछिन पर्खिऊँ है, मैले भनेपछि उसले पर्स खोल्दै एउटा कार्ड मेरो हातमा थमाई, टोकनका लागि लाइन बस्नु परेन, मेरो अनुहारमा खुसीको रङ्ग भरिएको देखेर ऊ मुस्कुराई । कार्डमा पैसा त छ नि ? छ–छ, टेन्सन लिनु पर्दैन, रजौरी गार्डनसम्मलाई पक्कै पुग्छ । एल्लो लाइनमा चाँदनी चोक, चावरी बजार, नई दिल्ली हुँदै हामी राजीव चोकमा पुगेर उत्रियौं । आ–आफ्नो गन्तव्यका लागि मेट्रोलाइन चेन्ज गर्नु थियो । हामी दुवै ब्लू लाइनमा चढ्दै थियौं, तर दिशा भने फरक थियो । ऊ लक्ष्मीनगर जाँदै थिई, म रजौरी गार्डन । वैशाली जाने मेट्रोमा महिला आरक्षित डिब्बामा हात हल्लाउँदै घुसी ऊ । छोटो भेट, मीठो भेट मनमनै सोचेँ, कथा त बाँकी नै छ । म भने द्वारका एक्काइस जाने मेट्रो चढेँ । 

कृतिको मुहार, मुस्कान एवं व्यवहार मन–मस्तिष्कमा घुल्दै थियो । एक्लै मुस्कुराएछु, उनलाई सम्भँmदै गन्तव्यमा पुगेँ । के नपुगेको–नपुगेको जस्तो भैरहेको थियो । कृति नै घुम्न थाली वरिपरि । फोन नम्बर त सेयर गरेका थियौं, पहिले उसको फोन आओस्, मेरो चाहना थियो । मन मानेन, नाम सर्च गरेँ फेसबुकमा, रिक्वेस्ट चाहिँ मैले नै पठाएँ । तुरुन्तै एसेप्ट भयो, राम्रोसँग पुग्नु भो नि, मेसज आयो । म्यासेन्जरमा कल गरेँ, काटिदिई, मेसेजमा बोलम न ऊ छ के, मन झसङ्ग भयो, कथामा ऊ पात्रको प्रवेशसँगै । बोलुम कि नबोलुम भयो । भोलि फ्लाइट कति बजे ? राति ११ बजे । भोलि भेट गर्न मिल्छ ? औपचारिकताका लागि सोधें । हुन्छ तर १० बजेपछि है, म आफैं फोन गर्छु हजुरलाई । रघुवीर नगरको भेटघाटपछि पहाडगन्जस्थित होटलमा फर्किएँ । दिल्लीमा पहिलो पटक एक्लो महसुस भयो । 

सायद कारण कृति थिई, छोटो भेटमै मेरो अभ्यस्ततालाई अनौठो तृष्णाको लेप लगाइदिएकी थिई, व्यस्तताका कारण चिसो–तातो पनि अफर गरिनँ मैले । कफीको प्रस्ताव गरेको भए नाई भन्दिनथी होली । कृति अनि कृतिको ऊ पात्रले बेचैन बनाएको मन सम्हालेर निदाएँ, फेसन डिजाइनर अभिनाशको फोनले बिहान ८ बजे बिउँझिएँ । टाउको भारी थियो,जानीजानी एक पेग बढाएको थिएँ हिजो राति । त्यसकै परिणाम थियो । नौ नबज्दै चाँदनी चोक पुगेँ । अविनाशसँगको भेटघाटपछि होटलमै फर्कंदै थिएँ, प्रतीक्षित कृतिको फोन आयो, तपाईं कहाँ ? होटल जाँदै छु, कहाँ भेटम् ? खै कहाँ भेट्ने ?उ कन्फ्युज थिई । मै बसेको होटलमा आउन आग्रह गरेँ, अन्कनाउदै ठेगाना मागी, ११ नबज्दै आइपुगी, चिनजानको होटल भएकाले इन्ट्रीको समस्या भएन । यति सजिलै होटलको कोठामा आउन मानी मन दङ्ग थिएन, बरु शङ्का बढ्दै थियो । पहिलो भेटमै पागल भएको म के गरूँ ? ऊ पात्रले पनि पिरोल्दै थियो । 

केही समय कोठामा सन्नाटा छायो, केवल हेराहेर मात्र । किचनमा फोन गरेर एउटा फ्रुट सलाद मगाएँ, ड्युटी फ्रीबाट ल्याएको ह्वीस्की बाँकी थियो । केही नबोली एक–एक पेग बनाएँ । उसको अगाडि राखिदिएँ । कहिलेकाहीं पिउँछु तर दिउसै पिउने र ? गिलास ठोक्किएँ । नशा चढ्दै गयो । ऊ पात्रमा अल्झिएको मन नसोधेसम्म सन्तुष्ट भएन । उसको जवाफले झसङ्ग भएँ, ऊ विवाहित रै’छे, संसार घुम्ने सोचअनुरूप आफूभन्दा निकै बढी उमेरको इन्डियनसँग विवाह गरेको रे । मनमा कृतिप्रति घृणा जाग्यो । तपाईंलाई म पाँच वर्ष पहिलेदेखि चिन्छु नि, तपाईंको काठमाडौंको बुटिक नजिकै हाम्रो फ्ल्याट थियो । सपिङ पनि गरेकी छु । म केही बोलिनँ, केबल सुनिरहें । घडीमा एक बज्दै थियो दिउँसोको । नशा भारी पर्दै थियो शरीरमा । मनमा घृणा भरिए पनि कृतिको तनले तान्दै थियो, आँखाको इसारा काफी थियो,उसलाई तृप्त बनाउनु मेरो धर्म बन्यो । हरेकपल्ट आउँदा यसरी नै भेट्नुपर्छ है— सन्तुष्टिको एउटा आवाज गुन्जियो । मैले बिदाइका हात हल्लाए ।

प्रकाशित :फाल्गुन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्