भर्चुअल लभ

- अधिकारी रवीन्द्र

फाल्गुन २७, २०७४

यदि तपाईं विवाहित हुनुहुन्छ भने कृपया यो लेख नपढ्नुहोस, किनभने तपाईं रिसाउनुहुन्छ । 

हरेक दिन फेसबुक खोल्दा देख्छु, कसै न कसैको बूढी वा बूढाको ह्याप्पी बर्थ डे परेकै हुन्छ वा कम्तीमा एक जोडीको ह्याप्पी एनिभर्सरी परेकै हुन्छ । समयको चक्र हो, वर्षमा दुई दिन एक जोडीको जन्मदिन आइरहन्छ अनि वर्षमा एक दिन विवाहको वार्षिकोत्सव पनि । 

हरेक वर्षगाँठमा बूढाले बूढीलाई ट्याग गरेर शब्दका यस्ता ज्वारभाटा बर्साउँछ, सम्भवत: उसले ती शब्द आफंैले सिर्जना पनि गरेको हुँदैन । अज्ञात स्रोतबाट ल्याएर पेस्ट गरिएको हुन्छ । कतिपय शब्दको अर्थ त स्वयं उसैलाई थाहा नहुन सक्छ । अनि शब्दका भावहरू उसले वास्तवमै अनुभूति गरेको हुँदैन, तर पनि ऊ जहिल्यै फेसबुक पोस्टमा दोस्रो हुन्छ किनभने प्राय: उसकी बूढीले रातको १२ बजे नै समान अर्थ राख्ने पोस्ट गर्न भ्याइसकेकी हुन्छे । प्राय: यस्ता अवसरमा बूढाबूढीबीच पोस्टको राम्रै जुहारी चलेको पाइन्छ । 

वैवाहिक जीवनमा आबद्ध भैसकेका दम्पतीका कान यो हरफसम्म आइपुग्दा जरुर रिसले राता भैसकेका होलान् । नहुन् पनि किन ? ठाडै कुनै एउटा पोस्टका लागि गरिने सिर्जना आफ्नो नभै कसै न कसैको चोरेको हो भनिदिँदा रिस उठिहाल्छ । त्यसै पनि सबै सिर्जना आफ्नै हुने भए शेक्सपियरका उद्गारको के काम ? अनि सबै लक्ष्मीप्रसाद देवकोटा पनि त हुँदैनन् । कहीँ थोरोका वाक्य सापटी लिइन्छ त कहीँ चाणक्यका । उहाँहरूको रिसको लजिक अर्को पनि हुनसक्छ, के अब विवाहको वार्षिकोत्सवमा बूढीले बूढालाई वा बूढाले बूढीलाई विस पनि गर्न नपाउनु ? विवाहपछि कसैको मौलिकता नासिएर जानुपर्छ भन्न खोजिएको होइन र कसैले कसैलाई विस गर्न मनाही पनि छैन । यहाँ त केवल प्रविधिसँग जोडिएर आएको विकासशील नूतन जीवनशैलीका केही विचारणीय पाटा केलाउन मात्र खोजिएको छ । 

आधुनिकीकरणको बदलिँदो वेगसँगै आज मानवीय सम्बन्धहरू कमजोर हुँदै गएको कुरा कसैले नकार्न सक्दैन । पहिले विश्व धेरै ठूलो थियो, यातायातको कल्पनासमेत पनि गर्न नसकिने अवस्थामा जिल्लाको सदरमुकाम आइपुग्नु नै हम्मे–हम्मे थियो । यसको अर्थ हुन्छ कुनै एक मानिसको पूर्ण जीवनमा सम्पर्कमा आउन सक्ने व्यक्तिहरू सीमित हुन्थे । सीमित मानिसहरूसँगको सम्बन्ध निश्चय नै प्रगाढ हुन्छ र एवं रितले विवाह दिगो हुने कुरामा कुनै संशय नहोला । त्यतिबेला पनि दम्पतीहरू थिए, आजजस्तै त्यतिबेला पनि विवाहको वार्षिकोत्सव आउँथ्यो । उनीहरूले त्यो उत्सवलाई गाउँको चौतारा, देउराली वा हाटबजारमा गएर कहिल्यै विज्ञापन गरेनन् । आफू–आफू मनन गरे र सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गरिरहे । यो श्रीमान् र श्रीमतीबीचको नितान्त व्यक्तिगत घटना भएकाले यसलाई कसैको अगाडि लगेर ढोल पिट्नुपर्ने आवश्यकता मानिएन । टोलटोलका पाटीहरूमा भित्तेलेखन गरिएन । छोडपत्रको तथ्यांकलाई आधार मान्ने हो भने अहिलेका औसत वैवाहिक सम्बन्ध भन्दा पहिलेका नै बढी सफल छन् । 

आज विश्व प्रविधिको चरम विकासले धेरै सानो भएको छ । हरेक गाउँका मानिस सहर पुगेका छन, राजधानी पुगेका छन् । घरघरका मानिस दक्षिण अमेरिकादेखि अफ्रिका, सबै ठाउँमा पुगेका छन् । संसारको कुनै कुनाबाट इच्छाएको व्यक्तिसँग चाहेको समयमा भिडियोकल गर्न कुनै महाभारत छैन ।

यसर्थ आज एउटा पूर्ण जीवनमा सम्पर्कमा आउने मानिसहरूको संख्या असीमित छ । सामाजिक सन्जालमा साथीहरूको भीड बहु–आयामिक, बहु–भाषिक, बहु–सांस्कृतिक, बहु–राष्ट्रिय, अनेकानेक छन् । ‘ह्यापी एनिभर्सरी माइ डियर बूढा’ भनेर गाला जोडिएको पोस्ट हाल्दा पल्ला गाउँको सन्ते काकाले त देख्छ नै, त्यही पोस्टमा अन्जान ट्याग खाएका उनकै बूढाका टियूका सैद्धान्तिक प्राध्यापकले थाहा पाउँछन, अंग्रेजी खासै नबुझ्ने बिन्देश्वरी मिसले देख्छिन् अनि स्विट्जरल्यान्डका टिम कुकले पनि देख्छन् । फ्रेन्ड लिस्टमा २ हजार छन् भने एक हजारले त पक्कै देख्छन् । तैपनि मरेर २ सय लाइक र विस कमेन्टभन्दा बढी विरलैको देखिन्छ (सेलेब्रिटीलाई छाडेर) । केटाका नजिकका साथीहरू जो उसको विवाहमा जन्ती गएका थिए, केटीका नजिकका साथीहरू जो उनलाई दही–चिउरा ख्वाउन जानेवाला छन् र परिवार, नातागोताबाहेक उनीहरूको एनिभर्सरीको खबरले न कसैलाई हर्ष दिन्छ, न त विस्मात नै ।

केवल उनीहरूको इन्टरनेटको डाटा खाइदिन्छ । खाइँदो नपरेको कुरामा लाइक र कमेन्ट गरेर बस्न अलि बढी नै फुर्सद हुनुपर्ने हुन्छ वा मुड बेसी नै खराब हुनुपर्छ । 

अझ उदेक लागेर आउने कुरा त के भने उदायचलदेखि अस्तायचलसम्म एउटै घर–आँगनमा बस्ने श्रीमान्–श्रीमतीबीच फेसबुकका त्यही पोस्टमुनिका कमेन्टमा लभ यू र लभ यू टु अनि मुटु, माया र किसका इमोजीहरू टनाटन हुनु । लाग्छ, वास्तविक जीवनमा त उनिहरूको बोलचालसमेत हुँदैन । एउटै कमेन्टका हजारौं रिप्लाई हेर्दा लाग्छ, ‘किचेनमा भात डड्यो जस्तो छ म कसिंगर बढार्दै छु, एकपटक गएर हेरिदिनु’ भन्नसमेत पनि मुख फोर्दैनन् श्रीमतीहरू, सीधै फेसबुक लग–इन गर्छन् । श्रीमान्हरू पनि कम छन् भन्न खोजेको होइन । करिब असीवटा कमेन्ट सोही पोस्टमुन्तिर टाइप गरिरहनुभन्दा बरु बरान्डामै गएर मुखमुख कुरा गरे हुने । दुईमध्ये कोही विदेशमा छ भने पिएम गरे हुने, तर यहाँ सामाजिक सन्जाललाई सुनियोजित ढंगमा कुनै पारिवारिक नाटक मञ्चनको थलो बनाइएको छ । ती श्रीमान्–श्रीमती कलाकार भैरहेछन् । गोप्य हुनुपर्ने भावनाहरू छताछुल्ल विश्वसामु पोखिरहेका छन् । क्वालिटी समय सँगै बसेर, घुम्न गएर, प्रणयसूत्रमा बाँधिएर वा रचनात्मक तरिकाले मनाउन सकिन्छ न कि यन्त्रवत् ढंगले कुनै मेसिनमा हातका औंलाहरू चलाएर । फेसबुके पोस्ट वा कमेन्टले सम्बन्ध राम्रो हुने होइन, दैनिक व्यवहारले हुने हो । सम्बन्ध राम्रो छ भने वल्लो–पल्लो घरकाले मात्र होइन, पूरै समाजले थाहा पाउँछ र उदाहरणीय मान्छ । स्वयं विज्ञापन गरिरहनु नक्कले अनि ढोंगी प्रवृत्ति हो । आत्मविश्वास फर्काउने आपसी कुराकानी र सद्भावले नै हो । अरूलाई सुनाउँदैमा कसैले आएर समस्या मिलाइदिँदैन ।साँच्चै नै मिलेका जोडी फेसबुकमा टाइम पास गरेर बस्दैनन् । अझ बेलाबेलामा फेसबुकमा माया र विवाहलाई प्रोत्साहन गर्न भन्दै एक सातासम्म बूढाबूढी नारिएको फोटो राखेर अरू दुई जोडीलाई पनि त्यसै गर्न च्यालेन्ज दिएको देखिन्छ । अहोरात्र आफैंसँग हुने बूढा वा बूढीसँग सँगै बसेर फोटो खिच्नुलाई पनि किन चुनौती भनिएको हो, साँच्चै चुनौतीपूर्ण भएर त होला ? 

वैवाहिक जीवनका कतिपय विषयलाई गोपनीय नै राख्नुपर्छ । आपसी झगडा र माया आफ्नै वैवाहिक पर्खालभित्रै सुझाउनु–बुझाउनुको मज्जा पनि बेग्लै हुन्छ । स–साना कुरा पनि विशेष महत्वका हुन्छन्, तिनको संवेदनशीलता नबुझी वा यथोचित कदर नगरी दुनियाँसामु आदर्श प्रेमको ढोल पिट्नु आफैंलाई ढाँट्नु मात्र हो ।

 

ravinems@iom.edu.np

Twitter: @ravinems

प्रकाशित :फाल्गुन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्