तेस्रो आकाशमा अनील

- किशोर नेपाल

फाल्गुन २७, २०७४

पुरुषको लाइनमा बसौं मनले मान्दैन, महिलाको लाइनमा बसूँ तनले मान्दैन, पुरुष र महिलाको बीचमा बसूँ स्वयंसेवकहरू मान्दैनन’, निकै लोकप्रिय भयो नाटक ‘जिउँदो आकाश’ को यो वाक्य । वाक्य रमाइलो सुनिन्छ । तर, गम्भीर भएर एकैछिन सोच्यो भने त्यो मनोरन्जनभित्र तेस्रो आकाशको निसासिंदो गुम्फन सुनिन्छ । नेपाली समाजलाई सञ्चालित र निर्देशित गर्ने महत्वपूर्ण मानिस, भलाद्मी, नीति–निर्माता कसैले पनि तेस्रो आकाशको परिकल्पना गरेका छैनन् । आधा आकाश नारीहरूले ओगटेको र आधा आकाश पुरुषले भोगेको यो पूरै देशमा मानिसका पीडा अलग–अलग छन् । मानिसको जात यस्तो पनि हुन्छ जहाँ व्यक्तित्वले पहिचान खोज्छ । संसारमा जति पनि प्राणी जन्मन्छन् तिनमा प्राकृतिक विकार पनि हुन्छन् । यी सबै विकारलाई समाजले स्वीकार गर्दैन । 

अनील सुब्बा यो नाटकका एक्ला पात्र हुन् । उनी रंगमञ्चमा गौरव र गरिमाको पहिचानबाट सुरु हुन्छन् । उनका चञ्चले बानीले दर्शकलाई पेट मिचीमिची हसाउँछ तर, गौरवभित्रको अन्तरद्वन्द्वलाई चियाउने साहस कमैले गर्छन् । हाँसो र आँशु मिसिएका संवादबीच समाजमा उपस्थित तेस्रोलिंगीहरूको पीडा नाटकमा देखाइएको छ । 

नाटकका मूल पात्र गौरवको मन र आत्मा गरिमाको हुन्छ । शरीर पुरुषको, चाहना भने महिलाको । सानोमा साथीहरूसँग खेल्दा मिस र बेहुली बन्न रहर गर्छ गौरव । धेरैजसो केटीहरूसँग नै घुलमिल गर्न मन पराउने नारीजन्य स्वभावका गौरवलाई प्रकटमा पनि नारी स्वभावले थिच्दै लगेको हुन्छ । उनको व्यवहारमा खासै कसैले ध्यान दिएको हुँदैन तर, समयसँगै फैलिँदै गएको जवानीको उमंगले समस्या बढाउँदै लान्छ । 

गौरवले आफ्नो प्रेमीलाई विवाहका लागि प्रस्ताव पनि गर्छन् तर यी दुईको प्रेम र विवाहको बाधक बन्छन् परिवार र समाज । समाजले नै गौरवलाई सबै कुरामा बन्देज लगाएको छ । उसको प्रेमी पनि यही समाजको एउटा पात्र हुन्छ । जहाँ गए पनि उसको बाँच्ने आधार हुँदैन । गौरव सेनामा भर्ती हुन खोज्छ । त्यहाँ पनि उसले दुव्र्यवहार बेहोर्नुपर्छ । बिकल्पमा गौरव आत्महत्याको छेउछाउमा पुग्छ तर आफ्नी आमाको आँसुलाई जित्ने साहस हुँदैन उसमा । 

नाटकमा अनीलको अभिनयको दुरुपयोग गरिएको छ । एकल नाटकमा पाश्र्व घटनाको प्रयोग र विवरण जति कम हुन्छ अभिनयको स्कोप त्यति नै बढ्छ । अनीलको अनुहारको अभिव्यक्ति, शारीरिक हाउभाउ, चालढालको प्रयोगमा चुकेका छन् निर्देशक ।

अनील इलामको चुलाचुलीबाट आएका हुन् । उनको गाउँ कस्तो भने ‘यसलाई झापाले हेपेको छ र इलामले देखेको छैन ।’ ललितकला महा–विद्यालयमा संगीत पढिरहेका अनीलका रंगमञ्चका गुरु हुन्– सुनील पोखरेल । यी दुईबीच एकलव्य र द्रोणाचार्यको जस्तो सम्बन्ध छैन । अहिलेसम्म अनीलले छवटा नाटक मञ्चन गरेका छन् । नाटकमा काम गर्ने अधिकांश कलाकार निर्देशकमाथि भरोसा गर्छ ।

अनीलको पनि भरोसा त त्यही हो तर, कति स्कृप्ट चित्त बुझेको हुँदैन र त्यसमा फिनिसिङ गर्ने मौका पनि पाइन्न । अनीलको अनुभवमा एकल नाटक गर्दा उनलाई पुरुषको पहिरन अप्ठेरो लागेको थियो । नारीको अभिनयबाट बाहिर निस्किन मेकअप पखाल्नुपर्ने । त्यो एकप्रकारको जटिल काम थियो अनीलका लागि ।

अनील लिम्बू हुन् तर, समस्या के भने काठमाडौंका कतिपय नेवारलाई नेवारी भाषा नआएजस्तै अनीललाई पनि लिम्बू भाषा आउँदैन । उनी लिम्बू संस्कृतिमा काम गर्न चाहन्छन् । त्यसका लागि अवसरको खोजी छ उनलाई । भरखर देश संघीय भएको छ । यो अवसर हो, कला, संस्कृति र साहित्यको विकास गर्ने । देशमा गठनको प्रक्रियामा रहेका प्रादेशिक सरकारहरूको प्राथमिकता र महत्वमा के–के पर्छन् ? त्यो छिट्टै थाहा हुनेछ । हामी धनले विपन्न देश हांै र पनि हाम्रा प्रत्येक पाइला सम्पन्न छन् ।

 

प्रकाशित :फाल्गुन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्