मलाई सम्झेर अमेरिकामा रातभरि बर्बराउँछन्

- जनक तिमिल्सिना, भिषा काफ्ले

फाल्गुन २२, २०७४

 

सामान्य प्रशासनमन्त्री हुँदा डिभी र पीआरधारी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याएर चर्चामा आएका थिए— लालबाबु पण्डित । उनी वर्तमान वाम गठबन्धनको सरकारमा जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा दोस्रो पटक सरकारमा छन् । पहिलो कार्यकालमा राम्रो काम गरेका कारण वाहवाही पाएर सेलिब्रेटीको छवि बनाएका लालबाबु गत शनिबार साँझ पुल्चोकस्थित निवासमा साप्ताहिकसँग कुराकानी गरिरहेका थिए । सधैंजसो मिडिया तथा प्रशंसकहरूले घेरिने पण्डित त्यस दिन पनि हामीसँग त्यो दिनको सातौं अन्तर्वार्ता दिँदै थिए । पण्डितसँग नयाँ मन्त्रालयका काम–कारबाही तथा योजनाजस्ता विषयमा साप्ताहिकका लागि जनक तिमिल्सिना र भिषा काफ्लेले गरेको कुराकानी :

मिडियासँगै व्यस्त हुनुहुन्छ । दैनिक कार्यतालिका प्रभावित भएको छैन ? 

म मिडियाप्रेमी नै भएकाले, मिडिया पनि मसँग अहिले मात्र होइन, म सांसद र मन्त्री नभएका बेला पनि हरेक इस्युमा तुरुन्त सोध्ने, प्रतिक्रिया लिने, टेलिभिजनमा बोलाउने, अनलाइन र अहिले त टेलिभिजनजस्तै भिडियो अनलाइनहरू पनि आइरहेका हुन्छन् । आजभन्दा १२/१३ दिनअघि डाक्टरले तपाईं एक हप्ताजति फोन नउठाउनुस्, माइकबाट टाढा बस्नुस्, नत्र तपाईंको भोकल जान सक्छ भनेपछि एक हप्ता त सकिनँ, पाँच दिन आक्कलझुक्कल मात्र फोन उठाएँ । माइकमा बोल्न पनि अलि घटाएको थिएँ तर मन्त्री भएपछि फेरि रफ्तार बढेको छ । अब यसलाई अलि घटाउनुपर्छ भन्ने लागिराख्या छ । 

दैनिकी कसरी बितिरहेको छ ? 

मन्त्री भएपछि साढे चारदेखि पौने पाँच बजेसम्ममा उठिसक्छु । नित्यकर्म गरेर ५:२० देखि फोन उठाउन थाल्छु । त्यसपछि भेटघाट तथा कार्यक्रमहरू हुन्छन् । कार्यक्रममा गए पनि प्राय: बाहिर कम खान्छु । खाना खाने समय मिलाएर घर फर्कन्छु । यसबीचमा धेरै बिदा भएकाले बधाई तथा धन्यवाद ज्ञापनमै समय बितिरहेको छ । तैपनि मन्त्री भएपछि तीन दिन मन्त्रालय गएर कामको सुरुवात गरिसकेको छु । 

के काम सुरु गर्नुभयो ? 

धूलो–धूवाँ नियन्त्रण गर्ने जिम्मेवार निकायसँग बैठक बसेर नयाँ तरिकाले काम सुरु गर्ने प्रयास गरिरहेको छु । काठमाडौंलगायतका मुख्य सहरहरूमा अहिले जुन प्रदूषण छ, त्यसलाई एक वर्षभित्र मास्क नलगाउने सिटी बनाउन खोज्दैछु । 

मन्त्रालयभित्र के–कस्ता चुनौती देख्नुहुन्छ ? 

स्थायी सरकार भनेको प्रशासन हो । त्यो स्थायी सरकारमा पनि अस्थायी रोग लागेर हैरान छ । सरकार जाने भयो भने काम छोडिदिने, नयाँ सरकार आउन लाग्यो भने पनि अलि दिन पर्खेर बस्ने अर्थात् काम छाडिदिने प्रवृत्ति कर्मचारीहरूमा छ । मैले सोधें, यो प्लास्टिकको झोला हटाउने निर्णय त उहिल्यै भएको हो, किन कार्यान्वयन भएन ? त्यसमा उहाँहरूले भन्नुभयो, भुइँचालो गयो, त्यसकारण लत्तो छोडियो । भुइँचालोले कानुनलाई रोक्छ ? रोक्दैन नि तर बहाना चाहिएको छ । एउटा बहाना मिल्यो भने गर्न नहुने काम पनि गरिदिने । त्यो स्थितिलाई हटाउन मैले दण्डनीय अवस्था सिर्जना गर्ने, सामाजिक स्तरबाट पनि सफाइ अभियान सुरु गर्ने योजना बनाएको छु । त्यसपछि यसका स्रोतहरू कहाँ छन्, स्रोत नदेखेका त कसैले होइनन्, तर आँट नगरेका हुन् । 

काठमाडौं सधैं बाटो खन्ने र धूलो उड्ने सन्दर्भमा नमुना नै सावित भएको छ नि ? 

मैले विकास–निर्माणका काममा किन धूलो उड्छ, ठेक्कामा त्यससम्बन्धी कुनै व्यवस्था छ कि छैन भनेर हेरें । दिनमा चार पटक पानी छर्कने व्यवस्था छ, धूलो आफ्नो एरियाभन्दा बाहिर जानु हुँदैन भन्ने प्रावधान छ । त्यसका निम्ति पनि पैसा छुट्याइएको हुन्छ तर व्यवहारमा कति चोटी पानी हाल्लान् ? कागजमा त चार पटक हाल्ने छ । व्यवहारमा १०–१५ दिनमा एक पटक हाल्छन् । त्यो राज्यको लगानी के भयो ? त्यो त खेर गयो नि । कसले खायो भन्दा ठेकेदारले खायो कि मिलेमतोमा खाइयो । मैले यो कुरालाई गम्भीरतापूर्वक उठाएको छु । विकास–निर्माणको काम एक–अर्कासँग तालमेल मिलाएर गर्नुपर्‍यो, नत्र कहिले ढलले खन्छ, कहिले खानेपानीले खन्छ, कहिले सडकले त कहिले बिजुलीले खन्छ, सधै खनेको खन्यै राम्रो कहिले देख्न पाउने ? सबैको लगानी उत्तिकै, लगानी मल्टिप्लाइज भएर जाने रिजल्ट आलु आउने, त्यस कारण यो काम पनि सिक्वेन्समा हुनुपर्‍यो । 

राजधानीमा धूवाँ फाल्ने गाडीहरू पनि चलिरहेकै छन् त ? 

हिजो मात्र सूचना निस्किएको छ, वैशाख १ गतेदेखि महानगरपालिका तथा नगरपालिका कतै पनि हरियो स्टिकर नलगाइएको गाडी पस्न नदिने । हरियो स्टिकरको चेकजाँचमा अहिले ४७ प्रतिशत गाडी असफल भैरहेका छन् । अब यसमा कडाइ गर्न जसले हरियो स्टिकर दियो, तोकिएको समयभित्र त्यो गाडी असफल प्रमाणित भयो भने त्यो कर्मचारीलाई विभागीय कारबाही हुन्छ । त्यो स्टिकर लिएर गाडी चलाउने मालिकलाई पनि सजाय हुन्छ । अब स्टिकरको किनबेच बन्द हुन्छ । मलाई त लाज लाग्छ, ५०–६० लाखको गाडी चढ्या छ, महँगो कपडा लगाएका छन्, पढेलेखेकै हुन्, तर ५–७ हजार खर्च गरेर हरियो स्टिकर किन्न जान्छन् । यो वुद्धिको द्ररिद्रता हो । उद्योगको चिम्नीको धूवाँ कन्ट्रोल गर्न र त्यसलाई दायराभित्र ल्याउन पनि पहल भएको छ । फास्टफुड र्‍याप गरिएको पेपर ५० वर्षसम्म पनि गल्दैन । त्यसले मानव स्वास्थ्यमा समस्या बढाइरहेको छ, त्यसकारण मैले उनीहरूलाई पनि तयारी गर्न भनिसकेको छु । अब ३ महिनादेखि ६ महिनाभित्र प्याकिङ गरिएको र्‍यापर माटोमा गल्ने खालको हुनुपर्छ, होइन भने त्यसको आयात र उत्पादन दुवैमा प्रतिबन्ध लगाइन्छ । आयात र उत्पादन भएन भने मार्केटमा जाँदैन, वितरण मात्र कन्ट्रोल गरेर कहीँ हुन्छ ? यसलाई मुहानमै रोक्नुपर्छ । 

नागरिक तहबाट कस्तो अपेक्षा गर्नुभएको छ ? 

काठमाडौंमा मैले देखिरहेको छु, गाई पाल्ने दूध आफू खाने, गाईवस्तु सडकमा छाड्ने । यो काम सरकारको हो भनेर सडकमा फोहोर फ्याँक्नेहरूलाई त डन्डा लगाएर भए पनि ठीक गर्नुपर्छ । किनभने, त्यो फोहोरी काम हो, फोहोर गर्नेहरू फोहोरी हुन् । केहीले ४०/५० हजारको कुकुर पाल्छन्, त्यसको घाँटीमा लगाइएको डोरी नै १० हजारको हुन्छ । उनीहरू सानले कुकुर डोर्‍याउँदै हिँड्छन् र सडकमा फोहोर गराउँछन् । ती बुद्धि बिग्रिएकाहरूलाई कसले तह लगाउने ? समाजले तह लगाउनुपर्छ । मैले महानगरपालिकासँग सोधें, फोहोर गर्नेहरूबाट वर्षमा कति रुपैयाँ उठाउनुहुन्छ, अहिलेसम्म एक रुपैयाँ पनि जरिवाना गरिएको छैन, अनि लगानी कति हुन्छ ? झन्डै–झन्डै आफ्नो लगानीको ७० प्रतिशतजति सरसफाइमा खर्च हुन्छ । त्यसमध्ये काठमाडौंको ७० प्रतिशत घरको फोहोरको हिस्सा प्राइभेट कम्पनीहरूले लगिरहेका छन्, ३० प्रतिशत हिस्सा महानगरपालिका हो । सबैभन्दा बढी धनी बस्ने काठमाडौं, सबैभन्दा महँगा गाडी चढ्ने र महँगा घर भएकाहरू पनि यही, महँगा लुगा लगाउने पनि यही र सबैभन्दा बढी विदेश घुम्ने पनि यही अनि त्यहाँबाट के सिकेर आए त ? पहिलो विश्वका देश बसेर आएका परिवारलाई हेर्नुस् त्यहाँ जन्मेर–हुर्केर आएको बच्चाले यहाँ सडकको फोहोर टिपेर ठाउँमा हाल्छ, आफूले खाएको बिस्कुट, चकलेटको खोस्टा खल्तीमा राख्छ र ठाउँमा लगेर फाल्छ । तिनै केटाकेटीका अभिभावकले आफ्ना छोराछोरीहरूबाट पनि सिक्दैनन् भने बिग्रिएको चाहिँ को हो ? 

यसमा महानगरले पनि प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना भैरहेको छ नि ? 

अब दण्ड नगरी अथवा दण्डहीनतामै बस्ने हो भने यी सबै जनप्रतिनिधि काम लाग्दैनन्, किनभने जनताले विश्वास गर्दैनन्, गाला सुमसुम्याएर मात्र अघि बढिँदैन । एक समय हुन्छ, युवाले युवतीको अनुहार हेर्ने, युवतीले युवाको अनुहार हेर्ने, हेरेको हेर्‍यै गर्ने जिन्दगी नै यही जवानी हो भनेर । यसरी एक–अर्काको अनुहार हेरेको हेर्‍यै गरेर जिन्दगी चल्छ ? चल्दैन नि ! आफूसँगै फोहोरीलाई राखेर मेरो जीवन दीर्घ हुन्छ, म निरोगी हुन्छु भनेर हुन्छ ? अब फोहोरीहरूलाई बाइकट गर्नुपर्‍यो । को पर्छन्–पर्दैनन् त्यो सँग सरोकार राख्नु हुँदैन । जनप्रतिनिधिले त्यति पनि काम गरेनन् भने किन विश्वास गर्ने जनताले उनीहरूमाथि ? अठोटका साथ काम गर्दा सम्भव हुन्छ । विगतमा म मन्त्री हुँदा मलाई समर्थन गर्ने एक जना पनि थिएनन्, चाहे राजनीतिक पार्टीका नेता हुन् चाहे अरू नै, तर जनताको बीचमा गएर मैले सत्य कुरा राखेपछि यति जनदबाब सिर्जना भयो, अहिले कोही बोल्न सक्छ ?

तपाईंको मन्त्रालय पनि परिवर्तन हुने सम्भावना छ ? अर्को मन्त्रालयमा जानुभयो भने यो मन्त्रालयमा तपार्इंले सुरु गरेका काम पुन अलपत्र पर्ने सम्भावना होला नि ? 

सबैको जिम्मा मेरो मात्र होइन । काम ठूलो र सानो हुँदैन । अप्ठ्यारो काम पनि सजिलो तरिकाले अलिअलि दु:ख गर्दै गर्ने हो भने गर्न सकिन्छ । नेपालीहरू हड्डी नभएको मासु खाँदैनन्, तानतुन नगरे नेपालीलाई मासु खाएको स्वाद आउँदैन, विदेशीहरू हड्डी भएको मासु खाँदैनन् । आज मैले पाउरोटी खाए भनेर सार्वजनिक रूपमा कसैले कसैलाई भन्छ ? आज मैले यो मासु खाए भनेर त सहर्ष भन्छन्, किनभने हड्डी भएको मासु खान र पचाउन पनि अप्ठ्यारो छ तर पाउरोटी पचाउन सजिलो छ, दाँतलाई पनि दु:ख हुँदैन, पेटलाई पनि त्यति दु:ख हुँदैन, मुख पनि धेरै चलाउनु पर्दैन । त्यसैले सजिलो खोज्ने होइन, अप्ठ्यारो भए पनि गर्नुपर्ने अनिवार्य काम खोज्ने हो । यो मन्त्रालय मेरै जिम्मेवारीभित्र पर्‍यो भने निरन्तरता दिन्छु, अरूको जिम्मेवारीभित्र पर्‍यो भने मैले सुरुवात गरेको छु, तपार्इं पनि गर्नुस् यो जनताको हितमा छ भन्छु । फेरि नयाँ ठाउँमा जिम्मेवारी पाए भने नयाँ कामको थालनी गर्छु ।

तपाईंको पहिलेको छवि कायम राख्न के–कस्ता चुनौती देख्नुहुन्छ ?

हेर्नुहोस्, जब वच्चा जन्मन्छ त्यसदिन भोटो खोजिन्छ कात्रो खोजिँदैन । मरेपछि मात्र कात्रो खोजिन्छ । जन्मने बेलामा आफन्तहरू रुँदैनन्, हाँस्छन्, रमाइलो हुन्छ । मर्ने बेलामा रुन्छन् । अहिले हामी हास्ने बाटो खोजिरहेका छांै । रुने बाटो होइन । कामै सुरु नगरी सफलता र असफलता के हुन्छ कसरी भन्ने ? काम गर्दै गएपछि सफल भइयो कि असफल भइयो, कति प्रतिशत सफल भइयो कति प्रतिशत असफल भइयो भन्ने हुन्छ । म मन्त्रालय जाँदा भन्छु, विगतमा के भए ? उनीहरू भन्छन्— यतिवटा रिपोर्ट विदेश पठाइयो । विदेशीलाई ठग्नका निम्ति रिपोर्ट लेखेर पठाउने कामचाहिँ यही मन्त्रालयको हो वा यतिपटक विदेश घुमे त्यो पनि रेकर्ड गर्‍यो अनि कति घण्टाचाहिँ गालामा हात राखेर उँघेर बस्यो ? योचाहिँ रिपोर्ट हो कि काम हो ? जनताले अनुभूति गर्ने गरी कति प्रदूषण घट्यो ? जनताले प्रदूषण घटेको अनुभूति त गर्नुपर्‍यो नि ? त्यही अनुभूति जनताले गरे भने सफल र असफल हुन्छ । 

तपाईं मन्त्रालयमा नियुक्त हुँदा काठमाडौंको प्रदूषणविरुद्ध केही त्यस्तो योजना चलिरहेको थियो ? 

योजनै नभएको होइन, कार्यान्वयन नभएको मात्र हो । जहाँ फोहोर नगर्नु भन्यो त्यहीं बढी फोहोर हुन्छ । प्लास्टिक निषेधित क्षेत्र पनि घोषणा गरियो । निर्णय नभएको होइन, तर कार्यान्वयन भएन । 

यसको मतलब नीतिभन्दा नियत खराब हो ? 

नियत ठिक भएन भने सबै कुराले सम्पन्न भए पनि परिणाम त जिरो नै आउँछ नि । नियत ठीक छ भने समस्यासँग जुध्दै थोरै परिणाम आए पनि जनताले ए केही त गरेछ है भन्छन् । तपाईंले रोगी मान्छेलाई जतिसुकै महँगा गहना, लुगा–कपडा लगाइदिए पनि केही हँुदैन, तर निरोगी मान्छे केही नलगाउँदा पनि उज्यालो देखिन्छ । 

 

कर्मचारीहरूमा त तपाईं एक प्रकारको हाउगुजी नै हुनुभयो ? तपाईंसमक्ष नयाँ योजना लिएर कर्मचारीहरू आउँछन् ?

केही कर्मचारी पोजेटिभ कुरा लिएर पनि आउँछन् । नराम्रो गर्नेहरू त यहाँ मात्र होइन अमेरिकामा पनि मेरो नाम लिँदै बर्बराउँछन् रे । अस्ट्ेरलिया र लन्डनमा पुत्ला जलाउने तयारी नै गरेका थिए । मैले ल जलाऊ–जलाऊ, जब नेपालको सिमाना टेक्छौ नि, नेपाली जनताले तिमीहरूको ढाड कसरी सेक्छन् त्यो पनि सम्झिराख भनिदिएँ । म त पुत्ला जलाउने यी हुन् मात्र भनिदिन्छु, बाँकी सबै काम नेपाली जनताले नै गरिहाल्छन् भनेपछि पुत्ला जलाउने सबै कार्यक्रम क्यान्सिल भए । मलाई के विश्वास छ भने उनीहरूले विदेशमा पुत्ला जलाए पनि यहाँ देशमा त जनता साथमा छन् नि । यहाँ अरू पनि राति–राति बरबराउँछन् । कर्मचारी मात्र होइन, रोग लागेकाहरू समेत बर्बराउँछन् । म सबैलाई निरोगी बनाउन चाहन्छु, तर ऊ निरोगी हुन चाहँदैन । हुने राष्ट्रसेवक, अनि सेवा छोडेर मेवा मात्र खोज्ने हो भने किन राष्ट्रसेवक भन्ने ? राज्यको लगानीको आना पैसा पनि असुल गर्नुपर्छ । असुल केमा गर्ने भने अपराध गरेका छन् भने दण्ड गर्ने, होइन भने काम गरेर असुल गर्ने । यही प्रश्न हिजोदेखि मसँग सुरु भएको छ । मन्त्रालय घट्यो, कर्मचारी कसरी खटाउने, खटाएको ठाउँमा कोही गएका छैनन् । खटाएको ठाउँमा नजाने कर्मचारीहरूका अगाडि दुईवटा बाटा छन् । एउटा सधैंका लागि बिदा हुने, जे मन लाग्छ आफ्नै घरमा गर्ने । होइन भने सरकारले खटाएको ठाउँमा जानैपर्छ, आवश्यक परेका थप कुरा सरकारले पूरा गर्छ । भूकम्पका बेला म सामान्य प्रशासन मन्त्री हुँदा यो समस्या थियो त्यतिबेला पनि मैले ८ सय जना कर्मचारीलाई बोलाएर त्यही भनेको थिएँ । सबैले सहयोग गर्नुभयो । हामी नेता हुने, कर्मचारी राष्ट्रसेवक हुने तर नेताले कमान्ड गर्न नसक्ने, राष्ट्रसेवकले सेवा गर्न छोड्ने हो भने गर्ने के त ?

प्रधानमन्त्री कार्यकारी भएको मुलुक अधिकारजति सबै त्यही हुन्छ ? तपाईंको मन्त्रालयको विषयमा तपाईंलाई थाहै नदिई सीधै निर्णय भए भने के गर्नुहुन्छ ? 

अघिल्लो कार्यकालमा मेरै मन्त्रालयबाट मलाई थाहै नदिई त्यस्तो निर्णय भएको थियो, मैले उल्ट्याइदिएँ । कि त सहमतिमा हुनुपर्छ कि सम्बन्धित मन्त्रीले प्रस्ताव लानुपर्छ, तर मन्त्रीले लगेको प्रस्ताव प्रधानमन्त्रीलाई सही नलागे आफ्नो प्रस्ताव थ्रो गरेर पास गराउन सक्छ । प्रस्ताव राख्ने काम सम्बन्धित मन्त्रीको हो । त्यसमा छलफल गरेर अन्तिम निर्णय दिने अधिकार प्रधानमन्त्रीको हो । म आफ्नो मन्त्रालयसँग सम्बन्धित कुरा सिधै हुन दिन्नँ । विगतमा पनि दिएको छैन र अब पनि दिन्नँ । केही गलत कुरा भए सच्याउन भन्छु, टुलुटुलु हेरेर बस्दिन, अनि फड्के किनाराको साक्षी बस्ने काम पनि गर्दिनँ । 

कर्मचारीले नटेर्नुमा राजनीतिक दलका नेता पनि दोषी छन् नि होइन ? 

यो देश यस्तो हुनुमा पहिलो दोषी नेताहरू नै हुन् । दोस्रो मा मात्र कर्मचारी हुन् । भेडाको नेता सिंहलाई बनाइदियो भने भेडाले पनि सिंहको एक्सन गर्छ र सिंहको नेता भेडालाई बनाइदियो भने सिंहले पनि भेडाको एक्सन गर्छ । त्यो नेतृत्वमा भर पर्ने कुरा हो, कसरी नेतृत्व गर्ने ? मन्त्री वा प्रधानमन्त्रीले ब्युरोक्रेसीले काम गर्न दिएन वा सघाएन भन्छन् भने त्यो नाच्न नजान्नेले आँगन टेढो भनेजस्तो मात्र हो । आफूले कमान्ड गर्न नजान्नु वा नसक्नु हो । 

भनेपछि नेताहरूमा अध्ययनशीलता हरायो ? 

जुन नेताले जिम्मेवारी लिएका हुन्छन्, अलिअलि कमान्ड गर्ने क्षमता नभएका वा क्षमता भए पनि ध्यान नदिएको वा अरूमा निर्भर भए नेतृत्व गर्न सक्दैनन् । त्यस्ताको हातमा नेतृत्व पर्‍यो भने गलत मान्छेको हातमा नेतृत्व पर्‍यो भनेर बुझ्दा हुन्छ । गलत नेतृत्व भए टिम चल्दैन । खेलमा पनि क्याप्टेन नै खराव भयो भने कहिल्यै जित हासिल हुँदैन । 

युवा पुस्ताले राजनीतिलाई खुब गाली गर्छ नि, किन ?

होइन, यो बिलकुलै सत्य होइन । जब म सडकमा हिड्छु । युवाहरू सबैभन्दा बढी सेल्फी मैसँग खिच्छन् । म कुनै पनि कार्यक्रममा गएँ भने मेरै वरिपरि झुम्मिन्छन् । मलाई लाग्छ, यसरी सार्वजनिक कार्यक्रममा गएको दिन कम्तीमा पनि ५ सय युवा–युवतीले मसँग सेल्फी खिचेका हुन्छन् । यो उनीहरूले गाली गरेका होइनन्, समर्थन गरेका हुन् । युवाहरूले काम गर्ने मानिसलाई, सही सोच्ने मानिसलाई सधैं माया गरिरहेका हुन्छन् । म सधैं सकारात्मक सोच्छु । समस्या आए मिलेर समाधान खोजौं, भागेर कहिल्यै समस्या समाधान हुँदैन र मागेर कहिल्यै समृद्धि आउँदैन । 

तन्नेरीहरूसँगको संगतमा उनीहरूको मनोविज्ञान कस्तो पाउनुभएको छ ?

युवा पुस्तामा जुन निराशा थियो, केही हदसम्म चिर्ने काम भएको छ । उनीहरूको चाहना राम्रो काम होस् भन्ने छ । युवा पंक्ति देश निर्माणको पंक्ति हो । १९७८ मा रुसी राजदूतसँग छलफल चल्दै थियो, रूसका युवामा कस्तो मनोविज्ञान छ भनेर । म अहिले पनि सम्झन्छु, उनले भने— रूसका युवाले समाज बुझ्न छोडे, खाली खेल्न मात्र थाले, अन्य काम छाडे, कुन दिन देश क्र्यास हुन्छ थाहा छैन । त्यो चिन्ता मलाई पनि लाग्छ । हामीले बेलैमा यसतर्फ ध्यान पुर्‍याउनुपर्छ । 

चुनाव जितेलगत्तै तपार्इंले भन्नुभएको थियो, यो एमालेका लागि बोनस सिट हो । बोनस सिटमा जितेको मान्छेले मन्त्री हुने कल्पना त गर्नुभएको थिएन होला ?

एमालेको रेकर्डमा त्यो जित्ने क्षेत्र थिएन । मैले काठमाडौं मागेको हो, म नयाँ रेकर्ड कायम गर्छु भनेको हुँ, काठमाडौको कुनै क्षेत्रबाट मात्र होइन, मधेसको मान्छे पहाडको कुनै पनि क्षेत्रबाट उठेको छैन, उठ्ने आँट पनि गरेको छैन तर, म उठ्छु भनेर अहिले भनेको होइन, दुई वर्ष अघिदेखि नै भन्दै आएको थिएँ । यहाँ व्यवस्थापन हुन नसकेपछि म अन्तिममा त्यहाँ गएको हुँ । त्यो पनि देशभरिमा एमालेको कमजोर क्षेत्रमध्ये एकमा । त्यहाँको बलियो क्षेत्रमा त फोर्स ल्यान्डिङ भएकै हो नेताहरूबाट । फोर्स ल्यान्डिङमा नयाँ मान्छे पनि बालबाल बाँचेर आउनुभएको छ । मलाई त यो हार्‍यो भने उतै थन्किन्छ, जित्यो भने एक सिट बोनसमा आइहाल्छ भनेर टिकट दिइएको हो । 

तपाईंले के भन्नुभएको थियो नेताहरूलाई त्यतिबेला ? 

मैले त्यतिबेला भनेको थिएँ, म चुनाव लड्ने क्षेत्रमा कुनै पनि नेतालाई प्रमुख अतिथि हुन दिन्न, म बोलाउँदिन । जसले सहयोग गर्छन्, गरून्, नगर्ने भए नगरून् । मैले अहिलेका प्रधानमन्त्रीलाई पनि भनेको थिएँ, चुनावका बेला म तपाईंसँग केही भन्दिनँ, कसले असहयोग गर्छन्, कसले सहयोग गर्छन्, मलाई मतलब छैन । जितेर आएपछि त्यतिबेलै हिसाब–किताब माग्छु । 

त्यसपछि हिसाब दिनुभयो त ? 

म उताबाट जितेर करिब १५ दिनपछि काठमाडौं आएँ । पहिलो पटक म हाम्रो अध्यक्ष तथा प्रधानमन्त्रीको निजी निवास बालकोट गएँ । म जितेर आएको छु, तपाईं पनि जितेर आउनुभएकाले माला लगाइदिन आएको भनें, उहाँले म पहिले तपार्इंलाई माला लगाइदिन्छु अनि मात्र मलाई माला लगाइदिनुहोला भन्नुभयो । त्यसपछि झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र माधव नेपालकहाँ पनि गए, कोही पनि मभन्दा पहिले माला लगाउन तयार हुनुभएन । सबैले पहिले तपाईंलाई माला लगाइदिन्छु भन्नुभयो । त्यसपछि मैले कसैलाई पनि मलाई मन्त्री बनाऊ भनेर एक कल फोन गरेको छैन, भेट्ने कुरा त परै जाओस्, म प्रधानमन्त्रीको शपथ–ग्रहण समारोहमा पनि उपस्थित थिइनँ । पहिले आफू मन्त्री भएको घोषणा हुँदा म स्वयम्भू यातायातमा यात्रा गरिरहेको थिएँ, यसपटक पनि म टेलिभिजन स्टेसनमा थिए । म आफूलाई यो देऊ भनेर कहिल्यै भन्दिनँ ।

प्रकाशित :फाल्गुन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्