मानिसको जात

- किशोर नेपाल

फाल्गुन १९, २०७४

अचेल नेपाली समाजका केटाकेटीमा पाइन्ट चलेको छ गजबको । यो अलि अनौठो पाइन्ट छ । हामी नेपाली गरिबीको परिभाषा दिनुपर्दा घुँडा फाटेको कपडा टालेर लगाएको कुरा उल्लेख गर्छाैं, ‘विचराको त पाइन्टको घुँडा पनि फाटेको रहेछ ।’ टालेको सुरुवालको पनि कतै सन्दर्भ आइहाल्छ । अहिले त्यसो भन्नु मानिसको बेइज्जति गर्नु बराबर हो । अहिले त फाट्नु भनेको फेसन हो । अहिले चलेको चलनअनुसार पाइन्ट घुँडामा मात्र होइन, दृश्य–अदृश्य जतासुकैको भागमा फाटेको भए पनि हुन्छ ।

 

सार्वजनिक स्थान, सिनेमाघर, रेस्टुराँ र रानीपोखरी, जताततै यस्तै पाइन्ट लगाएर हिंडेका ठमठमाउँदा युवा–युवती देखिन्छन् । यस्तो पाइन्टको नाम चाहिँ ग्राउच रे । आफूलाई जिन्स मन परे पनि लगाउन कहिल्यै पाइएन । साइजमा नपाइने । अहिले जस्तो भए साइजको पनि मतलब हुने थिएन । फाटेको पोसाक लगाएर हिंड्नु फेसन हो भने लतारिएको पोसाक लाएर हिंड्नु पनि त फेसन नै हो । एक जना मित्रले जायज टिप्पणी गरे, ‘नछोपी हिंड्दा त भएको थियो । अहिले त अलिकति छोप्न थालेका छन् ।’

नेपालमा भएका परिवर्तनहरूका सन्दर्भमा यी कुरा रमाइला लाग्नेछन् । काठमाडौंमा अहिले ६० वर्षको हजुरबा, ४० वर्षको बा र २० वर्षको नाति रेडिमेड पाइन्छन् । ती सबैको खाने बानीलाई हेर्ने हो भने सबैको बानी मिल्ने खाद्यपदार्थ एक थोक मात्र छन्, आइसक्रिम । भन्नुहोला, ड्रिंक्सहरू पनि छन् नि ! हो, छन् । हजुरबालाई उही चाहिन्छ, हजुरमाले बनाएको । बाको टेस्ट भोड्कामा । नातिको टेस्ट ? बियरमा । एप्पल साइडर पिउने जेनरेसनको त मानिस नै छैन । हजुरबालाई नातिले बियर पाएकोमा पिर छैन । लाइट ड्रिंक हो । यसो एक–दुई बोतल खाएर केही हुँदैन । 

यी तिनै पुस्ताको टेस्ट अलग–अलग छ । खानेकुराबाटै सुरु गरौं : हजुरबाको पुस्ता भटमास–चिउरा, आलु–भुटनको खाजा खान पाए दंग पर्छ । बाको पुस्ता मोमो खान्छ । सकेसम्म साथीहरूले नदेख्ने गरी बफ मोमोमा रमाउँछ । चिकेन मोमो त के खाइ भो र ? मटन मोमोको कुरै भएन । जति खायो–खायो, शनिबार सगोलको भान्सामा खसीको मासुको झोल र भात । नत्र, अघिपछि खसीबात । 

परिवर्तनका स्वरहरू खाना र नानामा मात्र होइन, अरू पनि धेरै कुरामा बदलिएका छन् । जस्तो, काठमाडौंको बजारमा फूलको बिक्री बढेको छ । जनसंख्या बढेको छ । त्यसैले रितिथितिअनुसार मानिसका घरघरमा साज–सज्जा र सत्कारको शैली पनि बदलिएको छ । अचेल तिहारमा हरियो गोबरले लिपेको घर युट्युबमा मात्र पाइन्छ । रंगोली नबनेको घरमा लक्ष्मीको प्रवेश नहुने हो कि ? डरै हुन्छ । दसैंमा दक्षिणा र महकले काम गर्छ । जता गयो खाम खोल्यो, बास्ना चलायो । यस्ता धेरै चाडपर्व छन् । यीमध्ये कति पुरानै नयाँ भएका छन् भने कति नयाँ जन्मिएका छन् । 

अहिले कसैको निधन भएर श्रद्धाञ्जली र समवेदना व्यक्त गर्न घाटतिर लाग्दा मानिस सबैभन्दा पहिले फूल पसलमा आएर एउटा उदास खालको बुके समाउँछ । त्यसपछि मात्र घाट पुग्छ । बिना बुके घाट पुग्दा मरेको मानिस खुसी हुँदैन भन्ने उसलाई थाहा छ, तर समाजमा उसको इज्जत जोगिएको छ । मानिसको यो बुद्धि हो कि निर्बुद्धि ? कसले भन्न सक्छ ?

काठमाडौंका बासिन्दाले आफ्नो चलन बदल्न थालेका छन् । काठमाडौमा काजी साहेबहरू बस्ने ठूला भवनहरू अहिले गोदाम भैसके । यी गोदाममा ‘रतनजीका शुध्द नारियलका तेल’ पाइँदैन । पुरानो घर तथा व्यवसाय छाडेर साहुजीहरू काठमाडौंबाहिर, टाढामा पूर्व लोकन्थली, दक्षिण गोदावरी, उत्तर बुढानीलकण्ठ र पश्चिम सीतापाइलातिर सर्नुभएको छ । सहर फैलनु भनेको यही हो । सहरिया अर्थात् सहरभित्रका बासिन्दा फैलिएपछि गजब भैहाल्यो ।

खुसीको कुरा छ कि सहर अझ फैलँदैछ । यो अर्कै कुरा हो कि सहरसँगै सुकुम्बासी बस्ती पनि फैलँदैछ । सहरको अमिरीसँगै गरिबी फैलिएको छ । ठूलठूला घरहरू बनेका छन् । तर, बनेका भन्दा भत्किएका घर धेरै छन् । मानिसको तनमा कपडा छैन । जे छ त्यो कपडा होइन, नग्नता हो । सहरका मानिसको अनुहारमा जोस र चमक पनि त्यत्तिकै छ । खुब देखिएको छ उत्साह । केही होला या नहोला । चारैतिर छ आशा । यो आशा त्यतिबेलासम्म रहनुपर्छ जबसम्म मानिसको जात एउटै हुन्छ भन्ने कुरा स्थापित हुँदैन । 

प्रकाशित :फाल्गुन १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्