होलीका रमाइला गीत

- साप्ताहिक संवाददाता

फाल्गुन १५, २०७४

होली नजिकिँदै जाँदा रेडियो तथा टेलिभिजनमा होली विशेष गीत प्रसारण हुने क्रम बढ्छ । होली जति–जति नजिकिन्छ, होलीकै लागि तयार पारिएका गीत बज्ने क्रमसमेत वृद्धि हुन्छ । नेपाली सञ्चारमाध्यममा होलीको अवसरमा नेपाली तथा हिन्दी गीत उत्तिकै प्रसारण हुन्छन् । यद्यपि होलीका लागि नेपाली गीतको संख्या धेरै नभएकाले प्राय: हिन्दी चलचित्रकै गीत बजेको सुनिन्छ । 

‘होलीले मेरो रंगायो नयाँ चोली...’ चलचित्र अधिकारको यो गीत नेपाली सञ्चारमाध्यममा सबैभन्दा बढी बज्ने नेपाली भाषाको होली गीत हो । उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ, पूर्णिमा आदि गायक–गायिकाको स्वरको यो गीतलाई होलीको राष्ट्रिय गीतसमेत भनिन्छ । यो गीतमा राजेश हमाल र कृष्टि मैनालीले समूह कलाकारहरूसँग आकर्षक नृत्य गरेका छन् । हरेक वर्षको होलीमा रेडियो तथा टेलिभिजनमा यो गीत पटक–पटक बजिरहन्छ । त्यसो त यो गीत भन्दा अघि र पछि पनि होली विशेष गीत नबनेका होइनन्, यद्यपि नेपालीमा समाजमा यो गीतले एउटा छुट्टै स्थान बनाइसकेको छ । 

त्यसअघि उद्धव पौडेलद्वारा निर्मित चलचित्र ‘तिलहरी’ मा समावेश गरिएको होली गीत दर्शक तथा श्रोताहरूको रोजाइमा परेको थियो । ‘होरिया होरिया हो रंग खेले होली...’ बोलको उक्त गीतमा अभिनेता भुवन केसी तथा कृष्टी केसीले नृत्य गरेका छन् भने उदितनारायण झा तथा दीपा झाले त्यसमा स्वर दिएका छन् । होलीका लागि विभिन्न संगीतकर्मीले बेला–बेलामा होली विशेष गीतहरू सार्वजनिक गरिरहन्छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीले अघिल्लो वर्षको होलीमा ‘होलीमा होलीमा...’ गीत सार्वजनिक गरेका थिए । म्युजिक भिडियोसहित सार्वजनिक भएको उक्त गीतमा गायक बुढाथोकीकै संगीत छ भने त्यसको शब्द उषा किरण अधिकारीले रचना गरेकी हुन् । समन अधिकारीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा निर्देशक सोभित बस्नेत, अभिनेता सविन श्रेष्ठका साथमा विभिन्न कलाकारले अभिनय गरेका छन् । 

यही वर्ष प्रदर्शनमा आएको चलचित्र बटरफ्लाइमा एउटा होली गीत समावेश छ । सौराहामा छायांकन गरिएको उक्त गीत अघिल्लो वर्षको होलीको अवसरमा सार्वजनिक गरिएको थियो । रंगको अत्यधिक प्रयोग गरिएको ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’ गीतमा अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आर्यन अधिकारीले आकर्षक नृत्य गरेका छन् । प्रमोद ढुंगानाको शब्दको उक्त गीतमा विकास चौधरीको संगीत छ भने राजेशपायल राई तथा माण्डवी त्रिपाठीले त्यसमा स्वर दिएका छन् । 

दुई वर्षअघि चलचित्र संरक्षणको होली गीत सार्वजनिक भयो । तराईमा छायांकन गरिएको उक्त गीतलाई पनि दर्शकहरूले मन पराए । नेहा प्रियदर्शन तथा प्रवेश मल्लिकको स्वरको उक्त गीतमा धीरेन्द्र प्रेमर्षीको शब्द तथा प्रवेश मल्लिकको संगीत निर्देशन छ । उक्त गीतमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी तथा मलिना जोशीले नृत्य गरेका छन् । 

अनमोल केसी तथा सृष्टि श्रेष्ठ अभिनित चलचित्र गाजलुमा पनि एउटा होली गीत समावेश छ । ‘रंग रंग...’ शीर्षकको उक्त गीतमा शिवानी मोक्तानको स्वर तथा जैन जेको शब्द एवं संगीत छ । उक्त गीतमा अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान तथा रितिक शाहीले होली खेलेका छन् । राष्ट्रिय गीत गाएर चर्चामा आइरहेका गायक सुमित खड्काले अघिल्लो वर्ष एउटा होली गीत गाए ।

होली गीत गाएकै कारण उनी अघिल्लो वर्षको होलीमा निकै व्यस्त रहे । अघिल्लो वर्ष विराटनगरका विभिन्न १२ ठाउँमा आयोजित होली विशेष कार्यक्रममा पुगेर सुमितले उक्त गीत प्रस्तुत गरे । ‘फेरि आयो होली सरर’ बोलको उक्त गीत कम समयमै लोकप्रिय भएकोमा गायक खड्का दंग छन् । यसपटकको होलीमा पनि सुमितले त्यही गीत प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रकाशित :फाल्गुन १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्