बदलिएका युवा रंगहरू

- अविरल थापा

फाल्गुन १५, २०७४

समाज गतिशील छ । भूमण्डलीकरणको प्रभावसँगै समाजमा धर्म र संस्कृतिमा पनि व्यापक फेरबदल आइरहेको हुन्छ । एक दशकअघि र पछिको समयलाई मूल्यांकन गर्ने हो भने पनि अनेक चाडपर्व मनाउने शैलीमा धेरै परिवर्तन आएको पाइन्छ । सामान्यत: फागुन महिनामै मनाइने फागुपूर्णिमाको नाम चलनचल्तीको फाउपूर्णे हुँदै हिजोआज आयातित नाम होली हुन पुगेको छ । 

 

विगतमा शिवरात्रि सकिएपछिको समयमा सहरबजारमा अघोषित रूपमा बेलुनमा पानी भरेर लोला हान्न थालिन्थ्यो । गल्लीमा लुकेर, घरको छतबाट वा खुलेआम नै युवाहरूले युवतीहरूलाई लोला प्रहार गरेर आक्रान्त र त्रस्त बनाउँथे । कार्यालय, स्कुल, कलेज एक्लै जान डराउनुपर्ने वा जोगिएर जानुपर्ने अवस्था थियो । युवाहरू लोला हान्न पाउने आफ्नो अधिकारजस्तै मान्थे भने युवतीहरू त्यसको प्रतिकार गर्नुको सट्टा जोगिएर हिंडने वा डराएर हिंडने परिपाटी थियो । एक प्रकारले भन्नुपर्दा त्यो गम्भीर महिला हिंसा नै थियो । यदाकदा लुकीछिपी युवतीहरूले पनि लोला हान्थे, तर खुलेआम हान्न तम्सिने युवाहरू नै हुन्थे । यस्तो भैरहेको देख्दा यदाकदा सामान्य प्रतिरोध भए पनि समाज मूकदर्शक नै भएर बस्थ्यो । लोला हानेर युवतीहरूलाई त्रस्त बनाइएको दृश्य देखेर समाज पनि सँगसँगै हाँस्थ्यो वा कतिपयले त्यसलाई मनोरञ्जनकै रूपमा लिन्थे । कसैले उजुरी गरे प्रहरी प्रशासनले हस्तक्षेप गथ्र्यो, तर कानुनले कसैलाई बाँधेको थिएन । 

यद्यपि अचानक यो विकृति र होली मनाउने शैलीमा कसरी परिवर्तन आयो त ? युवाहरू अचानक कसरी सुध्रिए ? हिजोआज सहरटोलमा केही भुराभुरीले लोला हान्लान्, तर अरूले फागुपूर्णेकै दिनबाहेक त्रस्त पार्ने काम लगभग बन्द भएको छ । पहिले युवाहरू किन त्यति उद्दण्ड थिए र अहिले कसरी सामान्य भए ? यसको सही कारण पत्ता लगाउन समाजको चेतना, कानुनको विकास र प्रविधिमा आएको विकासको विश्लेषण गर्नुपर्ने हुन्छ । पहिले मनोरञ्जनका त्यति साधन थिएनन् । समाज त्यति खुला पनि थिएन । केटाहरूले केटीहरूलाई लोला हानेर नि:कृष्ट प्रकारले मनोरञ्जन गर्थे वा आफ्नो यौनकुण्ठा मेट्न युवतीका संवेदनशील अंगहरूमा ताकीताकी लोला प्रहार गर्थे । केटा र केटीको भेट हुने र अन्तक्र्रिया हुने वा सम्पर्क स्थापित गर्ने माध्यमहरू पनि त्यति थिएनन् । त्यसैले पनि केटीहरूको सम्पर्कमा आउन वा सामिप्यमा पुग्न भौतिक रूपमै गल्ली वा बाटोमै निस्कनुपथ्र्याे । 

विगतको दशकमा सूचना प्रविधिमा व्यापक विकास भयो । इन्टरनेटको विकाससँगै फस्टाएका सामाजिक सञ्जालले युवाहरूको अन्तक्र्रियालाई वृद्धि मात्र गरेन, सोझै चाहेको मानिससँग भेटसमेत गराउन थाल्यो । सहर–बजारमा खुला रूपमा विविध सांस्कृतिक कार्यक्रम, क्लब वा जमघटका कार्यक्रमहरू हुन थाले । कानुनी रूपमा पनि बजारमा लोला प्रहार गरी आतंकित पार्ने कामलाई सार्वजनिक अपराधअन्तर्गत राखी शून्य सहनशीलताको नीति अपनाइएपछि लोला हान्ने विकृति निस्तेज हुँदै गयो । 

टोल–बजारमा खुलेका विविध क्लब तथा समूहले फागुअगावै वा फागुकै दिन एकै ठाउँमा जमघट गराएर पर्व मनाउने परिपाटीको विकास गरे । यसो हुँदा युवायुवती वा चाहना भएका सबैले मिलीजुली मनोरञ्जन गर्ने मौका र ठाउँ सिर्जना भयो । एक–अर्कालाई सताएर वा आतंकित पारेर भन्दा पनि प्रेमपूर्वक शुभकामना आदानप्रदान गर्ने संस्कृतिको विकास भयो । हरेकको हातमा मोबाइल फोन तथा सामाजिक सञ्जालले एक–अर्काबीच अन्तक्र्रिया गर्न बनाइदिएको सुलभताले युवाहरूको चेतनामा समेत परिवर्तन ल्यायो । बन्द समाज खुला समाजमा परिवर्तन भयो । 

युवतीहरूमा पनि यो अन्याय हो, सहने र भाग्ने होइन, यसको प्रतिरोध गर्नुपर्छ भन्ने चेतनाको विकास भयो । युवा–युवती भेट्न वा जिस्किन अब बजार वा टोलमा निस्कनुपर्ने भएन, केवल मोबाइल फोन र इन्टरनेट भए पुग्ने भयो । समाजमा युवायुवती सँगै हिंडेको देख्दा वा घुलमिल भएको देख्दा आँखा च्यातेर हेर्ने समाज हात समातेरै हिंड्दा पनि आँखा चिम्लिएर बस्ने भयो । समाजको चेतना र सहनशीलतामा आएको विकासले पनि होली, फागु जे भने पनि कम हिंसात्मक बन्दै गएको हो । 

 

फागुका दिन मदिरा सेवन गरेर जथाभावी सवारी हाँक्ने, हानिकारक रंगले छाला रंग्याउने, जबर्जस्ती गर्न खोज्दा दुई समूहबीच हुने झडपजस्ता विकृति अझै पनि केही मात्रामा बाँकी छन् । यद्यपि कसैलाई जबर्जस्ती गर्नु हुँदैन भन्ने चेतना बढेको छ । समयसँगै संस्कृति मनाउने तौरतरिकामा परिवर्तन त आउँछ नै, युवाहरूले आफ्नो कला–संस्कृतिको मौलिकता एवं सौन्दर्यको रक्षा गर्दै अघि बढे कालान्तरसम्म आफ्नोपन र सौहार्दता कायम रहनेछ । 

प्रकाशित :फाल्गुन १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्