र्‍याप ब्यान्ड डिमोर्चाको कमब्याक

- राजाराम पौडेल

फाल्गुन १२, २०७४

अहिले र्‍याप गीत तथा र्‍याप ब्याटलले नयाँ पुस्ताको मन जित्दै गएको छ । यस्ता गीतमार्फत आफ्नो मनको बह, विकृति–विसंगति आदिका बारेमा खुलेरै भन्न सकिने भएकाले यसको आर्कषण बढ्दै गएको बताइन्छ । यस्ता गीतमा पाइने नौलोपन दर्शक–श्रोताहरूलाई रुचिकर लाग्यो । बिस्तारै यसको माग बढ्दै गयो अनि र्‍याप गीत मात्र नभएर र्‍याप ब्याटलतर्फ पनि धेरैको ध्यान आकर्षण भयो । र्‍याप ब्याटलमार्फत आफ्नो बेग्लै पहिचान बनाइसकेका आशिष राना लाहुरेको होम टाउन पोखरामा वि.सं. २०५२ मा पहिलो र्‍याप ब्यान्डका रूपमा स्थापना भएको डिमोर्चा समूहले र्‍याप प्याटर्नका गीतमार्फत आफ्ना सिर्जना प्रस्तुत गर्दै आएको छ । 

केही समय सुस्ताएको डिमोर्चा अहिले पुन: क्रियाशील भएको छ । स्थापनाकालमा धेरै चुनौती र आलोचना सहेको यो ब्यान्डलाई दर्शक श्रोताको साथ भने निरन्तर प्राप्त भैरह्यो । यो ब्यान्डले आफ्नो दबदबा कन्सर्टमार्फत देखाउँथ्यो, किनभने डिमोर्चाले अँगालेको शैली मन पराउनेहरूको कमी थिएन । त्यसैले त कुनै बेला पोखरामा आयोजना हुने अधिकांश कन्सर्टमा डिमोर्चा ब्यान्डको अनिवार्य उपस्थिति हुन्थ्यो । 

डिमोर्चा यतिबेला नेपाल टुरमा व्यस्त छ । संखुवासभा, इनरुवा, हेटौडा, धुलिखेल, सिन्धुली, पोखरा आदि ठाउँमा आफ्नो प्रस्तुति दिँदै आएको ब्यान्डले पोखरा बाहिर तथा विदेशका कार्यक्रममा समेत दर्शकको अपार माया बटुल्ने गरेको छ । विगतदेखि नै कन्सर्टमार्फत चिनिएको डिमोर्चा अहिले नयाँ शैलीका गीत रिलिज गर्ने तयारीमा छ । यसका अतिरिक्त युट्युबमा भिडियो रिलिज गर्दै अहिलेको प्रविधिअनुसार आफुलाई अपडेट गर्ने सोच डिमोर्चाले बनाएको छ । 

पोखराका उत्साहित युवाहरूले तत्कालीन समयमा पोखरामा आयोजित माछापुच्छ्ेर उत्सवमा भाग लिन यो ब्यान्डको स्थापना गरेका हुन् । डिमोर्चा उक्त उत्सवको सहभागितासँगै वेष्ट गितारिस्ट एवार्ड जित्न सफल भएको थियो । ब्यान्डका सदस्य भाष्करध्वज श्रेष्ठ, विरेन पुन, विकास पुन, दिनेश सुनार तथा ज्योति जंगम थिए । 

डिमोर्चाले २०५५ सालमा आफ्नो पहिलो एल्बम ‘खैलाबैला’ मार्फत राम्रै खैलाबैला मच्चाएको थियो । र्‍याप प्याटर्नका गीत बढी समावेश गरिएको उक्त एल्बमको माध्यमबाट डिमोर्चाले पोखराको पहिलो र्‍याप समूहका रूपमा आफूलाई स्थापित गरायो । पहिलो एल्बम निकालेको पाँच वर्ष पछि दोस्रो एल्बम ‘हुन्देरे’ बजारमा आयो । उक्त एल्बमका गीतले श्रोताहरूको थप माया बटुल्यो । २०६२ मा ‘१, २, ३ भन्दिने हो’, २०६४ मा ‘झ्याम्म–झ्याम्म’ तथा २०६८ मा ‘कोहि छ किन्ने’ एल्बम बजारमा आए । ती एल्बमबाट राम्रै चर्चा बटुले पनि त्यसपछि ६ वर्षसम्म डिमोर्चाका कुनै नयाँ एल्बम बजारमा आएनन् । 

अहिले एकपटक फेरि डिमोर्चा नयाँ गीत तथा एल्बममार्फत पुन: दर्शक–श्रोतामाझ छाउने तयारीमा छ । डिमोर्चाले नयाँ एल्बमका लागि गीत रेर्कड गरिरहेको मुख्य भोकलिष्ट श्रेष्ठले बताए । रक, फङ्की, हिपहप, लोकपप आदि गीतलाई डिमोर्चाले आफ्नो प्यार्टनमा ढालेर विगतको भन्दा केही फरकपन दिने प्रयास गरेको छ । डिमोर्चाले गीतकार रोशन भट्टराईले रचना गरेको यो नेपालको छोरो... गीत हालसालै मात्र सार्वजनिक गरेको थियो ।

अहिले डिमोर्चा ब्यान्डमा मुख्य भोकलिस्टमा भाष्करध्वज श्रेष्ठ, बेस गितारमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक छन् भने बुद्धि थापा, जोनी तामाङ, अनिल गुरुङले समेत ब्यान्डलाई साथ दिइरहेका छन् । डिमोर्चा ब्यान्डले हालसम्म ६५ वटाभन्दा बढी गीत बजारमा ल्याइसकेको छ । डिमोर्चाका खैलाबैला भो, तारा खसौली, झ्याम्म झ्याम्म, डान्सिङ अन द रोड, यो डल्लीले, लव पर्‍यो पर्‍यो, जन्मायौ प्रभु आदि गीत बढी रुचाइएका छन् । 

कन्सर्टमा दर्शक तान्न सक्ने खालका गीत गाउने उनीहरूलाई जोस्याउँदै उफार्न सक्ने खुबी यो ब्यान्डसँग छ । बालक, युवा तथा वृद्ध सबैलाई मन पर्ने खालका गीत नयाँ शैलीमा ढाल्दै सुनाउनु यो ब्यान्डको विशेषता हो । डिमोर्चाले आफ्ना गीतमार्फत पोखराको वर्णन मात्र गरेको छैन, राजनीतिक दलका नेता तथा समाजका विकृति–विसंगतिहरूविरुद्ध समेत प्रहार गर्दै आएको छ । 

 

प्रकाशित :फाल्गुन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्