Teej banner

बढ्दै कफी कल्चर

- नरेन्द्र रौले

फाल्गुन १०, २०७४

 

उहीले फेरि भेटौंला भनिन्थ्यो अहिले कफीमा भेटौंला भन्ने चलन छ । केही काम नभए पनि कफी टेस्ट गरिन्छ, भेटिन्छ । वाग्ले पुल्चोकस्थित फलानो क्याफेमा पनि झुल्किन्छन् । जता अनुकूल हुन्छ त्यतै पुग्छन् । ‘कफीको फाइदा नै भेटघाट हो ।’ वाग्ले सुनाउँछन्, ‘कोही छैन भने तपाईसँग कफी छ । जहाँ कफी छ त्यहाँ संवाद छ ।’ कान्तिपुर दैनिकमा कुनै बेला वाग्लेको ‘कफी गफ’ स्तम्भ चर्चित थियो । उनले उक्त स्तम्भ सुरु गर्नु पछाडिको कथा सुनाए । ती दिनमा ठमेल व्यापारिक केन्द्र भैसकेको थिएन । शान्त थियो, पर्यटकीय, स्वस्थ र सांस्कृतिक थियो ठमेल । उनी लेखपढ गर्न तथा मन बहलाउन क्याफे छिर्थे ।

लेखक तथा प्राध्यापक अभि सुवेदीको अखडा नै हो, ठमेलस्थित हिमालयन जाभा कफी हाउस । उनको साथमा कहिल्यै छुट्दैनन्, शिव रिजाल । अध्ययनका लागि ब्रिटेनमा बस्दा कफीको लत बस्यो । लन्डनमा ढुंगाले बनाइएका पुराना कफी हाउसहरू थिए । सुवेदीले लेखकहरू खोज्न थालें । क्याफे धाउन थालें । 

निरन्तर जाँदा बानी बस्यो । नेपालमा हिमालयन जाभा कफी हाउस खुलेपछि उनी   निरन्तर त्यही पुग्न थाले । सुवेदी आफू मात्र होइन विद्यार्थीहरूलाई पनि लिएर जान्थे । शिव रिजाल त्यो बेला विद्यार्थी थिए, पछि साथी नै बने । क्याफेमै पढ्ने, अध्ययन–अनुसन्धान गर्ने बानी बस्यो ।

सुवेदीको प्रिय आइटम हो, अमेरिकानो । पत्रिकाका लागि स्तम्भ, नाटक लेखे उनले । हल्ला भैरहन्छ, एकछिनमा शान्त पनि हुन्छ, पृष्ठभूमिमा संगीत बजिरहन्छ । यो नै रमाइलो लाग्छ उनलाई । आफ्नो काममा घोत्लिदा अनि कफी पिउँदा सबैभन्दा मज्जा लाग्छ । भेटघाटका लागि पनि उनी धेरैलाई क्याफेमै बोलाउँछन् ।

साहित्य अनुरागी याम बूढा मगरलाई कफी बिनाको जीवन असम्भव लाग्छ । जाडो भगाउन, निद्रा भगाउन, टेन्सन हटाउन, गफ गर्न उनलाई कफी अनिवार्य चाहिन्छ । दिनमा चार कप कफी रित्याउने बूढामगर दूधबिनाको नेस्क्याफे रुचाउँछन् । उनको दिनको सुरुवात कालो कडा कफी पिएर हुन्छ । पछिल्लो समय कफी कल्चर ह्वात्तै बढिरहेको छ । हरेक रेस्टुराँमा कफी मेसिन अनिवार्य जस्तै भएका छन् ।

१५ वर्षअघि ठमेलको त्रिदेवीमार्गमा खुलेको हिमालयन जाभा कफीले नेपालमा कफी कल्चर बढायो । ‘नेपालमा जाभाले क्रान्ति नै ल्यायो ।’ हिमालयन जाभा वरिष्टा कफी स्कुलका तालिम निर्देशक, माधव देवकोटा भन्छन्, ‘हामीले यहाँको कफी विदेश पनि पठायौं ।’ देवकोटाका अनुसार कफीका लागि नेपालको हावापानी एकदमै सुहाउँदो छ । काठमाडौंको सिभिल मलमा कफीको तालिम लिन सकिन्छ । जाभाले विदेश जाने तयारीमा रहेका तथा नयाँ क्याफे खोल्ने तयारी गरिरहेकाहरूलाई लक्षित गरेर कोर्स डिजाइन गरेको छ । भौतिक पूर्वाधारको हिसावले दक्षिण एसियाकै नमुना बनेको छ, हिमालयन जाभा वरिष्टा कफी स्कुल । अन्तर्राष्ट्रिय स्तरको कोर्ष अध्यापन हुने उक्त स्कुलमा पढेकाहरूले कुनै पनि देशमा काम गर्न जाँदा सजिलो महसुस गर्छन् ।नेपालमा १७ ठाउँमा क्याफे खोलेको हिमालयन जाभाले विदेशमा क्यानाडा, बेलायत, ल्हासा, दोहा, मलेसिया, अस्ट्रेलिया तथा भुटानको पारो विमानस्थलमा आफ्ना ब्रान्च फैलाइसकेको छ । अमेरिकाको नेब्रास्का तथा मिनिसोट्टामा फ्रेन्चाइज खोल्ने तयारी भैरहेको छ । अझै विभिन्न ठाउँबाट ब्रान्च खोल्न प्रस्ताव आइरहेका छन् । हिमालयन जाभामा १ सय २० भन्दा बढीले रोजगारी पाएका छन् । नेपालबाटै विदेशमा कफी निर्यात पनि गर्छ जाभाले ।

अध्ययनका लागि सन् १९९५ मा अष्ट्रेलिया पुगेका गगन प्रधान हरेक दिन दुईवटा कुरा गर्न छुटाउँदैनथे । उनी कफी र चकलेटका अम्मली थिए । आफूमा ऊर्जा भर्न नियमित रूपमा कफी र चकलेट खाँदा–खाँदै त्यसको लत नै बस्यो । जब सन् २००० मा उनी नेपाल फर्किए, त्यसको तीन दिनमै पाँचतारे होटेलमा काम थाले । किन–किन चित्त बुझेन त्यो काम । उनले नयाँ विकल्प खोजे । बजारमा केही नयाँ सम्भावना खोजे । उनको मनमा आयो, आफ्नै क्याफे खोल्ने । त्यतिबेला बजारमा कफी सपको कमी थियो । काठमाडौंका लागि कफी सप एकदमै नौलो व्यवसाय थियो ।

कफी सप सुरु गर्नुअघि उनले ६ साता अनुसन्धान गरे । मानिसहरूका घर–घर धाए, बैंक, अफिस पुगे । उनले एउटा प्रश्नावली समेत बनाएका थिए जसमा कुन लोकेसनमा कफीसप खोल्दा उपयुक्त होला, दिनमा कफीका लागि कति खर्च गर्नुहुन्छ, दिनमा कति कप कफी पिउनुहुन्छ जस्ता प्रश्न थिए तर त्यसमा भरिएका डाटाहरू गलत थिए फारम भर्नेहरूले वास्तविक कुराभन्दा पनि हावाका भरमा यत्तिकै भरिदिएको गगनले बताए । ‘मलाई दामसँग होइन कामसँग मतलब थियो ।’ गगनले सुनाए, ‘म काममा डुबें ।’ त्यसपछि उनी कफीसम्बन्धी थप तालिम लिन अमेरिका पुगे, जहाँ उनले ६ साताको तालिम लिए ।

१५ वर्षअघिसम्म राजधानीमा कफी कल्चरले प्रवेश पाइसकेको थिएन । स्वाद तीतो । त्यसमाथि महँगो पनि । कसैले रुचाउँदैनथे । तर, गगन आफूले हात हालेको व्यवसायप्रति ढुक्क थिए । उनी मनमनै सोच्थे, म एकदिन अवश्य सफल हुनेछु । पछि उनले हिमालयन जाभा कफी ब्रान्ड नै स्थापित गरे । सुरुमा त उनको क्याफेमा मानिसहरू कम्प्युटर इन्स्टिच्युट भनेर आउँथे । दिनमा १० जना ग्राहक हुन्थे । कति पैसा नतिरी जान्थे । स्वाद मीठो नभएको गुनासो गर्थे, कतिपय रिसाएर जान्थे तर पनि गगन निरास भएनन् । नेपाली अर्गानिक कफीको प्रबद्र्धन एवं यसको व्यापार विस्तार गर्ने उनको योजना छ । नेपाली कफी बोकेर उनी अन्तर्राष्ट्रिय एक्स्पोहरूमा पनि पुगे । हिमालयन जाभाले बेच्ने कफीभन्दा आफैंले सुरु गरेको यसको कथा बढी बलियो लाग्छ गगनलाई । कफी जति हाइ अल्टिच्युडमा उत्पादन हुन्छ त्यति नै राम्रो र मीठो हुन्छ भन्छन् उनी ।

अहिले देशभर करिब २ हजार क्याफे छन् । उपत्यकामा झन्डै ८ सय अनि यो क्रम बढ्दो छ तर कफी खेती अरू जस्तो सजिलो भने छैन । अरू बालीले रोपेको केही महिनामा फल दिन्छ । कफी फल्न ५ वर्ष लाग्छ । यसले गर्दा उत्पादन भने बढ्न सकेको छैन । कफी खेती गर्दा फल ढिलो मिल्छ । जाभाले किसानहरूलाई पनि तालिम दिन्छ । त्यसबाहेक जाभाले कफीको मेसिन बेच्ने, रेसिपी सेयर गर्ने, कफी तालिम दिने स्कुल आदि चलाउँदै आएको छ । ‘आफूले आफैंलाई कम आक्नु हुँदैन । आत्मविश्वास हुनुपर्‍यो ।’ गगन सुझाउँछन्, ‘काम, ठूलो सानो हुँदैन । परिणाम पर्खिन सक्नुपर्छ ।’

कफी व्यवसायी सुदीप खड्काको हिमालयन बिन्जले राजधानीका ९ ठाउँमा शाखा विस्तार गरिसकेको छ । कफी सपबाहेक सारा बेकरी पनि चलाइरहेका खड्काले ६० जनालाई रोजगारी दिएका छन् ।

यूएनमा काम गर्दा गर्दै सुदीपले कफी सप खोल्ने सपना बुनेका थिए । उनले संसारमा जति आर्थिक मन्दी छाए पनि मानिसहरू चिया, कफी पिउन छाड्दैनन् भन्ने लेख एउटा पढेका थिए । ‘बलिरहेको आगोमा ह्वारर्र पेट्रोल खन्याउँदा कस्तो हुन्छ ?’ खड्काले सुनाए, ‘हो, मलाई पनि त्यस्तै भयो । आँट थपियो ।’ कफी बनाइसकेपछि उनी एक पटक आफैं टेस्ट गर्छन् अनि मात्र ग्राहकलाई सर्भ गर्छन् । सुदीप अरूका क्याफे पनि चहार्छन्, अवलोकन गर्छन् । अरूभन्दा फरक गर्न खोज्छन् । नेपालमा ठूलो कफी फार्म खोल्ने र हिमालयन बिन्जलाई नम्बर वन बनाउने सपना छ उनको ।

दस वर्ष फुड एन्ड बेभरेज सर्भिसको अनुभव बटुलेपछि काठमाडौंको मार्कोपोलो बिजनेस होटलमा कफी टक सञ्चालन गरे नारायण खकुरेलले । त्यस क्रममा स्कुल तथा विश्वविद्यालयमा पनि नसिकेको ज्ञान आर्जन गरेको उनले बताए । कफीको टेबलमा फरक–फरक क्षेत्रका व्यक्तिहरूको उपस्थीति, सामाजिक, राजनीतिक, आर्थिकलगायत समसामयिक विषयमा तिनले गर्ने गफ सुन्न उनलाई खुब रहर हुन्थ्यो । यसले देशमा भैरहेका गतिविधिबाट अपडेट हुन सजिलो बनायो । नेपालमा ६ वर्ष कफी टक सञ्चालन गरेका नारायण यतिबेला अमेरिकामै कफी टक सञ्चालन गरिरहेका छन् । आफूले रोजेको व्यवसाय अँगाल्न पाउँदा उनी सन्तुष्ट छन् ।

काठमाडौंमा हिमालयन जाभा, गोल्डेन एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी, नलेज एकेडेमी, हिमालयन बड, अग्र्यानिक एक्सप्रेसो आदिमा बरिस्ता तालिम प्रदान गरिन्छ । क्याफे हेरेर शुल्क भने फरक छ । सामान्यतया २० देखि ३० हजार रुपैयाँसम्ममा बरिस्ता तालिम लिन सकिन्छ । कफीको उत्पत्ति अफ्रिकाको इथियोपियामा तेर्‍हौं शताब्दीतिर भएको हो । नेपालमा बर्माबाट बसाई सरेर आएका नेपालीहरूले सन् १९३८ मा कफीको बोट भित्र्याएका थिए । हाल यसको खेती अमेरिका, मध्यअमेरिका तथा दक्षिण पूर्वी एसियामा फैलिएको छ । यसमा पाइने क्याफिनले मानिसलाई ताजा राख्न मद्दत गर्छ । कफी नेपाली किसानका लागी फरक र नयाँ बाली हो । कृषि विकास बैंकले सन् १९६८ मा कफीका दाना आयात गरी सर्वसाधारण माझ वितरण गरेको थियो ।

सन् १९९४ देखि २०१० सम्म आइपुग्दा कफीको खेतीको क्षेत्रफल १ सय ३५ हेक्टरबाट फैलिएर १ हजार ६ सय ३० हेक्टर क्षेत्रफलसम्म पुग्यो । हाल यो खेतीमा ३५ देखि ५३ प्रतिशतसम्मले वृद्धि भएको पाइन्छ । नेपालमा उत्पादित कफी क्यानाडा, अमेरिका, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स तथा युरोपका विभिन्न देशमा निर्यात भैरहेको छ । हाल नेपालकोमध्य पहाडी क्षेत्रका झन्डै २९ हजार किसानले कफी खेती गरिरहेका छन् । नेपाल कफी उत्पादक संघका अनुसार व्यवस्थित रूपमा नेपालका १४ जिल्लामा मात्र कफी खेती भैरहेको छ ।

त्यस्तै नेपाल कफी उत्पादक संघका अनुसार अहिले नेपालमा १ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । कफी तथा चिया विकास विभागको तथ्यांकअनुसार ४ लाख २५ हजार ग्रिनविन्स उत्पादन भैरहेको तथ्यांकले देखाउँछ । अन्य खेतीको तुलनामा कम मेहनत, कम लगानी तथा कम जनशक्तिमा कफी खेती गर्न सकिन्छ । त्यसैले पनि किसानहरू यतातिर आकर्षित छन् । ग्रामीण भेगका किसानहरूका लागि कफी खेती आय–आर्जनको राम्रो स्रोत बनेको छ । नेपालमा साना किसानहरू कफी खेतीमा संलग्न छन् । नेपालमा उत्पादित कफी विश्व बजारमा पूर्ण अर्गानिक कफीका रूपमा प्रमाणित छ ।

यसरी लेखियो कफी गफ                                                   नारायण वाग्ले, लेखक तथा पत्रकार 

त्यतिबेला क्याफेहरूमा वाईफाई हुँदैनथ्यो । कफीको चुस्की लिँदै उनी पुस्तक पढ्न बस्थे कि त कापी, कलम निकाल्थे । त्यहीबेला उनमा कफी गफ स्तम्भ लेख्ने सोच आयो । लेखपढ गर्दा– गर्दै कफी गफले निरन्तरता पायो । त्यहीअनुसार लेखन बेचैनी बन्यो । त्यतिबेला काठमाडौं र समग्र नेपाल शान्त किसिमले चलायमान हुँदै थियो । पछि अशान्त गतिले चलायमान हुन थाल्यो । गतिको संगति मिलेन । जुन बेला कफी गफको बेचैनी थियो, उनी कफीमा घोलेर लेख्थें । पछि गएर ठमेल अस्तव्यस्त भयो । त्यसैगरी देश पनि अस्तव्यस्त बन्यो । कफी गफ पनि त्यसैगरी हरायो । 

नारायणले ठमेलका बिभिन्न कफी घरहरूमा बसेर कफी गफ लेखे । ठमेलका क्याफेमा उनी बस्ने टेबल निर्धारित हुन्थ्यो । बढीजसो ग्रिन लिफ्स क्याफे उनको गन्तब्य हुन्थ्यो । त्यहाँ अर्गानिक सलाद एवं हरियो तरकारी पनि पाइन्थ्यो, जुन पछि हरायो । 

वाग्लेको विचारमा लेखकको मनस्थिति देशको गतिसँगै गाँसिएको हुन्छ । पछि उनमा कफी गफ लेख्ने जाँगर पनि चलेन । संवाददाता हुँदा कम जिम्मेवारी थियो । पछि जिम्मेवारी थपियो । कफी गफ लेख्ने क्रम पनि टुट्यो । यतिबेला उनी उक्त स्तम्भ खुब मिस गर्छन् । उनलाई फेरि लेख्ने मन छ । उनको बुझाइमा लेखन भनेको प्रयोग पनि हो । 

पछि उनी पीपलबोट डट्कम लेख्न थाले । यसले उनलाई थिच्यो । यतिबेला ठमेल कोलाहलपूर्ण छ, उकुसमुकुसलाग्दो छ । पहिले अभ्यस्त बनाउने त्यही ठमेलले अचेल अस्तव्यस्त बनाउँछ । अहिले त वाईफाई नभै क्याफे नै चल्दैन । अहिले कफीको टेबलमा पुग्नेबित्तिकै वाग्ले मोबाइल र किन्डल निकाल्छन् । आमूल परिवर्तन आयो अहिले । वाग्ले भन्छन्– इन्टरनेटमार्फत हामी संसारसँग जोडिन पुग्यौं ।

 

अबको लक्ष्य अन्तर्राष्ट्रिय बजारसम्म

नेपाली अर्गानिक कफीको व्यापार कस्तो छ ?

आफ्नै देशमा भ्याइ–नभ्याइ छ । हामी देशैभर कफी पठाउँछौं । पुर्‍याउन सकिएको छैन । राजधानीका क्याफे, बिग मार्ट, ब्लूबर्ड तथा अन्य स्थानीय पसलहरूमा कफी बिक्री गर्दै आएका छौं ।

विदेशमा कत्तिको माग छ ?

जापान, दक्षिण कोरिया तथा युरोपका मुलुकहरूमा निकै माग छ । थुप्रै देशबाट हामीलाई इमेल आउँछ । माग आए जति निर्यात गर्न सकिरहेका छैनौं । बर्सेनि ५० टन माग छ । एउटा कन्टेनर भर्न ४० टन चाहिन्छ । त्यो नभरि लादैन । त्यति पुर्‍याउन सकिएको छैन ।

कुन–कुन जिल्लाबाट कफी खरिद गरिरहनुभएको छ ?

ललितपुरले मात्र धानेन । पाल्पा, गुल्मी, अर्घाखाँचीका व्यवसायीहरूसँग पनि कुराकानी भैरहेको छ । अबको हाम्रो लक्ष्य अन्तर्राष्ट्रिय बजारसम्म पुग्नु हो ।

अरु कुन–कुन जिल्लामा कफीको सम्भाबना देख्नुहुन्छ ?

कास्की, पर्वत, रोल्पा तथा रुकुममा पनि राम्रो सम्भावना छ ।

कफीको व्यापारसँगै आफ्नै क्याफे पनि सञ्चालन गर्नुभयो । कस्तो रह्यो अनुभव ?

झोंछेमा मैले अर्गानिक मन्त्र नामको क्याफे सञ्चालन गरें । राम्रै चल्यो । मानिसहरूले स्वास्थ्यलाई फाइदा पुग्ने चिज खोज्दा रहेछन् । अर्गानिक उत्पादनप्रति मानिसहरूको लगाब बढ्दो छ । मानिसहरूले बल्ल यसको महत्व बुझ्न थालेका छन् ।

                                                                                     उमेश लामा, अध्यक्ष 

                                                                           अर्गानिक वल्र्ड एन्ड फेयर फ्युचर 

                              कफी व्यवसायमा सेलिब्रिटीहरू 

डेढ वर्षअघि अभिनेत्री श्वेता खड्काले दरबारमार्गको राइजिङ मलमा हिमालयन जाभा क्याफे सुरु गरेकी थिइन् । श्वेता प्राय: भेटघाटका लागि यही ठाउँलाई रोज्छिन् । उनका लागि यो क्याफे घर जस्तै छ । इन्टरभ्यु र अन्य बिजनेस मिटिङहरू यही क्याफेमा सम्पन्न हुन्छन् । हिमालयन जाभाको यो फ्रेन्चाइज 

खोल्नु अघि श्वेताले कफी बनाउने कोर्स नै लिएकी थिइन् ।

पाँचवटा चलचित्रमा अभिनय गरेकी श्वेताले राजधानीमा पाँचवटा क्याफे सञ्चालनमा ल्याउँदैछिन् । क्याफे जाँदा धेरै पैसा खर्च हुन थालेपछि श्वेतालाई आफ्नै कफी हाउस सुरु गर्न मन लागेको हो । यसले उनलाई नयाँ अनुभव पनि प्रदान गर्‍यो जसले थप स्थानमा क्याफे खोल्न उत्साह भरेको छ । भेटघाटका लागि अफिसभन्दा क्याफेमै भेट्न उनलाई सहज लाग्छ । क्यापेचिनो र अमेरिकानो पिउन रुचाउने श्वेता घरमा आफैं पनि कफी बनाउन अघि सर्छिन् । श्वेता क्याफेको व्यापारमा मात्र सीमित छैनन् । उनले यसका साथ होटल, इन्टेरियर डिजाइनर तथा हेल्थ क्लबसमेत सञ्चालन गरिरहेकी छन् ।

थापाथलीस्थित अर्गानिक एस्प्रेसोमा भेटिन्छिन्, अभिनेत्री कृति भट्टराई । उनले मानबहादुर श्रेष्ठसँगको साझेदारीमा क्याफे सञ्चालन गरेकी छिन् । यो उनका लागि नितान्त नयाँ बाटो हो । तैपनि कृतिलाई एकदम रमाइलो लागिरहेको छ । ग्राहकहरूका लागि क्याफेमा एउटा स्पेसल रुम छुट्याइएको छ, जहाँ गीतार बजाउँदै रमाइलो गर्न सकिन्छ । यहाँ कफीसम्बन्धी तालिम पनि प्रदान गरिन्छ ।

१५ वर्ष मिडियामा बिताएकी कृति क्याफेमा बस्दा न्युजरुमलाई मिस गर्छिन् । ‘ख्यालख्यालमा सुरु गरें ।’ कृति भन्छिन्, ‘राम्रो रेस्पोन्स आइरहेको छ ।’ कृतिलाई विदेश गएर उतै हराउन मन छैन । उनले विदेशमा बस्ने कल्पनासम्म गरेकी छैनन् ।

प्रकाशित :फाल्गुन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्