गोलीगठ्ठाको माझमा ब्यागपाइप बजाउने सुवासचन्द्र

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७४

 

‘ब्यागपाइप’ बाजा नेपालको लागि नौलो बाजा हो । हुन त सेनाले यकाद रुपमा नेपालमा पनि यस बाजाको प्रयोग गरेको देखिन्छ तर विश्व प्रसिद्ध यस बाजाको चर्चा नेपालमा भने त्यति भएको देखिन्न । स्कटल्यान्डमा एक भेडा गोठालोले भेडाको छाला निकालेर यो बाजाको बनाएको इतिहास छ । सन् १४९८ पछि यो बाजाको ईतिहास सुरु हुन्छ । युरोपमा सुरुवाती दिनहरुदेखि नै चिनिएको यो बाजा पछिल्लो समय भने एसियामै चर्चा पाउँन सफल भयो । 

विशेषगरी हातका औँलाका चालसँगै मुखबाट निक्लिने धुनमा खुट्टा मिलाएर हिड्ने यो बाजा समूहगत रुपमा बजाईने गरिन्छ । विशेषत: युद्धमा भएका सेनालाई हौसला दिनको लागि यसकै संगीतको सहारा लिने गरिन्थ्यो र यो बाजा सेनामै मात्र सिमित थियो । रमाइलो संगीतका लागि प्रयोग गरिने यो बाजा हिजोआज भने सेना र प्रहरीको घेरा भन्दा निकै बाहिर आईसकेको छ । नेपालमा यस बाजालाई कतिपयले न्याउली बाजासँग जोडेर पनि व्याख्या गर्ने गरेको पाईन्छ । 

यसै सन्दर्भमा यो बाजालाई बजाउन सिपालु व्यक्तिका रुपमा सुवासचन्द्र मोक्तानलाई लिईन्छ । सानै उमेरदेखि संगित प्रति झुकाव राख्ने मोक्तानले अरुको देशमा गएर मात्र आफ्नो सांगीतिक क्षमता देखाउने सफल भए । ‘बाल्यकालमा बाख्रा चराउँदा अथवा मेलापात जाादा बाँसुरी बजाउने, मादल बजाउने, गीत गाउने, नाच्ने गरिन्थ्यो । अरु बाजा त गाउँघरमा हुन्नथ्यो ।’ उनले विगतका दिन सम्झिए । एकसमय सिंगापुर प्रहरीभित्र धेरै गोर्खालीहरुमध्ये सुवासचन्द्र मोक्तानको नाम परिचित थियो । उनी ३८ जना गोर्खाली बाद्यवादकमध्ये राम्रो ब्यागपाइप बजाउने संगितकार र कलाकारको रुपमा चिनिन्थे । ‘गाउने तिर त मेरो सौख नै भएन र त्यसैले बाजा बजाउन तिर लागें’ उनले आफु यस बाजाप्रति आकर्षित हुनुको सम्झना गरें । 

रामेछापको दोरम्बामा जन्मिएर १८ वर्षको उमेरमै सिंगापुर पुलिसमा भर्ती भएका उनले सन् २००८ मा ‘ब्यागपाईप’ संगीतको अध्ययन पुरा गरे लगत्तै बेलायतको एडम्बर्ग मिलिटरी एकेडेमीबाट स्कटल्याण्डको राष्ट्रिय दिवसमा उक्त बाजा बजाएका थिए । सिंगापुर प्रहरीले आयोजना गर्ने धेरै कार्यक्रमहरुमा उनले विभिन्न नेपाली लोक धुन तथा अन्य गीतहरुलाई ‘ब्यागपाईप’ मार्फत प्रस्तुत गर्ने गर्दथे ।

संगीतमा निरन्तर लाग्दै आएका मोक्तान सन् २०१४ मा संगित प्रशिक्षक समेत भए नेपालमा त्यति प्रचलित नभएको यस बाजाको सन्दर्भ जोड्दै उनले भने, ‘अन्य बाजा भन्दा धेरै महागो भएर पनि यो बाजा नेपालमा त्यति लोकप्रिय हुन सकेन । कम्तिमा १५–३० जनाको समुहमा बजाईने यो बाजाको ओरिजिनल स्कटल्यान्डबाट मगाउँदा धेरै नै खर्च हुन जान्छ । नेपालीहरुको लागि त्यति सहज छैन यो बाजा । काम चलाउ गर्नलाई त जस्तो बजाए नि हुन्छ तर क्वालिटि हुन्न ।’

हाल उक्त पेशाबाट रिटायर्ड भएका ३९ वर्षिय उनी नेपालमा आउँदा विभिन्न सांगीतिक कार्यक्रममा मात्र सरिक हुँदैनन्, आफ्नो क्षमता समेत प्रस्तुत गर्छन् र आफुले जानेको ज्ञान अरुलाई पनि सिकाउँछन् । नेपाली संगितलाई अन्तराष्ट्रिय क्षेत्रमा समेत चिनाउन महत्वपुर्ण भुमिका खेलेका मोक्तान सिंगापुरबाट सिपि कमेन्डेसन अवार्ड र नेपालमा सन् २०१२ मा उत्कृष्ट बाध्बादक इमेज अवार्डबाट सम्मानित भईसकेका छन् । उनी भन्छन्, ‘गोली गठ्ठाको माझमा थिएँ तर पनि मलाई संगीतले तान्यो, यसमै रमिरहे । मलाई यसैले जीवनको ठुलो सन्तुष्टि दिएको छ ।’  

 

 

प्रकाशित :फाल्गुन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्