काठमाडौंसम्म दौडेरै आउने इच्छा छ

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७४

 

५३ वर्षअघि स्कटल्यान्डको ग्लास्गोमा जन्मिएका मिलिन्द सोमन भारतीय सुपर मोडल, चलचित्र अभिनेता तथा राष्ट्रिय स्तरका पौडी खेलाडी हुन् । अहिले उनले आफ्नो परिचय सामाजिक अभियन्ताका रूपमा समेत विकसित गरेका छन् । झन्डै डेढ दशकअघि ‘रनिङ फर हेल्थ’ को अवधारणालाई पछ्याउँदै दौडन थालेका मिलिन्दले पछिल्ला पाँच वर्षयता स्वास्थ्यका लागि दौड भन्ने अभियानलाई आफ्नै जीवनसँग जोडेका छ्न ।

सन् २०१२ मा मुम्बईमा सम्पन्न पहिलो महिला म्याराथन अर्थात पिंकाथनको सफल आयोजना गरेर दौडमा महिलाहरूलाई सहभागी गराउने अभियान थालनी गर्ने मिलिन्दले अघिल्लो वर्ष नेपालमा समेत महिला सशक्तीकरणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘पिंकाथन काठमाडौं’ शीर्षकको महिलाहरूले मात्र सहभागिता जनाउने दौड प्रतियोगिता आयोजित गरे ।

अघिल्लो वर्षको शिवरात्रिका दिन सम्पन्न पहिलो पिंकाथनको सफलतापछि मिलिन्दकै अगुवाइमा आगामी शनिबार अर्थात् फागुन १२ गते दोस्रो संस्करणको पिंकाथन काठमाडौं–२०१८ को आयोजना हुँदैछ । उक्त कार्यक्रमको पत्रकार सम्मेलनमा सहभागिता जनाउन काठमाडौं आएका बेला मिलिन्दसँग साप्ताहिकले गरेको कुराकानी :  

अचेल चलचित्रमा निकै कम देखिनुहुन्छ नि ? 

विगतको तुलनामा अलि कम भएको हो, तर नदेखिएको भने होइन । अघिल्लो वर्ष मात्र मैले अभिनय गरेका सेफ तथा मुक्ति शीर्षकका दुई चलचित्र प्रदर्शन भए । यो वर्ष ‘हमारा तिरंगा’ मार्फत दर्शकमाझ आउँदैछु । 

सामाजिक कार्यमा सक्रिय भएपछि अभिनयलाई समय कम भएको हो कि ? 

त्योचाहिं हुन सक्छ । म पछिल्ला पाँच वर्षदेखि महिला सशक्तीकरणको अभियानमा छु । पिंकाथनमार्फत महिलाहरूलाई घरबाट सडकसम्म ल्याएर दौडाउने अभियानमा सक्रिय छु । त्यही अभियानको दोस्रो संस्करणका लागि अहिले म काठमाडौंमा छु । 

पिंकाथन कस्तो कार्यक्रम हो ? 

यो म्याराथनकै एक प्रकार हो, जसमा महिलाहरूको मात्र सहभागिता रहन्छ । नेपालमा यो कार्यक्रम दोस्रो पटक आयोजित हुँदैछ । परिवार तथा आफ्नो हेरचाहमा मात्र केन्द्रित हुने महिलालाई आफ्नै स्वास्थ्यका सम्बन्धमा जागरूक बनाउने उद्देश्यले पिंकाथनको आयोजना गरिएको हो । परिवारको हेरचाह गर्दागर्दै महिलाहरू आफ्नो स्वास्थ्यमा ध्यान दिन चुकिरहेका हुन्छन् । महिलाहरूबीच आफ्नो स्वास्थ्यको ख्याल गरौं भन्ने सन्देश पुर्‍याउनु नै यो अभियानको उद्देश्य हो ।

पिंकाथनको मुख्य उदेश्य के हो ? 

शारीरिक व्यायामलाई जीवनशैलीकै एक हिस्सा बनाउनु स्वस्थ हुनु हो भन्ने चेतना सबै पुरुषमा नआइरहेका बेला महिलाहरूमा त्यस्तो चेतना झनै कम छ । त्यसैलाई चुनौती दिँदै स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु तथा महिलालाई चुलोचौकाबाट बाहिर निकालेर सामूहिक दौडमा सहभागी गराउनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो । महिलाहरूले चुलोचौकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यतालाई 

सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको पिंकाथन महिलाहरूप्रति लक्षित एउटा अभियान हो । 

काठमाडौंमा सम्पन्न हुने काठमाडौं पिंकाथन–२०१८ को तयारी कस्तो छ ? 

आठ दिनपछि काठमाडौंमा सम्पन्न हुने पिंकाथन–२०१८ को लगभग सम्पूर्ण तयारी पूरा भैसकेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष सहभागी संख्या बढ्ने हाम्रो अनुमान छ । 

भारतमा आयोजित पिंकाथन कत्तिको सफल छन् ? 

पाँच वर्षअघि पिंकाथन प्रारम्भ गर्दाको तुलनामा अघिल्लो वर्षको पिंकाथनमा सहभागिताको संख्या ह्वात्तै बढेको छ । गत वर्ष मात्र हामीले भारतका बैंगलोर, कोलकाता, मुम्बई, दिल्ली, हैदरावाद, पुने, चेन्नई, गुवाहाटी आदि सहरका ८० हजार भन्दा बढी महिलालाई घरबाट बाहिर ल्याएर सडकमा कुदाएका छौं । 

तपाईं स्वयं यो अभियानका लागि कसरी तयार हुनु भयो ? 

डेढ दशकअघि सम्म म दिनको ३० खिल्ली भन्दा बढि चुरोट पिउँथें । स्वास्थ्यका बारेमा मैले केही सोचेकै थिइन । यद्यपि, त्यही बेला मलाई स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति र सौन्दर्य हो भन्ने लाग्यो । लगत्तै मैले चुरोट त्यागें र दौडन थालें । दौडन थालेको केही समयपछि नै मलाई अरूले पनि साथ दिन थालें । आज मेरो यो दौडाइले अभियानकै रूप लिएकोमा म खुसी छु । 

महिलाहरूबीच दौडनुपर्छ भन्ने सन्देश कसरी पुर्‍याउनु भयो ? 

पहिले त मेरो अभियानलाई महिलाहरूले खासै साथ दिएनन् । दौडमा महिलाहरू निकै कम हुन्थे । दौड प्रतियोगिता नै आयोजना गरेपछि महिलाहरूको सहभागिता बढ्ने अनुमान गरेर उक्त प्रतियोगिताको शीर्षक ‘पिंकाथन’ राखें । शीर्षकले नै महिलाहरूलाई आकर्षित गरेकाले हुनुपर्छ, यो प्रतियोगितामा महिला सहभागिता बिस्तारै बढ्न थाल्यो । पहिलो पिंकाथनको अनुभव कस्तो रह्यो ? 

सन् २०१२ मा मुम्बईमा पहिलो पिंकाथन सम्पन्न भयो । उक्त प्रतियोगितामा २ हजार भारतीय महिलाले सहभागिता जनाए । हाम्रो पहिलो प्रयासले राम्रो प्रशंसा पायो । सम्भवत: त्यसैले होला, मलाई मुम्बईभन्दा बाहिरका सहरबाट पनि यस्तै प्रतियोगिता सञ्चालन गर्ने निम्तो आउन थाले । 

महिलाहरू दौडिएको देख्दा कस्तो लाग्छ ? 

अवश्य पनि खुसी लाग्छ । दौडले महिला र पुरुष दुवैलाई स्वस्थ रहन सहयोग पुर्‍याउने भएकाले यो हरेकले गर्नैपर्ने काम हो । अर्को कुरा, महिलाहरूको सुन्दरता भनेकै उनीहरूको स्वास्थ्यमा निर्भर रहन्छ । सुन्दर देखिन स्वस्थ रहनुपर्छ भने स्वस्थ रहन दौडनुपर्छ । पिंकाथनको मुख्य उदेश्य नै यही हो । 

अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न पिंकाथनलाई कसरी सम्झनुहुन्छ ? 

भारतबाहिर पहिलो पटक नेपालमा पिंकाथन प्रारम्भ भएकोमा म अत्यन्त खुसी छु । नेपालका धेरै महिला पिंकाथनमा सहभागी भएको देखेर अझ बढी खुसी लाग्यो । मलाई आशा छ, फेब्रुअरी २४ को पिंकाथनमा अघिल्लो वर्षको तुलनामा अझ बढी नेपाली महिला सहभागी हुनु हुनेछ । अघिल्ला वर्ष दुई–तीन हजार महिला सहभागी भएकोमा यो वर्ष १०–१५ हजारभन्दा बढी सहभागिता रहने मेरो अनुमान छ । 

पिंकाथनमा सहभागीहरूको उमेर सीमा कस्तो छ ? 

यसपटकको पिंकाथनमा हरेक उमेरका महिलाले सहभागिता जनाउन सक्नेछन् । यद्यपि १३ वर्षभन्दा कम उमेरका किशोरी तथा बालिकाहरूले भने उनीहरूको अभिभावकको साथमा मात्र सहभागिता जनाउनुपर्नेछ । त्यसबाहेक अन्य हरेक उमेर समूहका महिलाका लागि पिंकाथन खुला रहनेछ । भारतमा सम्पन्न एउटा पिंकाथनमा १ सय वर्षकी एक महिलाले पूरा जोसका साथ दौडिएर सबैलाई छक्क पार्नु भएको थियो । 

पिंकाथनमा सहभागिताका लागि कुनै शुल्क तिर्नुपर्छ कि पर्दैन ? 

दौडमा सहभागी हुन इच्छुक महिला तथा युवतीले जम्मा ६ सय रुपैयाँ तिर्नुपर्छ । उक्त रकमबाट सहभागीहरूले टिसर्ट तथा खाजाको प्याकेटसमेत प्राप्त गर्नेछन् । 

 

काठमाडौं पिंकाथन–२०१८ को व्यवस्थापन कसरी हुन्छ ? 

यसपटकको पिंकाथनमा पनि कान्तिपुर मिडिया ग्रुपको मासिक पत्रिका ‘नारी’ मिडिया पार्टनरका रूपमा सहभागी छ भने भारतमा समेत पिंकाथनको व्यवस्थापन गर्दै आएको युनाइटेड सिस्टर्स अर्गनाइजेसनसँग मिलेर लिजर पोर्टलले नेपालको व्यवस्थापन मिलाउँदैछ । 

पिंकाथनमा सहभागी हुनेहरूले कति किलोमिटर दौडनुपर्छ ? 

यसपटकको पिंकाथन तीन किलोमिटरको दौडबाट प्रारम्भ हुनेछ । त्यसपछि ५ किलोमिटर, १० किलोमिटर तथा २१ किलोमिटरको दौड हुनेछ । दौडमा प्रथम, दोस्रो तथा तेस्रो हुनेलाई आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ । 

भारतबाहिर पहिलो पिंकाथन गर्न काठमाडौंलाई नै किन रोज्नुभयो ? 

काठमाडौं मेरा लागि विशेष सहर हो । त्यसैले पनि मैले पिंकाथनको अन्तर्राष्ट्रियकरणका लागि तपाईंहरूको सहरलाई रोजेको हुँ । 

प्रसंग बदलौं, नेपाल आएका बेला के–के गर्न रुचाउनुहुन्छ ?

हरेक पटकको नेपाल अर्थात् काठमाडौं भ्रमणका बेला मैले नछुटाउने दुई काममध्ये एउटा हो पशुपतिनाथको दर्शन अनि अर्को दशरथ रंगशालाको भ्रमण । 

तपाईं भगवान् शिवको डाइहार्ट फ्यान हुनुहुन्छ भन्ने चर्चा छ नि ? 

हो, म शिव भक्त हुँ । धर्ममा असाध्यै आस्था राख्ने भएकाले म काठमाडौं आएका बेला सकेसम्म छिटो पशुपतिनाथ पुग्न लालायित हुन्छु । त्यहाँ पुगेपछि ममा सकारात्मक उर्जा आएको अनुभव गर्छु । 

अनि दशरथ रंगशाला ? 

दशरथ रंगशालामा पौडी पोखरी पनि छ, जहाँ मैले पहिलो दक्षिण एसियाली खेलकुदमा भारतका लागि पदक जितेको थिएँ । त्यसैले काठमाडौंमा मलाई यी दुई स्थान विशेष प्रिय लाग्छन् । म हरेक पटक काठमाडौं आउँदा पशुपति जान्छु अनि रंगशाला पुगेर केही राउन्ड दौडन्छु । त्यति गरेपछि मात्र मेरो काठमाडौं यात्रा पूर्ण भएजस्तो लाग्छ ।

तपाईंको ग्ल्यामर संसारचाहिं कस्तो चलिरहेको छ नि ? 

त्यो पनि चलिरहेको छ । विभिन्न चलचित्रमा काम गरिरहेकी छु । मोडलिङमा आधारित रियालिटी शोहरूमा निर्णायकका रूपमा सहभागिता जनाइरहेको छु । 

मुम्बई म्याराथनको सहभागिताका बारेमा केही सम्झनुहोस् न ? 

सन् २००४ मा सम्पन्न पहिलो मुम्बई म्याराथनमा सहभागिता जनाउन मैले झन्डै तीन महिना ट्ेरडमिलमा दौडिएर तयारी गरेको थिएँ । त्यही तयारीले होला, २१ किलोमिटरको हाफ म्याराथन मैले २ घण्टा ५ मिनेटमा पूरा गरें, कुनै समस्याबिना । उक्त दौडले नै ममा नयाँ आत्मविश्वास सिर्जना गरेको थियो । 

मोडल तथा कलाकारजस्तो मान्छे, दौडन सक्छु जस्तो लागेको थियो ? 

मोडल र कलाकारभन्दा अघि म भारतको राष्ट्रिय स्तरको पौडी खेलाडी थिएँ । यद्यपि त्यति हुँदा पनि दौडमा चाहिँ समस्या होला जस्तो लागेको थियो । पहिलो पटक मुम्बई म्याराथनमा भाग लिएपछि पलाएको आत्मविश्वासले आज ५२ वर्षको उमेरमा पनि म एउटा युवाझैं दौडन सक्छु । तपाईंलाई अचम्म लाग्न सक्छ, मुम्बई म्याराथनको अनुभवकै कारण मैले सन् २०११ मा अहमदाबाददेखि मुम्बईसम्मको ५ सय ५० किलोमिटर दूरी १५ दिनमा दौडेर पूरा गरेको थिएँ । त्यसको एक वर्षपछि दिल्लीदेखि मुम्बईसम्मको १ हजार ५ सय किलोमिटर दूरी ३० दिन लगाएर पूरा गरेँ । 

अहिले पनि दौडनुहुन्छ ? 

अहिले पनि समय पाएँ भने एउटा सहरबाट अर्को सहर दौडिएरै पुग्छु । समयले साथ दियो भने कुनै दिन दिल्लीबाट काठमाडौंसम्म दौडिएरै आउने मन छ । 

तपाईंले भारतीय महिला र नेपाली महिलामा के फरक पाउनुभयो ? 

केही फरक छैन् । उनीहरू बराबर उत्साहित छन् । स्वास्थ्य सर्वाधिक महत्वपूर्ण कुरा हो भन्ने कुरा सबैले उत्तिकै बुझेका छन् । सबैले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिरहेका छन् । हामी राम्रो स्वास्थ्य भएन भने केही पनि गर्न सक्दैनौं ।

 

तपाईं सुपरिचित मोडल पनि हुनुहुन्छ । युवाहरूका लागि कुनै फिटनेस टिप्स ?

स्वस्थ नै सबैभन्दा ठूलो ग्रुमिङ हो । तपाई स्वस्थ हुनुभयो भने कस्तो देखिनुहुन्छ भन्ने कुराले केही महत्व राख्दैन । तपाईंमा सुन्दर छाला, ग्लो अनि पोजेटिभिटी आयो भने मानिसहरू त्यसै तपाईप्रति आकर्षित हुनेछन् । तपाईं यदि स्वस्थ हुनुभयो भने कुनै सेलिब्रेटीजस्तो देखिनुभएन भने पनि त्यसले खासै फरक पर्दैन् । तपाईं आफ्नो व्यक्तित्वप्रति आफैंले गर्व गर्नुहुनेछ । राम्रो स्वास्थ्यले नै तपाईंलाई आत्मविश्वासी बनाउनेछ । त्यसैले म भन्छु— हेल्दी रहनु नै सबैभन्दा ठूलो फिटनेस मन्त्र हो । 

 

प्रकाशित :फाल्गुन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्