यस्ता छन्, डीपीएलका टिम

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७४

अबको केही समयमा नेपाली क्रिकेटको ध्यान मोडिनेछ, धनगढीतर्फ, जहाँ चैत १७ देखि वैशाख १ सम्म हुनेछ, दोस्रो संस्करणको धनगढी लिग अर्थात डीपीएल । यसपटकको प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता हो, सर्वाधिक राशिको प्रतियोगिता । प्रतियोगितामा खेल्ने टिम कस्ता छन् त ? टिमका मालिक तथा रणनीतिक खेलाडीको घोषणापछि सहभागी टिमसम्बन्धी प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ । यसै साता हुने खेलाडीहरूको अक्सनपछि यी टिमले पूर्णता पाउनेछन् ।

विराटनगर किङ्स

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको टिम हो— विराटनगर किङ्स । पारसकै नेतृत्वमा गत वर्ष टिम चौराहा धनगढीले पहिलो संस्करण जितेको थियो र संयोगले पराजित टिम थियो— विराटनगर । पारस नै अहिले विराटनगर किङ्सका रणनीतिक खेलाडी हुन् । यो टिमका मालिक हुन्— पूर्व राष्ट्रिय खेलाडी पारस लुनिया अनि सह–मालिक प्रफुल्ल वैद्य । वैद्य पनि पूर्व क्रिकेटर हुन् । टिमको प्रायोजक महालक्ष्मी केवल हो ।

रूपन्देशी च्यालेञ्जर्स

शक्ति गौचन भेट्रान खेलाडी भैसके, तर घरेलु क्रिकेटमा उनको माग उत्तिकै छ । शक्तिलाई रणनीतिक खेलाडी बनाएको छ— रूपन्देशी च्यालेन्जर्सले । एसआर ग्रुपका सुरज उप्रेती सञ्चालक रहेको रूपन्देहीमा रोमित वज्राचार्य, विकास पाण्डे, अमित वज्राचार्य तथा समित बज्राचार्य सह– मालिक छन् । शक्ति नयाँ खेलाडीलाई राम्रोसँग प्रयोग गर्न माहिर छन् ।

 

सीवाईसी अत्तरिया

सीवाईसी अत्तरियालाई अर्को घरेलु टिम मान्निछ । अत्तरियाले दीपेन्द्रसिंह ऐरीलाई रणनीतिक खेलाडी बनाएको छ । सिर्जनशील युवा क्लबको सञ्चालनमा रहने अत्तरियामा नरबहादुर राई अध्यक्ष तथा रजत शाही र अनुप भण्डारी सहसञ्चालक छन् । गत वर्ष अत्तरियाको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए । यो टिमले पनि नयाँ र फरक खालको चुनौती सामना गर्नुपर्नेछ ।

काठमाडौं गोल्डेन्स

काठमाडौं गोल्डेन्सले राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई रणनीतिक खेलाडी बनाएको छ । टिमका मालिक हुन्— गोल्डेनगेट एजुकेसन नेटवर्कका रमेश सिलवाल । प्रतियोगितालाई लिएर सिलवालमा ठूलो महत्त्वकांक्षा पनि छ । सिलवाल भन्छन्– यो प्रतियोगितालाई दक्षिण एसियाली स्तरको बनाउनुपर्छ ।

 

टिम चौराहा धनगढी

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो— टिम चौराहा धनगढी । यसपटक टिमका रणनीतिक खेलाडी छन्– सोमपाल कामी । टिमका मालिक हुन्— राजकुमार श्रेष्ठ अनि सह–मालिक शाह नवाज आलम, गगन केसी र पुष्कर ओझा । टिम केही हदसम्म यसअघिको तुलनामा फेरिएको छ । त्यसैले टिम चौराहाका लागि चुनौती पनि धेरै र नयाँ हुनेछ । 

महेन्द्रनगर युनाइटेड

प्रतियोगिताको घरेलु टिम हुनेछ— महेन्द्रनगर युनाइटेड । यो प्रतियोगिताको नयाँ टिम हो र यसले स्थान लिएको छ, कञ्चनपुर आइकन्सको । टिमका मालिक पनि नयाँ नै छन् र उनीहरू हुन्, सुशीलकुमार श्रेष्ठ प्रमुख अनि सहयोगी विकास केडिया, दिनेश मल्ल, अशोक पाण्डे, नवीन बोहरा र सुशील चटौत । विनोद भण्डारी यो टिमका रणनीतिक खेलाडी हुन् ।

 

प्रकाशित :फाल्गुन ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्