यादहरु

- सुविन भट्टराई

फाल्गुन ६, २०७४

आजकाल यस्सै कसैले कसैलाई सम्झिँदैन । सम्झिए पनि सम्झिएको देखाउँदैन । यस्तो जमानामा पनि कुनै दिन कुनै साथीले मलाई फोन गर्छ । म उसलाई सोध्छु, ‘कहाँबाट सम्झियौ यार ?’ ऊ भन्छ, ‘यत्तिकै, आज तिम्रो याद आयो ।’

‘ओहो !’ म भावुक हुन्छु । कमसेकम कसैको त यादमा आउन सक्ने सामथ्र्य राख्ने रै’छु । कसैले आफ्नो मस्तिष्कमा मलाई केही ठाउँ दिएको रहेछ । आफैँलाई धन्य मान्छु अनि उसले मलाईझैँ म उसलाई याद गर्न थाल्छु । 

म दिनभर त्यही साथीसँगका केही यादलाई सुदूर अतीतबाट तानेर ल्याउँछु र मस्तिष्कमा नचाइरहन्छु । यसले मलाई पर्याप्त सन्तुष्टि दिन्छ । यादहरू लहराजस्तै हुन्छन्, अलिकति तान्न खोज्दा पहरै गर्जिन्छन् । यादहरूमा ऊ मात्र एक्लै आउँदैन । ऊ र म अनि हामी बाँचेको त्यो युगै आउँछ । एउटा सिंगो युग आएर मेरा अघिल्तिर फिँजिन्छ । म खोतल्न थाल्छु एक–एक कुरा । ओल्टाउँछु, पल्टाउँछु— टुक्रा–टुक्रामा बाँडिएका छन् सम्झनाहरू । कुनै टुक्रा बेजोड मिठा, खाइरहनुजस्तो । कुनै टुक्रा भयानक तीता, उकेलिहाल्नुजस्तो । कुनै टुक्रा धूलो बनेर सकिन आँटेका । कुनै टुक्रा सगल्ती । 

कुनै बेला खाली हुन्छु । म त्यो खाली समयलाई यादहरूले भर्छु । मेरा यादहरू मेरा सम्पत्ति हुन् । मेरा यादहरू मेरा सहारा हुन् । म आज पनि यस कारणले बाँचिरहेको छु झैँ लाग्छ कि भविष्यका लागि मीठा यादहरू बनाउँन सकूँ । मन आज पनि दुख्छ, म तिनको ओखती पुराना यादहरूले गर्छु । यादको राम्रो कुरा नै यही रहेछ । समय त आउँछ–जान्छ, नसकिने, टिकिरहने त यादहरू नै रहेछन् । मस्तिष्कमा बाँचिरहने भनेकै यादहरू रहेछन् । क्षणभरलाई आउने सुख क्षणभरमै सकिन्छ, तर त्यसको अनुभूति सुरक्षित रहन्छ मस्तिस्कमा । मस्तिष्कका स–साना डिब्बामा हर अनुभूति सुरक्षित भएर बाँचिरहन्छन् । तिनै अनुभूति हुन् यादहरू । हिजोका अनुभूति, आजका तीता–मीठा यादहरू । 

कसले भन्छ कि समयलाई कैद गर्न सकिँदैन ? मैले कैद गरेको छु, कतिपय समयका टुक्रालाई यादहरूमा समेटेर । जिन्दगी यसै कारणले पनि सुन्दर छ कि मीठा यादहरू यो मस्तिष्कमा सुरक्षित भएर बाँचिरहन्छन् ।

केही याद पानीका थोपासँगै बर्सिन्छन्, केही याद आगोका लप्कासँगै दन्किन्छन्, केही याद हुन्छन् जो हावाको वेगसँगै बत्तिन्छन् । केही याद आँसुको भेल लिएर आउँछन् र चुर्लुम्म डुबाउँछन् । केही यादले बन्दुक बोकेर लखेट्छन् र हामीलाई कुदाउनु कुदाउँछन् । केही याद हुन्छन्, जो छाती चिरेर जान्छन् । केही याद हुन्छन् जो हाम्रै रफ्तारलाई उछिनेर जान्छन् । 

यादहरू पक्कै सुन्दर कुरा हुन्, तर यादमै जीवन अल्झनु हुँदैन, यादहरू घाउ बनेर बल्झनु हुँदैन । याद पाहुनाजस्तै हुनुपर्छ, केही समयका लागि आउने, धेरै हँसाउने, थोरै रुवाउने, रमाइलो गराउने र अन्त्यमा बिदा भएर जाने । 

पाउलो कोएल्होको भनाइ सापटी लिँदै भन्न मन लाग्यो, ‘यादहरू भनेका नुनजस्तै हुन् । खानामा ठिक्क मात्रामा भए स्वादिलो हुन्छ । मात्रा बिग्रियो भने नमीठो हुन्छ ।’ एउटा निश्चित मात्रामा भयो भने यादहरू पनि ठिक्क । नभए तिनै याद वाक्क र दिक्क । 

यादहरू भनेका साथीभाइजस्तै हुन्, जसलाई जीवनको थोरै–थोरै समय दिन सकिन्छ, सम्पूर्ण जिन्दगी दिन सकिँदैन । निश्चय पनि हामीलाई मन पर्ने साथीसँगतीसित बढीभन्दा बढी समय बिताउन मन लाग्छ, जसरी यादहरूकै संसार बनाएर त्यहीँ बाँचिरहन मन लाग्छ । यादहरू त्यति नै ठिक्क जति यादले जीवन अघि बढोस् तर प्रगतिको बाटो नछेकोस् ।

कसैले मसँग सोधोस्, सबैभन्दा सुन्दर संसार कहाँ छ ? म भन्थेँ, ‘सबैभन्दा सुन्दर संसार यादहरूको संसार । जहाँ गएर कहिल्यै पुगिँदैन, पुगेर कहिल्यै अघाइँदैन ।’

प्रकाशित :फाल्गुन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्