भ्यालेन्टिनका टिपोट र सम्झना

- किशोर नेपाल

फाल्गुन ५, २०७४

 

यीहुन् भर्खर, अघिल्लो साता मात्र बितेको भ्यालेन्टाइन दिवस, फरवरी १४ का केही सम्झना । केटा–केटीहरूको भ्यालेन्टाइन दिवस : यो दिन केटालाई केटीले र केटीलाई केटाले फोन गर्छन्, माया गर्छन् । हिजोआज गोपालका गोपाल्नीहरूले पनि बुझेका छन्— भ्यालेन्टाइन । भरे बूढो आउँछ, उपहार होइन गिफ्ट बोकेर । पहिले–पहिले गुँदपाक बोकेर आउँथ्यो । भ्यालेन्टाइन दिवस मनाउने चलन सुरु भएपछि डेरी मिल्क बोकेर आउन थालेको छ । चपलीको भ्यालेन्टाइन अलि बुझ्झकी छ । 

चपली अलिकति चर्की पनि छ । वर्षको एकपटक यसो माया गरेर, यसो गाला सुमसुम्याएर, यसो मीठो बोलेर कुरा गरे पनि त हुने नि ! उसलाई त मसँग बस्नुपर्‍यो, हिंड्नुपर्‍यो र कुरा गर्नुपर्‍यो भने पसिना आइहाल्छ । भ्यालेन्टाइनका दिन उपहार दिंदा पनि सबैले देख्ने गरी दिए के हुन्छ र ? आफ्नै जोडाजोडी । सिउँदोमा सिंदूर हालेर, झ्याइँ–झ्याइँ पन्चै बाजा ठोकेर ल्याएकी आफ्नी बूढीलाई माया गर्न पनि लाज मान्नुपर्छ त ? कुरा सत्य हो ।

अर्को एउटा रमाइलो कुरा भेटियो फेसबुकमा । ‘पिपलु छायाँमा’ एक जना साथी छिन्, जो बडो रमाइलो र ज्यानदार कुरा लेख्छिन् । अस्ति त बिहानै लेखिदिइछन्, ‘जीवनमा सबैभन्दा राम्रो साथ आफ्नो साथीले निर्वाह गरेको हुन्छ । दु:ख पर्दा नरोऊ भन्दै आँसु पुछिदिने जीवनसाथी नै हुन्छ । मुग्लान गएका बेला घर नै खाली गर्ने के साथी ? मुग्लानबाट आउँदा गोठै बोकेर कोसेली ल्याउने पो साथी ? मुना–मदन र यस्तो पो साथी । माया दिवसको शुभकामना सबैलाई ल  !!’

पिपलुको भ्यालेन्टाइन शुभकामना पढ्दापढ्दै जंगी तोपजस्तो शुभ–कामना पढन पाइयो : ‘यो पुस्ता नै संसारबाट मरिहाल्ने अन्तिम पुस्ता हो । त्यसैले लफ एन्ड वी मेरी । हाम्रो पृथ्वीको नदीनालामा आएको छाल र स्मुदी बनाउँदा त्यसको जार र ग्लासमा आएको भेल उस्तै–उस्तै रहेछ ।’

अनि, त्यति नै बेला एसएमएस आयो, ‘काठमाडौंको बजारमा कबाब र विरयानीलाई लोकप्रिय बनाउन हामीले सुरु गरेको स्वादिलो प्रमोसनल अभियानमा आउनुहोस् ।’ युरोप, अमेरिकातिर भएको भए कबाब र विरयानीको सट्टा हर्सेस क्यान्डिज र क्याडवरी चकलेटको विज्ञापन हुन्थ्यो । अब, यताको तालै यस्तो । 

यसैपटक भ्यालेन्टाइन दिनको अखबारमा प्रेमले आतुर भएका हिन्दू केटा र मुसलमान केटीको अन्तरप्रदेशीय, अन्तरजातीय विवाह भएको समाचार छापियो । यो ताजा समाचार थिएन । धेरै वर्षअघिको घटनालाई समाचारका रूपमा पुनरुत्पादन गरिएको थियो । अचेल समाचारको अभाव हुन थालेको छ । 

पत्रकारहरूले बिटहरू फैलाउन थालेका छन् । वरिष्ठ हुने हतारमा छन् पत्रकारहरू, तर चरित्रमा उस्तै–उस्तै भए पनि नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसियसनका बीच अलिकति पनि समानता छैन । नेपाल बार एसोसिएसनको सिफारिशमा सरकारले अधिवक्ताहरूलाई वरिष्ठ तोक्छ । पत्रकार महासंघको सिफारिसमा पत्रकारहरूलाई वरिष्ठ तोक्न भनेपछि सरकार उफ्रिएर तीस हात पर थेच्चारिन्छ ।

प्रेमको यति ठूलो महत्त्व बोकेको यत्रो ठूलो दिवसका दिन यो वरिष्ठको कचिंगल किन आएको होला ? कचिंगलकै लागि त अनेक विषयले भरिएका छन् चोक र आँगनहरू । सहर–बजारमा पनि प्रेमका खासै विषयहरू छैनन् । जवान केटा र केटीहरू बालाजु वाइपास पार गरेर ‘सम्भोगदेखि समाधिसम्म’ तीर्थस्थलतिर लाग्दैछन् । उनीहरू त्यो पवित्र तीर्थ अर्थात् आश्रममा जाने होइनन् । देशमा अहिले होम स्टे जति लोकप्रिय छ त्यति नै लोकप्रिय छ— ‘घण्टे स्टे’ ।

अर्थात् आश्रम वरपरका डाँडाहरूमा होटलहरू खोलिएका छन् । त्यहाँ कति घण्टा बस्ने हो ? के–के खाने हो ? त्यसैमा धेरै कुरा निर्भर गर्छ । घण्टा–घण्टाका हिसाबले सशुल्क सुविधाजनक कोठा चाहिए सधैं स्वागत छ । 

प्रकाशित :फाल्गुन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्