आऊ प्रेम गरौं !

- अविरल थापा

फाल्गुन ३, २०७४

 

यो संसारमा प्रेम कसलाई नचाहिएला र ? धनले पुरिए पनि प्रेमको अभावमा भड्किएर र तड्पिएर हिंड्ने दु:खी आत्मा धेरै छन् । प्रेमी किन्न सकिएला तर प्रेम किन्न सकिँदैन । देखावटी प्रेम र आत्माले अर्पिएको प्रेमको शक्ति बेग्लै हुन्छ । प्रेमी हुनु, श्रीमान्/श्रीमती हुनु र प्रेम प्राप्त गर्नु फरक–फरक कुरा हुन् । सबै साथै भएर पनि खोजेको प्रेम पाएन भने मानिस सुखी हुन सक्दैन । कसैले दिए पनि लिन सक्दैन, कसैले मागे पनि प्राप्त गर्न सक्दैन । सामान्य मानिसदेखि लिएर उच्च ओहदा र नाम–दाम कमाएकाहरूसमेत तिर्खालु र भोको मन बोकेर प्रेम खोज्दै हिंडिरहेका हुन्छन् ।

 प्रेम कसरी हुन्छ त ? मानिसले कस्तो प्रेमी खोज्छ ? प्रेम आफैं उत्पन्न हुन्छ कि जबरजस्ती उब्जाइन्छ ? प्रेम आकर्षणबाट सुरु हुन्छ कि समर्पणबाट ? एक जनालाई अर्को कोही किन र के देखेर मन पर्छ ? के कोही मन पर्दैमा उसलाई पाउनैपर्छ ? प्रेम गर्न हैसियत चाहिन्छ कि चाहिँदैन ?

एउटा गरिबले राजकुमारीलाई वा कुनै झुपडीमा हुर्किएकी केटीले उच्च खानदानको केटाबाट प्रेमको चाहना राख्नु जायज हो ? प्रेमका मापदण्ड हुन्छन् कि हुँदैनन् ? प्रेम गर्नुअघि सोच्नैपर्ने वा पालन गर्नुपर्ने नियमहरू छन् कि छैनन् ? के प्रेमको पनि आचारसंहिता हुन्छ ? कसैले कसैलाई प्रेम गरिरहेको छ भनेर थाहा पाएपछि समाज किन डराउँछ ? समाज हिंसासँग भन्दा प्रेमसँग किन बढी त्रस्त हुन्छ ? के हामीले गरिआएको प्रेम शुद्ध छ ? प्रेम एक जनासँग मात्र हुन्छ कि धेरै जनासँग पनि हुन सक्छ ?

हामीले आजसम्म आफूलाई कति ढाँट्यौं अनि आफ्ना प्रेमी–प्रेमिकालाई कति ढाँट्यौं ? हामी किन प्रेम गर्छु पनि भन्न सक्दैनौं, प्रेम गर्दिन पनि भन्न सक्दैनौं ? हामीमध्ये कति प्रेम किन्न सकिन्छ भन्ने भ्रम बोकेर डुलिहिंड्ने बजारिया प्रेमी हौं । 

 

एकफेर सोचौं न त, हाम्रो प्रेम के कुराबाट सुरु हुन्छ ? सुरुमा हामीलाई कसैको रूप मन पर्छ कि बोलीबेहोरा मन पर्छ कि कसैको धनसम्पत्ति मन पर्छ कि कसैको बौद्धिकता वा अरु के मन पर्छ ? प्रेमको सुरुवात दिमागबाट भएको थियो कि मनबाट ? हामीलाई कोही किन आफ्नो बनाउन मन लागेको थियो ? उसको के कुरा भोग्न मन लागेको थियो वा आफ्नो मात्र बनाउन मन लागेको थियो ? के आफूले मन पराएको मानिसले पनि उही तहमा उही भावमा प्रेमको अनुभूति गरेको थियो कि उसलाई जबरजस्ती प्रेम गर्न बाध्य तुल्याइएको थियो ? प्रेम मनको मूलबाट आफैं उम्रिएको थियो कि खनीखोस्री गरेर उमारिएको थियो ? यी यस्ता प्रश्न हुन्, जसले प्रेमको दिगोपन निर्धारण गर्छन् । 

कसैले महँगो उपहार दिएर प्रेमी किन्लान्, कसैले प्रेमको भीख मागेर प्रेमी जोड्लान्, कसैले रूपको मोहजालमा पारेर प्रेमी बटुल्लान् तर प्रेमी पाएर पनि प्रेम पाइएन भने मन त बेचैन हुन थालिहाल्छ । कुनै पनि मानिस सर्वगुणसम्पन्न हुँदैन । सबैका आ–आफ्नै विशेषता तथा कमी–कमजोरीहरू हुन्छन् । कुनै धनी मानिस कालान्तरमा गरिब हुन सक्छ, गरिब धनी हुन सक्छ । आफूले खोजेको सबैथोक पाउन्जेल हाम्रो प्रेम ठीकठाक चल्छ र त्यही मानिस ठीक लाग्छ तर अलिकति मात्रा घटबड हुनासाथ हाम्रो प्रेम धर्ममराउन थाल्छ । के प्रेमले गुण र शक्ति मात्र हेर्छ ? प्रेम भनेको त दोषसहित जस्तोसुकै विकराल परिस्थितिमा पनि कसैलाई उही भाव र समर्पणसहित स्विकार गर्न सक्नु होइन र ? एकफेर सोचौं त, हामी प्रेम गरिरहेका छौं कि कसैको उपभोग गरिराखेका छौं ?

हामी एक–अर्कालाई प्रयोग गरिरहेका छौं कि प्रेमको आदानप्रदान ? विवाहअघिको प्रेम र विवाहपछिको प्रेममा घटबढ हुन्छ कि उस्तै रहन्छ ? मानिस सदैव प्रेमको भोको हुन्छ । प्रेममा कति प्रकारका भोक हुन्छन् ? शरीरको भोक, मनको भोक, दिमागको भोक, आत्माको भोक आदि अनेक भोक प्रेममा मेट्ने लालसा हरकोहीमा हुनसक्छ । जब प्रेमको उक्त भोक मेटिन सक्दैन वा पाउँदैन, ऊ नपाएको त्यही प्रेम खोज्दै भड्किन थालिहाल्छ । त्यसैले यहाँ शतप्रतिशत प्रेमी आफ्ना प्रेमी–प्रेमिकामै सन्तुष्ट, आफ्नो प्रेममै सन्तुष्ट छन् भनेर कसैले ग्यारेन्टी गर्न सक्दैनन् । त्यसैले बजारमा प्रेम र प्रेमी किन्न निस्कनेहरूको भीडले प्रेमबजार रंगीबिरंगी र प्रदूषित भएको छ । 

के यो वैश्यिक युगमा कोही ज्यूँदो प्रेमी बाँकी छ, जसले भन्न सकोस् कि म तिम्रा सारा गुणदोष स्वीकार गरेर, जातधर्म, खानदान तथा हैसियत आदि बिर्सिएर अहिलेजस्तै अन्तिम साससम्म उही भावमा प्रेम गरिरहनेछु । कोही छ भने आऊ— प्रेम गरौं । 

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :फाल्गुन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्