डिजिटल प्रेम

  • (सन्दर्भ प्रेम दिवस)

- राधिका अधिकारी

फाल्गुन २, २०७४

सम्बन्धहरू प्राय डिजिटल बन्दै गएका छन् । बैठक कोठामा बसेको श्रीमानलाई भान्छाबाट श्रीमतीले बोलेर ‘खाना पाक्यो’ भन्ने झन्झट गरिरहन्न । ऊ खाना पस्किएको तस्बिर खिचेर म्यासेन्जरमा पठाउँछे । श्रीमान्ले पनि खानाको स्वादको प्रतिक्रिया फेसबुकमै दिन्छ । उनीहरूले एकआपसमा संवादको आवश्यकता महसुस नै गर्दैनन् । 

एकै ओछ्यानमा सुतेका श्रीमान्–श्रीमती इन्बक्समा रमाउँछन् । सँगै हुँदा बोलेर प्रेमभाव व्यक्त गर्नु अहिले आवश्यकता नै ठानिँदैन । श्रीमान्ले श्रीमतीका तस्बिरमा, श्रीमतीले श्रीमानका तस्बिरमा ‘लभ रियाक्ट’ गरेर प्रेम दर्शाउँछन् र रमाउँछन् एक–अर्काको प्रेममा ।

हिजोआज कुराकानी गर्ने माध्यम बदलिएको छ । सोसल मिडिया नेटवर्क, मोबाइलम्यासेज, ह्वाट्सएप तथा इमेलको माध्यमबाट ह्दयपोखिन्छ । धेरैले अक्षरमा मन पठाउँछन्, सबैले मन नै पढ्छन् भन्ने छैन । डिजिटल संवादले सम्बन्धको कसिलोपनलाई खुकुलो र हल्का बनाउँदै लगेको छ ।

श्रीमान्–श्रीमतीको मात्र होइन, सुमधुर सम्बन्ध मुस्किल प्राय: बनिसकेको छ । छोराले बाबुलाई ‘हाई ड्याड’ भनेर सम्बोधन गर्छ । उमेरको लामो ग्यापका कारण छोराको सम्बोधन बाबुले पचाउन सकिरहेको हुँदैन । आफ्नो समयका आदर र संस्कार छोरालाई सिकाउने फुर्सद पितालाई हुँदैन् । बाबु–छोराका बीचमा ठूलो ग्याप देखिन्छ । कतिपय अवस्थामा सन्तानलाई साथीसरह व्यवहार गर्नुपर्छ भनेर त्यसैअनुरुप अभ्यास पनि भएका छन् । तर, बाबु–छोरा र साथीको सम्बन्ध फरक हो ।

आमाको नजिकै बस्नु छोरीले जरुरी ठान्दिन । आमाले पनि लोरी गाएर सन्तान सुताउने कष्ट उठाउँदिनन् । हातमा थमाइदिन्छिन् मोबाइल र लगाइदिन्छिन् मोटु–पत्लु । स्मार्ट फोनको विकास र विस्तारसँगै सम्बन्धहरू पनि स्मार्ट बन्दै गएका छन् । छोरी त्यही मोटु–पत्लुको स्वादमा रमाउँछे र निदाउँछे । सायद, आमासँग सुतेर सुन्ने लोककथा, दन्त्यकथा, कहानीहरू केवलकहानी नै बनिसकेका छन् । यही दूरीले आमाको स्नेह महसुस गर्न सकिरहेका छैनन् सन्ततीले ।

शारीरिक आकर्षबाट सुरु भएको युवायुवतीको सम्बन्ध कुन होटल, पार्क वा कोठामा पुगेर टुङ्गिन्छ पत्तै हुँदैन । हिजोआजको सम्बन्ध प्रेममा कम वासना र स्वार्थमा धेरै टिकेको छ । भन्न त स्वार्थरहित सम्बन्ध दरिलो र दिगो हुन्छ भनिन्छ, तर समान स्वार्थमा केही समय चलेका कैयौं सम्बन्ध स्वार्थ मिल्न छाडेपछि लफडामा परिणत भएका छन् । अहिलेको पुस्ताले झुक्नुलाई गिर्नु सम्झन्छ सायद । सानै मनमुटाव अथवा भनाभनमा एउटा सुन्दर सम्बन्धको अन्त्य गर्न तयार हुन्छ, तर माफी माग्नु जरुरी ठान्दैनन् । 

प्रेमभन्दा अघि नै एक–अर्कामा आफूलाई समर्पित गराउँछन् युवायुवती । अहिले हरेक चिज केवल यौनमा जोडिन थालेको छ । ‘वन नाइट स्ट्यान्ड, सेक्स डेट तथा पार्टनर एक्सचेन्ज’ जस्ता चलनहरू सामान्य बन्न थालेका छन् । विश्वासमा कम, यौन र आकर्षणमा ज्यादा टिकेका वा बनेका सम्बन्धमा कुन बेला कहाँ अविश्वास पैदा भएर टुट्छ थाहा हुँदैन । धेरैले प्रेम गुमेपछि मात्र प्रेमको महसुस गर्ने गरेका छन् ।

फेसबुकमा फ्रेन्डरिक्वेट पठाएर सुरु भएका सम्बन्ध त्यही फेसबुकमा ब्लक गरेर सकिँदै छन् । रातो गुलाफबाट सुरु भएका कयौं सम्बन्ध सुनौलो गुलाबसँगै गुमनाम भएका छन् । हुँदै गएका छन् । यसको अर्थ साँचो मायागर्नेहरू नै छैनन् भन्न खोजिएको पनि होइन । 

आज हामीले भोगेका अथवा देखेका यी यावत् कुराले भोलिको जिन्दगीमा पनि असर गरिरहेको छ । अतीतको छायाले हामीलाई हाम्रो सम्बन्ध निर्वाह गर्नमा बाधा पुर्‍याइरहेको छ । कुनै कुरा, कुनै घटना वा कसैको धोकाले कतिपय सुन्दर सम्बन्धहरू पनि स्वीकार गर्न नसकेर एक्लो बन्दै गएको छ मान्छे । हामी तीता अनुभवहरूबाट सिक्नुको साटो निरन्तर स्मरण गर्छौं । तिनै स्मरणहरू पछिल्ला सम्बन्धहरूमापनि नमीठा पल बोकेर आउँछन् । अतितको छायाले सम्बन्धमा ठूलो दरार पैदा गरिरहेको छ । 

मन, जीवन र सम्बन्ध जस्तो भएपनिहामीलाई देखाउने बानी परेको छ । सम्बन्धमा यसैगरी खुम्चिएर पनि सेलिब्रेसन गर्छौँ । प्रेम र प्रणयका साथ भव्य उत्सव मनाउँछौं हरेक वर्ष । प्रेम प्रस्ताव राख्नकै लागि कुर्ने गरेका छौं फेबु्रअरी १४ । प्रेम अभिव्यक्त गर्नकै लागि परदेशबाट लाखौंका गुलाफ आयात गर्ने गरेका छौं बर्सेनि । हामीले यति भव्यताका साथ मनाएको प्रेम जोडी अर्को प्रणय दिवसमा सँगै हुन्छ कि हुँदैन, थाहा हुँदैन । गुलाफसँग साटिएका कतिपय सम्बन्ध नहराउँदै गुलाफबाट सुगन्ध, मूल्यहीन बनेका छन् । 

फेब्रुअरी १४ लाई प्रणय दिवसका रूपमा हेरेर भव्य सेलिब्रेसन गर्नु कत्तिको उचित छ ? हामीले भव्य उत्सवका रुपमा मनाउँदै आएको यो प्रणय दिवस त एउटा प्रेमीले प्रेम गरेकै अपराधमा जीवन गुमाएको दुखद दिन हो । आफूले गरेको प्रेम प्राप्त गर्न असफल एक प्रेमीको सम्झनामा ‘भ्यालेन्टाइन डे’मनाउँछौं, र यही दिन आफ्ना प्रेमी–प्रेमिकालाई आफ्नो बनिदिन आग्रह गर्छौ । 

पादरी भ्यालेन्टाइनले रोमका शासक क्लाउडियसले सैनिकहरूलाई प्रेम र विवाह गर्न नदिएको विरोध गर्दै उनीहरूको विवाह गराइदिएका थिए, तर त्यो दिनभ्यालेन्टाइन डेभन्दा अन्य दिन थियो, जुन दिन हामी सेलिब्रेसनसहित प्रणय दिवस मनाइरहेका छौं, यो त उनलाई मृत्युदण्ड दिइएको दिन हो । मृत्युदण्डपछि उनको प्रेम त्यागमा परिणत भयो । हामी फेरि यही दिनबाट प्रेमको सुरुवात गर्न पर्खिरहेछौं । के हामी प्रेममा त्यति नै त्यागी बन्न तयार छौं ? अथवा आफूले गरेको प्रेम त्याग्न परोस् भन्ने आशयले गर्छौ । चाहेर पनिप्राप्तगर्न नसक्नु अर्कै कुरा होला ।

‘भ्यालेन्टाइन डे’ प्रेम गर्नेहरूका लागि एउटा दु:खद दिन, यही दिनबाट सुरु भएको प्रेमको भविष्य सु:खद हुने सम्भावना कत्तिको छ ? मनोवैज्ञानिक असर कस्तो छ ? प्रेम गरेकै आधारमा फाँसी चढेका भ्यालेन्टाइनले प्रेमको समर्थन गरेकाले उनको कदर गर्न सकिन्छ तर यस दु:खद दिनमा प्रेम प्रस्ताव राखेर आफ्नो प्रेमको दु:खद् अवस्था स्वीकार गर्न सकिँदैन । हिजोआज मन यतातिर बग्न थालेको छ । एक त प्रेम साइत हेरेर गर्ने कुरा नै होईन रहेछ । अर्को कुरा हामी जुन हिसावमा प्रेम दर्साइरहेछौं, देखाइरहेछौं, यसले पनि सम्बन्ध कस्नुको साटो खुकुलो बन्दै गएको त होइन ?

प्रेमले मनमा बेग्लै उथलपुथल ल्याउँछ । खुसी र उमंग ल्याउँछ । तनाव पनि उत्तिकै दिन्छ । जब हामी प्रेममा हुन्छौ, मस्तिष्कमा कोर्टिसोल रिलिज हुन्छ । यो तनाव पैदा गर्ने हार्मोन हो । हामी अधैर्य हुन थाल्छौं । त्यसैले हाम्रो धैर्यताको परीक्षा सामान्यभन्दा बढी हुन्छ । यहि समय प्रेमी–प्रेमीकाहरूले सुन्दर सपना देख्छन्, देखाउँछन् । तर, विवाहपछि कैयौं अवस्थामा तिनै प्रेमकालमा देखिएका/देखाइएका सपनाहरू नै सम्बन्ध भत्काउने कमजोर खम्बा सावित भएका छन् । 

विवाहपछि प्रेमी/प्रेमिका आपसमा पति/पत्नी हुन्छन् । एउटा मान्छेको जीवनमा प्रेमी/प्रेमिका हुनु र श्रीमान्/श्रीमती हुनुका काम–कर्तव्यहरू नै फरक छन् । हिजोआजका कैयौं सम्बन्ध सम्बन्धको अर्थ नबुझेर पनि भत्किरहेका छन् । समाजका प्रेमी–प्रेमिकाले निर्वाह गर्ने भूमिका र श्रीमान्–श्रीमतीले निर्वाह गर्ने भूमिका अलग धार हुन् । यही भूमिकाको महत्वलाई नबुझ्दा सम्बन्धमा ठुलो खाडल पर्छ । भनिन्छ, विवाह आफैमा सम्झौता पनि हो । दुवैले आ–आफ्नो निजी स्वार्थ त्याग गर्न सक्नुपर्छ । र, त्यसबाट सामूहिक खुसी खोज्नुपर्छ । यस्तो खुसी, जसले पति/पत्नी दुवैलाई खुसी तुल्याउँछ । तर, हिजोआज मनहरू सामान्य कुरामा विवादित बन्दै गएका छन् । कतिपय चाहना र इच्छाहरू बाझिएकै कारण छुट्टिएका छन् । 

कुनै पनि सम्बन्धको बलियो आधार भनेको विश्वास हो । जब सम्मविश्वास कायम रहन्छ तबसम्म त्यो सम्बन्ध टुट्दैन चाहे श्रीमान्–श्रीमतीको होस् वा अरु कसैको । एकले अर्कालाई गरेको विश्वासमा धमिलोपना नआउने हो भने सम्बध जुगौं जुगसम्म बलियो रहन्छ । जब सम्बन्धमा विश्वासको संकट पैदा हुन्छ तब सुरु हुन्छ वैचारिक द्वन्द्व अनि टुट्छ मानवीय मनसँग जोडिएको सम्बन्ध अदालतका कागजी खेस्राहरूमा । 

सम्बन्धकै कारण मनमा अमिलोपन बोकेर अथवा, आत्मीयताविना भव्यरुपमा प्रेम सेलिब्रेसन गर्नुको खासै अर्थ छ जस्तो लाग्दैन । गुलाफ र चकलेटसँग प्रेम साटिरहेका नयाँ पुस्ताको स्वतन्त्रताप्रति कुनै ईष्र्या छैन, तर कामना गर्छु— यो बजारिया प्रेम कुनै दिन जीवनको पासो नबनोस् ।

                                   sabdha.sahitya@gmail.com

 

प्रकाशित :फाल्गुन २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्