प्रेम, विवाह र सम्बन्ध

  •  रेखा शाह, गायिका

- अरुणा भट्टराई

फाल्गुन १, २०७४

मानिस सामाजिक प्राणी हो । समाजबिना जीवनको परिकल्पना नै गरिँदैन । त्यही जीवनलाई सुखमय बनाउन मानिसले विभिन्न तरिका तथा लयहरू निर्माण गरेको छ । बाटाहरू पहिल्याएको छ । आफ्नो सजिलोका लागि विभिन्न सम्बन्धहरू बनाएको छ । त्यही सम्बन्धको एउटा नाम हो– विवाह । पुराना धर्मग्रन्थ, संस्कृति र व्यवहारमा विवाहलाई बन्धन शब्दसँग मिलाउँदै विवाह–बन्धन भन्ने गरिएको छ ।

विवाहलाई बुझ्न पहिले प्रेमलाई बुझ्नु जरुरी छ । प्रेम स्वतन्त्र, आत्मिक र समर्पणमा अडिएको हुन्छ । त्यसैले विवाह–बन्धनमा प्रेम कति, कस्तो र कुन अवस्थाको हुन्छ भन्ने बुझ्नु जरुरी छ ।

हाम्रो समाजमा अहिले विवाहेत्तर सम्बन्धहरू बढ्दै गएका छन् । पुरातन समाजले बनाएका मान्यता तथा सोचहरू परिवर्तन हुँदै गएका छन् । समय परिवर्तनसँगै यसको परिभाषामा पनि फरक हुन् थालेको छ । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सामाजिक, मानसिक एवं शारीरिक रूपले सुरक्षित हुनु जरुरी छ । त्यस्तो हुन नसकेको अवस्थामा श्रीमान्–श्रीमतीका बीचमा विभिन्न उतार–चढाव आई सम्बन्ध सुमधुर हुन नसकेका घटना बढ्दै गएका छन् ।

यस्तो अवस्थामा श्रीमान्–श्रीमतीका बीच सम्बन्ध सुमधुर हुन नसक्दा भावानात्मक, संवेगात्मक एवं शारीरिक रूपमा सहज हुन र सबै प्रकारको सुख प्राप्तिका लागि परपुरुष अथवा परस्त्रीसँग सम्बन्ध जोडिन पुग्छ । कतिपय अवस्थामा लोग्ने–स्वास्नीका बीच सम्बन्ध बिग्रिएर कानुनी रूपमा पारपाचुके नभएको अवस्थामा मनको कलह शान्त पार्न पनि विवाहेत्तर सम्बन्धले स्थान पाउँछ ।

समयको परिवर्तित क्रमसँगै बसाइँ–सराइ अथवा अन्य कारणले पनि विवाहेत्तर सम्बन्ध स्थापित हुन सक्छ ।

हिजोआज ५० लाखभन्दा बढी नेपाली रोजगारीका सिलसिलामा संसारका विभिन्न देशमा पुगेका छन् । गाउँघरमा रहेका कतिपय नारी देहसुखका लागि पनि पर–पुरुषको साथ खोज्न थालेका छन् । यसले पारिवारिक तथा सामाजिक रूपमा ठूलो समस्या त खडा गरेकै छ, सँगसँगै वैयक्तिक सुख खोज्ने कि नखोज्ने भन्ने प्रश्न पनि उठ्न थालेको छ । 

परिवर्तित समयअनुसार विभिन्न मिडियाको विकाससँगै पश्चिमा समाजको प्रभाव एवं देखासिकी नेपाली समाजमा समेत पर्दै गएको छ । त्यसले पनि हाम्रो मनोविज्ञानमा असर पारेको छ । स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सबैलाई छ र स्वतन्त्रता केका लागि भन्ने प्रश्न पनि छ ।

समाज खुला छैन तर वैवाहिक सम्बन्धमा समस्याहरू छन् भने तिनले पक्कै पनि व्यवहारिक जीवनमा कठिनाइ सिर्जना गरिरहेका छन् । बाँच्न पाउने अधिकारको सम्मान, मर्यादित जीवनको परिकल्पना तथा शारीरिक, मानसिक एवं भावानात्मक शोषणबाट जोगिन सम्बन्ध सुमधुर हुनुपर्छ, अन्यथा यस्ता समस्या वृद्धि भैरहनेछन् ।

 

 

प्रकाशित :फाल्गुन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्