प्रेमका अनेक रंग

- ओशो

फाल्गुन १, २०७४

 

प्रेम र ध्यानमा खासै अन्तर छैन । प्रेमलाई ध्यानमा रूपान्तरित गर्न सकिन्छ र ध्यानलाई प्रेममा । स्वयंसँग प्रेमको गहिराइमा डुब्नु ध्यान हो भने अरूसँग ध्यानको गहिराइमा डुब्नु प्रेम हो । प्रेमका गहन क्षणहरूमा हाम्रो अहंकार विसर्जित भएको हुन्छ । भलै त्यो क्षणिक नै किन नहोस् ? दुई शरीर एक आत्माझैँ भएको अवस्था हुन्छ प्रेममा । यो सुन्दर क्षणलाई ध्यानको गहिराइमा प्रवेश गर्न उपयोग गर्न सकिन्छ । यो कुरा पहिले कहिल्यै कसैबाट भनिएन ।

प्रेमलाई सधैँ सामाजिक नियमको नाममा, धर्मको नाममा प्रताडित गरिँदै आयो । प्रेम र अध्यात्म परस्पर विरोधी हुन् भन्दै आइयो । त्यसैले समाज न पूर्ण रूपमा धार्मिक हुन सक्यो न त प्रेमी हुन नै । सही अर्थमा प्रेम गर्न जान्ने हो भने कुनै पूजा, प्रार्थना आवश्यक छैन इश्वरसम्म पुग्नलाई । यद्यपि हामी यहाँ अनेकन् स्वार्थ एवं वासना तृप्तिलाई प्रेमको नाम दिइरहेका हुन्छौं । त्यसैले प्रेम पीडादायी छ जस्तो प्रतीत हुन्छ ।

ब्रम्हाचार्य भन्दा बढी आध्यात्मिक त प्रेम हो । प्रेमले मानिसलाई ध्यानले झैं शान्त र आनन्दित बनाउँछ । प्रेमीहरूको मुस्कानमा बुद्ध पुरुषहरूकै झैं ताजापन पाइन्छ । ध्यानले दिने सबै कुरा सबै प्रेमले पनि दिन सक्छ । त्यसैले प्रेम ध्यानमा प्रवेश गर्ने आधारभूत उपाय हो । सबैले प्रेमलाई नै ध्यानमा बदल्ने कला जानेको खण्डमा पण्डित–पुजारीहरूको धन्दा चौपट हुने भएकाले उनीहरूले प्रेमको वर्जना गरेका हुन् ।

यस्ता पण्डित–पुजारीहरू मानवतालाई चुस्ने जुकासरह हुन् । पौडी खेल्न सिक्दा एक–एक कदम, एक–एक दिन गर्दै सिकारु बिस्तारै अथाह गहिराइमा पौडन सक्ने हुन्छ । पौडी सिकाउने ठाउँमा दुइवटा पोखरी हुन्छन् । जान्दै नजान्नेहरूका लागी घाँटीसम्म मात्र पानी आउने एउटा सानो पोखरी हुन्छ । बिस्तारै साहस बढ्दै जान्छ । कुशलता विकसित हुँदै जान्छ अनि बल्ल दोस्रो पोखरीमा प्रवेश दिइन्छ, जुन गहिरो हुन्छ । अब गहिराइको कुनै डर हुँदैन । डुब्नुको कुनै भय रहँदैन । अब पानी चाहे जतिसुकै गहिरो किन नहोस् ? डुबिँदैन । प्रेम र ध्यान बीचको फरक पनि यति मात्र हो । प्रेम गहिराइमा डुब्ने प्रशिक्षण हो भने ध्यान गहिराइमा निर्भय भएर गोता लगाउनु हो । हाम्रो समाजले गहिराइको प्रसंसा र त्यसमा जाने पूर्वतयारीको चाहिं विरोध गर्दै आएको छ ।

जसले जीवनमा प्रेमले दिने शान्ति र आनन्दको किञ्चित अनुभव गरेको छैन, उसलाई ध्यानमा प्रवेश गर्न कदापि सहज हुँदैन । प्रेमको गहिराइमा डुबेको क्षण समयको अनुभव हुँदैन । यस्तो लाग्छ, मानौं समय छँदै छैन, अथवा छ भने पनि रोकिएको छ । एक क्षण प्रेमको अनन्तता बराबर लाग्छ । दुई फरक व्यक्ति हुनुको अनुभव पनि केही बेरलाई मेटिन्छ । ध्यानमा हुने अद्वैत बोधको अनुभव पनि त यही नै हो ।

फरक यत्ति हो, प्रेमका लागी अर्को व्यक्ति को आवश्यकता पर्छ । प्रेम हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ । प्रेमको गहनतम पल क्षणभंगुर हुन्छ । प्रेमीहरूको पीडा पनि यही नै हो । ध्यानमा भने यही समयरहित, मनरहित अवस्थाको अझ गहनतम बोध हुन्छ र त्यो पनि बिना अरू कसैको आवश्यकता । ध्यानको कला जानेकाहरूलाई समय ठप्प भएको, मन ठप्प भएको अनुभव गर्न अरु कसैको आवश्यकता पर्दैन । प्रेममा जे जस्तो आनन्द अनुभव हुन्छ, ध्यानमा त्यही अनुभवको अझ सघन रुप बोध हुने हो ।

समाज र धर्मका ठेकेदारहरूले हाम्रा विरुद्ध एउटा ठुलो षड्यन्त्र गर्दै आएका छन् । भन्नलाई त उनीहरू शान्ति र आनन्द नै जीवनको अभीष्ट हुनुपर्छ भन्छन्, तर जे–जति कुराले जीवनमा शान्ति र आनन्द दिन्छ ती सबै कुरालाई यिनीहरूले वर्जित गरेका छन् । मानिस स्वत: शान्त र आनन्दित भएको खण्डमा आफ्नो व्यापार चौपट हुने भएकाले उनीहरूले त्यस्तो गरेका हुन् अन्यथा प्रेमको वर्जना गर्नुपर्ने अरु कुनै कारण छैन । आनन्द हाम्रो स्वाभाव हो । हामी हाम्रो केन्द्रमा सधैँ आनन्दित नै छौं ।

विभिन्न कारणले उक्त केन्द्रबाट विमुख भएकाले हामी विक्षिप्त र क्रोधित भएका हौं, बेचैन भएका हौं । कुनै जनावरले पण्डित पुजारीहरूले भनेझैं ब्रह्मचर्यको पालना गरेका छैनन् । उनीहरू त सधैं आनन्दमै छन् । कुनै जनावर कहिल्यै मानसिक रूपमा वेचैन र विक्षिप्त भएको देखिएको छैन । हामीलाई किन अनावश्यक वर्जना ? हामीलाई सही–गलत अनि पाप–धर्मको डर देखाइएको छ ? किन शान्ति प्राप्त गर्न घर परिवार त्याग्नु पर्छ, प्रेम, सम्भोगजस्ता प्राकृतिक र नैसर्गिक वस्तुमाथि दमन गर्नुपर्छ भनिएको छ ? कुरा स्पष्ट छ, जो–सुकैले हामीलाई धर्मको नाममा यस्ता अप्राकृतिक नियम दिए, उनीहरू हामीलाई विक्षिप्त र मानसिक रूपमा रुग्ण बनाएर हामीमाथि नियन्त्रण गर्न चाहन्थे ।

आफूभित्रको शान्ति र आनन्दको बोध गरेको मानिसमा यौनजन्य विकृति हुँदै हुँदैन । उनीहरूको यौनजन्य गतिविधीमा पनि एउटा निश्चलता हुन्छ । बरु धर्म र नैतिकताको नाममा आफ्नो प्रकृतिलाई दमन गरेकाहरू भित्रभित्रै अनेकन् यौनजन्य विकार पालेर बसेका हुन्छन् । मानिस केवल शरीर भैदिएको भए वा केवल मन भैदिएको भए उसका यत्ति धेरै समस्या हुने थिएनन्, जति अहिले छन् । प्याजका अनेक पत्र भएजस्तै मानिसका अनेक पत्र छन, आयाम छन् । यी सबै आयामका आ–आफ्नै किसिमका चाहना र वासना छन् अनि ती वासनाहरू एक–अर्कासँग नमिल्ने विरोधाभाषी किसिमका छन् । शरीर थोरै पाएर पनि सन्तुष्ट छ । शरीरका माग धेरै छैनन् । मन भने जती पाएर पनि सन्तुष्ट छैन । मनका माग अनन्त छन् । मनका वासना दुस्पुर छन्, पूरा गर्नै नसकिने । आत्माको भने कुनै चाह छैन, कुनै वासना छैन । 

जीवनका यी भिन्न–भिन्न आयामहरूसँगै प्रेमको परिभाषा पनि भिन्न हुँदै जान्छ । ओशो भन्छन्– शारीरिक प्रेममा गहिराइको अनुभव केही सेकेन्ड मात्र हुन्छ । सम्भोगको चरमसुखसँगै त्यो क्षणभंगुर आनन्दको अनुभव गरेर फेरी तल ओर्लनु पर्दाको पिडा पनि सँगै आउँछ । त्यसैले काम वासनालाई नै प्रेम मान्नेहरू कहिल्यै सन्तुष्ट हुँदैनन् । मनको त झन् कुरै नगरौं । यो केही पाएर कहिल्यै सन्तुष्ट हुनेवाला छैन । आत्माले गरिने प्रेममा मात्र परम आनन्दको सम्भावना छ र त्यो पनि स्थाई । दु:खको कुरा, जीवनमा जे अत्यावश्यक छन् ती सबैको पढाइ कुनै विश्वविद्यालय वा पाठशालामा हुँदैन । प्रेम, आनन्द तथा शान्ति अध्यापन गराउने कुनै पाठशाला छैन । हामीले यी सिकिरहनुपर्ने चिज हुन् जस्तो पनि मानेका छैनौं । प्रेम के हो ? जीवन के हो ? आनन्द के हो ? हामीलाई लाग्छ, हामीलाई यी सबैको उत्तर थाहा छ । कतैबाट, कसैबाट सुनेका उत्तरहरूलाई नै हामीले हाम्रो उत्तर बनाएका छौं ।

हामीलाई यी सबैको उत्तर थाहा हुँदो हो त जीवनमा प्रेमको, आनन्दको कुनै अभाव हुने थिएन । हामीले कुनै वस्तु वा व्यक्तीलाई आफ्नो बनाउनु नै प्रेम हो भन्ने बुझेका छौं । कोही केवल आफ्नो होस् भन्ने चाहना प्रेम होइन भन्छन् ओशो । उनका अनुसार कुनै व्यक्तिमाथि आफ्नो स्वामित्वको दाबी गर्नु व्यक्तिको अस्तित्वको र प्रेमको हत्या गर्नु हो । जीवनमा जे जति कुरा सुन्दर छन्, तिनलाई कैद गर्न सकिँदैन । बन्द मुठ्ठीमा चाहे प्रेम होस् वा खुसी वा आनन्द, कैद गरेर राख्न सकिँदैन । यी कुरा प्राप्त गर्न हाम्रो मुठ्ठी र ह्दय दुवै खुला हुनुपर्छ । प्रेम बाँडेर बढ्छ । कुनै एक व्यक्तिमा मात्र सीमित गर्नाले प्रेम घट्दै जान्छ र एक दिन समाप्त पनि हुन्छ । हाम्रो जीवनमा भएको यही हो । शताब्दियौंदेखि हामीले आँखा चिम्लेर प्रेमलाई गलत रूपमा बुझ्दै आयौं । ईष्र्या, तनाव, हकदावी जस्ता कुरा प्रेमकै पाटा हुन् भन्ने स्वीकार गर्यौं । त्यसैले इश्वरको झलक देखाउन सक्ने सम्भावना बोकेको प्रेम केवल क्षणिक सुख र अनेक दु:ख दिने साधन बन्न पुग्यो ।

ओशो भन्छन्– समाजमा विवाहको प्रादुर्भाव भएसँगै प्रेम विकृत हुन थालेको हो । त्यसभन्दा अघिसम्मको मानवीय प्रेम प्राकृतीक थियो र त्यही कारणले जीवन आनन्दपूर्ण थियो । विवाहले व्यक्तिमाथिको हकदाबी लिएर आयो र त्यससँगै ईष्र्या, शंका उपशंकाजस्ता विकारहरू पनि आए । अन्यथा जनावरको संसार हेर्ने हो भने त्यहाँ कुनै प्रेम जन्य विकार वा समस्या भएको पाइँदैन । यदाकदा प्रेमका निम्ति उनीहरूले युद्ध गरिहाले भने पनि त्यो युद्ध मानिसले प्रेमको नाममा भोग्नु परेको कष्ट र पीडाभन्दा धेरै गुणा प्राकृतिक हुन्छ । 

विवाह अप्राकृतिक हो । प्रेम प्राकृतिक हो । प्रकृतिले प्रेमलाई महसुस गर्ने संवेदना हामीलाई प्राकृतीक रूपमै दिएको छ । विवाहका लागि भने हाम्रो मनमा त्यस्तो कुनै प्राकृतिक व्यवस्था छैन । जुन दिन प्रेमको स्थायित्वको चाहना गर्दै त्यसको सामाजिकीकरण गरियो र विवाहको आविष्कार भयो, त्यसपछि मानिसको जीवनबाट प्रेमका सम्भावना पनि नष्ट गरियो । स्वतन्त्रता प्रेमको एक मात्र सर्त हुनुपर्छ, जसले हामीलाई बन्धन दिन्छ, त्यस्तो सम्बन्ध प्रेम हुँदै होइन । ओशोका अनुसार सही र गलतको, पाप र पुण्यको केवल एक मात्र मानक छ र त्यो हो स्वतन्त्रताको आभाष । यस्तो प्रेम गर्न जानियो जसमा आफू र आफ्नो प्रेमी दुबैलाई कुनै बन्धन महसुस हुँदैन भने त्यति नै पर्याप्त हुन्छ ।

(ओशो एक असाधारण जीवन पुस्तकबाट अनुपम पोखरेलले गरेको अनुवाद ।)

प्रकाशित :फाल्गुन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्