प्रेमको इजलासमा प्रतिवादीको बयान

  • कविता

- सोझो गाउँले

माघ २९, २०७४

 

 

 

श्रीमान् ! 

सपना देख्न पनि

कसैको अनुमति लिनुपर्छ र ?

कसैलाई प्रेम गर्नु कानुनविपरीत छ र ?

उसले मलाई जो आरोप लगाई

त्यो शतप्रतिशत सत्य हो श्रीमान् !

 

उसका पैतलाका डोबहरू सुँघेर

बाटोहरू पछ्याएकै हुँ

उसको जीवनको लय टिपेर

मुटुको गीतमा मिसाएकै हुँ

फेसबुकबाट उसको फोटो झिकेर

पूजाकोठामा सजाएकै हुँ ।

 

या त तिमी मायाको मन्जुरीनामा गरिदेऊ

नत्र म मृत्युपत्रमा हस्ताक्षर गरिदिन्छु

पनि भनेकै हुँ

प्रेममा बलिदान दिन पाइँदैन र श्रीमान्... ?

 

उसका आँखाहरूको भयानक आतङ्कबाट

आफ्नो आत्मा जोगाउन सकिनँ त

मैले के अपराध गरेँ ?

उसको मुस्कानको साङ्घातिक हमलाबाट

आफ्नो मनलाई बचाउन सकिनँ त

मैले के गल्ती गरेँ ?

एउटी छापामार परीलाई

हृदयकी देवी बनाएर

मैले के बिराएँ श्रीमान् ?

 

अन्याय त ममाथि भएको छ श्रीमान् !

दिनभरि बेचैनीको विस्फोट गराएर

मेरो होस–हवास उडाएकी छे उसले

रातभरि यादहरूको बमबारी गराएर

पूरै निद्रा ध्वस्त पारेकी छे उसले

मन अपहरण गरेर लाने पनि उही हो

छातीभित्र आगो दन्काएर जाने पनि उही हो ।

 

यो सम्मानित अदालतको कठघरामा उभिएर

जीवनको पहिलो र अन्तिम 

प्रेमको बयान दिएको छु

अब फैसला सुनाइयोस् श्रीमान् !

 

यदि म निर्दोष ठहरिएछु भने

एकतर्फी प्रेमलाई पनि वैधानिकता दिइयोस्

होइन, प्रेम गरेर अपराधै गरेको छु भने

मृत्युदण्ड दिइयोस्...

तर, जेल नपठाइयोस् श्रीमान् !

मन्दविष दिएर कसैलाई

तड्पाई–तड्पाई मार्नु 

मानवअधिकारको घोर उल्लङ्घन हो । 

प्रकाशित :माघ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्