साहित्यमा किन प्रेम बढी लेखिन्छ ?

- नरेन्द्र रौले

माघ २८, २०७४

संसारमा कैयौं यस्ता पुस्तक छन्, जो प्रेमकै कारण प्रख्यात भएका छन् । चाहे लियो टोल्सटायको ‘अन्ना करेनिना’ होस् वा ग्याब्रियल गार्सिया मार्खेजको ‘लभ इन् द टाइम अफ कोलेरा’ । निकोलस स्पार्कसको द नोट बुक होस् वा निकोल क्रौसको ‘द हिस्ट्री अफ लभ’ । प्रेमकथामा केन्द्रित यी पुस्तक संसारका असंख्य पाठकको मनमा बसेका छन् । 

नेपालकै सन्दर्भमा कुरा गरौं । युवा पुस्ता माझ अत्यन्तै चर्चा कमाएको उपन्यास हो— सुबिन भट्टराईको ‘समर लभ’ । उपन्यासका मुख्य दुई पात्र अतित र सायाको प्रेम कथामा आधारित ‘समर लभ’ ले नेपाली पाठकहरूको संख्या ह्वात्तै बढायो । कथा सामान्य भए पनि सरल र मन छुने उपन्यासको भाषा एवं लेखनशैलीले धेरैलाई तान्यो । पाठकहरूकै चाहना एवं आग्रहमा यसको दोस्रो भाग ‘साया’ पनि बजारमा आयो । यो पुस्तकका प्रकाशक फाइन प्रिन्टका अजित बरालका अनुसार दुवै पुस्तक झण्डै ५० हजार भन्दा बढी बिक्री भैसकेका छन् । 

यदि प्रेमकथामा आधारित नभएका भए यी दुई पुस्तक यति धेरै बिक्थे ? ठूलो मात्रामा पाठक कमाउन सक्थे ? लेखक सुबिन भट्टराईसँग यसको प्रस्ट जवाफ छ । उनी भन्छन्, ‘संसारमा सबैभन्दा धेरै प्रेम गरिन्छ, सबैभन्दा धेरै प्रेम लेखिन्छ र हरेक मानिससँग प्रेमको भावना हुन्छ ।’ प्रेम कथा लेख्दा आफूलाई बढी सन्तुष्टि मिल्ने भट्टराई बताउँछन् । ‘प्रेम सजिलो बाटो हो । मन छुने गरी लेखेपछि पाठक तान्न सकिन्छ ।’ भट्टराई भन्छन्, ‘प्रेम लेख्नेहरूको बाढी नै छ, तर खै पाठक तान्न सकेको ?’

वास्तविक जीवनमा प्रेम बढी गरिने भएकाले संसारभर प्रेमका कथा लेखिन्छ । प्रेमकै बारेमा चलचित्र बन्छन् र प्रेमकै गीतहरू गाइन्छ । समाजमा जे–जे कुरा विद्यमान छन्, लेखकहरूले टपक्क टिपेर तिनै विषयलाई आफ्नो लेखनको विषय बनाउँछन् ।

लेखक बुद्धिसागरका अनुसार प्रेम युवा र युवतीबीच मात्र होइन, धेरै कुरासँग जोडिन्छ । जति पैसा कमाए पनि प्रेम नै खोजिन्छ । यसबाट कोही अछुतो रहन सक्दैनन् । ‘प्रेम भनेको शक्ति हो । उमेरको विभिन्न चरणमा फरक–फरक खालका प्रेम हुन्छ । स्वादहरू पनि फेरिदै जान्छन् ।’ बुद्धिसागर भन्छन्, ‘संसारका महान कृतिहरू प्रेमकै वरिपरि घुमेका छन् । कोही प्रेमबाट भाग्न सक्दैन । जन्मदेखि मृत्युसम्म प्रेम हुन्छ ।’ लभ इन् द टाइम अफ कोलेरा उनलाई मन परेको कृति हो । दार्शनिक तहको प्रेम कथा समेटिएको उक्त पुस्तकको मुख्य मेरुदण्ड नै प्रेम हो । स्वयं बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ मा अबोध खालको प्रेम कथा छ । ‘कर्णाली ब्लुज’ मा बाबु र छोराको प्रेम कथा समेटिएको छ ।

प्रेमले मानिसलाई आपसमा बाँध्ने काम गरेकाले साहित्यमा यसको प्रयोग बढी हुने साहित्यकार अमर न्यौपाने बताउँछन् । ‘धर्तीलाई हरियाली र पानी आवश्यक भए जस्तै लेखनमा पनि प्रेम आवश्यक हुन्छ ।’ न्यौपाने भन्छन्, ‘प्रेम शाश्वत कुरा भएकाले संसारका जो कोही मानिसले पनि यसको अनुभव गर्न सक्छन् ।’ जीवनको सृष्टि नै प्रेमबाट हुने भएकाले साहित्यमा यो प्रमुखताका साथ आउनु स्वभाविक भएको तर्क गर्छन् उपन्यासकार नयनराज पाण्डे । ‘म पनि प्रेम लेख्न रुचाउँछु,’ पाण्डे भन्छन्, ‘तर म प्रेमका नाममा रतिरागलाई महत्व दिन्नँ ।’

संयोगान्तको तुलनामा प्रेमका वियोगान्त कथाहरू चर्चित छन् । वियोगान्त कृतिहरू बढी रुचाइएका पनि छन् । सुबिनकै कुरा गर्दा सुखद अन्त्य भएको ‘साया’ भन्दा वियोगान्त कथा समेटिएको ‘समर लभ’ रुचाउनेहरूको संख्या कैयौं गुणा बढी छ । सुबिनको नजरमा रोमान्स, खुसी एवं सन्तुष्टि प्रेमको एउटा पाटो हो । निस्सारता, पीडा तथा विछोड प्रेमको अर्को पाटो । बियोग पनि प्रेमकै पाटो भएकाले यसलाई अर्को रूपमा नहेर्न उनको आग्रह छ । 

 

प्रेम नभएको जीवन मरुभूमिजस्तै

प्रेम पानीजस्तै हुन्छ । यसको तिर्खा मानिसलाई मात्र होइन, मानिसले लेख्ने कथा तथा उपन्यासलाई पनि लाग्छ । प्रेम एउटा बन्धन पनि हो । बन्धनले बाँध्ने काम गर्छ । प्रेमले पनि मानिसलाई बाँध्ने काम गर्छ । जसरी जराले जमिनलाई र जराले जमिनलाई बाँधेको हुन्छ । नदिलाई पनि दुई किनारले बाँधेका हुन्छन् । एउटा घर बनाउन पनि इँटा वा ढुंगाहरूलाई सिमेन्टले जोड्दै जानुपर्छ । त्यहाँ झ्याल, ढोका र छानाहरू पनि जोड्नुपर्छ । त्यसैले प्रेम सुरक्षा पनि हो । त्यस्तै प्रेम नभएको भए जीवन फूल नफुल्ने बगैंचा जस्तै हुन्थ्यो । फूल नफूल्ने हो भने फल पनि कहाँ लाग्थ्यो र ? प्रेम नभएको भए जीवन पानी नभएको मरुभूमिजस्तै हुन्थ्यो । प्रेमले कठोर मानिसलाई कोमल बनाउँछ र कोमल मानिसलाई कारुणिक बनाउँछ । 

प्राय: धेरै पुस्तकमा प्रेमको प्रसंग आइ नै हाल्छ । मैले लैनसिंह वाङ्देलले अनुवाद गर्नु भएको पुस्तक ‘स्याउको रुख’ पढेको थिएँ । जसमा दुखान्त प्रेम कथा छ । गाउँकी एउटी निर्दोष, अबोध युवती एउटा सहरिया युवकसँग कसरी प्रेममा पर्छे ? भन्ने कथा समेटिएको छ त्यसमा ।

डायमण्डशमशेरले लेख्नुभएको ‘बसन्ती’ उपन्यासमा गगनसिंह र वसन्तीको प्रेम पनि गजबको छ । रानीले गगनसिंहलाई गर्ने प्रेम र गगनसिंहले वसन्तीलाई गर्ने प्रेम पनि गजबकै छ । यो पनि दु:खान्त प्रेम कथा हो । प्रेम यति शक्तिशाली छ कि यदि त्यहाँ प्रेमको खेल नभएको भए राजनीतिले अर्कै मोड लिने थियो । राजनीतिका ठूलाठूला मोड र घुम्तीहरू प्रेमले तय गरेका छन् । हुन त यो राजनीतिक उपन्यास हो । ठूलाठूला राजनीतिक दुर्घटना पनि प्रेमका कारण नै भएका छन् । 

प्रेमकै बारेमा कुरा गर्दा मलाई मन पर्ने प्रेमकथा पुराणमा उल्लेख प्रेमकथाहरू हुन् । महादेवले सतीदेवीलाई गरेको प्रेमजस्तो उत्कर्ष र पागलप्रेम मैले कतै पढेको छैन । मरेकी सतीदेवीको लास बोकेर उनी संसार घुम्छन् । सयौं वर्षसम्म उनी संसार डुल्छन्, त्यो पनि पागलजस्तो भएर । सतीदेवीको शरीरका अंगहरू कुहिँदै झर्न थाल्छन् । उनलाई त्यो लास न गन्हाउँछ, न फोहोर लाग्छ । यसरी कुहिएर झर्दा पनि महादेव लासलाई बोकेर कुदिरहन्छन् । यो जस्तो प्रेमको पागलपन अरु के हुन सक्छ ? उनको शरीरबाट सतीदेवीको लास कुहिएर पूरै झरिसक्दा पनि उनी अझै सतीदेवी–सतीदेवी भनिरहेका हुन्छन् । प्रेमको यति ठूलो पागलपन कतै पढिएको छैन । न त कतै लेखिएको नै छ । म पुराणलाई साहित्यका रूपमा पढ्छु । ती पात्रहरूको आवरणबाट भगवान हटाएर पढ्दा हाम्रा १८ पुराण संसारकै सबैभन्दा महान आख्यान हुन् जस्तो लाग्छ । त्यसमा पनि महाभारत त सर्वोत्कृष्ट नै भैहाल्यो । 

मैले लेखेको ‘सेतो धरती’ मा प्रेम नै प्रेम छ । ताराले गोविन्दलाई प्राप्त नगरे पनि, प्राप्त गर्ने आशा नराखे पनि जीवनको अन्तिम घडीसम्म मनको मान्छेका रूपमा प्रेम गरिरहन्छिन् । उनलाई लाग्छ, मनको मान्छे त आफूभन्दा अगाडि पनि मर्दैन । आफू भन्दा पछाडि पनि मर्दैन । आफूसँगै मर्छ । त्यसैले मनको मान्छेसँग कहिल्यै विछोड हँुदैन । मनको मान्छे रिसाउँदा पनि रिसाउँदैन । गाली पनि गर्दैन । आफ्नो इच्छा अनुसार हुन्छ । ठूलो प्राप्तिको आशा पनि राख्दैन । त्यो मनको मान्छे छायाँजस्तै हुन्छ । जहाँ जाँदा पनि आफूलाई साथ दिइरहन्छ । त्यस्तो किसिमको अनौठो प्रेम कथा छ ‘सेतो धरती’ मा । 

त्यस्तै मेरो अर्को पुस्तक ‘पानीको घाम’ को कुरा गर्दा चुकुल र ईश्वरसँग मुद्दा शृंखला कथा हुन् । यो कथाका पात्र बुधरामले आफ्नी श्रीमतीलाई यति प्रेम गर्छ कि उसले इश्वरसँग मुद्धा पर्‍यो भन्छ । इश्वरले मलाइ बिछोड गराउनु थियो भने यति गहिरो प्रेम किन गराए ? इश्वरसँग मेरो मुद्दा परेको छ र मैले इश्वरको अदालतबाट न्याय पाउनैपर्छ भनेर २२/२३ वर्षमा बिदुर भएको बुधराम जिन्दगीभर आफ्नी पत्नीलाई सम्झेर बाँचिरहन्छ अनि ईश्वरको अदालतबाट न्यायको आशा गरिरहन्छ । यो प्रेम कथा म आफैलाई पनि असाध्यै मनपर्छ । यो नेपालगन्जमा घटेको सत्य कथा हो ।

                                                         -अमर न्यौपाने, साहित्यकार

प्रकाशित :माघ २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्