कस्ता महिला सुन्दर हुन्छन् ?

- डा. सुशील कोइराला

माघ २८, २०७४

 

यो ब्रह्माण्डको सृष्टि र अझ त्यसमा पनि प्राणी जगत्लाई हेर्ने हो भने एउटा अचम्मलाग्दो फरकपन पाइन्छ । मानिसबाहेक सृष्टिका सबै प्राणीका स्त्री जातिभन्दा भाले जाति सुन्दर देखिन्छन् । मानिस मात्र एउटा यस्तो प्राणी हो जसका भाले जातिभन्दा स्त्री जाति सुन्दर हुन्छन् । ती सुन्दर स्त्रीलाई प्राप्त गर्न हरेक पुरुष लालायित हुन्छन्, तर के सबै स्त्री सुन्दर नै हुन्छन् त ? सबै स्त्री सुन्दर हुँदैनन् । पूर्वीय दर्शनमा स्त्रीको सुन्दरताका विषयमा अनेकन प्रसंग उल्लेख छन् । 

पूर्वीय दर्शनमा महिलाको सुन्दरता मात्र होइन, पुरुषको सुन्दरताका बारेमा पनि उल्लेख गरिएको छ । पौराणिक ग्रन्थहरूमा सुन्दर हुनका लागि महिला तथा पुरुष दुवैमा केही समान गुण हुनैपर्ने कुरामा जोड दिइएको छ, जुन पछि गएर पश्चिमा संस्कृतिले पनि घुमाउरो पारामा स्वीकार गरेको छ । 

के हो त सुन्दरता ?

पूर्वीय दर्शनमा स्वस्थ शरीरलाई महिला तथा पुरुषको सुन्दरताको पहिलो मापदण्डमा राखिएको छ । सुन्दरतामा स्वास्थ्यको ठूलो महत्व छ । यदि कुनै व्यक्तिको अनुहारमा दाग छ भने त्यसलाई राम्रो मानिँदैन । मेडिकल साइन्सले पनि कुनै ठाउँमा दाग आउनुलाई अस्वस्थताको संकेत मान्छ । पोतो–चायाँ आउनु भनेको अस्वस्थताको प्रमाण तथा सुन्दरताको अंक घट्नु हो । पूर्वीय दर्शनमा लामो केशलाई सुन्दर भनिएको छ । केश फुल्नु, हाँगा आउनु पनि अस्वस्थताको संकेत हो । यदि मानिस स्वस्थ छ भने सादा पानीले नुहाए पनि राम्रो देखिन्छ । स्वस्थता गुमाएपछि मानिस नराम्रो देखिन्छ अनि कस्मेटिक (प्रसाधन) प्रयोग गर्न थाल्छ मानिसले आफ्नो सुन्दरता टिकाउने हो भने प्रकृतिसँग मिल्ने गरी आफूलाई सन्तुलित राख्न सक्नुपर्छ । यस्तो सुन्दरता टिकाउ पनि हुन्छ । 

सुन्दरताको दोस्रो सर्त भनेको प्रत्येक अंगको समानुपातिक विकास पनि हो । स्वस्थतासँगै उनीहरूको शारीरिक अंग–प्रत्यंगहरू पनि समानुपातिक हुनुपर्छ । जस्तै शारीरिक बनोट, छाला, केश आदि सबै स्वस्थ्य हुनुपर्छ । तीसँगै अंग–प्रत्यंगको विकास पनि समानुपातिक नै हुनुपर्छ । जस्तो— हाइटअनुसार आँखा, कान तथा अनुहारको बनोट हुनुपर्छ भने छाती पनि समानुपातिक रूपमा मिलेको हुनुपर्छ । 

उदाहरणका रूपमा हेर्ने हो भने भारतीय अभिनेता अमिताभ बच्चनलाई राम्रो भन्ने जमात विश्वमा ठूलै छ, तर शरीरको समानुपातिक वितरणका हिसाबले उनलाई सुन्दर भन्न सकिँदैन । उनको शरीर छोटो छ तर हात–खुट्टा अत्यधिक लामा छन् । यो सुन्दरता होइन, भलै अमिताभको व्यक्तित्वले त्यसलाई जितेको छ । त्यही भारतीय चलचित्र उद्योगका ५ फिट २ इन्चका अमिरखानको शारीरिक बनोट भने समानुपातिक छ । त्यही कारणले उनको चकलेटी फेस राम्रो देखिन्छ । आमिरको हाइटअनुसार अनुहार, आँखा, खुट्टा, कान, छाती सबै समानुपातिक रूपमा चिटिक्क मिलेको छ । 

पुरुष मात्र होइन, महिलाको शरीर पनि त्यसरी नै समानुपातिक रूपमा मिलेको हुनुपर्छ, स्वस्थता त अनिवार्य नै भैहाल्यो । उचाइअनुसारका हरेक अंगको बनोट सुहाउँदो छ कि छैन, हेर्नुपर्छ । 

नारी सुन्दरता

नारी सुन्दरताका दृष्टिले पूर्वीय दर्शन पश्चिममा विकसित आधुनिक विज्ञानकै नजिक छ । पूर्वीय मान्यतामा चन्द्रमाजस्तो मुहार भएकी, गोरो शरीर, हरिणको जस्तो सेतो आँखा हुने महिलालाई सुन्दर महिला भनिएको छ । यस्ता महिलालाई अप्सरा वा प्रकृतिसँग पनि तुलना गरिन्छ । अनेकन रोमान्टिक गीत–संगीतमा सुन्दर नारीका अंग–प्रत्यंगलाई लिएर अनेकन शब्द तथा ध्वनि रचना गरिएका छन् । पूर्वीय दर्शनका अन्य विभिन्न शास्त्रमा पनि स्त्री तथा पुरुष सौन्दर्यका विषयमा वर्णन गरिएको छ । 

महाभारतकी रूपवती सुन्दरी अग्निपुत्री द्रौपद्री हुन् कि रामायणकी सीता— दुवैको अनुपम सुन्दरतालाई ती कृतिका विभिन्न ठाउँमा वर्णन गरिएको छ । यस्तै, भविष्य पुराणमा सुन्दर महिलामा बाहुनीचरी, मृग वा बादेलका जस्ता चञ्चल, नीलकमलको पात जस्तो आकार, तामाको पत्रजस्तो राता–राता र राम्रो परेला भएका आँखा हुने कुरा उल्लेख छ । शंख, कुन्दपुष्प (चमेलीजस्तो सेतो फूल), चन्द्रमा जस्तो सेता, सफा, उज्याला, चम्किला, चिल्ला, नउछिट्टिएका तर अलिकति उच्च, छिद्रा नभएका, टम्म मिलेका दाँत भएकी महिलालाई सुन्दर महिलाको कोटीमा राखिएको छ । ठिक्कको लम्बाइ तथा मोटाइ भएका, धेरै चुच्चो नपरेको नाक तथा हाँगा नउम्रिएको लामो कालो सिल्की केशलाई पूर्वीय मान्यताहरूमा सुन्दर महिलाका लक्षणका रूपमा उल्लेख गरिएको छ । 

पूर्वी दर्शनको समुन्द्रशास्त्रमा नारी सुन्दरताका सम्बन्धमा यसरी उल्लेख गरिएको छ : 

स्तन : बेलजस्तै खँदिला, दुवै बराबर मिलेका पुष्ठ, सुदृढ र गोलाइका स्तनलाई सर्वोत्कृष्ट स्तन मानेका छन् पूर्वी सौन्दर्यशास्त्रीहरूले । 

पिठ्युँ वा ढाड : डडाल्नाको हड्डी र करङ नदेखिने गरी मासुले पुष्ट भएको स्त्रीको पिठ्युँ उत्तम मानिन्छ । 

हात : हाड एवं जोर्नी मासुले छोपिएका, नसाहरू नदेखिने, सिधा र सलक्क परेका, रौ नदेखिने पाखुरायुक्त हातलाई सुन्दर मानिएको छ । 

हत्केला : रातो वर्ण, माझमा पुष्ट, औला सिधा गरी मिलाउँदा छिद्र नदेखिने, कोमल तथा थोरै रेखा भएका हत्केलालाई राम्रोको श्रेणीमा राखिएको छ । 

जाँघ : हात्तीको सुडजस्तै सलक्क परेका नशा नदेखिने मुलायम तिघ्रालाई अनमोल मानिएको छ ।

नितम्ब : खँदिलो, चौडा, पुष्ठ र भरिलो नितम्बलाई समुन्द्रशास्त्रले राम्रोको कोटीमा राखेको छ । 

पैतला : नरम, मुलायम, चिल्ला, पुष्ट, राता र पसिना नआउने तर न्यानो रहने पैतालालाई सुन्दर मानिएको छ । 

                                                   (कुराकानीमा आधारित)

प्रकाशित :माघ २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्