मेरो हात माग्न कहिले आउँछौ आयुष्मान ?

- कृष्ण भट्टराई

माघ २७, २०७४

 

सोमबार साँझ दरबारमार्गस्थित जिन्जाबार रेस्टुराँको एउटा टेबलमा अभिनेता तथा मोडल आयुष्मान देशराज जोशी एक्लै मोबाइल चलाएर बसिरहेका थिए । उनको हाउभाउ देख्दा लाग्थ्यो, उनी कसैको प्रतीक्षा गरिरहेका छन् । झन्डै १५ मिनेटपछि त्यहाँ लोकप्रिय अभिनेत्री प्रियंका कार्की झुल्किइन् । विगत एक वर्षदेखि प्रेमी–प्रेमिकाका रूपमा रहेका प्रियंका र आयुष्मानले भेट हुनासाथ एक–अर्कालाई अँगालो हाले अनि टेबलको एउटै साइडमा हात समाएर सँगै बसे । 

त्यसअघि नै वेटरले मेनु ल्याएकाले आयुष्मानले आफ्ना लागि मात्र होइन, प्रियंकाका लागि पनि खानेकुरा अर्डर गरिसकेका थिए । लामो समयपछि डिनरमा भेटिएका प्रियंका र आयुष्मानले त्यो साँझ करिब एक घण्टासँगै बिताएर आफ्नो प्रेमदेखि विवाहसम्मको योजना बनाए । उनीहरूको गतिविधिलाई साप्ताहिकका कृष्ण भट्टराईले नजिकबाट नियालिरहेका थिए । त्यसक्रममा प्रियंका र आयुष्मानबीच भएको रमाइलो कुराकानी :  

प्रियंका कार्की : हाइ...मैले एकछिन कुराएँ है, आई एम सो सरी । 

आयुष्मान देशराज जोशी : हैन, ठीकै छ । म पनि भर्खर–भर्खरै आएको हुँ । आऊ बस न । 

प्रियंका : बिहानैदेखि सुटै–सुट । केही खाएको छैन । तिमीले मेरा लागि केही मगाएनौ ? 

आयुष्मान : मैले पनि केही खाएको छैन । त्यसैले मैले तिमी र आफूलाई मन पर्ने खानेकुरा मगाइसकें । 

प्रियंका : मेरा लागि के मगायौ ? 

 

आयुष्मान : गार्लिक क्यूकम्बर...योर फेबरेट । 

प्रियंका : यस, माइ फेबरेट अनि...

आयुष्मान : हट एन्ड सावर सुप...तिमीलाई मन पर्छ नि ? अनि त्यस्तै कट्याक–कुटुक मगाएको छु । 

प्रियंका : अनि हट लेमन विद हनी मगाएनौ ? 

आयुष्मान : मगाएको छु त । तिमीलाई सबैभन्दा मन पर्ने ड्रिंक्स नमगाई भयो त । 

प्रियंका : जाडोमा न्यायो बनाउने, फ्याट काटेर स्लिम राख्ने हट लेमन विद हनि तिमीलाई पनि त मन पर्छ नि ? 

 

आयुष्मान : त्यसैले त मैले हामी दुबै जनालाई उपयुक्त हुने खानेकुरा अर्डर गरेको हो नि । 

प्रियंका : मेरो मनको कुरा बुझेकोमा धन्यवाद । 

आयुष्मान : ल ठीक छ । अनि आज बिहानदेखि केमा व्यस्त भयौ ? एकै पटक साँझ मात्र भेट भयो त ? 

प्रियंका : आज त मैले के–के गरें–गरें । म्युजिक भिडियोदेखि फोटो सुटसम्म भ्याएँ । भोलि पनि एउटा म्युजिक भिडियोको सुटिङका लागि बिहानै फर्पिङ पुग्नु छ । अहिले त्यही भिडियोको ड्रेस हेरेर आएकी । 

 

आयुष्मान : अनि भोलि त हाम्रो बाहिर जाने डेट हो नि, बिर्सियौ ? 

प्रियंका : कहाँ बिर्सनु ? कतिवटा काम पछि सारेर बल्ल–बल्ल चार–पाँच दिनलाई तिमी र म पहिलो पटक कम्बोडिया जान लागेको कुरा पनि बिर्सन्छु त ? एयरपोर्ट टाइम साँझको सात बजे हो । तिमी पुगिराख न, म सिधै एयरपोर्टमै आउँछु । 

आयुष्मान : तिमी एयरपोर्ट आउनै ढिला गर्लिऊ अनि म एक्लै कम्बोडिया पुगौंला नि । 

प्रियंका : त्यस्तो हुँदैन । मेरो सुटिङ ५ बजेसम्म सकिन्छ । म त्यहाँबाट सोझै एयरपोर्ट पुग्छु नि बाबा । 

आयुष्मान : ल ठीक छ । साँच्ची, हामी होलिडेका लागि कम्बोडिया नै किन जान लागेको रे ? 

प्रियंका : पहिलो कुरा त तिमी एक पटक पुगिसकेको ठाउँ । तिम्रो मुखबाट त्यहाँको प्राकृतिक सुन्दरताको वर्णन सुनेर म एक्साइडेट भएकी हुँ । अर्को कुरा हाम्रो प्रोफेसनले हामीलाई धेरै ठाउँमा लान्छ, तर त्यस्तो ठाउँसम्म कहिल्यै पुर्‍याउँदैन । कम्बोडिया, भियतनामजस्ता देशमा हामी छायांकन वा सांस्कृतिक कार्यक्रमका क्रममा पुग्ने सम्भावना निकै कम छ । 

आयुष्मान : त्यो त हो, काठमाडौंको चिसो छल्न पनि कतै जाने कि भन्ने कुरा पनि थियो नि । 

प्रियंका : हो नि...अहिले त्यहाँ हाम्रो समरको जस्तो मौसम छ । झन्डै ३० डिग्री छ अहिले त्यहाँको तापक्रम । काठमाडौंको चिसोबाट दुई–चार दिन गर्मी ठाउँमा पुग्न पाउने कुराले पनि म एक्सटाइटेड छु । 

आयुष्मान : हामीले रसियालाई पनि घुम्ने स्थानमा राखेका थियौं, तर त्यहाँको मौसम असाध्यै चिसो भएकाले कम्बोडिया नै जाने निर्णय गरेका हौं नि, होइन ? 

प्रियंका : कम्बोडियामा चाहिं हामी के–के गर्दैछौं ? तिमी त पहिले पनि गैसकेको मान्छे । 

आयुष्मान : हुन त त्यहाँ घुम्नका लागि, गर्नका लागि धेरै कुरा छन्, तर हामीसँग चार–पाँच दिन मात्र समय छ, त्यसैले हामी त्यहाँका दुईवटा सुन्दर सहर घुम्नेछौं । म आफ्नो यूुट्युब च्यानलका लागि केही भिडियोग्राफी पनि गर्नेछु । त्यसका लागि क्यामेरा बोक्न बिर्सनेछैन । अँ...तिमी मेरा लागि क्यामेरा पर्सनचाहिं बनिदेऊ है प्लिज...

 

प्रियंका : येइ....म तिम्रो क्यामरा पर्सन...

आयुष्मान : हो नि... हामी जहाँ–जहाँ पुग्छौं, ती सबै ठाउँलाई भिज्युअलमा क्याप्चर गर्ने अनि राम्रो भिडियो बनाएर युट्युबमा राख्ने है । 

प्रियंका : तिम्रो युट्युब च्यानलमा दुईवटा सहरको दुई भिन्न भ्लग बनाएर अपलोड गर्नुपर्छ । साँच्ची तिमीलाई युट्यूबमा भ्लगको आइडियाचाहिं कसरी आयो ? 

आयुष्मान : भ्लगिङ त मेरो पहिलेदेखिकै रुचिको विषय हो । मलाई सिनेम्याटोग्राफी असाध्यै मन पर्छ । मेरो सौख भनेकै भिडियो हेर्नु तथा खिच्नु हो । यसबाहेक मलाई बिहाइन्ड द क्यामेरा मात्र होइन, बिहाइन्ड द कम्प्युटर पनि काम गर्न मन लाग्छ । एडिटिङ, कलरिङ जस्ता विषयमा पनि रुचि छ । त्यही रुचि पूरा गर्न भ्लगिङ गर्न थालेको । 

प्रियंका : तिमीले कति राम्रो गर्छौ भन्ने मलाई थाहा छ । कुनै–कुनै भिडियो त असाध्यै लोभलाग्दा पनि छन् । 

 

आयुष्मान : वास्तवमा म आफू मात्र भएर सोच्दिन । दर्शकहरूलाई के मन पर्छ, कस्तो सिच्युएसन छ भन्ने कुरा पनि विचार गरेर प्राय: राम्रै भिडियो बनाउने प्रयास गर्दै आएको छु । भ्युअर्ससँग इन्टर्‍याक्सन पनि अर्को महत्वपूर्ण पक्ष हो । 

प्रियंका : ल तिमी सम्झ त, हाम्रो पहिलो भेट कहाँ र कसरी भएको थियो ? 

आयुष्मान : मैले तिमीलाई रातो बंगला स्कुलमा पहिलो पटक भेटेको भन्दा तिमी विश्वास गर्दिनौ । तिमी एउटा कुनामा बसेर रोइरहेकी थियौ, मैले आएर नरुनु भनेर सम्झाएको थिएँ, रिमेम्बर.... ? 

प्रियंका : अहँ, मलाई सम्झना छैन । 

आयुष्मान : स्कुलमा बास्केटबलको कोर्ट थियो नि, त्यहीं निर तिमी रोइरहेकी थियौ । 

प्रियंका : स्कुलमा तिमी मभन्दा जुनियर थियौ, सिनियरले जुनियरलाई कहाँ याद गरेर बस्छ र ? 

 

आयुष्मान : मलाई त सबै याद छ । 

प्रियंका : म त्यो बेला क्लास टेनमा थिएँ होला, तिमी सम्भवत: क्लास फाइभमा थियौ । त्यो बेला बोल्न आएको अहिले याद हुन्छ त ? बरु भन, हामी अलि म्याचोर भएपछि कहिले भेट्यौं ?

आयुष्मान : त्यसपछिको भेटका बारेमा त मलाई खासै हेक्का छैन । 

प्रियंका : पहिलेदेखि चिनिरहेको भएर पनि होला, हामीले एक–अर्कासँग परिचय नै गर्नुपरेन । त्यसैले पहिलो भेट कहाँ भयो, खासै सम्झना छैन । यद्यपि एउटा फेसन शोपछि भने तिमीले मलाई एउटा पार्टीमा सहभागी हुने प्रस्ताव राखेका थियौं । 

आयुष्मान : हो, झन्डै एक वर्षअघि (मार्च ११, २०१७) कर्मा लाउञ्जमा भएको फेसन शोमा म शो–स्टपर थिएँ । तिमी र्‍याम्पको ठीक सामुन्ने बसेकी थियौ । दर्शकका रूपमा तिमीलाई पाउँदा म हल्का नर्भस भएको थिएँ । फेसन शो सकिएपछि सबै जना क्लब डेजाभु जाने भन्न थाले । मैले नै तिमीलाई डेजाभु जाने त भनेर प्रस्ताव राखेको थिएँ । मैले सामान्य साथीका रूपमा पार्टीमा जान राखेको प्रस्ताव तिमिले स्वीकार गरेकी थियौ । 

 

प्रियंका : त्यो फेसन शो सकिएपछि म घर फर्कने मुड बनाउँदै थिएँ । तिमीले अचानक डेजाभु जाने प्रस्ताव राख्यौ । मैले त्यो ठाउँका बारेमा सुनेकी थिएँ, तर जान पाएकी थिइनँ, त्यसैले पनि थुप्रै साथीसँग जाँदा फरक पर्दैन भन्ने सोचेर म त्यहाँ जान तयार भएकी थिएँ । 

आयुष्मान : त्यसभन्दा अघि हामीबीच सामान्य चिनजान थियो । एसएमएसमा कुराकानी हुन्थ्यो । मनमनै मन पराउन पनि थालेका थियौं कि तर भन्ने हिम्मत हामी दुवै जनासँग थिएन । हामी स्न्याप च्याटमा आफ्ना हरेक गतिविधि एक–अर्कालाई पठाएर एक–अर्कालाई इम्प्रेस गर्न खोज्थ्यौं । 

प्रियंका : हो नि...त्यो बेला म्यासेजबाटै कुराकानी हुन्थ्यो । तिमीले मलाई त्यो फेसन शोको निम्ता पनि एसएमएसबाटै दिएका थियौ, तर म जाने कि नजाने भनेर दोधारमा थिएँ । एक जना बहिनी मलाई लिन घरमै आएपछि म उक्त शोमा पुगेकी थिएँ । 

 

आयुष्मान : तिमीलाई थाहा छ, हामीले अहिलेसम्म पनि एक–अर्कालाई आइ लभ यू भनेका छैनौं नि ? 

प्रियंका : त्यही त हामीले एक–अर्कालाई प्रेमप्रस्ताव राख्नुअघि नै हामी प्रेममा बाँधिइसकेका रहेछौं । 

आयुष्मान : आफू प्रेममा परेको कुरा तिमीलाई कति बेला फिल भयो ? 

प्रियंका : अघि मैले डेजाभुको कुरा गरेकी थिएँ नि, हो त्यही रात फिल भयो कि म तिमीलाई मन पराउन थालेकी छु । 

 

आयुष्मान : हो, हो...मलाई पनि त्यही रात नै फिल भयो, हामी एक–अर्कालाई साँच्चिकै मन पराउँदा रहेछौं, तर भन्ने हिम्मत पुगिरहेको थिएन । 

प्रियंका : हो नि, डेजाभु पुगेपछि हामी आ–आफ्नो तालमा नाच्न थाल्यौं । नाच्दा–नाच्दै एउटा मोडमा पुगेर तिमी र म मात्र पो नाच्न पुगेछौं । नाच्ने क्रममै अचानक मनमा एक प्रकारको भावना आयो । तिमीलाई पनि त्यस्तै भैरहेको थियो । तिमीलाई सम्झना छ, त्यो रात हामी बिहान पाँच बजेसम्म नाचेछौं । नाच्दै, गफ गर्दै रात बितेको पत्तै भएन । यद्यपि त्यसक्रममा पनि हामीले एक–अर्कालाई आई लभ यू भनेनौं । त्यो बेला हामी नाचिरहेको एउटा तस्बिर डेजाभुको फेसबुक पेजमा पोस्ट गरिएको रहेछ, मैले त्यो तस्बिर अहिले पनि सुरक्षित राखेकी छु । बिहान ५ बजे घर पुगेपछि के–के भयो, मैले त सोध्नै बिर्सिएछु ? 

आयुष्मान : ओ हो...त्यो रात म कसरी बिर्सूं ? बिहान पाँच बजेपछि घर पुग्दा ममी उठिसक्नु भएको रहेछ । ममीलाई मेरो शो थियो, तिमी र मसँगै थियौं भन्ने कुरा थाहा थियो । मैले तिमीलाई अलि–अलि मन पराउन थालेको कुरा पनि ममीलाई थाहा थियो । उहाँले बेडरुमबाटै ‘आयुष’ भनेर बोलाउनुभयो र के भयो भनेर सोध्नुभयो । मैले अचानक ‘लभ पर्‍यो’ भन्दिएँछु । ममी मेरो कुरा सुनेर ‘थाहा थियो, थाहा थियो, यहाँ आउ’ भनेर कराउनु भयो । ममी म भन्दा बढी एक्साइडेट हुनुहुन्थ्यो, छोराको लभ परेको खबर सुन्न । उहाँ के–के भयो, के–के गर्‍यो, कसरी लभ परेको कुरा थाहा भयो भनेर खोजीनीति गर्न थाल्नुभयो । 

प्रियंका : डेजाभुको भेटघाटपछि हामी दुवैले एक–अर्कालाई मन पराउँछौं भन्ने थाहा भयो अनि तिमी र म आपसमा खुल्न पनि थाल्यौं । 

आयुष्मान : तर अर्को एक दिन तिमी उदास थियौ । तिमीलाई खुसी पार्न मैले एउटा कविता रचना गरें । ‘खुसी हौ’ शीर्षकको उक्त अंग्रेजी कविता रेकर्ड गरेर ह्वाट्सएपमा पठाएको थिएँ, तर तिमीले हेर्दै हेरिनौ । मैले ममीलाई पनि त्यो कविता सुनाएँ । स्योर लभ पर्छ अब भन्नु भयो ममीले । एकछिनपछि मेरो म्यासेज सिन भयो, तर तिमीले अडियो सुनेकै थिइनौ । मैले सुन्यौ भनेर फेरि म्यासेज पठाएको याद छ ?

प्रियंका : खै किन हो, त्यो दिन मेरो मुडअफ थियो । त्यसैले तिम्रो म्यासेज मैले धेरै पछि हेरें, कविता सुनें । आँखा भरी खुसीको आँसु आयो । अबचाहिं पक्कै लभ परेजस्तो लाग्यो । 

 

आयुष्मान : तिमीले जम्मा–जम्मी थ्याङ्क्यू मात्रै भन्यौ । मैले त्यत्रो मेहनत गरेर रचना गरेको कविता । 

प्रियंका : मेरा लागि कविता नै रचिदिने त ? 

आयुष्मान : त्यसभन्दा पहिले मैले डिनरमा बोलाएका बेला तिमी मेरी ममीसँग आफ्नो दु:खका कुरा हाँसी–हाँसी बताइरहेकी थियौ । त्यतिबेला मैले तिमीले आफ्नो पीडा दबाएको महसुस गरेको थिएँ । त्यसैले पनि मैले उक्त कविता रचना गरेको थिएँ । 

प्रियंका : तैपनि हामीले एक–अर्कालाई मन पराएको कुरा कहिल्यै एक–अर्कालाई भनेनौं ? 

आयुष्मान : एक–अर्कालाई आइ लभ यू नै नभनी लभ पर्ने जोडी हाम्रो मात्रै होला । 

प्रियंका : हो नि । हुन त हामीलाई चलचित्र कथा काठमाडौंको सुटिङले पनि अझ नजिक ल्यायो । 

आयुष्मान : अँ भन त, तिमी र ममध्ये कसले बढि माया गर्छ ? 

 

प्रियंका : मलाई लाग्छ, मैले भन्दा तिमीले मलाई बढी माया गर्छौ । 

आयुष्मान : होइन, तिमीले मलाई बढी माया गछर्यौ । कहिले तिमीले बढी, कहिले मैले बढी हो कि ? 

प्रियंका : माया भनेको गिफ्ट किनेर, उपहार दिएर बढ्ने होइन । कुनै बेला मलाई अप्ठ्यारो परेका बेला तिमीले मलाई साथ दियौ भने त्यो नै माया हो । त्यही मायाचाहिं मैले तिमीबाट पाइरहेकी छु । त्यसैले मैले तिमीलाई भन्दा तिमीले मलाई धेरै माया गर्छौ भनेको । 

आयुष्मान : त्यो त हो । सुखमा मात्र होइन दु:खमा पनि साथ दिन सक्नु नै असलमा माया हो । 

प्रियंका : म एकदमै खुसी हुँदा त्यो खुशी तिमीले पनि फिल गर्‍यौ भने त्यो पनि माया हो । 

 

आयुष्मान : माया भनेको सबै कुराको मिश्रण हो । माया भनेको एउटा प्रक्रिया पनि हो । त्यही प्रक्रियाले मायालाई जोगाइरहन्छ । किनभने हामी फरक–फरक मान्छे हौं, हाम्रो सोच फरक–फरक हुन्छ । 

प्रियंका : तिमी र मबीच कहिलेकाहीं खटपट पनि हुन्छ नि, थाहा छ होइन ? 

आयुष्मान : त्यो त सधैं हुन्छ । त्यही खटपटले त हाम्रो माया पनि बढ्छ । 

प्रियंका : तिमीलाई याद छ, हाम्रो लामो विछोड कति दिनलाई भएको थियो ? 

आयुष्मान : थाहा छ, झन्डै ५० दिन । तिमी अमेरिका गएका बेला हाम्रो झन्डै ५० दिन भेट भएन । लभ परेपछि त्यति धेरै दिन छुट्टिन गाह्रो हुँदो रहेछ प्रिय !

प्रियंका : हो है । मलाई पनि उता अमेरिकामा त्यस्तै भएको थियो । बेबी, अब हाम्रो सम्बन्ध कसरी अघि बढ्छ ? 

 

आयुष्मान : अब यो पछि यो हुन्छ, त्यसपछि यसो हुन्छ त भन्नै सकिँदैन नि । 

प्रियंका : त्यसो भए भन न त मेरो हात माग्न कहिले आउँछौ ? 

आयुष्मान : अब चाँडै आउँछु अंकल (तिम्रो बुवा) सँग तिम्रो हात माग्न । 

प्रियंका : मेरो बुवासँग मात्र मेरो हात मागेर हुँदैन, मेरो भाइसँग पनि माग्नुपर्छ । ऊ अहिले अमेरिकामा छ । 

 

आयुष्मान : कहिले आउँछन् त मेरा हुनेवाला साला ? 

प्रियंका : अब आउने भदौमा आउँदैछ । 

आयुष्मान : त्यसो भए म भदौमै तिम्रो घरमा आएर बुवा र भाइसँग तिम्रो हात माग्छु नि त । 

प्रियंका : तर मलाई तुरुन्तै विवाह गरिहाल्न मन छैन । 

आयुष्मान : किन ? 

प्रियंका : हैन...पहिले इन्गेजमेन्ट गर्ने अनि त्यसको एक वर्षपछि विवाह गरौंला नि हुन्न ? 

आयुष्मान : होइन, इन्गेजमेन्ट र विवाहबीच धेरै ग्याप नगरौं कि ? दुई वर्षभित्रमा हामी वैवाहिक सम्बन्धमा बाँधिनैपर्छ । 

प्रियंका : ल ल..अब सात महिनापछि मेरो घरमा आएर मेरो हात माग, अनि त्यसपछि सल्लाहअनुसार अघि बढौंला । 

आयुष्मान : धन्यवाद । ल अब छुट्टिनुपर्छ । ए साँच्ची यो वर्ष हाम्रो पहिलो भ्यालेन्टाइन डे कसरी मनाउने ? 

प्रियंका : त्यो दिन मेरो घर आऊ । जाडो अझै टरेको छैन... म मकै भुटेर राख्छु । आइसक्रिम, चकलेट आदि पनि ल्याउँछु । तिमी आएपछि दुवै जना सिरकमा गुटुमुटु भएर मकै, आइसक्रिम, चकलेट आदि खाँदै दिनभरि कुनै राम्रो रोमान्टिक 

फिल्म हेरौंला । 

आयुष्मान : आहा...कस्तो रमाइलो । भ्यालेन्टाइन डे आउन अब कति बाँकी छ ? 

प्रियंका : अर्को हप्ता त हो नि ! 

 

प्रकाशित :माघ २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्