महँगा भए प्रशान्त

- साप्ताहिक संवाददाता

माघ २६, २०७४

एक–दुईवटा चलचित्रमा मात्र अभिनय गरेर स्थापित हुने थोरै कलाकारमा प्रशान्त ताम्राकारको नाम अग्रपंक्तिमा आउँछ । पुराना मोडल तथा कोरियोग्राफर प्रशान्तलाई यतिबेला दर्शकहरूले खलनायकका रूपमा चिनेका छन् ।

चलचित्र ऐश्वर्यको प्रभावकारी अभिनयपछि प्रशान्तले आफ्नो मोडलको परिचय बिर्सन बाध्य हुनुपरेको छ । त्यसो त ऐश्वर्यअघि पनि प्रशान्तले केही चलचित्रमा अभिनय नगरेका होइनन्, यद्यपि ती चलचित्रमा उनलाई दर्शकहरूले नोटिस गरेनन् । ऐश्वर्यमा भने उनको ड्यासिङ पर्सनालिटी, वजनदार आवाज तथा अभिनेता रमेश उप्रेतीको समानान्तर भूमिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

चलचित्रको व्यवसायिक सफलताको सम्पूर्ण फाइदा कि त निर्मातालाई भयो कि त कलाकारका रूपमा प्रशान्तलाई । उक्त चलचित्र प्रदर्शन भएलगत्तै प्रशान्तलाई दर्जनौं चलचित्रबाट प्रस्ताव आयो । अधिकांश प्रस्ताव खलनायककै लागि थिए । उनले प्रस्ताव आएका मध्ये निकै कम चलचित्र छनौट गरे । त्यसरी छनौट गरिएका चलचित्रमध्ये पहिलो बन्यो ‘रानीमहल’ ।

‘दर्शकले अब मबाट अझ राम्रो काम र भूमिकाको अपेक्षा गर्नुभएको छ, प्रशान्तको भनाइ छ– ‘यही कुरालाई ध्यानमा राख्दै रानीमहलमा आबद्ध भएको हुँ ।’ नयाँ अभिनेताहरूले अभिनय गर्न लागेको यो चलचित्रमा प्रशान्त नै सबैभन्दा महँगो पारिश्रमिकमा अनुबन्ध भएको बताइन्छ, यद्यपि उनको पारिश्रमिक रकम भने गोप्य नै राखिएको छ । 

 

प्रकाशित :माघ २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्