आजबाट अनमोल केसीको कृ

- साप्ताहिक संवाददाता

माघ २६, २०७४

निर्देशक : सुरेन्द्र पौडेल

कलाकार : अनमोल केसी, अदिति बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी आदि

संगीतकार : अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठ

यो वर्षकै सबैभन्दा प्रतिक्षित चलचित्र कृ को सार्वजनिक प्रदर्शन आज शुक्रवार (माघ २६) गतेदेखि प्रारम्भ हुँदैछ । सुवास इन्टरटेन्मेन्ट तथा द काजोल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्र छायांकनमा जानुभन्दा अघि देखि नै चर्चामा छ । 

यसअघि विभिन्न मितिमा प्रदर्शन हुने भनिए पनि अन्तत: माघको अन्तिम साता यसले सिनेमा हल टेकेको छ । भ्यालेन्टाइन विकमा प्रदर्शन हुने यो चलचित्रलाई क्यूएफएक्सले काठमाडौंमा मात्र आज शुक्रवार तथा भोलि शनिवारका लागि सर्वाधिक १८–१८ वटा शो दिएको छ । देशव्यापी प्रदर्शन हुने यो चलचित्र बदलाको भावनामा केन्द्रित चलचित्र हो । चलचित्रमा अभिनेता अनमोल केसीका दुई रुप देख्न पाइने छ । 

एउटा रुपमा उनी सोझा, दुब्ला–पातला देखिएका छन् भने अर्को रुपमा उनी लामो कपाल, बलिष्ठ ज्यान तथा रिसाहा देखिएका छन् । द्वन्द्वका दृष्यलाई प्राथमिकता दिएको यही चलचित्रमार्फत मोडल अदिति बुढाथोकीले नायिकाको रुपमा डेब्यू गरेकी छिन् । चलचित्रका गीत तथा ट्रेलरमा अनमोल तथा अदितिको जोडी सुहाएको देखिएको छ । भुवन केसी तथा सुवास गिरीको यो चलचित्रले अघिल्लो सातामात्र स्कटल्याण्डमा छायांकन गरिएको आफ्नो नयाँ गीत सार्वजनिक गरेको थियो ।

चलचित्रमा निर्देशक सुरेन्द्र पौडेलकै कथा तथा सम्पादन छ भने चन्द्र पन्तको द्वन्द्व निर्देशन छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रमा प्रदीप भारद्वज तथा आशिष रेग्मीको पटकथा तथा संवाद छ भने रेनशा वान्तवा राईको नृत्य निर्देशन छ । 

प्रकाशित :माघ २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्