Teej banner

यस्तो भैदिएको भए !

- अविरल थापा

माघ २६, २०७४

कुनै कुरा हुनु र भैदिएको भएबीच धेरै सम्भावना लुकेको हुन्छ । भैदिएको भए के हुन्थ्यो र नभैदिएर के भयो भन्ने कुरा सबैको जीवनमा हुन्छ । जो–कसैले लिएको एउटा निर्णयले उसको जीवनकै बाटो बदलिएको हुन्छ । धेरैको जिन्दगी सरल रेखामा हिंडेको पनि हुँदैन । एकातिर जान्छु भनेर हिंडेको मानिस एक ठक्कर खाएर कतातिर पुग्छ, उसले कल्पनासमेत गरेको हुँदैन । 

जिन्दगी अथाह सम्भावनाको महासागर हो । कसले कति गर्न सक्छ भन्ने कुरा उसको अध्ययन, सोच, लगाव, दृष्टिकोण एवं कार्यान्वयनमा भर पर्छ । काम गर्दै जाँदा थुप्रैसँग संगत हुन्छ भने अगाडि बढ्ने अनेक मौका आउँछन् । मौकामा चौका हान्न सक्नेहरू अघि लाग्छन् भने मौका गुमाउनेहरू चुकचुकाएर बस्छन् । मौकाले जीवनको ढोका ढकढक्याएका बेला नसुनेर, ढोका खोल्न अबेर गरेर वा ढोका खोल्नै डराएर फुर्सदमा पछुताउनेहरू यत्रतत्र फेला पर्छन् । कतिले सस्तोमा जग्गा भेटेका बेला किन्दैनन् र केही समयमा भाउ दोब्बर भएपछि पछुताउँछन् ।

कसैले राम्रो काम लत्याउँछन् र उक्त काम अरूले उछिट्याएपछि पछुताउँछन् । कोही आफ्नो असल प्रेमी छोडेर गलत मानिससँग विवाह गर्न पुग्छन् र पछुताउँछन् । कोही घर छोड्न नसकेर पछुताउँछन्, कोही घर छोडेर पछुताउँछन् । मैले त्यतिबेला त्यसो गरेको भए यसो हुने रै’छ, त्यसो नगरेको भए यसो नहुने रै’छ भन्ने कुराले हरेक मानिसलाई सताइरहन्छ । 

जिन्दगीका कतिपय गल्ती सच्याउन त सकिँदैन, तर नदोहोर्‍याउन सकिन्छ । कतिपय मानिस एउटै गल्ती बारबार दोहोर्‍याइरहन्छन् र पटक्कैपिच्छे पछुताइरहन्छन् ।

मानिस सबैसँग कुरा गर्न भ्याउँछ तर आफैंसँग कुरा गर्न बिर्सन्छ । के गर्‍यो भने उसलाई सुखचैन मिल्छ भन्ने कुरा उसलाई मात्र थाहा हुन्छ तर त्यसमा ऊ अरूको राय लिँदै हिंड्छ अनि गलत निर्णय लिन पुग्छ । फेरि अरूको राय लिएर अघि बढ्नुपर्ने कुरा कसैलाई भन्दैन, मन लागेको गर्छ र काम बिगार्छ अनि एकफेर सोधेको भए राम्रो हुने रै’छ भनेर पछुताउँछ । पछुतो सम्भवत: हरेक मानिसको नियति हो । दोष कहिले कसको धेरै होला, कहिले कसको थोरै होला तर झगडा गरेपछि आफ्नो गल्ती अनुभूत हुन्छ । झगडा नगरिकनै सुल्झने कुरा ऊ झगडा गरेर बल्झाउँछ । हरेक कुरा गुमेपछि प्यारो लाग्छ भने कोही टाढा भएपछि आत्मीय लाग्छन् । आफ्नो फाइदाका लागि मानिसहरू अनेक तिकडम गर्छन् ।

कतिले आफ्नो स्वार्थ पूरा गर्न आफ्नैलाई प्रयोग गर्छन्, कतिले पराईलाई उपयोग गर्छन् । कहिले अरूलाई डुबाउँछन् कहिले आफूसमेत डुब्छन् । कोही अरूलाई रछ्यानमा पुर्‍याएर आफू महलमा त बस्ला तर चैनको निद्रा सुत्न नसकेर रातभर छटपटाउनुको पीडा उसैलाई थाहा हुन्छ । अरूलाई डुवाउन खोज्दा कति जेलनेलसमेत भोग्न बाध्य हुन्छन् । जसले जे भने पनि जीवन सुखको खोज हो । को कति र के–के पाएपछि सुखी हुन्छ, कसैले भन्न सक्दैन । 

सुख खोज्दाखोज्दै जिन्दगीको झ्यालखानामा कैद भएर गुम्सिनेहरू र दु:ख गर्दागर्दै मुक्तिको सागरमा तैरिनेहरू उत्तिकै छन् । मानिसले गर्न नसक्ने केही छैन, तर मानिस अनुसार उसका सम्भावना र सीमितता हुन्छन् । आफूले टेकेको जमिन र देखेको क्षितिजको दूरी नाप्न सक्नेहरू अक्सर असफल हुँदैनन् । अरूको लहैलहैमा लागेर वा बहकिएर धरातल बिर्सिएर एकैपटक क्षितिज नाघ्न खोज्नेहरू भड्खालोमा जाकिन्छन् । हतारमा निर्णय लिनु र फुर्सदमा पछुताउनु मानिसहरूको पुरानै रोग हो । मान्छे कहिले अरूको खुसीका लागि आफ्नो खुसी तिलाञ्जली दिएर तडपिन्छ, कहिले आफ्नो खुसीका लागि अरूको मन जलाएर तडपिन्छ । चाहे जस्तोसुकै होस् सम्बन्धमा खुसी हुन नसक्नेहरू कहिल्यै चैनको जीवन जिउन सक्दैनन् । 

जिन्दगीमा सबैलाई सबै कुरा बुझाउन सकिँदैन । अरूप्रति रहेको आफ्नो कर्तव्य निर्वाह गर्न सकिन्छ तर जिन्दगीमा सबैलाई सधैं र एकैचोटि खुसी पार्न पनि सकिँदैन । कतिलाई आफ्नो कुरा बुझाउन काम गरेरै देखाउनुपर्ने हुन्छ, जसका लागि समय लाग्न सक्छ । कहिले भनेको मानेर दु:ख पाइन्छ, कहिले नमानेर पाइन्छ । पछुतो हुँदैन भने कतिपय बेला विद्रोह पनि गर्न सक्नुपर्छ, जसले तत्कालै हानी गरेजस्तो लाग्ला, तर कालान्तरमा त्यसले सबैको भलो गर्छ । 

कसैको पनि जीवन नापेजस्तो–जोखेजस्तो ठ्याक्कै दुरुस्त हुँदैन । जति मिलाउन खोजे पनि जिन्दगीको हिसाब–कितावमा बेरुजु निस्किरहन्छ तर फछ्र्याैट गर्ने प्रयास गरिरहनुपर्छ । फर्केर हेर्दा कतिपय कुरा गलत गरेंजस्तो लाग्छ, कति कुरा ठिकै गरेंजस्तो लाग्छ, तर सत्य के हो भने हामी सबैको मनमा एउटा कुरा निरन्तर उठिरहन्छ, ‘यस्तो भैदिएको भए’ कस्तो हुन्थ्यो ?

                                           Facebook.com/abeeralthapa

                                                           Twitter@abeeralthapa

 

प्रकाशित :माघ २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्