बुटपालिसका दृश्य–अदृश्य चित्रहरू

- किशोर नेपाल

माघ २४, २०७४

नेपाली जनताले देशको चेतनाको पहरेदारका रूपमा चिनेका थिए— किशुनजीलाई । सत्य, अहिंसा र प्रेमको सन्देश बोकेर लोकतन्त्र स्थापनाका लागि सतत संघर्षशील किशुनजीको निधन भएको पनि झन्डै दुई दशक बितिसकेको छ । तैपनि जनताको मनमा आफ्ना नेताप्रति श्रद्धा छ । यो स्वार्थरहित निर्लोभी मानिसप्रति जनता नतमस्तक छन् । किशुनजीप्रतिको जनआस्था प्रगाढ छ ।

अहिले कांग्रेस पार्टी संकटमा छ । यतिबेला किशुनजीको नामोच्चारण गरेर नेपाली कांग्रेसका युवा नेता, अद्भुत कार्यकर्ता र समर्थकहरूले किशुनजीको योगदानलाई सम्झिएका छन् । किशुनजी भएको भए यस्तो हुन्थ्यो र उस्तो हुन्थ्यो भन्नेहरू पनि सम्झना–सभामा पुगेका छन् । त्यहाँ किशुनजीका कल्पना र भावनाको हैसियत के थियो ? भन्न सकिँदैन । किशुनजीको नाममा जुत्ता पालिस गर्न बसेका नेताहरू आफूलाई सबैभन्दा दमदार नेताका रूपमा प्रस्तुत गर्दै थिए । स्मरणीय छ, कृष्णप्रसाद भट्टराईले आजीवन आफ्नो जुत्तामा आफैं पालिस गर्नुभयो । 

श्रमको सत्कार र सम्मान उहाँको सिद्धान्त थियो । २०४६ सालको पहिलो जन–आन्दोलनका समयमा कवि, कलाकार, नाटककार एवं अन्य सर्वसाधारणले जनताको बुटपालिस गरेका थिए । किशुनजीले त्यसको पूर्ण समर्थन गर्नुभएको थियो । त्यतिबेला परिवर्तनका प्रति जुन उत्साह देखिएको थियो, त्यो अहिले छैन ।

समयको यो बिन्दुमा आएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगका विरुद्ध निषेधको शैली हावी हुँदै गएको अनुभव टड्कारो ढंगले गर्न थालिएको छ । कार्यक्रम हुन्छन्, तर ती कार्यक्रम सरकार वा सरकारका एकाधिकारवादी संस्थाले संयोजित गरेका हुन्छन् । पाठक वा श्रोताहरू बुझेर वा नबुझी जिन्दावादको धावा बोलिदिन्छन् । 

लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कलाकार तथा अक्षरसँग जोडिएका मानिसहरूले आफ्नो घाँटीको किलकिलेमा अथवा कलमको नीवमा अथवा कम्प्युटरको की–बोर्डमा अक्षरहरू केही अड्किएको अनुभव गर्न थालेका छन् । एक प्रकारको असजिलो अवस्था सिर्जना भएको छ । यो अवस्थाको अनुभव गर्ने बौद्धिक व्यक्तित्वहरूमध्ये कतिले समाजप्रतिको जिम्मेवारी बोध गर्दै आफ्ना भावना र अनुभवलाई सार्वजनिक तहमा अभिव्यक्त गर्न थालेका छन् । अरू कतिले यसलाई काठमाडौं सहरमा फैलिएको गहिरो प्रदूषणजस्तै क्षणिक बौद्धिक प्रदूषणको तहमा राखेर संस्थापन पक्षलाई ‘शंकाको लाभ’ दिन खोजेका छन् । 

वर्तमान राजनीतिको व्यूहमा लिपिक्क टाँसिएका बुद्धिवादीहरूको एक पक्षले अर्को पक्षप्रति गरेको निषेधको अनुभवलाई आत्मश्लाघाका रूपमा व्याख्या गरेका छन् । शक्ति र सत्ताको प्रियपात्र बन्ने होडमा लागेका व्यक्तिहरूले जे–सुकै भने पनि अवस्था सहज छैन । प्रत्यक्षत: अभिव्यक्तिको बाटोमा संवैधानिक, कानुनी एवं नैतिक बन्धन कुनै पनि किसिमको बन्देज लगाइएको छैन । स्वभाविक हो, सरकारले अभिव्यक्तिका मौलिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गर्न पनि सक्दैन । त्यसैले चुनौतीहरू अप्रत्यक्ष शैलीमा बढ्न थालेका छन् । 

निषेधको यो समस्या नयाँ होइन । पुरानो नेपालमा निषेध नै शासन–व्यवस्थाको एक मात्र सूत्र थियो । नयाँ नेपाल अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले यसलाई उत्तराधिकारमा आएको सूत्रका रूपमा यथावत् ग्रहण गर्‍यो । राज्य र व्यवस्था फेरिँदा पनि राजनीतिक परम्परा फेरिएन । यति हो कि स्वतन्त्रता र अधिकारको उन्मादमा सुरुका केही वर्ष यसको अनुभूति भएन । राजनीतिक दलका नेताहरूले आपसी सहमतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएपछि त्यो संविधानको प्रतिरक्षामा अहिले दृश्यपटलमा यो प्रत्यक्ष देखिएको हो । यसलाई हावा–हुरीले उडाएर ल्याएको पनि होइन । भुइँचालोले चलायमान बनाएको पनि होइन । यद्यपि, बुद्धिजीवीहरूको गहिरो मानवीय संवेदनालाई अभिव्यक्तिको करुण भाषामा अनुवाद गर्न भुइँचालोले गरेको विनाश प्रेरक तत्व बनेको पक्कै हो ।

‘स्वतन्त्रताको निर्वाध प्रयोग’ बहुदलीय शासन–व्यवस्थाको मूल ‘सूत्र’ मानिएको छ । यो व्यवस्थाको हर्ताकर्ताका रूपमा रहेका प्रमुख दलहरू तथा अन्य कम प्रमुख वा सहायक दलका नेताहरूले रातदिन यो सूत्रको जप मन्त्रोच्चारणकै रूपमा निरन्तर गर्दै आएका छन् । उनीहरूले यो सूत्रको मन्त्रोच्चारण मात्र गरेका छैनन, व्यवहारिक रूपमै आ–आफ्ना दलका कार्यकर्ता वा दलसँग आबद्ध संगठनका सदस्यहरूलाई अभिव्यक्तिको प्रचुर स्वतन्त्रता दिएका छन् । 

आफ्नो दलको प्रवद्र्धनका लागि, प्रतिस्पर्धी दलको मान–मर्दनका लागि, आ–आफ्ना वर्गको स्वार्थरक्षाका लागि र आ–आफ्ना गुट एवं समूहको प्रवद्र्धनका लागिसमेत दलका सर्वोच्च नेताहरूले पार्टी आवद्ध कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूलाई संवैधानिक, कतिपय अवस्थामा गैरसंवैधानिक पनि, अधिकार उपभोग गर्ने पूर्ण स्वतन्त्रता दिएका मात्र छैनन् । त्यसको भरपुर उपभोग भैरहेको बोधसमेत जनतामा अनुभव गराएका छन् । अहिले व्यक्तिगत स्वतन्त्रतामा निषेधको प्रवृत्ति बढेको चर्चा गर्नु भनेको हान्ने साँढेको अघिल्तिर आफूलाई उभ्याउनुजस्तै हो, तर सत्य यही हो, अहिलेको यो उद्भट कल्पनाशील र उन्मत्त वातावरणले चारैतिरबाट स्वतन्त्रतालाई निषेधको घेराभित्र समेट्न थालेको छ । निषेध अदृश्य छ । उदाहरणहरू दृश्य छन् । 

प्रकाशित :माघ २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्