सुखको खोजीमा संघर्ष

- सुविन भट्टराई

माघ २३, २०७४

केही कुरा परबाट राम्रा देखिन्छन् र नजिकबाट नराम्रा अनि केही कुरा नजिकबाट राम्रा देखिन्छन् र परबाट नराम्रा । राम्रो–नराम्रोको परिभाषा के हो भनेर छुट्याउने अधिकार हरेक व्यक्तिलाई छ । केही भ्रमले कसैलाई सुख दिन्छ भने तिनै भ्रमले कसैलाई फेलासमेत पार्छ । 

करिब एक महिनालाई अस्ट्रेलियाको भ्रमणमा निस्कँदा अधिकांश त म आफ्नो भ्रमण सुखमै लिप्त भएँ तर केही अनुभव यस्ता पनि रहे, जसले केही तिक्तता दिए । 

एक दिन सिड्नीको फ्लेमिङ्गटन स्टेसनबाट ट्रेन चढेर टाउन हलतर्फ जाँदै थिएँ । सिड्नीमा यति धेरै नेपाली होलान् भनेर मैले कल्पनासम्म गरेको थिइनँ । हरेक स्टेसनमा ट्रेन कुर्ने कम्तीमा चार पाँच नेपाली भेटिन्थे । ट्रेनको केवल एउटै कम्पार्टमेन्टमा २०–२५ प्रतिशत त नेपाली नै हुन्थे । यहाँ नेपालीलाई नेपालीको मतलब पनि नहुने । 

होमबुस स्टेसनबाट दुई जना नेपाली केटा चढे । उनीहरू म बसिरहेकै सिटको पछिल्तिर बसे । ठूल्ठूलो आवाजमा गफ गरिरहेका उनीहरूको गफ चाहेर पनि नसुन्न सकिनँ । एउटा युवकले अर्कोलाई भनिरहेको थियो, ‘अस्ट्रेलिया आएर त बाउको बिहे देखियो यार !’

उसको त्यो भनाइले म झसङ्ग नभैरहन सकिनँ । पछाडि नफर्के पनि मेरा कान र ध्यान उनीहरूको वार्तालापमा मडारिन थाले । ‘त्यही त । काम पनि पाइँदैन । नेपालमा त हल्लिएरै खान पुगेको थियो ।’

स्ट्रयाथफिल्ड स्टेसनबाट एउटी वृद्ध अंग्रेज महिला चढिन् । उनले लगाएको पहिरन कुनै अफिसको ड्रेसजस्तो देखिन्थ्यो । उनको हातमा एउटा अफिसियल ब्याग पनि थियो । उनी आएर त्यहीँ केटाहरूले देख्ने सिटमा बसिन् । 

‘यस्ता बूढाबूढीले काम पाउँछन्, हाम्ले पाउँदैनौँ ।’ त्यो युवकले फेरि ठूलो स्वरमा भन्यो ।

‘मलाई त फर्किऊँ जस्तो लागिसक्यो ।’ अर्कोले भन्यो ।

‘के मुख देखाउने यार घरमा ?’ अर्को करायो ।

त्यसैगरी ट्रेनमा हिँडिरहँदा कुनै अर्को दिन अर्काथरी नेपाली देखिए । नचहँदा–नचाहँदै उनीहरूको कुरा पनि सुनिहालियो । दुई जना मिलेर तेस्रो व्यक्तिको कुरा काटिरहेका थिए । तेस्रो व्यक्तिलाई उनीहरूले ‘त्यो’ भनेर सम्बोधन गरिरहेका थिए । नाउँ लिएका थिए होलान्, मैले सुन्न पाइनँ ।

‘त्यो’ को कथा यस्तो थियो : काम खासै नपाइरहेको ‘त्यो’ लाई कलेजको फी तिर्नसम्म हम्मे–हम्मे भयो । झोंकमा र केही साथीको लहैलहैमा एकदिन ‘त्यो’ क्यासिनो पुगेछ । २–४ सय डलर जितेछ पनि । अर्को दिन एक्लै गएछ । केही सय डलर फेरि जितेछ । कलेजको फीको आधाउधी पैसा उसले क्यासिनोमै जितिसकेको थियो । अर्को पटक जाँदा खल्ती रित्तिने गरी हारेछ । ‘त्यो’ केही साथीसँग रिन गरेर फेरि पनि क्यासिनो पुगेछ र फेरि हारेछ । रिनको बोझ र कलेज फिको भार थाम्न नसकेको ‘त्यो’ त्यसपछि फरारझैँ छ । 

 

सुनिरहें यस्तै कुरा । ‘अबन भन्ने ठाउँमा एउटी नेपाली केटी कोठाभित्रै मृत अवस्थामा फेला ।’ एकदिन टिभीमा बिहानै हेरेको न्युजले दिनभरि मन अमिलो बनायो । सुने यस्तै थुप्रै कुरा, यहाँ सुखैसुख मात्र छैन, डिप्रेसनको सिकार भएका थुप्रै नेपाली छन भन्ने पनि सुनियो । 

मैले अस्ट्रेलियामा यस्तै मात्र कुरा र समाचार सुनेँ भन्ने पनि होइन । कतिपय प्रेरणादायी कथा बोकेका नेपाली साथीहरू पनि छन् । कुन तहको संघर्षबाट गुज्रिएर सम्पन्न र सुखी जीवन बिताइरहेको छु भन्ने साथीहरू नै बढी भेटिन्छन् यहाँ । सफल एनआरएनको संघर्ष सुनेर प्रेरणा र ऊर्जा पनि प्राप्त हुन्छ । 

यद्यपि केही समाचार यस्तै सुनिए । कति नेपालीलाई भ्रम हुन सक्छ, विदेश भनेको समुद्रको किनार, हरियो पार्क, चिल्ला सडक, ट्रेन, अग्ला भवन मात्र हुन् । दैनिक दस घण्टा ढाड दुखुन्जेल गोरुझैँ जोतिनुपर्ने सत्य फेसबुक हेरेको भरमा मात्र बुझ्न सकिँदैन । बिरामी हुँदा तातो पानी तताएर दिने कोही नहुँदा घर सम्झेर क्वाँ–क्वाँ रुनुपर्ने सत्य कसले बताउँछ फेसबुकमा ? हामी विकेन्डमा गरिएको एउटा बार्बिक्यू पार्टीका आधारमा विदेशमा बस्ने नेपालीहरूको दिनचर्या जज गर्छौं र लोभिन्छौँ । जो अलिकति देखिएको छ त्यसलाई सम्पूर्ण सत्य भन्छौँ । जो धेरै छोपिएको छ त्यसलाई नदेखेझैँ गर्छौँ । 

आफूलाई ठीक लागेका ठाउँ र भविष्य रोज्ने हक हरेक व्यक्तिलाई छ, तर बाहिर जाने बेला हरेक नेपालीले संघर्ष गर्न सक्ने मन बनाएर जानुपर्छ । संघर्षको बाटो नहिँडी कोही सुखको गन्तव्यसम्म पुग्न सक्दैन । बाहिर जाँदा अनेक थरी डकुमेन्ट, टिकट, पासपोर्ट र लगेजमात्र होइन, आफूलाई, आफूभित्रको हिम्मतलाई पनि बलियोसँग प्याकिङ गरेर लानुपर्छ । भ्रममा फसेर होइन श्रम गर्न सक्छु भन्ने दृढ अठोट लिएर जानुपर्छ । 

प्रकाशित :माघ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्