सामाजिक सञ्जालमा भेडाहरूको भीड छ

- कृष्ण भट्टराई

माघ २२, २०७४

गीत गाएर होस् अथवा समाचारवाचन गरेर होस्, कोमल वली प्राय: चर्चामा आइरहने नाम हो । सांस्कृतिक कार्यक्रममा गीतमात्र होइन, छमछमी नाचेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न पछि नपर्ने यी गायिका अहिले आएर आफ्नो परिचय नै परिवर्तन गर्ने मोडमा छिन् । वली यसै साता एमालेका तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा निर्विरोध निर्वाचित भएकी छिन् ।

यद्यपि राष्ट्रिय सभा निर्वाचनमा उनको उम्मेदवारी घोषणा भएदेखि नै सामाजिक सञ्जालमा उक्त निर्णयप्रति तीखा टीका–टिप्पणी गरिए । सामाजिक सञ्जालमा चलिरहेको वली सम्बन्धी जुहारी अझै मत्थर भैसकेको छैन । वलीले सामाजिक सञ्जालमार्फत नै पनि आफ्ना भनाइहरू सार्वजनिक गरिरहेकी छिन् । राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद वलीसँग साप्ताहिकका कृष्ण भट्टराईले समसामयिक विषयमा लामै कुराकानी गरेका थिए ।  

राष्ट्रिय सभाको सदस्य बन्नुभएको छ । यो अवसरलाई कसरी सदुपयोग गर्दै हुनुहुन्छ ?

यो मेरा लागि चुनौतीपूर्ण अवसर हो । त्यसैले म राष्ट्रिय सभामा गर्नुपर्ने कामहरूको फेहरिस्त तयार पार्न थालेकी छु । मेरो व्यक्तिगत राजनीतिक यात्राका क्रममा यो देशका लागि केही गरेर देखाउने मौका पनि हो । राष्ट्रिय सभाका नियमित कामका अतिरिक्त मैले यो वर्षका लागि केही प्रतिबद्धता सार्वजनिक गरिसकेकी छु, अब म ती काममा समेत केन्द्रित हुनेछु ।

सांसद बन्ने प्रसंगलाई पार्टिको अचानकको निर्णय भन्नुहुन्छ कि योजनाबद्ध ?

मलाई राष्ट्रिय सभामा पठाउने पार्टीको निर्णय न अचानक हो, न त लामो योजना बनाएर गरिएको निर्णय नै हो । यो त समयले निम्त्याएको आकस्मिकता हो । यही आकस्मिकताका कारण देशको कला क्षेत्र पनि सम्मानित भएको चाहिँ ध्रुवसत्य हो ।

तपाईंलाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाउनेबित्तिकै सामाजिक सञ्जालमा चर्को आलोचना भयो ?

हामी नेपाली र हाम्रो समाजको स्वभावका कारण यस्तो भएको हुनसक्छ । हामीकहाँ कोही सफलताको यात्रामा हुँदा खुट्टा तान्न उद्यत हुनेहरू पनि उत्तिकै हुन्छन्, त्यसमाथि सामाजिक सञ्जालमा भेडाहरूको भीड बढी छ, राम्रो–नराम्रो छुट्टयाउनुभन्दा अरूको पछाडि लाग्नेहरूको अभिव्यक्तिलाई आलोचना भनिएको होला । त्यसले त मलाई अझ बलियो बनाएको छ ।

तपाईंकै उम्मेदवारीको विरोध हुनुपर्ने कारण के होला ?

मलाई आफ्नो विरोध भयो जस्तो लाग्दैन । विरोध भएको भए मेरो उम्मेदवारीविरुद्ध अरू पार्टीले उम्मेदवार उठाउने थिए, म निर्विरोध निर्वाचित नै हुने थिइनँ । केही व्यक्तिले जोकजस्तो मानेर वा राष्ट्रिय सभाको गरिमा नबुझेर गरेका हल्का–फुल्का कुरालाई विरोध भन्न मिल्दैन ।

पार्टीभित्रैबाट पनि असन्तुष्टिका स्वर सुनिए त ?

मलाई त्यस्तो लाग्दैन । म निर्विरोध हुने भएपछि पार्टीका अधिकांश नेताले मलाई बधाई दिनुभयो । यद्यपि कोही असन्तुष्ट हुनुहुन्छ भने म उहाँहरूलाई मेरो काम हेरिदिन अनुरोध गर्छु । अर्को कुरा, विरोध जहाँ पनि हुन्छ । हिजो बाराक ओबामा अमेरिकाको राष्ट्रपति निर्वाचित हुँदा संसारले स्वागत गर्‍यो, तर त्यहाँ पनि असन्तुष्टिका स्वर सुनिए । लोकतन्त्रमा यस्तो कुरा स्वभाविक हो भन्ने मैले बुझेकी छु, जो असन्तुष्ट हुनुहुन्छ, उहाँहरू नै भोलि मेरो काम देखेपछि बधाई दिन आउनु हुनेछ ।

प्रदेश सभा तथा प्रतिनिधिसभामा टिकट नपाउँदा सामाजिक सञ्जालमा तपाईंको समर्थन भएको थियो, अहिले उनीहरू नै कसरी तपाईंको विरोधी भए ?

हाम्रा तर्कहरू त्यति ‘म्याचुयर्ड’ छैनन्, हामीकहाँ सामाजिक सञ्जालको प्रयोगमा तार्किक कुरा त्यति हुँदैनन् । कागले कान लग्यो भनेर कागको पछि लाग्नेहरूकै बाहुल्यता सामाजिक सञ्जालहरूमा छ । त्यसमाथि जे पायो त्यही नाममा अनेकथरी लेखेर हल्ला गर्नेहरू पनि प्रसस्तै छन् । नाम सामाजिक सञ्जाल भए पनि त्यसमा असामाजिकहरू नै बढी सक्रिय छन् ।

भन्नेहरू त तपाईंलाई अवसरवादी पनि भन्छन्, के भन्नुहुन्छ ?

भन्नेहरूको प्रत्येक कुराको जवाफ दिन सम्भव हुँदैन, कहिले समय हुँदैन, कहिले चाहना हुँदैन । अब रह्यो अवसरवादीको कुरा, म के मान्दिनँ भने अवसर आफैं आउँछ, यो रेडिमेड कुरा होइन, क्रिएटेड विषय हो । म अहिले करण जोहरको आत्मकथा ‘एन अन्सुटेबल व्याइ’ पढिरहेकी छु । हेर्नुस्, जोहरले आएका अवसरलाई व्यवस्थापन नगरेको भए अहिले उनी यो अवस्था, स्थान र उचाइमा पुग्ने थिएनन् । जो आफूले केही गर्न सकिरहेको छैन र कुण्ठालाई आफ्नो प्राथमिकता बनाइरहेको छ, उसका लागि अरूको सफलता सुपाच्य हुँदैन, त्यसलाई ऊ अनेक नाम दिन्छ । मलाई अवसरवादी भन्नेहरूमा पनि यही कुरा लागू हुन्छ ।

आफू विरुद्धको विरोधका स्वरहरूलाई कसरी मत्थर बनाउने योजना बनाउनु भएको छ ?

मैले यो कुरामा ध्यान दिएकी छैन र दिनुपर्छ भन्ने पनि लाग्दैन । किनभने जब मैले आफ्नो काम राम्रोसँग गर्नेछु, सबै कुरा प्रष्ट हुँदै जाने छन् । अघि बढ्न यस्ता विषयमा ध्यान दिनुभन्दा अबको कार्य योजना बनाउनु बढी महत्वपूर्ण हुन्छ, म त्यसमै ध्यान दिँदैछु । जब अहिले मेरो नाममा विरोध गर्नेहरूले यो कुरा बुझ्नुहुनेछ, उहाँहरू आफैं चुप लाग्नुहुनेछ भन्ने मेरो विश्वास हो ।

राप्रपाबाट एमालेमा प्रवेश गरेर राम्रै गरेछु जस्तो लागेको छ होला नि ?

यो कुरा त मैले त्यतिबेला नै सोचेर एमालेलाई आफ्नो राजनीतिक यात्राको माध्यम बनाउने निर्णय गरेकी हुँ, अब अहिले आएर मात्र राम्रो लाग्ने भन्ने कुरै भएन ।

मौका मिल्यो भने तपाईंले एमालेलाई पनि धोका दिनुहुनेछ भन्नेहरू पनि छन् ?

सबैभन्दा पहिले धोका भनेको के हो भन्ने डिफाइन हुनु जरुरी छ । कसैले सोचे जस्तो नहुनु, त्यो सोच्ने मानिसका लागि धोका हो भन्ने बुझाइ नै गलत हो । जहाँ मैले मेरा सपना समाहित गरिसकेकी छु, त्यहाँ धोका भन्ने कुरै हुँदैन । त्यो त आफ्नै सपनाको हत्या गर्नु सरह हो ।

गीत गाएर र समाचार पढेर नपाएको चर्चा अहिले पाउनुभयो होइन ?

चर्चा केका लागि भन्ने हो । समाचारमा काम गर्दाको चर्चा अर्कै हो, गीतको चर्चा कलाको चर्चा हो । अब अहिलेको चर्चा नेपालीहरूको सपना जोडिएको चर्चा हो । हामी नेपालीको सपना जोडिएकाले यो मेरा लागि महत्वपूर्ण मात्र होइन, अझ बढी सुखको चर्चा हो । यसलाई म शक्तिमा बदल्नेछु ।

अबको तपाईंको राजनीतिक यात्रा कसरी अघि बढ्छ ?

मेरो सम्पूर्ण समय समाज र जनताको विकासमा खर्च हुनेछ । जनता सर्वोपरि हुन् र नेपाली माटोको सुगन्ध सबैले थाहा पाऊन् भन्ने आधारमा मेरो राजनीति अघि बढ्नेछ ।

तपाईंको उम्मेदवारीले एमालेको जनताको बहुदलीय जनवादलाई उपहास गरेको आरोप पनि लगाईंदैछ ?

यस्तो किन भएको हो भने कतिपय आलोचकले जबजलाई राम्रोसँग बुझ्नुभएको छैन, अन्यथा एउटा कलाकार, त्यसमा पनि महिला देशको गौरवमय पदमा पुग्दा यस्तो प्रश्न उठ्नु नपर्ने हो । मेरो कामले उहाँहरू जो अहिले यस्ता कुरा गर्दै हुनुहुन्छ मात्र होइन, समग्र एमाले पार्टीले गर्व गर्नेछ, देशले गर्व गर्नेछ । यो मेरो वाचा हो ।

माननीय भएपछि तपाईंको सांगीतिक यात्राचाहिँ कसरी अघि बढ्छ ?

संगीत त मेरो एडिक्सन हो, मेरो अब्सेसन हो । यो म रहुन्जेल निरन्तर जारिरहनेछ । म गायनबिना बाँच्न सक्दिनँ । 

प्रकाशित :माघ २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्