विदेशमा जम्ने प्रयास

- साप्ताहिक संवाददाता

माघ २१, २०७४

नेपाली खेलकुदका लागि यो साता केही राम्रा समाचार आए, जसमध्ये सबैभन्दा ठूलो समाचार क्रिकेटबाट थियो भने बाँकी तीन फुटबलबाट । क्रिकेट र फुटबल दुवैमा ठूला घरेलु प्रतियोगिता खासै हुन नसकिरहेको स्थितिमा चार नेपाली खेलाडीले विदेशी भूमिमा आफूलाई सिद्ध गर्ने अवसर पाएका छन् । तय छ, यसले नेपाली खेलकुदमा निकै ठूलो प्रभाव पार्नेछ विशेषत: क्रिकेटमा । यसले एउटा महत्त्वपूर्ण तथ्य के सिद्ध गरेको छ भने खेलाडीमा प्रतिभा छ भने सम्भावना जे पनि हुन सक्छ । 

 

सन्दीप लामिछाने,

क्रिकेट

यो साता नेपाली क्रिकेटमा सामान्य रुचि राख्नेहरूले पनि लगातार एउटै समाचार पछ्याए, के सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि कुनै टिमको छनौटमा पर्नेछन् ? यसपल्टको प्रतियोगिताका लागि खेलाडीको लिलामी बैंगलोरमा भएको थियो र लिलामीमा पर्ने खेलाडीहरूको सूचीमा थिए, नेपाली लेग स्पिनर सन्दीप लामिछाने । अन्तत: लिलामीको दोस्रो दिन राम्रो समाचार पनि आयो र सन्दीपका लागि दिल्ली डेयरडेभल्स २० लाख भारतीय रुपैयाँ तिर्न तयार भयो । 

सन्दीपको आईपीएल यात्रा नेपाली क्रिकेटका लागि कोसेढुंगा सावित हुने निश्चित छ । आईपीएल विश्वकै सबैभन्दा धनी क्रिकेट प्रतियोगिता हो र यसले पूरा विश्व क्रिकेटलाई परिवर्तन गरेको तथ्य कसैबाट लुकेको छैन । विश्व क्रिकेटमा जति पनि राम्रा खेलाडी छन्, सबै यही प्रतियोगिता खेल्न प्रयत्नरत हुन्छन् । सन्दीपका लागि मात्र होइन, नेपाली क्रिकेटमै यो निकै ठूलो अवसरका रूपमा अगाडि आएको छ । यो कति ठूलो उपलब्धि हो भन्ने कुराका लागि सन्दीपले दिल्लीबाट सँगै खेल्ने खेलाडीको नाम नै पर्याप्त हुन्छ, जस्तो– ग्लेन म्याक्सवेल, गौतम गम्भीर, ट्रेन्ट बोल्ट आदि–आदि । 

सन्दीपको आईपीएल यात्रा कसरी सम्भव भयो त ? आफ्नो छोटो खेल जीवनका क्रममा उनले धेरैलाई प्रभावमा पारे, त्यसमा प्रमुख छन्— अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क । दिल्ली टिमका प्रशिक्षक हुन्, अर्का अस्ट्ेरलियाली पूर्वकप्तान रिकी पोन्टिङ । यो सम्बन्धले त काम गरेकै छ त्यसमाथि सन्दीपले केही दिनअघि दिल्ली पुगेर ‘ट्रायल’ समेत दिएका थिए र त्यसमा पोन्टिङ सन्दीपबाट निकै प्रभावित भए । 

 

रोहित चन्द,फुटबल

नेपाली राष्ट्रिय टिमका प्रमुख सदस्य रोहित चन्दले अघोषित निर्णय जस्तै गरेका छन्, नेपालमा व्यवसायिक लिग नखेल्ने, खेल्ने भए विदेशी लिग मात्र खेल्ने । डिफेन्डर र एटायकिङ मिडफिल्डरको दोहोरो भूमिकामा जम्न सक्ने रोहितले भर्खरै मात्र इन्डोनेसियाको पर्सिजा जाकार्तासँग अनुबन्ध गरेका छन् । पुरानो सिजनको अन्त्यसँगै उनले नयाँ अनुबन्ध गरेका हुन् । रोहित नेपालको घरेलु लिगमा विरलै देखिन्छन् । उनले १६ वर्षको उमेरमै मछिन्द्रको छातामुनि रहेर लिगमा सहभागिता जनाएका थिए । 

अहिले इन्डोनेसियाली लिगको नयाँ नियमअनुसार तीन जना विदेशी खेलाडी खेलाउन पाइन्छ । पर्सिजानका प्रशिक्षक स्टेफानो कुगुराले यसका लागि पहिलो रोजाइमा रोहितलाई नै राखे । क्लबका लागि लगातार राम्रो खेलिरहेका रोहितलाई फेरि नयाँ अनुबन्ध गर्नुको प्रमुख कारण हो— उनी क्लबका समर्थकहरू माझ निकै लोकप्रिय छन् । रोहित विशेषत: क्लबका समर्थकबीच सामाजिक सञ्जालमा सर्वाधिक प्रिय मानिन्छन् । उनको उपनाम नै राखिएको छ— हिमालयन टाइगर । 

नयाँ अनुबन्धअनुसार उनको पारिश्रमिक मासिक पाँच हजार डलरभन्दा बढी रहने बताइएको छ । सन् २०१६ तिर चोटका कारण रोहितले मलेसियामा व्यवसायिक फुटबल खेल्ने अवसर गुमाए । उनले आफ्नो खेल जीवनको सुरुतिर आई–लिगमा हिन्दुस्तान एरोलोटिक्स लिमिटेडबाट दुई सिजन खेलेका थिए । दक्षिण पूर्वी एसियाको फुटबल एसियामै राम्रो मानिन्छ । यस्तोमा रोहितले इन्डोनेसियामा बटुलेको अनुभवले नेपालको राष्ट्रिय टिमलाई समेत फाइदा पुगिरहेको छ ।

विमल घर्तीमगर,फुटबल

नेपाली फुटबलका युवा खेलाडीमध्ये सार्वधिक प्रतिभाशाली मानिन्छन्— विमल घर्तीमगर । एन्फा एकेडेमीका उत्पादन विमल भारतको मोहन बगानसँग अनुबन्ध हुने कुरा भर्खरै मात्र तय भएको हो । यसअघि उनले युरोपका विभिन्न लिगमा खेल्ने समाचार बाहिर आए पनि त्यो पूरा हुन सकेन् । भर्खरै मात्र थ्री स्टारका लागि खेलेका विमलले क्लबलाई इटहरीमा मदन भण्डारी मेमोरियल गोल्डकप जिताउन पनि उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरे । यसबीच विमल कोलकाता क्लबसँग आबद्ध हुने समाचार बाहिर आएको हो । 

आई लिग क्लब मोहन बगान अहिले चौथो स्थानमा छ र क्लब योभन्दा माथिल्लो स्थानमा पुग्ने प्रयासमा छ । यसका लागि उसलाई उत्कृष्ट फरवार्डको आवश्यकता परेको हो । उसका प्रमुख फरवार्ड हाइटीका सोनी नोडे घाइते भएपछि मोहन बगानको नजर विमलमाथि परेको हो । विमलसँग घरेलु लिग खेलेको खासै अनुभव छैन । उनको एक मात्र अनुभव भनेको राष्ट्रिय लिग खेल्नु हो । त्यसैले लिगको अनुभव उनका लागि नयाँ हुनसक्छ । 

विमलका लागि मोहन बगानको प्रस्ताव निकै चुनौतीपूर्ण छ । विमलमाथि लाग्ने आरोप हो, उनी निकै राम्रा खेलाडी भए पनि आफ्नो खेल जीवनप्रति त्यति गम्भीर छैनन् । सम्भवत: मोहन बगानबाट खेल्दा उनले खेलप्रति गम्भीर हुने पाठ सिक्ने छन् । उनले कति पारिश्रमिक पाउने छन् भन्ने कुरा पनि तय भएको छैन । सम्भवत: मासिक दुई लाख रुपैयाँको हाराहारीमा र यो अनुबन्ध लिगको समाप्तीसम्मका लागि मात्र हुनेछ ।

किरण चेम्जोङ, फुटबल

एसियाकै ठूलो फुटबल बजारका रूपमा अगाडि आएको छ— भारत । भारत आफैं पनि आफ्नो फुटबलस्तर उकास्न आतुर छ । भारतले भर्खरै आयोजना गरेको विश्वकप यू–१७ त्यसकै एउटा उदाहरण हो । भारत स्वयं मात्र होइन, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) पनि त्यहाँको फुटबललाई लिएर गम्भीर छ । अहिले भारतमा दुईवटा लिग चलिरहेको छ, एक आई–लिग र अर्को आईएसएल अर्थात् इन्डियन सुपर लिग । दुवै लिगलाई एसियाली फुटबल महासंघ (एएफसी) बाट मान्यता प्राप्त छ । 

नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले भर्खरै आई–लिग क्लब मिनरेभा पञ्जावसँग अनुबन्ध गरेका छन् । अहिले लिग मध्यभागमा पुगेको छ र किरणले क्लबसँग लिगको अन्त्यसम्मका लागि मात्र अनुबन्ध गरेका हुन् । त्यसको अर्थ उनको अनुबन्ध तीन महिनाका लागि मात्र हुनेछ, तर यसक्रममा चेम्जोङले आफ्नो प्रतिभा देखाउने पूरा अवसर प्राप्त गर्नेछन् । मिनरेभा पञ्जाव लिग तालिकाको शीर्ष स्थानमा छ र उपाधि जित्न आतुर छ ।

राम्रो गोलरक्षक चाहिएको हुनाले नै मिनरेभाले किरणलाई अनुबन्ध गरेको हो । किरणले यस क्रममा नेरोका एफसीविरुद्धको खेलमा डेब्यु पनि गरिसकेका छन् र आफ्नो दोस्रो खेलमा म्यान अफ दि म्याच भएर आफूलाई सावित पनि गरेका छन् । किरण यसअघि माल्दिभ्सको टीसी स्पोर्टससँग आबद्ध थिए । भनिन्छ किरणले मिनरेभा पञ्जावबाट खेल्दा माल्दिभ्समा भन्दा कम पारिश्रमिक पाएका छन् । उनले कति पारिश्रमिक पाए, खुलाएका छैनन् । सम्भवत: उनको आँखा आईएसएलतर्फ छ, जहाँ दसौं लाख पारिश्रमिक पाइन्छ ।

प्रकाशित :माघ २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्