पूर्वका नयाँ गन्तव्य

- अनिल श्रेष्ठ

माघ २०, २०७४

 

जाडोको बिदामा आफ्ना छोराछोरीलाई अभिभावकले रमणीय ठाउँहरू घुमाउन लान्छन् जसमध्ये पूर्वका चर्चित सीमसार र फन पार्कहरू पारखीहरूको रोजाइ बन्दै गएका छन् ।

तालतलैया, इटहरी

इटहरी उपमहानगरपालिकाभित्र पर्ने तालतलैया ७६ दशमलव ४५ हेक्टरमा फैलिएको छ । तालतलैयामा बालउद्यान तथा मिनी चिडियाखाना छन् । त्यहाँ पशुपन्छी उद्धार केन्द्रलाई मिनी चिडियाखानाको रूप दिइएको छ । त्यस्तै जलपरी रिक्सा तथा घोडचढीसमेत उक्त तालतलैयामा छ । इटहरीको जुटविकास चोकबाट पाँच अनि तरहराबाट तीन किलोमिटरको यात्रापछि तालतलैया पुग्न सकिन्छ । यहाँप्रतिव्यक्ति १० रुपैयाँ प्रवेश शुल्क लाग्छ । 

शान्तिवन, सुनसरी 

सुनसरीको बर्जुगाउँपालिकामा पर्ने शान्ति वन सुनसरी, मोरङ तथा झापाका स्थानीय बासिन्दाहरूको सुपरिचित गन्तव्य हो । २० बिघा क्षेत्रफलमा फैलिएको उक्त वनमा एभरेष्ट साइन्स सेन्टरसमेत छ, जहाँ विज्ञानसम्बन्धी विभिन्न सामग्री अवलोकन गर्न सकिन्छ । शान्ति वनको मूल गेटमा डाइनोसरको आकर्षक मूर्ति छ । यो वनमा प्रवेश गर्न ५० रुपैयाँ शुल्क लाग्छ । 

बेतना सीमसार, 

बेलबारी, मोरङ

मोरङको बेलबारी नगरपालिकाअन्तर्गत पर्ने बेतना सीमसार क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गमै पर्ने यो सीमसारमा सुनसरी, मोरङ तथा झापाका आन्तरिक पर्यटक आउँछन् । १ सय ७५ हेक्टरमा फैलिएको यो सीमसारको प्रमुख आकर्षण त्यहाँ राखिएको कमिलाको मूर्ति हो । हेर्दा ठूलो र नौला लाग्ने उक्त कमिलाको मूर्तिमा आगन्तुकहरू तस्बिर खिच्नसमेत उत्तिकै झुत्तिन्छन् । यो सीमसारमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क तिर्नुपर्छ । 

गोकुलम रिसोर्ट, 

सुन्दरहरैंचा, मोरङ

मोरङको सुन्दरहरैंचा नगरपालिकामा पर्ने रिसोर्ट हो–गोकुलम । पूर्व–पश्चिम राजमार्गस्थित बलियाचोकबाट डेढ किलोमिटरको यात्रापछि गोलकुम रिसोर्ट पुग्न सकिन्छ । साढे पाँच बिघामा फैलिएको गोकुलम रिसोर्टमा बोटिङ, हर्स राइडिङ, चिल्ड्रेन पार्क आदि सुविधा उपलब्ध छन् । त्यहाँ ताजमहल, आइफेल टावरजस्ता विभिन्न विश्वप्रसिद्ध ल्यान्डमार्कहरूका नमुना राखिएको छ । यहाँ प्रवेश गर्न २५ रुपैयाँ शुल्क तिर्नुपर्छ । 

जामुनखाडी सीमसार, झापा

२६ दशमलव ५४ हेक्टर क्षेत्रफलमा फैलिएको जामुनखाडी सीमसार क्षेत्र सबै उमेर समूहका लागि उपयुक्त घुम्ने ठाउँ हो । झापाको कन्काई नगरपालिकामा पर्ने यो सीमसार क्षेत्रमा दुर्लभ वन्यजन्तु आरक्ष, झोलुंगे पुल, हरिण पार्क, बाल उद्यान आदि अवलोकन गर्न सकिन्छ भने बोटिङले यो गन्तव्यलाई थप आकर्षक बनाएको छ । यहाँ प्रवेश गर्न ५० रुपैयाँ शुल्क लाग्छ । 

गोपाल फर्न पार्क, 

कटहरी, मोरङ

विराटनगरबजारदेखि तीन किलोमिटको दूरीमा छ–गोपाल फन पार्क । १३ बिघामा फैलिएको यो पार्क सबै उमेर समूहलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । मोरङको कटहरी गाउँपालिकामा पर्ने यो पार्कको ३ बिघा क्षेत्रफलमा दुईवटा पोखरी निर्माण गरिएका छन् जहाँ नौका बिहारसमेत गर्न सकिन्छ । 

हसिना सीमसार, मोरङ

मोरङको सुन्दर हरैंचा नगरपालिकास्थित हसिना सीमसार अहिले सबैको रोजाईको केन्द्र बन्दै गएको छ । यहाँ जडीबुटी, वन्यजन्तु तथा सीमसार क्षेत्रको अध्ययन गर्न सकिन्छ । पूर्व–पश्चिम राजमार्गको बाँसबारी चोकबाट करिब ६ किलोमिटर उत्तर हिंडेर वा गाडीमार्फत पुग्न सकिने यो क्षेत्रमा बाह्रमास बगिरहने जरुवा पानीको मूल छ । यो सीमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित :माघ २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्