बालबालिकाले घुम्नुपर्ने ठाउँ पोखरा

- राजाराम पौडेल

माघ २०, २०७४

 

बालबालिकाहरूले घुम्नैपर्ने ठाउँ हो–पोखरा । आफ्नै आँखा अगाडि मनोरम प्राकृतिक छटा नियाल्दै रमाउन पाउनु पोखराको मुख्य विशेषता हो । उत्तरमा सेतै टल्किने हिमाल, वरिपरि हरिया डाँडाकाँडा । तालतलैया, मन्दिर, गुफा आदि मनोरम दृश्य हेर्दै नयाँ जानकारी लिने अवसर प्राप्त हुन्छ पोखरामा । अन्नपूर्ण, धौलागिरि, मनास्लु, माछापुच्छ्रे, लमजुङ, गणेश आदि हिमालका दृश्य एकसाथ आफ्नै आँखा अगाडि नियाल्न पाउँदा बालमस्तिष्कमा सकारात्मक छाप पर्छ । अझ फेवातालमा देखिने माछापुच्छ्रे हिमालको छायाँले बालबालिकाहरूलाई थप खुसी दिन्छ । 

पोखरा तालैतालको सहर पनि हो । पोखरा आसपासमा फेवा, वेगनास, रुपा, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरीसहित नौवटा ताल छन् । यी तालमध्ये बोटिङ गर्दै रमाइलो गर्न फेवा र वेगनास नै सर्वाधिक उपयुक्त मानिँदै आएको छ । 

ताल मात्र होइन, पोखराका गुफा, छाँगा र झरनाले यहाँ पुग्ने बालबालिकाहरूलाई लोभ्याउँछन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, पातले छँँगो, पावर हाउस आदि ठाउँमा बालबालिकाले हेर्नैपर्ने नयाँ–नयाँ सामग्री भेटिन्छन् । चमेरे गुफामा देखिने चमेरा, महेन्द्र गुफाको बनौट, पावर हाउसमा देखिने सुन्दर छाँगा, पातले छाँगामा देखिने मनमोहक दृश्यले बालबालिकाको मन भुलाउँछ । पोखरामा रहेका विन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, तालबाराही मन्दिर, केदारेश्वर मन्दिर, नारायण स्थान मन्दिर, अकला मन्दिर पनि बालबालिकाले घुम्नैपर्ने ठाउँ हुन् । बालबालिकाका लागि पोखराका केही होटल तथा रिसोर्टमा फन पार्कसमेत उपलब्ध छन् । होटल जल महलको फन पार्कले बालबालिकालाई प्रशस्त मनोरञ्जन प्रदान गर्छ । 

पोखरामा पाँचवटा संग्रहालय छन् । तीमध्ये घारिपाटस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पुग्ने बालबालिकाको संख्या बढी हुन्छ । यहाँ हिमाली जनजीवनका बारेमा बुझ्ने अवसर प्राप्त हुन्छ । यसैगरी नयाँ बजारस्थित क्षेत्रीय संग्रहालय, पृथ्वीनारायण क्याम्पसको हाताभित्र भीमकालीपाटन बगरमा रहेको पुतली संग्रहालय, केआइ सिंह पुल नजिकैको गोर्खालीको बहादुरी देखाउने संग्रहालय तथा शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय छ । 

पोखरानजिकका रमणीय ठाउँ लभ्ली डाँडा, सराङकोट, काहुँडाँडा, शान्ति स्तूपा, ठूला कोट, माटेपानी गुम्बा, हेम्जा गुम्बा, लुक्दै बगेको सेती लगायतका ठाउँमा पुगेर दृश्यावलोकनसमेत गर्न सकिन्छ । नदीपुरस्थित सेती पावर हाउसमार्फत जलविद्युत् उत्पादनका बारेमा बालबालिकालाई जानकारी दिन सकिन्छ । कविशिरोमणि लेखनाथ पौडेलको जन्मघर अर्घौं अर्चले, गन्र्धव संस्कृतिका बारेमा जान्ने अवसर प्राप्त हुने बाटुलेचौरस्थित झलकमान गन्धर्व सारङ्गी पाठशाला, भुर्जुखखोलास्थित रेम्बो ट्राउट फार्म हाउस आदि पनि बालबालिकाहरूलाई घुमाउन सकिने स्थान हुन् । 

प्रकाशित :माघ २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्