डा. सन्दुक रुइत अर्थात् नेपालका वैश्विक ब्रान्ड

- जनक तिमिल्सिना, भिषा काफ्ले

माघ १९, २०७४

 

‘हेल्लो नमस्ते !’

‘नमस्कार को बोल्नुभयो होला ?’

‘म राजदूत मञ्जितसिंह पुरी बोल्दैछु, मैले हजुरलाई जानकारी दिन खोजेको कुरा थाहा पाउनुभयो ?’

‘मलाई अलि–अलि जानकारी भैसककेको छ, तर प्रष्ट छैन ।’

‘हामी धेरै भाग्यमानी छौं– तपाईंलाई पद्यश्री जस्तो ठूलो पदकबाट सम्मानित गर्न पाएर । यो हाम्रा लागि ठूलो अवसर पनि हो, किनभने तपाईंले धेरैलाई उज्यालो संसार दिनुभएको छ । यसमा हामी तपाईंप्रति कृतज्ञ छौं ।’

‘हस् धन्यवाद !’

 

मोतीयाबिन्दुका १ लाखभन्दा बढी बिरामीको आँखाको ज्योति फर्काएका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पद्यश्री सम्मान पाएको जानकारी दिन भारतीय राजदूत पुरीले ११ माघको राति ११ बजे फोन गरेपछिको संवाद हो यो । त्यतिबेला डा. रुइत आफ्ना सबै रुटिङ सकेर ओछ्यानमा पल्टने तरखरमा थिए । विशिष्ट तथा विशेष उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई भारत सरकारले प्रदान गर्ने पद्यश्री सम्मान पाएको औपचारिक खबरले एकछिन उनको शरीरमा काँडा उम्रिए, गह्रौ भारी थपिएको महसुस भयो । 

डा. रुइतले एक घण्टा अघिदेखि नै भारतको सुप्रसिद्ध पद्यश्री सम्मान पाएकोमा इमेल तथा म्यासेजबाट बधाई थापिरहेकै थिए तर, ती सबै अनौपचारिक थिए । भारत सरकारको आधिकारिक एजेन्सी प्रेस इन्फर्मेसन ब्युरो अफ इन्डियाले ट्वीटरमार्फत पहिलो पटक यो खबर सार्वजनिक गरेपछि देश–विदेशबाट उनलाई बधाई दिनेहरूको ओइरो नै लागेको थियो । ‘राजदूतले नै बधाई दिएपछि सम्मानित भएको रहेछु भन्नेमा कन्फर्म भएँ,’ ६३ वर्षीय डा. रुइतले भोलिपल्ट साँझ साप्ताहिकसँगको भलाकुसारीमा भने ।   

 

मोतीबिन्दुका कारण आँखाको ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा एक्युलर लेन्स ‘आइओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यका लागि विश्वभर प्रसिद्धी कमाएका यी चिकित्सकले पाएको यो पहिलो अन्तर्राष्ट्रिय सम्मान वा पुरस्कार भने होइन् । यसअघि पनि उनले अन्तर्राष्ट्रिय स्तरका धेरै पुरस्कार तथा सम्मानहरू थापिसकेका छन् । उनले थापेका दर्जनौं पुरस्कार र सम्मानमध्ये धेरैजसोको नाम अहिले उनको डायरीमा सिमित छन् । एसियाको नोबेल प्रस्कार मानिने मेगासेसे, थाइल्यान्डको सबैभन्दा सम्मानित प्रिन्स महिदुल एवार्ड, अल्वर्ट आइन्स्टाइन फाउन्डेसनले प्रदान गर्ने ग्लोबल भिजनरी एवार्ड, वल्र्ड इकोनोमिक फोरमले दिने सोसल इन्टरप्रेनरसीप एवार्ड, भुटानको नेसनल एवार्डलाई भने उनी सम्झन्छन् । 

 

डा. रुइतलाई राम्रोसँग थाहा छ, पद्यश्री एवार्डको बेग्लै महत्व छ । ‘नेपालको भौगोलिक, ऐतिहासिक तथा सांस्कृतिक संरचनाले गर्दा पनि यो एवार्डले धेरै महत्व राख्छ,’ उनी भन्छन्, ‘मैले यसअघि पनि धेरै अन्तर्राष्ट्रिय एवार्ड प्राप्त गरे, तर यो एवार्डमार्फत भारत सरकारले सम्पूर्ण नेपालीका लागि विशेष कूटनीतिक सन्देश दिन खोजे जस्तो लाग्छ ।’ हालसम्म राजनैतिक तथा कर्मचारीतन्त्रमा सीमित रहेको नेपाल—भारत सम्बन्धलाई यो एवार्ड जनता—जनताबीचको सम्बन्ध विस्तारमा सहयोगी हुने डा. रुइतको विश्वास छ । डा. रुइत पद्यश्री एवार्डबाट सम्मानित हुने डा. रुइत दोस्रो नेपाली हुन् । गत वर्ष यही एवार्ड माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले प्रप्त गरेकी थिइन् । 

तिलगंगाको कथा 

सस्तो मूल्यमा गुणस्तरीय आइओएल लेन्स ७० भन्दा बढी देशमा पुर्‍याएर मोतीबिन्दुबाट हुने अन्धोपन निवारणमा अतुलनीय भूमिका निर्वाह गरेका डा. रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना मानिन्छ । सबैजसो वस्तुमा परनिर्भर भैरहेको नेपालजस्तो तेस्रो विश्वको गरिब देशमा निर्मित आइओएल लेन्सले बेलायत, अस्ट्रेलिया, क्यानाडादेखि विकासशील एसिया, अफ्रिका एवं अन्य महादेशका ४० लाखभन्दा बढी नागरिकलाई उज्यालो संसार दिन सहयोगी हुनु आफैंमा गर्वको कुरा हो । सन् १९९७ देखि लेन्स उत्पादन थालेको तिलगंगाले यस बीच ४२ लाखभन्दा बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक २ सय उत्पादन हुँदै आएको लेन्सको संख्या अहिले बढेर १ हजार ८ सयसम्म पुगेको छ । 

 

विश्वबजारमा सस्तो र गुणस्तरीय आइओएल लेन्स उत्पादनका लागि ख्याति कमाएको तिलगंगा आँखा अस्पतालका डा. रुइतले ३८ वर्षदेखि गर्दै आएको कठोर परिश्रमको प्रतिफल हो यो । ७ जुन १९९४ मा तत्कालीन राजा वीरेन्द्र तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा राखेर उनले आफ्नो सपनाको बीउ रोपेका थिए तर त्यो बीउ उमार्न पनि उनले थुप्रै अप्ठ्यारा एवं चुनौतीहरू सामना गर्नुपर्‍यो । 

 

आखिर डा. रुइतको सपनाको यो क्यानभासमा यथार्थको रंग कसरी पोतियो त ? यसलाई पुन:स्मरण गर्न डा. रुइत ८० को दशकतिर फर्किए । सन् १९७९/१९८० मा नेपालमा आँखासम्बन्धी रोगको एउटा ठूलो सर्भे भएको थियो । सर्वेमा उनी जुनियर डाक्टरका रूपमा सिनियर डाक्टरहरूको टोलीसँगै सहभागी थिए । ‘त्यस क्रममा मैले मोतीयाबिन्दुका कारण धेरैले अन्धकारमा जीवन बिताइरहेको थाहा पाए, शल्यक्रिया भैसकेकाहरूको अन्धोपन निवारणमा पनि विभिन्न समस्या थियो,’ उनी त्यति बेलाको नेपालमा विद्यमान मोतीयाबिन्दुको उपचार प्रणालीमा देखिएका समस्याका सम्बन्धमा भन्छन्– त्यो देखेपछि मेरो मनमा हामी आफैं किन मोतीबिन्दुको विश्वस्तरीय उपचार दिन सक्दैनौं भन्ने प्रश्न उब्जियो ?’ 

 

संयोग नै मान्नुपर्छ नेपालीको मोतीयाबिन्दु र त्यसको उपचार पद्धतिमा विद्यमान त्रुटिका विषयमा चिन्तित भैरहेकै बेला डा. रुइतलाई भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)ले आँखा रोग विशेषज्ञता सम्बन्धी अध्ययनका लागि अवसर उपलब्ध गरायो । एम्सबाट पोष्ट ग्राजुयट गरेर फर्किएपछि उनी नेपालकै डाँडाकाँडा सुहाउँदो मोतीबिन्दुको उपचार पद्धतिको अनुसन्धानमा लागे । त्यतिबेला शल्यक्रियामा लेन्स प्रयोग हुँदैनथ्यो, शल्यक्रिया माइक्रोस्कोपिक पनि हुँदैनथ्यो । यो सन् १९८६ तिरको कुरा हो । यो प्रविधि नेपालमा कसरी ल्याउने भन्ने ठूलो चुनौती थियो । त्यसका लागि आवश्यक ठूला—ठूला प्रविधि नेपालमा कसरी भित्र्याउने ? उनी घोत्लिएर सोचिरहन्थे । उति बेला विश्वबजारमा एउटा लेन्सको एक सय डलरसम्म पथ्र्यो । त्यत्रो पैसा तिरेर आँखामा लेन्स राख्नु नेपालीका लागि असम्भवजस्तै थियो । 

 

यस्तो अवस्था देखेपछि डा. रुइत नेपाल सुहाउँदो उपचार पद्धतिको विकासका लागि थप अनुसन्धान गर्न देशाटनमा निस्किए । उनको साथमा एउटा माइक्रोस्कोप, श्रीमती र बालक छोरा थिए । उनले मेचीदेखि महाकालीसम्म नेपालीपनको उपचार प्रविधिको विकाससम्बन्धी अनुसन्धान गरे । अनुसन्धान सकिएपछि उनको मस्तिष्कमा एउटा सपनाले आकार लियो । त्यति बेला नेपालमा मोतीबिन्दुको उपचार गर्दा ‘टक्क क्याट्रयाक निकाल्ने र मोटो लेन्स हाल्ने चलन थियो । ‘तर, म साथीहरूसँग आँखाको एउटा कुनामा पातलो लेन्स हाल्ने प्रविधिको कुरा गर्थे । धेरै साथीहरू विश्वास गर्दैनथे,’ उनले स्मृति पल्टाए । डा. रुइतसँग काम गर्ने धेरैलाई यो अमूर्त सपनाजस्तो लाग्थ्यो । त्यो समयमा उनीहरूलाई त्यस्तो लाग्नु स्वभाविक पनि थियो, किनभने डा. रुइतको त्यो सोच ज्यादै महत्वाकांक्षी र जोखिमपूर्ण थियो । कतिले त खुलेरै भन्थे– यो ठाउँमा यति महत्वाकांक्षी र अमूर्त कुरा किन गर्ने ? कतिले त यति धेरै महँगो प्रविधिका सम्बन्धमा सपना नदेख्न पनि उनलाई सुझाएका थिए । यो कुरा लिएर एउटा टोली तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्मै पुगेको थियो । कुनै एउटा सन्दर्भमा कोइरालाले डा. रुइतलाई उनका विरुद्ध पोल लगाउनेहरूको प्रसंग समेत कोट्याएको उनी सम्झन्छन्  तर, ‘मैले सबैलाई भेला पारेर टेक्नीकल्ली जवाफ दिन र आफ्नो सपना बुझाउन छाडिन्,’ उनले पुराना किस्सा खोले । 

 

भनिन्छ, सपना उसैको पूरा हुन्छ, जसले सपना पूरा गर्ने अभिष्ट राख्छ । डा. रुइतका सन्दर्भमा पनि ठ्याक्कै यही भनाइ लागू हुन्छ । उनी सस्तोमा नेपालीलाई राम्रो आँखा सेवा दिने सपना देखिरहेका थिए, उनमा एकदिन त्यो सपना पूरा गर्न सक्छु भन्ने अठोट थियो । संयोगजस्तै बनेर आइदिए—उनका अष्ट्रेलियन गुरु डा. फ्रेड हलोज । फ्रेड सन् १९८५ मा विश्व स्वास्थ्य संगठनका तर्फबाट आँखामा हुने खस्रे (ट्रकोमा) रोगको विशेषज्ञका रूपमा नेपाल आएका थिए । अनुसन्धान सकिएपछि उनले डा. रुइतलाई आफ्नो अभियानको सहयात्री बनाए । जुन कुरामा डा. रुइत लगभग निराशा भैसकेका थिए, फ्रेडले त्यही कुरामा उनलाई आत्मविश्वासी बनाइदिए ।  

 

‘यो अभियानमा डा. फ्रेड निकै आशावादी हुनुभयो र त्यसपछि उहाँसँगको मेरो सहकार्य सन् १९९२ मा उहाँ नवितुन्जेलसम्म कायम रह्यो,’ डा. फ्रेडलाई सम्झदै डा. रुइत भन्छन्, ‘डा. फ्रेड बित्नु अघि उहाँलाई अस्ट्ेरलियन अफ दि इयर एवार्डले सम्मान गरिएको थियो ।’ डा. फ्रेडले उक्त एवार्डको केही रकम तिलगंगाको जग हाल्न उपलब्ध गराउनुभयो । अफसोच तिलगंगा अस्पतालले आफ्नो सेवा थालनी गर्दा त्यसको जगमा पहिलो इँटा हाल्ने डा. फ्रेडले यो संसार त्यागिसकेका थिए ।

 

कुनै समय विश्वबजारमा १ सय डलर पर्ने बाक्लो लेन्सलाई विस्थापित गर्न तिलगंगाले बनाएको आँखाको कुनामा हालिने पातलो लेन्सको मूल्य मात्र ४ डलर छ । प्रतिफल प्राप्त गर्न मेहनतमा कन्जुस्याई नगर्ने डा. रुइत  तिलगंगाको सुरुवाती टिमसँग यो महत्वाकांक्षी मिसनको सफलताको श्रेय बाँडछन् । त्यतिबेलाका बोर्डका सदस्यहरू स्व. जगदीश घिमिरे, सुन्दर घिमिरे, शम्भु तामाङ, दिवाकर गोल्छा, सुशील पन्त तथा हरिवंश आचार्यले उनको अभियानलाई हृदयदेखि नै साथ दिए । ‘राम्रो गर्छुभन्दा राम्रा मानिसहरू पनि जोडिन आइपुग्दा रहेछन्,’ डा. रुइतले बताए । 

 

जुन दिन तिलगंगामा डा. रुइतको ड्रिम प्रोजेक्ट प्रारम्भ भयो, उनी औधी उत्साहित थिए तर २४ वर्षको छोटो अवधिमै नेपालजस्तो राजनीतिक अस्थिरता भएको देशमा निर्माण गरिएको नमुना संस्थामा विश्वकै ध्यान केन्द्रित होला भन्ने कुरा भने उनले कल्पनासम्म गरेका थिएनन् । त्यति बेला अलिकति दौडनासाथ एउटा पछि अर्को झमेला ब्यहोर्नुपथ्र्यो । सबैभन्दा ठूलो समस्या स्रोत जुटाउनु थियो । ‘हामी ६ महिना त अन्डरग्राउन्ड नै भएका थियौ, छ महिना पछि एकै पटक हामीले परिणाम देखाइदियौ,’ डा. रुइतले जोस्सिदै सुनाए । 

 

टिमवर्कलाई सफलताको सुत्र मान्ने डा. रुइत नेपालीमा सामूहिकताको विकास नभएकोमा चिन्तित देखिन्छन् । जुनसुकै कामका लागि टिमवर्क पहिलो शर्त हो । टिमसँग नेतृत्वले जति गहिराइमा पुगेर दृष्टिकोण बाँडफाँड गर्न सक्छ त्यति नै सहजताका साथ लक्ष्यको सिंढी चढ्न सकिन्छ भन्ने उनको मान्यता छ । ‘तिलगंगा यो अवस्थामा आइपुग्नुको सबैभन्दा ठूलो सूत्र भनेकै टिमवर्क हो,’ उनले तिलगंगाको सफलताको कारण खोले, ‘लिडरको भिजनलाई भित्रसम्मै मनन गर्ने बनाउन सक्नुपर्छ । यसको सर्टकर्ट छैन ।’ तिलगंगाको विश्वस्तरीय सफलताका पछाडि यसले गुणस्तरीयतामा सम्झौता नगर्नु पनि हो । तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट सिई मार्क तथा आइओएस सर्टिफाइड छ । ‘आइओएल’मा बेलायतबाट आइओएस मार्क प्राप्त गर्ने तिलगंगा दक्षिण एसियाकै तेस्रो अस्पताल हो । 

 

ड्रिम आई बैंक

तिलगंगाको अर्को सफल कार्यक्रम भनेको आँखाको नानी प्रत्यारोपण पनि हो । आँखा बैंकको कुरा गर्दा उनले एउटा पुरानो रोचक प्रसंग सम्झिए । भएको के रहेछ भने उनले तत्कालीन राजगुरु अम्बिकाप्रसादको दुवै आँखाको अप्रेसन गरेका रहेछन् । पछि अम्बिकाप्रसाद बिरामी भएर वीर अस्पताल भर्ना भएछन् । अप्रेसन गर्ने क्रममा भएको चिनजानका नाताले डा. रुइत उनलाई भेट्न वीर अस्पताल पुगे ।  उक्त भेटमा रुइतको हात समातेर अम्बिकाप्रसादले भनी हाले, ‘अरू सबै काम गर्नु तर घाटमा मान्छे पोल्ने बेला आँखा निकाल्ने काम चाहिँ कहिल्यै नगर्नु है ।’ 

 

यसले आँखा दानप्रति त्यति बेलाको नेपाली समाजको मनस्थिति कस्तो थियो भन्ने कुराको झलक दिन्छ । यद्यपि रुइत मरेपछि खरानी हुने आँखाको नानी संकलन गरेर अन्धोपन भएकाहरूको संसारमा उज्यालो भर्न चाहन्थे । समाजको संकीर्ण मानसिकताकाबीच खुल्मखुल्ला आँखाको नानी संकलन गर्नु र बैंकमा राखेर अर्काको आँखामा त्यसलाई प्रत्यारोपण गर्न उति सजिलो कुरा थिएन । उनले आँखा बैंक स्थापना गरेरै छाडे । जतिबेला आँखाको नानी संकलन केन्द्र स्थापना भयो, सबैभन्दा पहिले आर्यघाटको एउटा कुनामा नदेखिने सानो साइजको ‘आँखा दान महादान, एकजनाको बलिदानले दुईजनाको जिन्दगी बन्छ भन्ने’ साइनबोर्ड राखियो । यो समाजको प्रतिक्रिया हेर्ने पहिलो पहल थियो ।  

 

एक हप्तासम्म कुनै प्रतिक्रिया नआएपछि त्यही साइनबोर्ड अलि देखिने ठाउँमा राखियो । मानिसहरूले त्यसमा पनि खासै प्रतिक्रिया दिएनन् । विस्तारै—विस्तारै खुल्ला ठाउँमा ठूलो बोर्ड राखेर प्रचार गर्न थालियो । पहिलो पटक कम्युनिस्ट नेता निर्मल लामाले आँखा दान गरे । त्यसपछि क्रमश: मनमोहन अधिकारी, जगदीश घिमिरेजस्ता व्यक्तित्वले आँखा दान गरे । विस्तारै—विस्तारै यो क्रम बाक्लिदै गयो । अहिले आँखादान झन्डै–झन्डै रक्तदानकै अवस्थामा पुगेको छ । उनी के ठोकुवा गर्छन् भने नेपाल आँखाको नानी प्रत्यारोपणमा सक्षम छ, कसैको भर पर्नुपर्ने अवस्था छैन । सुरुवाती दिनमा विदेशीले क्रिसमस, न्यू–इयरजस्ता विशेष अवसरमा दान गरेर पठाएका आँखाका नानी लिन उनी एयरपोर्टमा कयौं घण्टा कुर्थे । ‘दान गरिएको उक्त नानी ल्याएर रातभर अप्रेसन गर्थे,’ कथाझै लाग्ने यो अनुभवलाई डा. रुइत गर्वका साथ सबैलाई सुनाउँछन् । 

 

ग्लोबल ब्रान्ड

डा. रुइत आँखाका बिरामी खोज्दै नपुगेको नेपालको कुनै कुना छैन् । उनी विकट क्षेत्रहरूमा शिविर चलाएर अस्पतालसम्म पुग्न नसकेर अध्याँरो जीवन बिताइरहेकाहरूलाई उज्यालो दिन्छन् । नेपालमा मात्र होइन्, यी डुलुवा डाक्टर एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका देशहरूमा समेत आँखाका बिरामी खोज्दै भौतारिरहेका हुन्छन् ।  

 

किन यसरी भौतारिरहन्छ्, उनी ? डा. रुइत भन्छन्, ‘नेपाली माटोमा यहाँको पाखा पखेराबाट सिकेर तिलगंगामा जुन सिस्टम विकास गरेका छौ । त्यसलाई लिएर नेपालजस्तै कम विकसित देशका नागरिकहरूलाई सस्तोमा ज्योति दिन हिँड्छु ।’ तिलगंगाले ‘सस्तो मूल्यमा गुणस्तरीय उपचार’ दिन सकिन्छ भन्ने प्रणालीको विकास गरेको छ । त्यसलाई विकाशोन्मुख देशहरूले खोजिरहेको आवश्यकतालाई नेपालले पूरा गर्न सहयोग गरिरहेको उनी बताउँछन् । 

 

सबैभन्दा महत्वपूर्ण कुरा यसले केही मात्रामा भए पनि नेपाललाई ‘ग्लोबल ब्रान्ड’ बनाउन र आर्थिक रूपमा टेवा पुर्‍याउन सहयोग गरिरहेको छ । नेपाली प्रविधि साउथ टु साउथको अपरेसनका लागि प्रभावकारी हुने उनको दाबी छ । ‘इथियोपियाजस्तो विकाशोन्मुख देशमा अमेरिकाले विकास गरेको सिस्टमले काम गर्दैन । त्यहाँ नेपालमा विकास भएको सिस्टम बढी प्रभावकारी सावित भएको छ,’ उनी विदेशमा शिविर चलाउदैं हिँड्नुको कारण खोल्छन् । डा. रुइतले यसैका लागि म्यानमार, इण्डोनेशिया, उत्तर कोरिया, चीन, भियतनाम, ल्याटिन अमेरिका तथा अफ्रिकाका विभिन्न देशमा शिविर सञ्चालन गर्दै आएका छन् । 

 

डा. रुइतले विकास गरेको प्रविधिले विश्वमा अलग्गै ‘नेपाली ब्रान्ड’को पहिचान स्थापित गरेको छ । यसैमा उनलाई सबैभन्दा ठूलो गर्व छ । ‘त्यहाँ गर्व गर्ने कुरा यो नेपालबाट आएको प्रविधि हो भनेर प्रचार हुन्छ । त्यहाँ नेपाली झन्डा फहराउँछ,’ डा. रुइत गर्विलो देखिन्छन्, ‘हामीले देशलाई दिन सकेको योगदान पनि यही त हो नि ।’ 

 

शिविर लिएर डुलिरहने यी डाक्टरमा म्यानमारप्रति भने बिछट्टै लगाव देखिन्छ । त्यसको एउटा विशेष कारण छ– म्यानमारका नेपालीहरू आत्मसम्मानका साथ बस्नु र उनीहरूले डा. रुइतप्रति दर्शाउने माया । करिब साढे ३ लाख नेपाली बसोबास गर्ने म्यानमारमा नेपालीहरूको स्टाटस भारतीयहरूभन्दा माथि छ । म्यानमार पुग्दा आफू नेपाली भएकामा गर्व अनुभव हुन्छ । ‘अरू ठाउँमा नेपालीहरू के गर्छन सबैलाई थाहा छ । म्यानमारका प्राय: सबै नेपाली प्रतिष्ठित छन् । केही न केही काम गरेर वसेका छन् । देशको इज्जत जोगाएका छन् । त्यहाँ रामबहादुर नामका एक राष्ट्रिय फुटबलर थिए । उनलाई म्यानमारमा हिरो मानिन्छ,’ उनी आफ्नो म्यानमार प्रेमका सम्बन्धमा भन्छन्, ‘यस्तै कुरा देखेर मलाई त्यहाँ पुग्दा सदैब गौरव महसुस हुन्छ ।’ डा. रुइत म्यानमारका नेपालीहरूले आफूलाई गरेको सहयोगप्रति पनि उत्तिकै अनुग्रहित छन् । 

तमोरको तिरदेखि काठमाडौंसम्म  

सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङगोला तमोर नदीको सिरान हो । १० हजार फिट उचाइमा पर्ने ओलाङचुङगोलामा उनी जन्मिदा त्यहाँ २ सयजति घर थिए । अहिले त्यही तमोरको बाढीले उनी जन्मिएको परम्परागत बस्ती उजाडिसकेको छ । अहिले त्यहाँ ५०/६० वटा जति मात्र घर छन् ।   

 

७ वर्षको उमेरसम्म चौरीको पुच्छर निमोठ्दै हिँडेका डा. रुइत उतिबेला १५ दिन हिँडेर दार्जिलिङ पुगी कक्षा १ मा भर्ना भएका थिए । त्यो उमेरमा भर्ना भएका उनलाई यो अवस्थामा आइपुग्छु भन्ने कल्पनासम्म थिएन । कहिलेकाहीँ पछाडि फर्किएर हेर्दा डा. रुइत आफैंलाई अचम्म लागेर आउँछ । ‘मान्छेले इमान्दारिता, प्रतिबद्धता, कडा परिश्रम र दृढ इच्छाशक्तिलाई समेट्ने सक्यो भने भाग्य, मौका र संगति आफैं प्राप्त गर्ने रहेछ,’ डा. रुइत भन्छन्, ‘यसले जस्तोसुकै कठिनाइका पहाड फोर्न सकिन्छ भन्ने मेरो जीवनको सबैभन्दा ठूलो सिकाइ हो ।’ 

 

९३ वर्षीय बुवा, दुई छोरी, एक छोरा तथा श्रीमतीका साथ काठमाडौंको स्वयम्भूमा बस्दै आएका  डा. रुइत दक्षिण एसियाली समाजका मानिसको सबैभन्दा ठूलो शक्ति परिवार भएको बताउँछन् ।  ‘परिवार भनेको हाम्रो एसियाली संस्कृतिको ठूलो हिस्सा हो । हामी परिवार हुर्काउन जति दु:ख गर्छांै परिवारले हामीलाई त्यति नै राम्रो कुरा दिन्छ,’ डा. रुइत भन्छन्, ‘एसियालीहरूको एउटा प्रमुख शक्ति नै परिवार हो । हाम्रो कमजोरी र बल दुवै परिवार हो ।’ 

 

फुर्सदको धेरैजसो समय परिवारसँगै बिताउने डा. रुइत कहिलेकाहीँ संगीतमा पनि रमाउँछन् । नारायण गोपाल, बच्चु कैलाश, अरुणा लामा, मोहम्मद रफी तथा लता मंगेशक उनका प्रिय गायक/गायिका हुन् । समय उति नहुने भए पनि उनी अक्सर पुस्तक पढ्छन् । बायोग्राफी उनको रोजाइमा पर्छ । कहिलेकाहीँ विवादास्पद व्यक्तिहरूका बारेमा लेखिएका पुस्तकले पनि उनलाई तान्छ । उनले पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक नेल्सन मण्डेलाको बायोग्राफी हो । डा. रुइत मुड चल्दा परिवारसँग चलचित्र हेर्न हलसम्म पनि पुग्छन् । उनी अहिलेसम्म सपिङमा भने निस्किएका छैनन् । उनका लागि आवश्यक किनमेल प्रायजसो श्रीमतीले नै गर्छिन् । ‘त्यसको साटो मैले उनलाई माया दिएको छु,’ डा. रुइतले रोमान्टिक हुँदै भने । 

 

अनुशासित जीवन रुचाउने डा. रुइतको दैनिकी पनि अनुशासित नै छ ।  बिहान साढे चार बजे ओछ्यान छोडिसक्ने उनी  डेढ घण्टा व्यायाम गर्छन् । घर स्वयम्भू नजिक भएको हुँदा त्यहाँका सिंढीले उनको व्यायामको एक डोज पूरा गर्छन् । व्यायाम सकेपछि २० मिनेट इमेल–इन्टरनेट चेक गर्छन् । कहिलेकाहीँ स्काइपबाटै देशविदेशमा चलिरहेका कन्फ्रेन्सहरू एटेन्ड गर्छन् । त्यसपछि उनी तिलगंगा अस्पताल पुग्छन् । बिरामी हेर्ने आदि नियमित काम तथा बैठकहरूमा सहभागी हुन्छन् । बेलुका उनी नागपोखरीस्थित आफ्नो क्लिनिकमा बस्छन् । 

 

खानपिनमा पनि उतिकै सजग छन्– डा. रुइत । साधारणतया: विहान साढे सात बजेतिर ब्रेकफास्ट खान्छन् । लन्च भने अस्पतालमै लिएर जान्छन् जसमा फलफूल, रोटी, तरकारी आदि  हुन्छन् । लन्चका साथमा उनी कालो चिया पनि पिउँछन् । बेलुकाको खाना प्राय: घरमै खान्छन्, जसमा रोटी, तरकारी, मासु ढिडो, फापरको रोटी, सुप तथा ब्रेड हुन्छ । अलि पेट लागेका कारण उनलाई श्रीमतीले भात खान प्रतिबन्ध लगाएकी छन्, त्यसैले बेलुकाको खानामा प्राय: रोटी नै हुन्छ । 

 

मानिसहरूको आँखाको ज्योति फर्काउनु उनको दैनिकी हो । अन्धोपन बेहोरिरहेको मानिसले संसार देख्न सक्नुजतिको ठूलो खुसी अरू केही पनि हुँदैन् । अरूको आँखामा प्रकाश दिएर रंगीन दुनियाँको मनोरम दृश्य देखाउने डा. रुइतका लागि जीवनकै सर्वाधिक खुसीको क्षण कुन होला ? हामीले लामो कुराकानीको बिट मार्ने सन्दर्भमा उनीसँग सोध्यौं । ‘सन् १९९४  जुन ७ । तिलगंगा आँखा अस्पतालको उद्घाटन भएको दिन मेरा लागि जिन्दगीकै सबैभन्दा खुसीको दिन हो । त्यस्तो कठिन मेहनतपछि अस्पताल सञ्चालनमा आयो त्यो जति खुसी म कहिल्यै भएको छैन,’ उनले आफ्नो अनुपम खुसीको क्षण साटे, ‘स्वर्गीय राजा वीरेन्द्र तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एउटै मञ्चमा बसेर उद्घाटन गर्नुभएको थियो । त्यो बेला मेरा सहकर्मीहरू सहित मेरो मुहारमा देखिएको खुसी हेर्न लायक थियो ।’ 

प्रकाशित :माघ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्