माघ १९ देखि २५ गतेसम्मको राशिफल

  • माघ २१ गते : विश्व अर्बुदरोग दिवस ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

माघ १९, २०७४

 

 

मेष

पारिवारिक वातावरण खलबल्याउन नातेदारहरू नै पिछा लागेको अवस्था छ, जसले व्यक्तिगत छविमा समेत असर पुर्‍याउन सक्छन् । अध्ययनका क्षेत्रमा देखिएको दोधारे मनोवृत्ति स्वत: अन्त्य हुनेछ । यात्राको अवसरसँगै चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । मंगलबारपछिका दिनमा सहजता महसुस होला ।

वृष 

तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफ्नो कल्याण छ । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । कर्मचारीवर्गका निम्ति अन्य नयाँ अवसर जुट्ने सम्भावना छ ।

मिथुन 

मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । जालझेल गरी आफूलाई प्रभावित तुल्याउने प्रयास हुनसक्छ, सचेत रहनुहोला । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा खानपानको फेरबदलले स्वास्थ्य प्रतिकूल बनाउन सक्छ । 

कर्कट 

पुख्र्यौली धन लगानी गरी प्रारम्भ गरिएको व्यवसाय मौलाउने स्थिति छ । अर्काको काममा समय खर्च गर्नुपरे पनि जस भने नमिल्न सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । सेतो रंंग तथा पश्चिमतर्फको यात्राले आफूलाई प्रफुलित तुल्याउनेछ । 

सिंह 

सामाजिक मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्‍याउनुहोला । सोम तथा मङ्गलबार आफन्तहरूसँग मनमुटाव सिर्जना हुनसक्छ । जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । आर्थिक पक्ष सबल हँुदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । मन पराएको बहाना गर्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । 

कन्या 

भावी योजना तर्जुमा गर्न समय खर्चनुपर्ने अवस्था छ । धन प्राप्तिका निम्ति पेसा व्यवसाय एवं स्थान परिवर्तन हुन सक्छ । नयाँ सवारी साधन खरिद गर्ने वातावरण केही समय पछाडि धकेलिन सक्छ । साताको अन्त्यमा परिवारका सदस्यहरूसहित मांगलिक कार्यमा उपस्थिति भइनेछ ।

तुला 

प्रेमिकाको सहयोगमा धन आर्जन गर्न सकिनेछ । रोजगारीसहित विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुऱ्याउन सक्छ । गणेशको आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन् । राति अबेरसम्मको यात्रा गर्दा होसियारी अपनाउनुहोला । 

वृश्चिक 

ब्रह्म मुहूर्तमा भगवान्को स्मरण एवं योग ध्यान गर्दा मानसिक तनाव कम हुनेछ । कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्न सक्छन् । आकस्मिक निमन्त्रणामा सहभागी भै मिष्ठान्न भोजन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । सुनौलो रंगको पहिरनले राम्रै उपलब्धि हात लगाउने सम्भावना छ । 

धनु 

भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । उत्ताउलोपनका कारण परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । साताको अन्त्यमा परोपकारी कार्यमा संलग्न भइनेछ ।

मकर

अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा मनमा निराशाले डेरा जमाउनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । साताको अन्त्यमा पूर्वतर्फको यात्रा गर्न सके फलिफाप हुनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । 

 

कुम्भ 

क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ । साताको अन्त्यमा प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ ।

मीन 

होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । साताको अन्त्यमा भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । 

प्रकाशित :माघ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्