सुत्ने ठाउँको लफडामा सीतारामको हत्या

  • रीताको बयान– बलात्कार गर्न खोजेपछि इँटाले हाने

- साप्ताहिक संवाददाता

माघ १८, २०७४

३ माघको बिहान भक्तपुरको ब्रह्मायणी मन्दिर परिसरमा मृत फेला परेका सीताराम सैंजूको हत्या सुत्ने ओछ्यानका विषयमा उत्पन्न विवाद कारण भएको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा मदिरा सेवन गरेकी रीता राईलाई उनी सुतेको मन्दिरका पालेको ओछ्यानबाट हटाउन खोज्दा सीतारामले ज्यान गुमाउनुपरेको रहस्योद्घाटन भएको हो । 

सीतारामले मन्दिरका पाले रामबाबु लामाको ओछ्यानमा सुतेकी रीतालाई हटाउने क्रममा उनको टाउकोमा इँटा प्रहार गरेकी थिइन् । उक्त इँटा प्रहारकै कारण सीतारामको ज्यान गएको थियो । रीताले सीतारामले आफूलाई बलात्कार गर्न खोजेकाले आत्मरक्षाका लागि इँटा प्रहार गरेको बयान प्रहरी समक्ष दिएकी छिन् । 

३ माघको विहान ५ बजे स्थानीय सीताराम सैंजू घोप्टो परेको अवस्थामा मन्दिर परिसरमा फेला परेका थिए । मृत सैंजूको टाउकोमा गम्भीर चोट लागेको पाइएपछि भक्तपुर प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको थियो । 

तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले राति विवाद हुँदा ओखलढुंगा घर भएकी ३० वर्षीया रीताले सीतारामको टाउकोमा इँटा प्रहार गरेको पाएको भक्तपुरका प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) कृष्ण प्रसाईले साप्ताहिकलाई बताए । 

यसरी भएको थियो हत्या भक्तपुर चागुनारायण नगरपालिका–९, ताथलीका हुन्— सीताराम सैंजू । सामान्य माटोको व्यवसाय गर्ने ५५ वर्षीय सैंजू दिनहुँजसो मदिरा पिउँथे । २ माघको बेलुका ८ बजेतिर मदिरा पिएर उनी भक्तपुरका विभिन्न जात्राको सयरमा निस्किए । 

भक्तपुरमा प्राय:जसो जात्रा भैरहन्छ । जात्रा हेरेपछि सैंजू १० बजेतिर भक्तपुर नगरपालिका—९ स्थित ब्रह्मायणी मन्दिर पुगे । मन्दिरमा थिए—७० वर्षीय रामबाबु लामा । लामा विगत केही वर्षदेखि मन्दिरमै बास बस्छन् । त्यही बास बस्ने भएकाले उनी पालेका रूपमा मन्दिरको रेखदेखसमेत गर्छन् । 

यसै क्रममा मदिरा पिएर हिड्ने ओखलढुंगा घर भएकी ३० वर्षीया रीता राई मन्दिरमा देखिइन् । लामाले मन्दिरको वरिपरि राउण्ड लगाउने क्रममा रीतालाई देखेको बयान प्रहरीलाई दिएका छन् । त्यसो त रीता यसअघि पनि मन्दिरमा आइरहन्थिन्, त्यसैले रामबाबुको उनीसँग चिनजानसमेत थियो । रीताले आफूलाई गलैंचा उद्योगमा काम गर्ने बताएकी थिइन् । 

रीता त्यस दिन पनि मदिराले मात्तिएर मन्दिर परिसर पुगेकी थिइन् । मन्दिर परिसरमा रामबाबुलाई भेटेपछि रीताले आफूलाई सुत्ने ठाउँ मागिन् । उनले सुत्ने ठाउँ दिन इन्कार गरेपछि रीता जबरजस्ती रामबाबुकै ओछ्यानमा पल्टिइन् । 

‘रीता जबरजस्ती रामबाबु सुत्ने ओछ्यानमा आएर सुतेपछि सीताराम उनलाई उठाउन पुगेको देखिन्छ,’ डिएसपी प्रसाई भन्छन्, ‘ओछ्यानमा पल्टिएकी रीतालाई सीतारामले हल्का–फुल्का तानतुन गर्न खोज्यो ।’ आफूलाई तान्न थालेपछि मदिराले मात्तिएकी रीताले मदिराकै नशामा रहेका सीतारामलाई धकेलेर पछारिदिइन् । 

सीताराम ढलेपछि रीताले उनको टाउकोमा इँटाको टुक्राले पनि हिर्काइन् । रामबाबुले पनि सीताराम ढलेको देखेको बयान प्रहरीलाई दिएका छन् । सैंजूको टाउकोबाट रगत बगिरहेको थियो । रामबाबुले सैंजू ढलेको देखेपछि उनलाइ पानी ख्वाए, तर सीतारामले पानी खान सकेनन् । 

सीताराम बेहोस भएर ढलेपछि रीता राति नै त्यहाँबाट भागिन् । भोलिपल्ट बिहान सीताराम मृत अवस्थामा फेला परे । प्रहरीले रीताले टाउकोमा हानेको र रामबाबु पनि उक्त घटनामा मुछिएकाले दुवै जनालाई पक्राउ गरी ज्यान मुद्दा चलाएको छ । 

प्रहरीसँगको बयानमा रीताले आफूले सीतारामको टाउकोमा इँटाले हानेको कुरा स्वीकार गरेकी छिन् । ‘बलात्कार गर्न खोज्यो, सुरुवाल तान्यो भनेर उनले बयान दिएकी छिन्,’ डिएसपी प्रसाई भन्छन्, ‘अहिले भक्तपुर प्रहरीले दुवैलाई जगाती प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।’

प्रकाशित :माघ १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्