काठमाडौं कोकिन ट्रान्जिट

  • ओसार–पसारका अनौठा तरिका

- साप्ताहिक संवाददाता

माघ १८, २०७४

 

२८ वर्षीया थाई युवती खुवान्जाई खानारात बैंककमा बस्थिन् । सीधा स्वभावकी खुवान्जाईसँगै उनकी केटी साथी पनि थिइन् । उनकी साथीका प्रेमी अफ्रिकन हुन् । त्यही साथीले बैंककमै आफ्नो ब्राजिलियन मूलका अफ्रिकन ब्वाइफ्रेन्डसँग खुवान्जाईको परिचय गराइन् । 

साथीको ब्वाइफ्रेन्डको सम्पर्कबाट उनी एउटा अफ्रिकन ड्रग्स माफियाको सम्पर्कमा पुग्छिन्, जसले खुवान्जाईलाई नेपालमा एउटा सुटकेट लिएर जाने र त्यहाँबाट अर्को सुटकेस लिएर फर्कने प्रस्ताव राख्छन् । पैसा पनि आउने र घुम्न पनि पाइने भएपछि खुवान्जाई नेपाल आउन तयार हुन्छिन् । साथीका अफ्रिकन ब्याइफ्रेन्डले काठमाडौं जाने–आउने टिकटसहित केही पैसा हातमा राखिदिन्छन् । उनी १७ जनवरीमा साथीले भने बमोजिम नै सुटकेट लिन काठमाडौं आइपुग्छिन् । 

खुवान्जाईलाई पर्खेर काठमाडौंमा बसिरहेका हुन्छन्— २८ वर्षीय बोलिभियन युवक फ्रेडी मानानी एन्डिया । बोलिभियाको एक मोटरसाइकल वर्कसपमा काम गर्ने फ्रेडी ३ हजार अमेरिकन डलरको लोभमा बोलिभिया–ब्राजिल–इथोपिया–दिल्ली हुँदै काठमाडौं आइपुगेका हुन् । उनी बोलिभियाबाट पानीजहाज चढेर ब्राजिल, त्यहाँबाट प्लेनमा इथोपिया हुँदै भारत पुग्छन् अनि भारतबाट प्लेन चढेर नेपाल आइपुग्छन् । फ्रेडीसँग कोकिन रहेको विशेष सूचना प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले उनी त्रिभुवन विमानस्थलबाट नेपाल प्रवेश गर्ने क्रममै पाइसकेको हुन्छ, त्यसैले अर्को पक्ष कोकिन बुझ्न आउने निश्चित भएपछि प्रहरीले एकसाथ दुवै पक्षलाई गिरफ्तार गर्ने उद्देश्यले उनीमाथि १२ जनवरीदेखि नै निगरानी गरिरहेको हुन्छ । 

१२ जनवरीका दिन काठमाडौं उत्रिएका फ्रेडी थाइल्यान्डबाट आउने खुवान्जाईको पर्खाइमा हुन्छन् । १७ जनवरीमा खुवान्जाई काठमाडौं उत्रिएपछि ड्रग्स माफियाहरूले बनाएको योजनाअनुसार नै उनीहरू ठमेलको एक होटलमा भेटेर सुटकेस साटासाट गर्नतिर लाग्छन् । त्यही क्रममा १८ जनवरीमा प्रहरीका डिएसपी प्रेम शाहीको कमाण्डमा खटिएको टोलीले पाँच दिन लगातार पिछा गरेपछि छैटौ दिन दुवै पक्षलाई ठमेलबाट १ केजी ९ सय ग्राम कोकिनसहित पक्राउ गर्छ । ‘केटी सिधासादा नै छ, उसलाई भरियाका रूपमा प्रयोग गरिएको देखिन्छ,’ डीएसपी शाहीले भने । 

२० पुस २०६८ मा पक्राउ परेकी एक इन्डोनेसियाली लागूऔषध ओसार–पसारकर्ताको यात्रा थाइल्यान्डबाट सुरु भएको थियो । सुपरित मसिन्तोष नामकी ती महिला थाइल्यान्डबाट इन्डोनेसिया, ब्राजिल हुँदै पेरु पुगेकी थिइन् । पेरुबाट १ किलोग्राम कोकिन लिएर उनी अर्जेन्टिना पुगिन् । अर्जेन्टिनाबाट दोहा हुँदै काठमाडौं आइन् । काठमाडौंमा दुई दिन बसेपछि मलेसिया जान लागेकी मसिन्तोषलाई प्रहरीले पक्राउ गर्‍यो ।

अर्का एक नाइजेरियन लागूऔषध भरियाको यात्रा अझ रोचक छ । रेमण्ड जुंगु ओपल नामका ४० वर्षीय पुरुष कोकिनका १ सय १२ वटा ‘प्लास्टिक कोडेड’ क्याप्सुल खाएर तथा ४५ वटा क्याप्सुल बोकेर ब्राजिल–नामिबिया–पुन: ब्राजिल–दूबई हुँदै काठमाडौं उत्रिएका थिए । अफ्रिकाको सफरमा निस्कने गरी काठमाडौं आइनपुग्दै एयरपोर्टबाटै उनी प्रहरीको फन्दामा परे । रेमन्ड झोलामा राखिएको ४५ वटा क्याप्सुलका कारण ६ फागुन २०७० मा पक्राउ परेका थिए । पछि शरीर चेक गर्दा उनको पेटमा कोकिनका १ सय ५७ वटा क्याप्सुल फेला परेको थिए ।२५ साउन २०७३ मा पक्राउ परेकी २९ वर्षीया बोलिभियन महिला रोसी तथा ३२ वर्षीया थाई युवती बारन्याको कोकिन ओसार–पसार यात्रामा पनि काठमाडौं ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा प्रयोग भएको पाइन्छ । बोलिभियाबाट कोकिन लिएर निस्किएकी रोसी ब्राजिल, इथोपिया, नयाँदिल्ली हुँदै काठमाडौं आउँछिन् । काठमाडौं आइपुगेकी ती युवतीले ल्याएको कोकिन रिसिभ गर्न थाइल्यान्डबाट थाई युवती बारन्या काठमाडौं आइसकेकी हुन्छिन् । उनीहरू काठमाडौंको एक होटलमा भेटिन्छन् । थाई युवती कोकिन बुझेर मलेसिया फर्कने र बोलिभियन युवती कतार फर्कने तरखर गरिरहेका हुन्छन् । त्यही बेला ३ किलोग्राम ५७ ग्राम कोकिनसहित उनीहरूलाई प्रहरीले पक्राउ गर्छ । 

यस्तै अर्को घटना पनि छ । १४ मंसिर २०७३ मा मलेसियन युवती एलिस जोसेफ कोकिनका लागि ब्राजिल पुगिन् । त्यहाँबाट अबुधावी इयरपोर्ट हुँदै उनी काठमाडौं आइन् अनि एक होटलमा बसिन् । त्यहीँ मलेसियाबाट माजेन्ट हिरान्जन आए । एलिस चाक्सीबारीस्थित एक होटलमा हिरान्जनलाई १ किलो ५ सय ग्राम कोकिन दिँदै थिइन । यतिकैमा उनीहरू पक्राउ परे । एलिसबाट कोकिन लिएर हिरान्जन हङकङ उड्दै थिए भने एलिस मलेसिया । 

दर्जनौं कोकिन कारोबारी र त्यसमा संलग्न भरियालाई प्रहरीले काठमाडौंमा समातेको छ । २०६८ मा विदेशी कोकिन कारोबारीका रूपमा काठमाडौंमा पक्राउ परेपछि सुपरितको यात्रा त्यतिमै समाप्त भयो, तर त्यसपछि पनि काठमाडौंलाई ट्रान्जिट बनाएर लागूऔषध कारोबार गर्ने क्रम भने बाक्लिँदै गएको छ । प्रहरीको तथ्यांकमा त्यसअघि पनि केही नेपाली कोकिन कारोबारी पक्राउ परेको देखिन्छ । विदेशी कोकिन कारोबारी पक्राउ परेको भने त्यो पहिलो घटना थियो । 

विदेशी कोकिन कारोबारीहरूले २०६८ सालपछि नेपालको रुटमा आँखा लगाएको प्रहरी अधिकारीहरू बताउँछन् । नेपालको कमजोर इमिग्रेसन, लागूऔषध कारोबारीका लागि मृत्युदण्डजस्तो कडा कानुन नहुनुजस्ता कारणले कोकिनका कारोबारीहरू सजिलै काठमाडौं प्रवेश गर्छन् । ठूलो परिणाममा कोकिनसहित काठमाडौंका विभिन्न होटल र बाहिर जाने क्रममा एयरपोर्टमा पक्राउ पर्ने घटनाक्रमले पनि नेपाल भित्रिने यात्रु तथा लगेजको चेकजाँच कमजोर भएको देखाउँछ ।

‘नेपाल आयो भने अन्यत्र धेरै वास्ता नगर्ने, सुरक्षा चेकिङमा हेर्ने दृष्टिकोण फरक पार्न अनि कठोर चेकिङ छल्न उनीहरू यो रुट प्रयोग गर्छन्, ’ लागूऔषध ब्युरोका तत्कालीन प्रमुख तथा एआईजी जयबहादुर चन्द भन्छन्, ‘त्यसबाहेक इमिग्रेसनमा कमजोर चेकजाँच, मृत्युदण्ड नहुने, दुई–तीन वर्षमै छुट्ने भएकाले पनि उनीहरूलाई यो रुटको प्रयोग गर्न प्रोत्साहन मिलेको देखिन्छ ।’ नेपालको रुट प्रयोग गरी धेरै जसो पूर्वी एसियन र यदाकदा युरोपियन देशमा कोकिन पुर्‍याइने गरेको कोकिन ओसार–पसारमा संलग्नहरूको बयानले पुष्टि गर्छन् ।

प्रहरीको लागूऔषध ब्युरोका अनुसार महँगो कोकिन कोलम्बिया, ब्राजिल, पेरु, बोलिभिया, इथोपिया, अर्जेन्टिनाबाट नेपालको रुट हुँदै हङकङ, मलेसिया, थाइल्यान्ड, हल्यान्ड, फिलिपिन्स, दूबई, सिंगापुर, चीन, भारत र यदाकदा युरोपका विभिन्न देशमा सप्लाई हुने गरेको छ । कतिसम्म भने २० फागुन २०७२ मा नेपालबाट कुरिअर गरेर पठाइएको ४ किलोग्राम मेटाफेटामाइन अस्ट्रेलियन प्रहरीले सिड्नी एयरपोर्टमा समातेको थियो । उक्त लागूऔषध प्रदीप अधिकारी तथा प्रभाकर खनालले सुरज तामाङका नाममा काठमाडौंबाट कार्गो गरेर अष्ट्रेलिया पठाएका थिए । 

‘महँगो लागूऔषध र कोकिन नेपालमा प्रयोग हुँदैन, ’ एआइजी चन्द भन्छन्, ‘यस्ता लागूऔषधका लागि नेपाल विश्राम बिन्दु र ट्रान्जिटका रूपमा मात्र प्रयोग हुने गरेको छ ।’ माफियाहरूले चेकजाँचका क्रममा शंका र निगरानी कम होस् भनेर क्षणिक विश्राम विन्दुका रूपमा नेपालको रुट प्रयोग गर्ने ब्युरोका एक अर्का प्रहरी अधिकारी बताउँछन् । 

लागूऔषध ब्युरोको २०७३ पुससम्मको तथ्यांकअुसार पछिल्ला ६ वर्षमा भारतबाहेकका देशका ८४ जना नागरिक नेपालमा पक्राउ परेका छन्, जसमध्ये ६८ जना पुरुष तथा १४ जना महिला छन् । यही अवधिमा ७ सय ९७ भारतीय नागरिक लागूऔषध कारोबारमा संलग्न रहेका कारण पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ सय ५६ पुरुष तथा ४१ जना महिला छन् ।

कहाँ–कहाँबाट आउँछ ? 

नेपालमा पक्राउ पर्ने महँगो लागूऔषध कोकिन ल्याटिन अमेरिकी देशहरूबाट आएको पाइन्छ । ब्राजिल, इथोपिया, कोलम्बिया, पेरु, बोलिभिया, अर्जेन्टिना आदि देशबाट महँगा लागूऔषध मानिने ह्वाइट सुगर, कोकिन, मेथाएम फेटामाइनजस्ता लागूऔषध नेपाल आइपुग्छन् । 

कारोबारीहरूले यस्ता लागूऔषध थाइल्यान्ड, मलेसिया, सिंगापुर, हङकङ तथा उत्तर र दक्षिणका दुई छिमेकी चीन र भारतसम्म पुर्‍याउने सजिलो रुटका रुपमा काठमाडौंलाई ट्रान्जिट बनाउने गरेका छन् । त्यसबाहेक यदाकदा युरोप र अस्ट्रेलियामा लागूऔषध पुर्‍याउन पनि यही रुटको उपयोग हुने गरेको छ । 

यसअघि भारत र बंगलादेशलाई रुट बनाएर अमेरिका, अस्ट्ेरेलिया तथा युरोपमा लागूपदार्थ ओसार–पसार गरिए पनि पछिल्लो समयमा ती ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएपछि उनीहरूको ध्यान काठमाडौंतर्फ मोडिएको प्रहरीको भनाइ छ । 

खैरो कमसल खालको ब्राउन सुगर भने भारतबाट आउँछ । डाइजेपाम, फेनालमन, कोरेक्स फेन्सिडिल, फेन्कोडिन नेपालीहरूले मात्र प्रयोग गर्छन् । पाकिस्तान र अफगानिस्तानबाट पनि हिरोइन सप्लाई हुने गरेको पाइन्छ । 

विदेशीले प्रयोग गर्ने कोकिन र नेपालीहरूले प्रयोग गर्ने कमसल खालका लागूपदार्थ नेपाल भित्र्याउन हवाई र स्थल दुवै मार्ग प्रयोग हुने गरेको छ । नेपालमा प्रयोग हुने लागूऔषध प्राय: भारत हुँदै आउने प्रहरीको भनाइ छ ।

मुख्य हब नै ल्याटिन अमेरिका हो

लागूऔषधको ट्रान्जिटका रूपमा काठमाडौंकै प्रयोग किन हुन्छ ? 

विदेशी लागूऔषध कारोबारीहरूले काठमाडौंलाई ट्रान्जिट र मिलबिन्दुका रूपमा प्रयोग गरेको पाइन्छ । बोलिभिया र दक्षिण अमेरिकी देशका कारोबारीहरूले काठमाडौंको बाटो गरी एसियन देशहरूमा लागूऔषध पुर्‍याउने गरेका छन् । नेपालबाट जाँदा शंका कम होस् भनेर यो रुट प्रयोग गरिएको देखिन्छ । नेपाल आयो भने अन्यत्र धेरै वास्ता नगर्ने, सुरक्षा चेकिङमा हेर्ने दृष्टिकोण फरक पार्न र कठोर चेकिङ छल्न उनीहरू यो रुट प्रयोग गर्छन् । त्यसबाहेक इमिग्रेशनमा कमजोर चेकजाँच, मृत्युदण्ड नहुने, दुई–तीन वर्षमै छुट्ने भएकाले पनि उनीहरूलाई यो रुट प्रयोग गर्न प्रोत्साहन मिलेको देखिन्छ । 

कुन–कुन देशका लागूऔषध कारोबारीले नेपालको रुट प्रयोग गर्छन् ? 

यो रुट ल्याटिन अमेरिकी देश तथा पूर्वी एसियाका लागूऔषध कारोबारीहरूको रोजाइमा परेको छ । बोलिभियाली, चिनियाँ तथा भारतीयहरू यो रुटबाट कारोबार गर्छन् । मलेसियनहरूले त पहिलेदेखि नै यही रुट प्रयोग गरिरहेका हुन् । 

नेपालीहरूको सहभागिता कस्तो देखिन्छ ? 

नेपालीहरूको पनि सहभागिता छ । एपिटामाइनको केसमा हामीले संघाई ग्रुपमाथि कारबाही गर्‍यौं । थाइल्यान्डमा बसेर धर्म पाख्रिनको ग्रुप पनि एमिटामाइनको कारोबार सक्रिय छ । उसको भाई शुक्र पाख्रिनले आफूलाई पक्राउ नगर्न भन्दै ५० लाख घूस दिन खोजेको अवस्थामा हामीले पक्राउ गर्‍यौं । 

काठमाडौंमा कहाँ–कहाँबाट कोकिन आउँछ ? 

मुख्य हब नै ल्याटिन अमेरिका हो । ब्राजिल, बोलिभिया आदि देश जहाँसुकैबाट आए पनि ल्याटिन अमेरिकी देशहरूबाटै आउने हो । कोकिनकोसबैभन्दा बढी उत्पादन पेरुमा हुन्छ । 

काठमाडौंबाट कुन–कुन देशमा लागूऔषध सप्लाइ हुन्छ ?

अहिलेको ट्रेन्ड हेर्ने हो भने मलेसिया, थाइल्यान्ड, चीन, भारत, हङकङ आदि देशमा जान्छ । युरोप लगिएका घटना पनि यदाकदा देखिन्छन् । चरेसचाहिँ युरोपतिर पुग्छ । अस्ट्रेलिया र अमेरिकामा सिधैं सप्लाई हुँदैन । त्यहाँ हङकङ वा बैंकक हुँदै जाने हो । 

प्रहरीको फन्दामा पर्ने भरियामात्र हुन् कि कारोबारीहरू पनि छन् ? 

ठूलो कारोबार गर्ने केही कारोबारी पनि पक्राउ परेका छन् । यद्यपि पक्राउ पर्ने धेरैजसो भरिया हुन् । मुख्य बोसले माफिया बनेर र्‍याकेट चलाउँछ, बोकेर हिँड्दैन । त्यसको हब पनि विदेशमा हुने भएकाले हामी लागूऔषधका ठूला माफियासम्म पुग्न सकेका छैनौं । हामी त्यो देशका प्रहरीलाई यस्ता माफियाको हुलियासहितको रिपोर्ट भने पठाइदिन्छौं । 

(हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, प्रमुख रहेका चन्द लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख समेत रहिसकेका छन् ) ओसार–पसारका अनौठा तरिका 

लागूऔषध कारोबारीहरू निकै चलाख हुन्छन् । त्यो कसरी पनि स्पष्ट हुन्छ भने उनीहरूले प्रयोग गर्ने तरिका हेर्दा सामान्य मानिसले त्यसको छनकसमेत पाउँदैनन् । 

बिस्कुटको प्याकेट, हर्लिक्सको डिब्बा, जुत्ता, जर्किन, कम्प्युटर चिप्स, मदरबोर्ड, मूर्तिहरू, नाङ्लो, डायरी, डटपेन, धार्मिक ग्रन्थहरू, हाजमोलाको प्याकेट, महको डब्बा, खेलौना, काँचो नरिवल, सुटकेसजस्ता वस्तुहरूभित्र लागूपदार्थ लुकाइ ओसार–पसार गरिएको पाइन्छ । 

सुन्दै चकित पार्ने महिलाको ब्रेस्ट र गुप्तांगजस्ता संवेदनशील र कम शंका गरिने अंगहरू पनि लागूऔषध ओसार–पसारका लागि प्रयोग गरिन्छ । कारोबारीहरूले गाडीका विभिन्न पार्टपूर्जा, संगीत स्टुमेन्ट आदिमा समेत लागूपदार्थ लुकाएर ओसार–पसार गरिरहेका हुन्छन् । 

२४ फागुन २०७२ मा प्रहरीले रोबर्ट पुटलाई गितारभित्र लुकाएर ल्याएको ८ सय ४० ग्राम चरेससहित त्रिभुवन विमानस्थलबाट गिरफ्तार गर्‍यो । कलाकारको भेषमा रहेका पुट टर्कीको इस्तानबुल हुँदै ग्रिस जाने क्रममा पक्राउ परेका थिए । 

‘प्लास्टिक कोटेड’ क्याप्सुल खाएर ओसार–पसार गरिरहेको अवस्थामा पनि कोकिन ओसार–पसारका भरियाहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा राजधानीका विभिन्न होटलहरूबाट पक्राउ गर्दै आएको छ । यस्ता क्याप्सुलमार्फत लागू पदार्थ ओसार–पसार गर्नेहरूले सामान लिने ठाउँमा क्याप्सुल खान्छन् र पुर्‍याउनुपर्ने निश्चित ठाउँमा पुगेपछि दिशा गरेर त्यसलाई बाहिर निकाल्छन् । 

यतिमात्र होइन, डोरी प्रयोग गरेर पनि चलाखीपूर्ण तरिकाले लागूऔषधको कारोबार हुने गरेको छ । २ किलो ६ सय ६३ ग्राम कोकिन ‘फिसिङ रोप’मा लुकाएर काठमाडौंबाट युरोप छिर्ने तयारी गरिरहेकी भेनेजुयलाकी एरिस कार्मेन नार्भाजलाई १२ जेठ २०७३ मा प्रहरीले पक्राउ गरेको थियो । ‘फिसिङ रोप’ मा उनले लुकाएको कोकिनको मूल्य झन्डै ५ करोड बराबर भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

किन घुम्छन् लागूऔषधका भरिया ?

घटनाक्रमले लागूऔषधका भरियाहरूले धेरै देशको चक्कर काट्ने गरेको देखाउँछ । उनीहरू एक देशबाट अर्को देश पुग्छन् र पुन: त्यही देशमा फर्केर अर्को देश उड्छन् । जस्तो २३ जेठ २०७१ मा काठमाडौंमा पक्राउ परेका क्रिष्टिना अबयर ह्यारो ३७, लुइस आर्थर ५२ तथा आयश हुसेन ४६ अफगानिस्तानबाट पाकिस्तान गए । त्यहाँबाट उनीहरू ब्राजिल हान्निए । ब्राजिलबाट पेरु पुगे । पेरुको लिमाबाट २ किलो ८ सय ३० ग्राम कोकिन तरल पदार्थको ढाँचामा स्याम्पुको बोतलमा प्याक गरे । त्यहाँबाट उनीहरू ब्राजिल गए, अनि फेरि दूबई आए । दूबईबाट बल्ल उनीहरू काठमाडौं ओर्लिए । पाकिस्तान जाने तयारीमा रहेका उनीहरूलाई काठमाडौंको ठमेलस्थित एक होटलमा बसिरहेका बेला प्रहरीले पक्राउ गर्‍यो । 

३ चैत २०७२ मा एक साउथ अफ्रिकन र एक भारतीय युवती स्याम्पुको बोतलमा प्याक गरिएको झोल कोकिनसहित ठमेलको एक होटलबाट समातिए । एमपाथोनी स्याने नाम गरेकी अफ्रिकाकी लागूऔषध कारोबारकी ती भरियाको यात्रा दोहाबाट सुरु भएको थियो । त्यसपछि उनी कोकिन लिन ब्राजिल पुगिन् । ब्राजिलबाट पुन: दोहा फर्किइन् । त्यहाँबाट काठमाडौं आएकी स्याने ठमेलको एक होटलमा बसिन् । स्यानेले ल्याएको कोकिन भारत पुर्‍याउन भारतको नागाल्यान्डकी ४१ वर्षीय मर्सी काठमाडौं आइपुगिन् । काठमाडौंको एक होटलमा ५ करोड बराबरको कोकिन लेनदेनका क्रममा उनीहरू दुवै जना प्रहरी फन्दामा परे । 

३६ वर्षीया मलेसियन नागरिक मारिया बिन्टी जलाजुद्धिन ११ किलो १ सय ग्राम कोकिनसहित एयरपोर्टबाट पक्राउ परिन् । ल्यापटप ब्यागमा ‘फल्स बटन’ बनाएर उनले त्यति ठूलो मात्राको लागूपदार्थ लुकाएकी थिइन् । ब्राजिल, कतार तथा भारत हुँदै नेपाल पसेकी मारिया इटालीको रोम जाने तयारीमा थिइन् । 

२ किलोग्रँम ५ सय ८० ग्राम कोकिनसहित एक ५३ वर्षीय अस्ट्रियन २३ जेठ २०७१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिए । उनी दोहा हुँदै अस्ट्रिया जान लागेको अवस्थामा पक्राउ परेका थिए । ४ भदौ २०७३ मा ३ किलो १ सय २५ ग्राम कोकिनसहित एक २१ वर्षीया बोलिभियन युवतीलाई ब्राजिल, इथोपिया, भारत हुँदै नेपाल पस्न लाग्दा बोर्डरमा भारतीय प्रहरीले समात्यो । 

यी त केही उदाहरण मात्र हुन् । प्रायजसो: लागूऔषध ओसार–पसारमा संलग्नहरूले धेरै देशको चक्कर काट्ने गरेका छन् । आखिर किन घुम्छन्, उनीहरू ? ‘शंकाको घेरामा नपरियोस् भनेर धेरै ट्राभल गर्छन् । सिधै आए बढी शंका हुने भएकाले पनि उनीहरू धेरै देशको ट्राभल गर्छन्, यसो गर्दा कम शंका हुन्छ, ’ लागूऔषध ब्युरोका एक प्रहरी अधिकारी भन्छन् ।

लागूऔषध कारोबार विभिन्न समूहहरू मिलेर गरिने ‘अर्गनाइज क्राइम’ भएकाले पनि उनीहरूले धेरै देशको चक्कर काटेको देखिन्छ । ‘यसमा उत्पादन गर्ने, आर्थिक लगानी गर्ने, सामान बोक्ने, गन्तव्य स्थानसम्म पुग्ने ब्यवस्था मिलाउने, सामान लिने र दिनेको बीचमा सामाञ्जस्यता गराउने कार्य हुन्छन् । ‘ती काममा विभिन्न देशका मानिसहरूको संलग्नता भएको देखिन्छ । विभिन्न ठाउँका मानिसहरू मिलेर लागूऔषधको कारोबार गरिएको देखिन्छ, ’ ब्युरोका अधिकारी भन्छन्, ‘एउटा व्यक्ति अमेरिकामा छ भने दोस्रो व्यक्ति थाइल्यान्ड, तेस्रो व्यक्ति नामिबिया र चौथो व्यक्ति पाकिस्तानमा हुन सक्छ भने पाँचौं व्यक्ति नेपालमा हुन सक्छ तर यति फरक–फरक ठाउँमा रहेर पनि उनीहरू आपसी समन्वय मिलाएर कारोबार गरिरहेका हुन्छन् ।’

प्रकाशित :माघ १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्