सहिदको खेती कसरी गरिन्छ ?

- मनोज गजुरेल

माघ १८, २०७४

 

नेपाल सहिद प्रधान देश हो । यहाँका अधिकांश पार्टी सहिदमा निर्भर छन् । तिनको आम्दानीको मुख्य स्रोत पनि सहिदको खेती नै हो । एकपटक बनाएको सहिदले  पुस्तौं पुस्ता खान पुग्छ । त्यसैले यहाँका नेताहरू आन्दोलनको बाली लगाई रहन्छन्, जनता सहिद बनेर ज्यान फालिरहन्छन् । यहाँको माटो सहिदमैत्री छ । पहाडका बारीमा, मधेसका टारीमा, जातका जमिनमा, धर्मका धरापमा, जहाँसुकै सहिदको खेती लगाउन मिल्छ ।  क्षेत्रीयताको गमला, वर्गीयताको बोरा, क्रान्तिको करेसाबारी, शान्तिको बाँसघारी, जताततै सहिदका बिरुवा उमार्न सकिन्छ । 

सहिदको बेर्ना रोप्ने मुख्य मौसम अराजकता हो । मुलुकमा विभिन्न खालका अराजकता फैलिएको बेला सहिद किसानहरू सक्रिय हुन्छन् । देशका लागि ज्यान दिन उकास्छन् । पार्टीका लागि बलिदान हुन हौस्याउँछन् । सिद्धान्तका लागि मर्न उचाल्छन् । नेताका लागि मार्न पछार्छन् । यस्तो बेला उम्रिने एउटा सहिदको बिरुवाले ती नेतालाई तीनपुस्तासम्म मोज गर्न पुग्छ ।

अग्र्यानिक सहिद फेला पार्न निकै गाह्रो छ । असली सहिदका बिरुवा कतै–कतै मात्र पाइन्छ । बजारमा हाइब्रिड सहिदको बेर्ना खुब बिक्री हुन्छ । हाइब्रिड सहिद भन्नाले तस्करी गर्दागर्दै प्रहरीबाट मर्नेहरू, डकैतीमा संलग्न हुँदा–हँुंदै इन्काउन्टरमा पर्नेहरू, लागू पदार्थका दुव्र्यसनीहरू तथा हातहतियारका कारोबारीहरू पर्छन् । यिनीहरूलाई सहिदको दर्जा दिलाउन नेता कृषकहरू सरकारसँग बार्गेनिङ गर्नेदेखि आन्दोलनको थ्रिटेनिङसम्म दिन्छन् । 

ज्ञान, ध्यान, बुद्धि तथा विवेकले यो खेती फस्टाउन सक्दैन । सहिदको खेती गर्न उष्ण प्रकृतिको वातावरण चाहिन्छ । आक्रोस, घृणा, वितृष्णा एवं दम्भको राप सहिद खेतीका लागि सहयोगी स्वभाव हो । आन्दोलनका नाममा गाडी झोस्ने, टायर बाल्ने, मसाल पोल्ने कार्यहरू जो छन्, यी मौसमलाई उष्ण बनाउने प्रयास हुन् । उष्णता सहिद उत्पादनको राम्रो वातावरण हो । 

आयातित मलले सहिदको खेती राम्रोसँग फस्टाउँछ । त्यसैले आन्दोलनलाई हिंसात्मक बनाउन विदेशी दूतहरू मलजल हाल्छन् । विदेशी दूत एवं स्वदेशी यमदूतहरू राम्रा जेटिए मानिन्छन् । अराजक सामाजिक सञ्जाल त सहिदको खेतीमा खनजोत गर्ने आधुनिक टयाक्टर नै भैहाले ।

आन्दोलनका नाममा रोपेको सहिदको बाली उठाउने मुख्य मौसम चुनाव हो । चुनाव अघि सहिदको एकशब्द नचुहाउने नेताहरू चुनावको बेला सहिद शब्दको आँधी बेहरी नै ल्याउँछन् । सहिदको सपना साकार पार्ने, वीर सहिदलाई अमर बनाउने, सहिद परिवारलाई अजर बनाउने कुरा यही खेतीपातीकै एउटा प्रक्रिया हो । 

चुनाव सकिएपछि न सहिदको सपना पूरा हुन्छ नत सहिद परिवारको बिपना सफल हुन्छ । त्यसपछि केवल नेताहरूले बालीमात्र भित्र्याउँछन् । सहिदको बालीले कोही सांसद बन्छन्, कोही मन्त्री हुन्छन्, कसैले राजदूत पड्काउँछन् त कसैले जीएम र पीएम भ्याउँछन् । यसरी हजारौं जनताको सहिदको खेती केही सय नेताको जीविकोपार्जनको माध्यम बन्छ ।

थोरै नेतामात्र सहिद हुन्छन् । किनभने नेताको काम सहिद बन्ने होइन, सहिद बनाउने हो । यदि कुनै चर्चित नेता सहिद बन्यो भने ज्युँदा नेताहरूका लागि त्यो स्वर्गको द्वार बन्नपुग्छ । उनीहरू उसकै नाम भजांएर सत्तामा पुग्न सक्छन् । भत्तामा रमाउन सक्छन् । छोरालाई विदेश पठाउन सक्छन् । पत्नीलाई संसार घुमाउन सक्छन् । त्यसैले ज्युँदो नेताले कहिल्यै भन्दैनन्, हामीहरू सहिद बन्न तयार रहनुपर्छ । तिनले जहिल्यै पनि भन्ने वाक्य हो, परिआएको बेलामा तपाईंहरू सहिद बन्नुपर्छ ।

गजुरियल विश्लेषक भन्छ, जनताका लागि सहिदको खेती फाइदाजनक छैन । देश र दुनियाँका लागि फाइदाजनक छैन । सहिद बन्नु यो जुनिका लागि त राम्रो होइन, त्यो जुनिमा पनि शहीदको मूल्यांकन हुन सक्दैन । केही थान नेताको सफलताका लागि आफ्नो र परिवारको जीवन किन अन्धकारमा पुर्‍याउने ? वीरहरूले सहिद भएर होइन, आफूसहित जुटेर देश बनाउँछन् ।

प्रकाशित :माघ १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्