बस्ती होइन सहर नै बसाउँदै धुर्मुस–सुन्तली

- कृष्ण भट्टराई

माघ १६, २०७४

गएको घटस्थापनाको अघिल्लो दिन अर्थात् असोज ४ गते आफ्नो जन्मदिनको अवसर पारेर अभिनेता सीताराम कट्टेल (धुर्मुस) ले रौतहटको चन्द्रनिगाहपुर (हाल चन्द्रपुर नगरपालिका–८) स्थित सन्तपुरमा शिलान्यास गराएको एकीकृत नमुना सन्तपुर बस्ती यतिबेला हराभरा भएको छ । शिलान्यास गराएको तीन सातापछि अर्थात असोज २८ गतेदेखि प्रारम्भ भएको नमुना बस्तीको निर्माण कार्य गत मंगलबार ठ्याक्कै १ सय दिन पुगेको थियो । निर्माण प्रारम्भ भएको दिनदेखि १ सय दिनसम्म आइपुग्दा बस्तीमा ४७ वटा सुन्दर घर निर्माण भैसकेका छन् । दुईतल्ले ती घर झट्ट हेर्दा सुन्दर तथा आकर्षक मात्र देखिएका छैनन्, उक्त बस्ती भित्र प्रवेश गर्दा जो कोहिले आफू कुनै आधुनिक सहर पुगेको अनुभव गर्न सक्छन् । 

‘वास्तवमा हामीले सन्तपुरलाई वस्ती भन्न छाडिसक्यौं, निर्माण कार्य एक सय दिन पूरा भएको मौका पारेर साप्ताहिकसँग कुराकानी गर्दै धुर्मुसले भने– ‘यो सन्तपुर सिटी हो, यसलाई अब सबैले सन्तपुर सिटी भन्दा फरक पर्दैन ।’ धुर्मुसका अनुसार बस्तीभित्र उपलब्ध सुविधा कुनै अत्याधुनिक सहरभन्दा कम नभएकाले यसलाई उनीहरूले सिटी भन्न थालेका हुन् । 

धुर्मुस–सुन्तली फाउन्डेसनले करिब १२ कट्ठा जग्गामा उक्त बस्ती निर्माण गरेको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ साढे चार ४ किलोमिटर अगाडि बढेपछि राजमार्गबाट ५ सय मिटरभित्र सन्तपुर बस्ती छ । हरेक वर्षामा बाढीबाट आक्रान्त एउटा दलित बस्तीलाई धुर्मुस–सुन्तली फाउन्डेसनले नयाँ पक्की घरसहितको बस्ती निर्माण गरेर उनीहरूको जीवनकै सर्वोत्कृष्ट उपहार प्रदान गर्न लागेको हो । 

बस्तीका प्रत्येक घरमा चारवटा कोठा छन्, पहिलो तल्लामा दुई तथा माथिल्लो तल्लामा दुई । प्रत्येक घरमा धारा, बिजुली, भान्सा, बेडरुम, बैठक कोठा तथा ट्वाइलेटको व्यवस्था छ । बस्तीका ४७ वटै घरसम्म व्यवस्थित सडक पुर्‍याइएको छ । प्रत्येक घरका लागि ढलको व्यवस्था छ । झन्डै ४५ फिट अग्लो भ्यू टावर बस्तीकै सबैभन्दा आकर्षक पक्ष हो । सीताराम कट्टेल उक्त टावरको पर्यटकीय महत्व बढाउने तयारी गर्दैछन् । बस्तीभित्र सडक, बत्ती, धारा अनि ढलमात्र होइन सामुदायिक भवन, प्राथमिक विद्यालय, नमुना क्लब घर, चिल्ड्ेरन पार्क तथा मन्दिरसमेत निर्माण गरिएको छ । बस्तीको गेटबाट भित्र छिर्नेबित्तिकै चिल्ला तथा आकर्षक टायलले आगन्तुकको स्वागत गरिरहेका हुन्छन् । भित्र कहीं–कतै धूलो छैन । यो बस्तीलाई हराभरा बनाउन वृक्षारोपणसमेत गरिएको छ ।

‘अब भ्यू टावरमात्र बन्न बाँकी छ, कट्टेल भन्छन्– ‘हामीले माघ २४ गते भन्दा अघि नै यो बस्ती हस्तान्तरण गरिसक्ने निर्णय गरेका छौं । त्योभन्दा एक साताअघि नै हामी बस्ती निर्माण सम्पन्न गरिसक्नेछौं ।’ निर्माणको अन्तिम चरणमा भएको उक्त नमुना बस्ती तराई–मधेसको पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको सीतारामको दाबी छ । 

५ करोड ९५ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण प्रारम्भ गरिएको उक्त बस्तीका लागि मंगलबारसम्म करिब १ करोड १५ लाख रुपैयाँ अपुग भएको फाउन्डेसनले जनाएको छ । ‘यो रकम पनि जुट्नेछ भन्ने कुरामा ढुक्क छौं, सीतारामले बर्दिवासको तुलनामा सन्तपुरको बस्ती निर्माणमा स्थानीय तहबाट कम सहयोग मिलेको बताए । 

‘हामीले बस्तीका रूपमा निर्माण थालेका थियौं,’ सीताराम भन्छन्– ‘तर अहिले यो नमुना सहरका रूपमा तयार भएको छ । हामीले एउटा विकसित सहरमा जे–जस्ता पूर्वाधार आवश्यक हुन्छन्, ती सबै जुटाएका छौं । सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेका छौं । हामीले निर्माण गरेको बस्ती तथा यहाँका घरहरू व्यवस्थितमात्र छैनन्, भूकम्पप्रतिरोधी, बालमैत्री, अपांगमैत्री तथा वातावरणमैत्रीसमेत छन् ।’

बस्तीले मूर्तरूप लिने क्रममा स्थानीयवासीले दलितहरू बसोबास गर्ने उक्त सुन्दर बस्ती केही समयमै फोहोर तथा दुर्गन्धित हुने त होइन ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा धुर्मुस भन्छन्– ‘निश्चिय पनि यो गम्भीर प्रश्न हो, तर यसको उपाय पनि हामीले खोजिसकेका छौं । बस्ती निर्माण प्रारम्भ भएको पहिलो दिनदेखि नै हामीले यो बस्तीमा बसोबास गर्ने दलितहरूलाई चेतनशील बनाउने कक्षाहरू सञ्चालन गरिरहेका छौं । विद्यालय नजाने बालबालिकाहरूलाई विद्यालय पठाएका छौं । बस्तीका बासिन्दालाई मदिरासेवनबाट टाढै राखेका छौं । जतिजति बस्ती निर्माण सम्पन्न हुँदै जाँदै छ, उनीहरू त्यति नै सभ्य र अनुशासित भैरहेका छन् । उनीहरूमा चेतनाको विकास मात्र भएको छैन, यसले समाज एकीकरणको सन्देशसमेत दिँदैछ ।’ बस्ती निर्माणमा अब भ्युटावर निर्माणबाहेक रंग–रोगनको काम मात्र बाँकी छ । 

भूकम्पपीडितहरूका लागि बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपछि बाढीको विपत्तिमा परेकाहरूको उद्धार गर्ने उद्देश्यले यो बस्ती निर्माण गरेको हो । ‘यो बस्तीमा सबैको भावना जोडिएको छ, सीताराम भन्छन्— दसैं–तिहार, निर्वाचन तथा चिसोको प्रकोपका बाबजुद निर्माण कार्य प्रारम्भ भएको दिनदेखि एक दिनबाहेक अन्य कुनै पनि दिन बस्ती निर्माणको काम रोकिएको छैन । यो अवधिमा उनीहरूले निर्वाचनको दिन मात्र काम गरेनन् । 

सन्तपुर बस्तीमा ४७ दलित परिवारका २ सय ८४ जना बसोबास गर्नेछन् । मुसहर, चमार, हजाम (ठाकुर) आदि जातजातिका व्यक्तिहरू उक्त बस्तीका बासिन्दा हुन् । बस्तीमा बनेका घर जमिनभन्दा ५ फिट अग्लो सतहमा निर्माण गरिएका छन् । ‘अग्लो जग हालिएकाले भूकम्प, बाढी, पहिरो केहीको डर छैन, सीताराम भन्छन्– ‘कहीं कतैबाट क्षति नहुने गरी हामीले यी घर निर्माण गरेका छौं । यी घर विदेशमा देखिने कोलनीकै शैलीमा निर्माण गरिएका छन् ।’ 

बस्ती निर्माण गर्न २ सय ६१ जना कामदार रात–दिन खटिएका थिए । निर्माण कार्य प्रारम्भ भएको पहिलो दिनदेखि नै उनीहरू हरेक दिन बिहान ६:२५ बजे चिया खाएर पिटी परेडको लाइनमा बसिसक्छन् । छातिमा हात राखेर राष्ट्रिय गीत गाएपछि उनीहरू आ–आफ्नो काममा लाग्छन् । ११ बजे पहिलो सिट्ठी बजेपछि उनीहरू खाना खाने लाइनमा बस्छन् । तीन बजे अर्को सिठी बजेपछि खाजा खान तयार हुन्छन् । राति आवश्यकता अनुसार सात–आठ बजेसम्म काम गरिरहन्छन् । प्राय: ८ बजे रातीको खाना खाने सिठी बज्छ । ‘सोमबार त हामीले राति ११ बजेसम्म काम गर्‍यौं, सीतारामका अनुसार ‘भ्यू टावरको जग ढलान गर्ने दिन भएकाले उक्त दिन राति अबेरसम्म काम भएको हो ।’ 

समयमै निर्माण प्रारम्भ हुनु तथा तोकिएकै मितिमा बस्ती हस्तान्तरण गर्नु धुर्मुस–सुन्तली फाउन्डेसनको आफ्नै विशेषता हो । निर्धारित मितिमै कसरी काम भ्याउनुहुन्छ ? भन्ने जिज्ञासामा सीतारामको जवाफ छ– ‘यो सबै चुस्त–दुरुस्त व्यवस्थापनको कमाल हो । हाम्रो राम्रो व्यवस्थापन समुहकै कारण यो सब सम्भव भएको हो ।’ अहिलेको बस्ती निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट १५ जना खटिएका छन् भने दलितहरूका तर्फबाट प्रत्येक परिवारबाट एक जना सदस्य खटिएका छन् । बाँकी काम गर्ने व्यक्तिहरू ज्यालादारी हुन् । 

यतिबेला सीताराम र कुञ्जना बस्ती हस्तान्तरण समारोहलाई ऐतिहासिक बनाउने योजनामा छन् । ‘देशका विशिष्ट व्यक्तिको हातबाट बस्ती हस्तान्तरण गराउने योजना छ,’ सीताराम भन्छन्– प्रमुख अतिथिको समयअनुसार माघ २२ अथवा २३ गतेका दिन बस्ती हस्तान्तरण हुनेछ । 

प्रकाशित :माघ १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्