गौचन र तिवारी हत्याकाण्ड सार्प सुटर गोम्बे प्रहरी फन्दामा

- साप्ताहिक संवाददाता

माघ १६, २०७४

एक वर्षको अन्तरालमा बुटवल र काठमाडौंमा भएका दुई ठूला हत्याकाण्डमा प्रत्यक्ष संलग्न श्यामबहादुर गोम्बे गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाका भगौडा गोम्बेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत सोमबार राति चितवनबाट पक्राउ गरेको हो ।

२३ असोजमा काठमाडौंको शान्तिनगरमा व्यवसायी शरदकुमार गौचनको हत्या हुँदा गुन्डा नाइके समीरमानसिंह बस्नेतबाट पैसा लिएर गोम्बेले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत, अर्का सुटर राजीव स्याङताङसहित ११ जनालाई पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य ६ जना अझै फरार छन् । 

२०७३ पुस ९ गते रुपन्देही देवदहमा मारिएका एमाले निकट युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि गोम्बेको प्रत्यक्ष संलग्नता रहेको ब्युरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । उक्त हत्यालाई गोम्बेले व्यवस्थापन गरेका थिए । ‘दुवै हत्याकाण्डमा उनको प्रत्यक्ष संलग्नता देखिएको छ, म्याद थप भैसकेको छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यस विषयमा थप अनुसन्धान जारी छ ।’ 

को हुन् गोम्बे ? 

बारा गढीमाई नगरपालिका–१ स्थायी घर भएका ३२ वर्षीय गोम्बे भरतपुर महानगरपालिका—१३ चम्पानगरमा अस्थायी रूपमा बस्दै आएका छन् । उनी २०६० मा नेपाली सेनामा प्रवेश गरेका थिए । १० वर्ष जागिरमा बिताएपछि गोम्बे नेपाली सेनाबाट भागेर अपराधकर्ममा सक्रिय भएका हुन् । 

प्रहरीका अनुसार गोम्बे चाँडै धनी हुने र हाइफाइ लाइफको लालसामा अपराधकर्ममा तानिएका हुन् । ‘काठमाडौंका गुन्डाहरूको सम्पर्कमा पुगेपछि गोम्बे उनीहरूको हाइफाइ लाइफ स्टाइलबाट प्रभावित भएको देखिन्छ,’ अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारी भन्छन्, ‘चाँडै धनी हुने र मोजमस्तीको लाइफ बिताउने लोभमा उनी अपराध कर्ममा तानिएका हुन् ।’ 

त्यसपछि उनी काठमाडौं, धादिङ, चितवन आदि क्षेत्रमा बाघमारेका नाममा गुण्डागर्दीमा संलग्न हुन थाले । प्रहरीले उनलाई गुन्डाको सूचीमा समेत राखेर कारबाही अघि बढाएको थियो । दिनेश अधिकारी ‘चरी’ तथा कुमार घैंटे इन्काउन्टरपछि बाघमारे बुटवलमा रहेर गुन्डागर्दीमा संलग्न रहेका मनोज पुनको सम्पर्कमा पुगेको प्रहरी सूत्र बताउँछ ।

मनोज पुनसँगको सम्पर्कमा पुगेपछि उनले दुर्गाको हत्या गर्ने जिम्मेवारी लिए । त्यसबापत उनले आर्थिक लाभ प्राप्त गरे । २०७३ पुस ९ गते दुर्गाको हत्या भयो । त्यसपछि उनको धन कमाउने लोभ अझ बढ्यो । मनोज पुनकै सम्पर्कबाट उनी बाफलका गुन्डा नाइके समीरमानसिंह बस्नेतको सम्पर्कमा पुगे । 

बस्नेतले व्यवसायी शरदकुमार गौचनको हत्या गर्ने योजना बनाएका थिए । उक्त योजनाका लागि गोम्बेले पैसा लिएर हत्या गर्ने जिम्मेवारी लिए । गौचनमाथि राजीव स्याङ्ताङ र गोम्बेले गोली हानेको प्रहरी सूत्र बताउँछ । हत्यापछि प्रहरीले कपनबाट हत्यामा प्रयोग भएका दुई थान पेस्तोल बरामद गरेको थियो । 

गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसअघि नै पक्राउ परिसकेका छन् । उनले लिखित बयानका क्रममा गौचनले आफूलाई दिनुपर्ने साढे २ करोड रुपैयाँ नदिएका कारण हत्या गरेको कुरा बताएका छन् । 

समीरमानसहित गौचन हत्यामा संलग्न ९ जनालाई गत मंगलबार जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि थुनामा राख्न आदेश दिएको छ, जसमा मुख्य योजनाकार बस्नेत, शिवजी महतो, राजीव स्याङ्तान, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ तथा सूर्य बाजी छन् । 

प्रकाशित :माघ १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्