मौसम घुमघामको
- उपत्यकामा बालबालिका रमाउने ठाँउहरू
माघ १५, २०७४
नेपालमा घुमघामको परम्परा परापूर्व कालदेखि नै चल्दै आएको हो । तीर्थयात्रा गर्न जानु पनि एक प्रकारको घुमघाम नै हो । विश्वका कतिपय देश घुम्ने क्रममै पत्ता लागेका हुन् । कुनै पनि कुराको इतिहास, भूगोल आदिका सम्बन्धमा जानकारी प्राप्त गर्न तथा ज्ञान आर्जन गर्न घुमघामजत्तिको उपयुक्त विकल्प अर्को नहुन सक्छ । बिदाको समय पारेर स्कुल–कलेजहरूले यात्रा वा भ्रमणमा लाने चलन पनि नौलो होइन । यस्ता शैक्षिक भ्रमणबाट धेरै कुरा सिक्न सकिन्छ ।
घुमघामले शरीरमा ऊर्जा भर्छ, स्फूर्ति थप्छ अनि मानिसलाई सिर्जनशील बनाउँछ । वयस्कहरूले घुम्ने प्रशस्तै अवसर प्राप्त गर्छन्, तर बालबालिकाहरूले त्यस्तो अवसर कमै पाउँछन् । बिदाका बेला बालबालिकाहरूलाई घुमाउन कहाँ लाने, साप्ताहिकले तयार गरेको विशेष सामग्री :
उपत्यकामा बालबालिका रमाउने ठाँउहरू
हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क, चोभार
चोभारको हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क बालबालिकाहरूलाई घुमाउन उपयुक्त स्थान हो । यो पार्कभित्र जुरासिक सफारी, स्वीमिङ, भिडियो गेम, बुल राइड, अक्टोपस राइड, रेन डान्स, फेरी स्विल, आक्वा फन हिलजस्ता सुविधा उपलब्ध छन् ।
यो पार्कमा विभिन्न खेल खेल्न सकिन्छ । यो पार्कमा बालबालिकाका लागि ३ सय ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । यहाँ वयस्कहरूका लागि ६ सय ५० रुपैयाँ शुल्क लाग्छ भने शनिबार १ सय रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ । यसैगरी विद्यार्थीहरूका लागि ६ सय तथा अपांगलाई ४ सय ५० रुपैयाँ शुल्क लाग्छ । शनिबार ३ हजारभन्दा बढी मानिसले मनोरञ्जन गर्ने यो पार्कमा अरू दिन लगभग १ हजार मानिस पुग्छन् ।
काठमाडौं फन भ्याली, भक्तपुर
काठमाडौंबाट १० किलोमिटरको दूरीमा भक्तपुरको पलाँसेस्थित फन भ्यालिमा प्रवेश गर्न बालबालिकाहरूका लागि ४ सय ५० रूपैयाँ तथा परिचयपत्रवाहक विद्यार्थीलाई २ सय ५० रुपैयाँमै प्रवेश दिइन्छ । यहाँको स्वीमिङ पुलमा समुद्रको जस्तो छाल आउने व्यवस्था छ । विभिन्न खेल खेल्न सकिने फन भ्यालीमा अन्तर्राष्ट्रिय स्तरको स्लाइड पुल, वेभ पुल, टावर हाइट, किड्स स्लाइड, मिनी कोलम्बस आदिको व्यवस्था छ । यहाँ रेस्टुराँको सुविधासमेत उपलब्ध हुन्छ ।
एभियसन म्युजियम, सिनामंगल
जहाज नचढेका मानिसहरूलाई विमानभित्र के होला भन्ने खुल्दुली हुनु स्वभाविक हो । सिनामंगलस्थित एभियसन म्युजियम त्यसका लागि उपयुक्त गन्तव्य हो । यहाँ जहाजभित्र बसेर तस्बिर खिचाउन सकिन्छ । यो म्युजियमभित्र विभिन्न थरीका हवाईजहाज तथा मुलुकका तस्बिरहरू हेर्न सकिन्छ । यहाँ प्रवेश गर्न विद्यार्थीहरूलाई १ सय २५, वयस्कहरूलाई २ सय ५० तथा विदेशीहरूलाई ५ सय रुपैयाँ शुल्क लाग्छ ।
हनुमानढोका म्युजियम
वसन्तपुरस्थित हनुमानढोका म्युजियमभित्र राजा त्रिभुवनसँग सम्बन्धित धेरै कुरा अवलोकन गर्न सकिन्छ । यो म्युजियममा देशमा राज्य गरेका शाह शासकहरूका दुर्लभ तस्बिर, पेन्टिङ, राजाहरूले प्रयोग गर्ने साइकल, लत्ताकपडा, उनीहरूले प्राप्त गरेका उपहार, साहित्यिक रचनाजस्ता दुर्लभ सामग्रीहरू राखिएका छन् ।
नेसनल म्युजियम, स्वयम्भु
स्वयम्भुनाथको पूर्वतर्फ अवस्थित छ— नेसनल म्युजियम । यो मुलुकको सबैभन्दा महत्वपूर्ण म्युजियम हो । यहाँ पुराना हातहतियार तथा कलाकृतिहरू राखिएका छन् । यो संग्रहालय वि.सं १९२८ मा स्थापना गरिएको हो । ऐतिहासिक भवनसँगै रहेको जुद्ध जातीय कलाशाला एवं बुद्धिस्ट आर्ट ग्यालरीको अवलोकनबाट पनि धेरै कुरा सिक्न सकिन्छ । यो म्युजियम मंगलबारबाहेक अन्य सबै दिन खुला रहन्छ ।
तारागाउँ म्युजियम, बौद्ध
हयात होटलभित्र रहेको तारागाउँ म्युजियमको नाम कमैले सुनेका होलान् । शान्त वातावरणमा अवस्थित यो म्युजियममा पुरानो नेपालको तस्बिर झल्किने फोटोग्राफी अवलोकन गर्न सकिन्छ । नेपालको सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले स्थापित यो म्युजियममा विभिन्न कलाका साथै पुरानो नेपालका दुर्लभ तस्बिरहरू संकलित छन् ।
नारायणहिटी संग्रहालय
नारायणहिटी संग्रहालयका ५२ वटा कक्षमध्ये अहिले १९ वटा कक्ष मात्र खुल्ला छन्, अर्थात् ३३ वटा कक्ष अझै खुलिसकेका छैनन् । यहाँ प्रवेश गर्न विद्यार्थीहरूलाई २०, वयस्कलाई १ सय, सार्क राष्ट्र र चिनियाँ नागरिकलाई ३ सय ५० तथा अन्य देशका नागरिकलाई ५ सय रुपैयाँ शुल्क लाग्छ । यो संग्रहालयको भ्रमणमा फोहोरा बगैंचा, २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको त्रिभुवन सदन स्थल आदि अवलोकन गर्न सकिन्छ ।
प्रकाशित :माघ १५, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्