सुन साइँलीको वर्चश्व

- साप्ताहिक संवाददाता

माघ १५, २०७४

हिट्स एफएम म्युजिक एवार्डको १९ औं संस्करणमा गायक हेमन्त रानाको ‘सुन साइँली...’ गीतले सर्वाधिक चार वटा एवार्ड जित्न सफल भएको छ । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सांगीतिक समारोहमा उक्त गीतबाट गायक रानाले सर्वोत्कृष्ट पुरुष गायक पप तथा सर्वोत्कृष्ट गीतको एवार्ड प्राप्त गरे भने त्यही गीतबाट संगीतकार कालीप्रसाद बासकोटाले सर्वोत्कृष्ट पप रक संगीत सिर्जनाको एवार्ड जिते भने रिकेश गुरुङले सर्वोत्कृष्ट संगीत संयोजनको एवार्ड पाए । संगीतकार कालीप्रसाद बास्कोटाले चलचित्र संगीतकारको एवार्ड पनि हासिल गरे । चलचित्र लुट–२ को ठमेल बजार गीतका लागि बास्कोटा पुरस्कृत भएका हुन् ।

समारोहमा गायिका बर्तिका एम राईले दुई वटा एवार्ड जितिन् । उनले ‘खै’ शीर्षकको गीतबाट सर्वोत्कृष्ट गीत रचनाको एवार्ड जित्न सफल भइन् । त्यसक्रममा उनले राजेन्द्र थापा, वीरेन्द्र पाठक, एक नारायण भण्डारीलाई समेत निराश पारेकी थिइन् । त्यही गीतबाट बर्तिकाले सर्वोत्कृष्ट महिला गायन पपको एवार्ड पनि जितिन् ।

सर्वोत्कृष्ट एकल गायन पुरुष विधाको एवार्ड गायक शिव परियारले जिते । गायक परियारले ‘वर्षौं भो छोडेको’ गीतका लागि उक्त एवार्ड जितेका हुन् । सांगीतिक यात्राको डेढ दशकमा गायक परियारले पहिलो पटक हिट्स एफएम म्युजिक एवार्ड जितेको बताएका छन् । गायक परियारले एवार्ड जित्ने क्रममा यही विधाका लागि मनोनित गायकहरु राजेशपायल राई, कर्णदास, अजर जंगम आदिलाई निराश बनाएका थिए । सर्वोत्कृष्ट एकल गायन महिलातर्फ गायिका बानिका प्रधानले एवार्ड जितिन् । उनले ‘पूर्णिमाको रात’ गीतबाट उक्त सफलता हासिल गरेकी हुन् ।

सर्वोत्कृष्ट संगीत सिर्जनाको एवार्ड संगीतकार हरि लम्सालले पाए । लम्सालले ‘आज फेरि एकान्तमा’ गीतबाट यो उपलब्धि हासिल गरेका हुन् ।

रक गायनको विधातर्फ ‘च्याङ्बा‘ गीतबाट एक्सिस ब्यान्डले एवार्ड जित्यो भने समूह गायनतर्फको एवार्ड सत्याकृत ब्याण्डले जित्यो उक्त ब्याण्ड ‘गणेश गणनायक’ गीतबाट पुरस्कृत भएको हो ।

लोक गीततर्फको एवार्ड ‘आमाको तस्बिर हातैमा’ गीतका लागि विरही कार्कीले जिते । नव प्रतिभातर्फको एवार्ड ‘सधंै सधैं’ गीतका लागि समिक सापकोटालाई प्रदान गरियो ।

युगल गायन एवार्डबाट गायन दम्पती उदय सोताङ र मनिला सोताङ पुरस्कृत भए । उनीहरुले ‘दुई दिनको’ गीतका लागि यो सफलता हासिल गरेका हुन् ।सांगीतिक समुह १९७४ एडीको ‘हजार सपना’ ले सर्वोत्कृष्ट गीति संग्रहको एवार्ड जित्न सफल भयो ।

समारोहमा सांगीतिक क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याएका अग्रज गायक दीप श्रेष्ठलाई हिट्स म्युजिक लाइफ टाइम एचिभमेन्ट एवार्ड–२०७४ बाट सम्मानित गरियो ।

सांगीतिक समुह सत्याकृतको लाइभ प्रस्तुतीसंगै प्रारम्भ भएको एवार्ड वितरण समारोहमा गायकहरु शिव परियार, अजर जंगम, सांगीतिक समुह पहेंलो बत्तीमुनी, गायिका तृष्णा गुरुङ आदि आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

 

 

प्रकाशित :माघ १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्