Teej banner

कोहलपुर एक्सप्रेसमा केकी

- किशोर नेपाल

माघ १५, २०७४

 

नेपाली सिनेमाको वातावरण त्यति स्वच्छ छैन जति यसको विकासका लागि चाहिन्छ । मानिसका विचारहरूको तराजुमा आफ्नो तर्फबाट एकाकी ढक हालेर मात्र राम्रो सिनेमा बनाउन पनि सकिँदैन । जति पनि गम्भीर प्रकृतिका सिनेमासँग जोडिएका निर्देशक तथा निर्माता छन् उनीहरू यो विचारसँग असहमत हुनै सक्दैनन् । जब–जब नेपाली सिनेमामा लगानीको कुरा आउँछ त्यतिबेला त्यो लगानीबाट सबैले पाउन सक्ने र पाउनुपर्ने प्रतिफलको कुरा आउँदैन । जति पनि नेपाली निर्माता छन् ती सबै सकेसम्म हँसिलो अनुहार लगाएर चलचित्रबाट आफ्नो लगानी उठेको बताउँछन्, तर सत्य त्यो होइन । सिनेमा शो बिज हो । 

व्यापारमा बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल बिक्दैन भनेजस्तै हो यो । हो, यसबीच केही राम्रा सिनेमा बनेका छन्, तर ती राम्रा भनिएका सिनेमा नै प्रस्तुतिमा कमजोर छन् । दीपक रौनियारको सेतो सूर्यले नेपालमा भएको सशस्त्र संघर्षको एउटा पाटोलाई चलचित्रमा स्थान दिएको छ, तर निर्माताका रूपमा उनले सानोतिनो चूक नगरेका होइनन् ।

यो पृष्ठभूमिमा केकी अधिकारी कोहलपुर एक्सप्रेस लिएर दर्शकसामु आउँदैछिन् । कोहलपुर एक्सप्रेसबाट कसैले केकीले सिनेमालाई आफ्नो टुंगोमा पुर्‍याउन खोजेको कुरा सोचेका हुुन् भने ती भुलभुलैयामा छन् । कोहलपुर एक्सप्रेस केकीले पैसा कमाउन नै बनाएकी हुन । यसमा ढाँट्नु वा छल्नुपर्ने के नै छ र ? रमाइलो कुरा के छ भने केकीको यो सिनेमामा नखरा, झट्का, लट्का सबै छन् । कोहलपुर एक्सप्रेस चढेर तपार्इं डराउन पनि सक्नुहुन्छ । यी सबैको प्याकेज माघीको दिन रिलिज गर्न सकेको भए गजब हुन्थ्यो । यो चलचित्रका हिरो–हिरोइन पिछडावर्गका नै छन् । कथाको मागअनुसार, आशा गरौं, उनले यसमा मसलाको प्रयोग निकै प्रचुर मात्रामा गरेकी होलिन ।

करोड लगानी नाघिसकेको छ तर केकीलाई चिन्ता छैन । उनले यो सिनेमा चलाउन ट्रेन्ड र फर्मुलाको मिश्रण गर्न खोजेकी छिन् । उनलाई नाटक र सिनेमाबीचको कडी पत्ता लगाउनु थियो । त्यो पत्ता लगाइन् कि लगाइनन् ? भन्ने कुरा कोहलपुर एक्सप्रेस हेर्नासाथ थाहा हुन्छ । केकीसँग नाटकको अनुभव छ । उनी चारुमती नाटकमा अभिनेत्री थिइन् । उनी श्रेष्ठ कलाकार बद्री अधिकारीको छोरी हुन् । त्यसबापत उनले आफ्ना पितालाई नाटक र सिनेमाप्रति समर्पित आफ्नो जीवन सुम्पेकी छिन् । केकी भन्छिन्— हिँड्ने त बाबाकै पथमा हो ।

केकीलाई थाहा छ, नाटकमा कलाकारले पाउने कदर हो र सिनेमामा पाउने अवसर हो । केकी भन्छिन्, ‘भएर के गर्नु ? नेपाली सिनेमाको अहिलेको साम्राज्यलाई केही मानिसले कब्जा गरेका छन् । कलाकारहरूले आफ्नो पारिश्रमिक लिन पनि मलाई यस्तो पर्‍यो, मलाई उस्तो पर्‍यो भनेर समस्या देखाएपछि मात्र पाइने परिपाटी छ ।’

नेपाली सिनेमालाई स्थायित्व दिन केकीले पुर्‍याएको योगदान निकै छ, तर केकीलाई कुनै एउटा सिनेमाले मात्र बाँध्न सकेको छैन । बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी केकी जीवनका विविध पक्षलाई समेटेर सिनेमा बनाउने अभिलाषा राख्छिन् ।

प्रकाशित :माघ १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्