किन डिएक्टिभेट गर्नु सन्जाल ?

- किशोर नेपाल

माघ १३, २०७४

 

 

गएको तीनवटै चुनावमा जे गर्नु थियो त्यो गर्‍यो सामाजिक सञ्जालले । त्यतिबेलादेखि मलाई लागेको थियो, यो सन्जालको काम छैन । म सबैभन्दा पहिले फेसबुक र त्यसपछि अरू सञ्चारको जन्जालबाट मुक्त हुन खोजिरहेको थिएँ । माघे संक्रान्तिमा घ्यू, चाकु, तरुल खाएपछि फेसबुक डिएक्टिभेट गर्ने मुडमा थिएँ । त्यतिबेला डा. भगवान कोइरालाको स्टाटसमा आँखा पर्‍यो : ‘कार्यालयमा परिचय–पत्र नलगाउने, फोनमा आफ्नो नाम नभन्ने, सामाजिक सन्जालमा नक्कली नाम राख्नेहरूको बोली अलि चर्कै हुन्छ ।’ डाक्टर कोइरालाको स्टाटस पढेपछि मनमा लाग्यो, ‘के डिएक्टिभ गर्नु यो जाबो फेसबुक । रहिरहोस् न यो ।” 

आइकोनका हिसाबले सयौं सामाजिक सन्जाल फैलिएका छन् संसारमा ।

ख्रिस्तानदेखि इस्लामसम्म, हिन्दू, बौद्ध, सत्य, असत्य सबैतिर आइकोन नै आइकोन छन् । बुद्ध मन्दिरका भित्तामा समेत फेसबुकको तर्फबाट चढाइएको माने । सन्जालको ब्रान्ड भैसकेको छ फेसबुक । जहाँ जसले जे कुरा गरे पनि सबैभन्दा पहिले फेसबुककै नाम आउँछ । त्यसपछि मात्र ‘ए, त्यो पनि छ र ?’ को शैलीमा अरू सन्जालको नाम आउँछ । 

यसपटकको नेपालको चुनावमा नेताका नाममा स्पोन्सर्ड सामग्री प्रकाशित गरेर फेसबुकले उधुम मच्चाएको छ । गएको तीनै तहको चुनावमा उम्मेदवारहरूले फेसबुकको भित्तोमा चुनाव लडे । ‘मैले फेसबुकका मानिसलाई मेरो इन्टरभ्यू लिइदेऊ भन्ने हो र ? उसैले मसँग माग्नुपर्छ इन्टरभ्यू’ भन्थे एक जना नेताजी । भरे त फेसबुकमा आइटम आइटमका स्पोन्सर्ड फिचर त उनकै नाममा आइराखेका । साँझ पत्रकारहरूले ‘ए त्यो विदेशी फेसबुकलाई विज्ञापन दिने, हामीलाई चाहिं निर्वाचन आयोगको संहिता देखाउने ?’ भनेर र्‍याखर्‍याख्ती पारेपछि नेताजीले स्पष्टीकरणसहित ५–५ हजारको विज्ञापन बाँडेछन् सबैलाई । सय थान पत्रिकाका सम्पादकमध्ये सबैजसोले ५–५ हजार पाएपछि सबै सन्तुष्ट भए । यतिसम्म त देशमा भैसकेकै छ । अब हुन वाँकी के छ र ?

मैले यसो सोचेको : फेसबुक डिएक्टिभेट गर्दा धेरै कुरा मिस हुँदो रहेछ । जस्तो निशा शर्माका समयका अनेक अन्तरालमा खिचिएका सुन्दरतम तस्बिररहरू हेर्न पाइन्नन् । मनीषा कोइरालाका प्रेरक वचन र उत्तिकै प्रेरक उत्साहहरू अँगाल्न पाइन्न । सरस्वती प्रतीक्षाका कहिले अनौठो लाग्ने र कहिले प्रासंगिक लाग्ने स्टाटस र कविताहरू पढ्न पाइन्न । शताब्दी पुरुष सत्यमोहन जोशीका फरक–फरक समयका अनुभवहरू थाहा पाउन पाइन्न । सामान्य मानिसका जीवनहरू, खुशीहरू, निराशाहरू, उत्साहहरू र भग्नावशेषहरू, काल–कवलित भएका बाबु–आमा, बाजे–बजै, मामा–माइजू, सासु–ससुरा, साला–सालीको जन्म–मृत्यु जे हेर्‍यो त्यही महत्वपूर्ण छन् । यस्तोमा फेसबुक डिएक्टिभेट गर्नु भनेको सूचनाको संसारबाट आफैं हराउनु हो ।

यत्तिकैमा आयो क्रान्ति पराजुलीको अद्र्धनग्न नृत्यांगना र दर्शकहरूको भीडसहितको फेसबुक स्टाटस, ‘हेर्ने जाती कि देखाउने ?? नांगिएर नाम कमाउने र नंग्याएर दाम कमाउने को जाती ??’

त्यत्तिकैमा तुला नारायण शाहले स्टाटस लेखे, ‘जबसम्म आमनागरिक नेता र पार्टीप्रति इमोसनल रहन्छन्, नेताजीले इमोसनल ब्ल्याकमेल गरिरहन्छन् ।’

फेसबुकसँग हरेक मानिस रिसाउँछ र हरेक मानिस खुसी पनि हुन्छ । रिसाउँछ किनभने फेसबुकमा जसले जसलाई जति गाली गरे पनि हुन्छ । खुसी किन हुन्छ भने, फेसबुकमा उसले जसलाई मन लाग्यो त्यसलाई र जति मनलाग्यो त्यति गाली गर्न पाउँछ । फेसबुक चलाउन केही न केही अनुशासन चाहिन्छ । केही सर्त पनि राखेको छ फेसबुकले । तर, ती सर्त पढेर किन टाउको दुखाउनु ? बढी नै झोंक चले ब्लक हानिदिए भै त हाल्यो ।

फेसबुक प्रेम र विवाहको नाममा धेरै बदनाम भएको छ भने सुनाम पनि कमाएको छ । जे होस्, फेसबुकले मानिसलाई एउटा अद्भुत–अनौठो किसिमको आनन्द दिन्छ । मानिसको गतिविधि सूचनाका सिर्जना र गति हो । २० वर्ष अघिसम्म इन्टरनेट भनेको अचम्मको वस्तु थियो । यसको प्रयोग गर्नेहरूको संख्या नगण्य थियो । अहिले डिजिटल अर्थतन्त्रको जमानामा संसारमा उत्पादन हुने बिजुुलीमध्ये १० प्रतिशत खान्छ इन्टरनेटले । सन् १९८५ मा त त्यही १० प्रतिशत बिजुलीले संसारै झिलिमिली पाथ्र्यो । 

बितेका केही वर्षयता हाम्रो जीवन रोचक हुन छाडेको छ । समय नै पर्याप्त छैन मानिससँग । बितेका केही वर्षमा हामीले हाम्रो मगज, गिदी, मस्तिष्क, दिमाग– जे भने पनि, फरक बनाएका छौं । हामीले हाम्रो धर्तीको संरचना नै परिवर्तन गरेका छौं ।

प्रकाशित :माघ १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्