माघ १२ देखि १८ गतेसम्मको राशिफल

  • माघ १६ गते : सहिद दिवस, माघ १७ स्वस्थानी व्रत समापन, खग्रास चन्द्र ग्रहण ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

माघ १२, २०७४

मेष

प्रयत्न गर्दा राम्रै जिम्मेवारी प्राप्त हुन सक्छ । सुविधासम्पन्न रोजगारी हात लाग्न धेरै समय कुर्नुपर्नेछैन । मनोरञ्जक क्रियाकलापमा सहभागी हुँदा विवेक पुर्‍याउनुपर्नेछ । घरायसी सजावटमा नयाँ–नयाँ सामग्रीमार्फत अरूको प्रशंसा बटुल्न सकिनेछ ।

वृष : 

चियोचर्चो गर्नेहरूले काममा व्यवधान खडा गर्न सक्छन्, सावधानी अपनाउनु बेस हुन्छ । परिवारका सदस्यहरूको अस्वस्थतामा समय खर्चनुपर्ला । मझौला व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्नेछ । ठूलो आकांक्षा राख्नाले प्राप्त अवसरसमेत गुम्ने खतरा छ ।

मिथुन 

आफ्नो मेहनतको प्रतिफल अरूले प्राप्त गर्न सक्छन् । सवारी तथा हात हतियार प्रयोग गर्दा सावधानी अपनाउनुमै आफ्नो भलो छ । समय बलवान् भए पनि प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला । सप्ताहन्तमा आफूलाई मन पराउनेहरूसँग भलाकुसारी हुनेछ ।

कर्कट

अरूको विश्वासमा पर्दा गोप्य सूचना बाहिरिएर समस्या सिर्जना हुनसक्छ । ज्येष्ठ सदस्यहरूको संगतका कारण अप्ठ्यारो परिस्थिति पहिचान गरी त्यसलाई सुल्झाउन सकिनेछ । मनोरञ्जनका क्रममा भेटिएका मित्रहरूले तपाईंबाट फाइदा उठाउन सक्छन् । जो–कसैसँग संयमपूर्वक व्यवहार गर्नु उपयुक्त हुन्छ । सवारी साधन खरिद गर्न आकर्षित भइनेछ ।

सिंह

अर्थ अभावले पिरोल्न सक्छ । रोजगारी प्राप्तिको दौडधूपमै समय व्यतीत हुनेछ । साथीभाइसँग आकस्मिक भ्रमण गर्दा आफ्नै धन खर्च हुनेछ । कर्मचारीवर्गको स्थान परिवर्तन हुनसक्छ भने अन्य अवसरसमेत जुट्न सक्छ । पूर्वको यात्रा फलदायी सावित हुनेछ । 

कन्या

प्रेमी–प्रेमिकासँगको मनोरञ्जक भ्रमण अविस्मरणीय रहनेछ । विभिन्न सभा–सेमिनार तथा प्रतियोगिताहरूमा भाग लिने अवसर जुट्न सक्छ । आफ्नै कमजोरी तथा आलस्यताले महत्वपूर्ण कार्य छुट्न सक्छ । समय तथा कामको उचित व्यवस्थापन गर्नुहोला । साताको अन्त्यमा पारिवारिक खिचलोले सताउनेछ । 

तुला  

अतिथिका रूपमा प्रस्तुत हुँदा अपेक्षाअनुरूपकै सत्कार पाइनेछ । सहपाठीहरूबीच आम्दानी बढाउने कार्य योजना अघि बढ्नेछ । मन पराउनेहरूसँगको भेटघाटबाट थप प्रोत्साहित भइनेछ । पारिवारिक खटपट सिर्जना हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारलाई यथेष्ट समय दिनुपर्ने हुन्छ । फलफूलको सेवनले स्वास्थ्य अनुकूल बनाउनेछ । 

वृश्चिक

आकर्षणको पात्र बन्न शरीरिक सुन्दरतामा विशेष ध्यान पुर्‍याउनुहोला । बिनाकारण प्रेमी–प्रेमिका रिसाउन सक्छन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । घरायसी व्यवहारको चटारो आइलाग्न सक्छ, अभिभावकको सुझाव स्वीकार गर्दा समस्या स्वत: निर्मूल हुनेछ । साताको अन्त्यमा विदेश भ्रमणको योग छ । 

धनु  

वित्तीय क्षेत्रमा लगानी गर्न विलम्ब नगर्नुहोला । अपेक्षाअनुरूप कार्य सम्पन्न हुँदा जोस–जाँगर बढ्नेछ । आफन्तजनमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ, उपचारप्रति सचेतता अपनाउँदा समस्या थप जटिल हुन पाउनेछैन । अवेरसम्म सवारी साधन चलाउँदा सुरक्षा चुनौती वृद्धि हुनेछ । 

मकर

मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो भलो छ । महत्वपूर्ण व्यक्तिसँगको भेटघाटले जिम्मेवारी बहन गर्न मार्गदर्शन गर्नेछ । लामो समयदेखि रोकिएका कार्य बिनाझन्झट सम्पन्न हुनेछन् । वनभोज तथा भ्रमणको अवसरले पछ्याएको अवस्था छ । 

कुम्भ

सरकारी तथा निजी क्षेत्रमा पुन: प्रयत्न गरे अवसर हात लाग्न सक्छ । प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा तीतोपन वृद्धि हुन सक्छ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । ढिलाइले काम बिग्रने सम्भावना छ । 

मीन 

प्रेमी–प्रेमिकाको सुझावमा मात्र भर पर्दा पछि परिएला । चुरो कुरा पत्ता लगाउन सके असहज परिस्थितिको सामना गर्न सकिनेछ । कर्मक्षेत्रमा विघ्न आइलागे पनि भाग्यले साथ दिनेछ । खलबलिँदो पारिवारिक वातावरणबाट मुक्ति पाउन पुण्य आर्जनतर्फ आकर्षित भइनेछ । आफ्नो क्षमता प्रदर्शन गरि इनाम प्राप्त गर्ने समय छ । 

प्रकाशित :माघ १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्