प्रेमको आदिम लय

- नवीन प्यासी

माघ १२, २०७४

पाटन कृष्ण मन्दिर । दुईवटा प्लास्टिक ग्लास । दुवै दूध चियाले सुसज्जित । नियतिलाई स्विकारिरहेका दुई थान चुरोट । साँझ प्रसवपीडारत । रात जन्माउनलाई । आठ–दस जोडी । कोही दुई किनारजस्ता कोही दुई नदी मिसिएका दोभानजस्ता ।

–तिमी चिया स्वाट्टै नपार न । 

–किन ? 

–गिलासलाई छुकछुक बनाउँदै पिऊ क्या । उसलाई कतिबेला सकिन्छु र रित्तिन्छु भन्ने भयले सताइरहोस् र पो मज्जा आउँछ । 

–ए मलाई पनि त्यसरी नै सताउनलाई पो प्रपोज एस्सेप्ट नगरेको ? 

–प्रेम नामक कन्ट्राक्ट पेपरमा मलाई जबर्जस्ती साइन गराउन खोजेर हुन्छ ? प्रेम थोडी न कन्ट्राक्ट पेपर हो र ?

–तिमी स्वयम् पनि कन्ट्राक्ट पेपर हौ महाशय । जिन्दगीले साइन गरेको दिन सूर्य अन्तिम पटक झुल्किन्छ तिम्रा लागि ।

–कुरा गर्न त कसले सक्छ र ?

–सताउन तिमीले जति कसले पो जानेको छ र ? तर था’ छ तिमी पनि मलाई प्रेम गर्छौ । अलि डरछेरुवा छौ र पो त ।

–माफ पाऊँ  । तिमी भ्रममा छौ । 

–भ्रममा त सारा दुनियाँ नै छ महाराज । चन्द्रमालाई देखेर मख्ख पर्नेहरूले बुझेका होलान् चन्द्रमामै पुग्नेका लागि त्यो मात्र बालुवाको थुप्रो हो ।

–उनले धूवाँको गोलो मुस्लो छोडिन् ।

–यी देख्यौ त ? एउटा मिठो भ्रम यही जन्मियो र सकियो (मुस्लो देखाउँदै) । तिमी स्वयम् एउटा सुन्दर भ्रम हौ । 

–भनेपछि सत्यचाहिँ के हो ?

–सत्य भ्रमहरूको एड्भान्स रूप हो । धेरैले एउटै भ्रम बोकेर हिँडेपछि बिस्तारै त्यो सत्यमा बदलिन्छ । उदाहरणका लागि धर्मलाई लिन सक्छौं । धर्मग्रन्थभित्र च्यापिएको मन्त्र, प्रार्थना तथा श्लोकलाई लिन सक्छौं । ईश्वरलाई लिन सक्छौ ।

–ए, भनेपछि तिमी पनि भ्रम । म पनि भ्रम । दुइ भ्रमको शरीर मिलेपछि महा भ्रम । लौ मलाई अनुभूत गर्न मन लाग्यो । (खितखित) 

–तिमी लिमिट क्रस नगर है ! 

–के गर्छौ ?

–गर्न त केही गर्दिनँ तर पछुतो लाग्ला नि पछि तिमीलाई । (हाहाहा ... लामो हाँसो फुटपाथभरि ओछ्छियो । पानीपुरीवाला भैयाको कानले पनि फाइदा लियो ।

यत्तिकैमा आकाशले हामीलाई देख्यो र रिसाएर झरी खसाल्यो । झरी बाटो भुलेर उनको पारदर्शी टिसर्ट वारिपरी अलमलिइरहेछ । म छु छातामुनि । सिगरेटको अन्तिम अनुरोध स्वीकार गरिरहेछु । ऊ जलेर आफू हुनुको सार्थकता खोज्न चाहन्छ । 

जल्न त म पनि जलिरहेको छु, तर ईष्र्याले । उनको छातीलाई टिसर्टले यसरी अँगालिरहेछ कि मानौँ ऊ वर्षौंपछि प्रेमिकालाई भेटेको पागल प्रेमी हो । 

अहिले नै टिसर्ट झारझुर पारेर फालिदिउँ जस्तो झोक चल्यो । फेरी सोचेँ । टिसर्टकै कारण उनको छातीले शालीन अस्तित्वको दाबी गरिरहेछ । म किन उसको अस्तित्वमाथि धावा बोलूँ ? हरेक कुरा निरपेक्ष हुन सक्दैन । मैले टिसर्टलाई माफी दिएँ । 

उनको ओठको लिपिस्टिक चोरेर भाग्दा–भाग्दै बाटो भुलेको झरीलाई पनि धन्यवाद दिएँ । यहि कारणले नै उनको ओठले असली कामुकता देखाइरहेछ । ओठ हेरिरहेथेँ । नाकको टुप्पोबाट एक थोपा पानी ओठमा यसरी खस्यो कि मानौँ उनको ओठ उसका लागि समाधिस्थल हो । 

म रिसले यति चुर भएँ की छाता फालेर हत्तपत्त उनको ओठमा लम्पसार परेको पानीको थोपालाई निर्मम तरिकाले पिइदिएँ । यतिबेला झरी रूखका पातहरूमा निधार ठोक्काएर चिच्याई–चिच्याई रोइरहेको थियो । 

प्रकाशित :माघ १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्