नयाँ ढाँचामा व्यस्त नेपाली खेलकुद

- साप्ताहिक संवाददाता

माघ ११, २०७४

गएका दुई साता नेपाली खेलकुद निकै व्यस्त रह्यो । अवसर थियो— राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिप । राष्ट्रिय खेलकुद परिषद्ले आफ्नै नाममा यति ठूलो प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो । राखेप च्याम्पियनसिपमा २९ खेल समावेश थिए र त्यसमा सहभागी खेलाडीको संख्या तीन हजारको हाराहारीमा रह्यो । बजेट भने ४ करोड रुपैयाँभन्दा केही बढी । यो प्रतियोगिताको मुख्य विशेषता थियो— प्रत्येक खेलको आयोजना सक्दो फरक–फरक स्थानमा गरिनु । 

प्रत्येक खेलको आयोजना गर्ने जिम्मा सम्बन्धित संघलाई दिइएको थियो । यो नै यो प्रतियोगिताको सबैभन्दा सकारात्मक पक्ष रह्यो । विशेषत: वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा देखिएका कमजोरीले नै राखेप च्याम्पिनयसिप आयोजना गर्न प्रेरित गरेको देखिन्छ । एउटै स्थानमा एउटै समयमा धेरै प्रतिस्पर्धा आयोजना गर्दा अनेकन समस्या देखिएको वास्तविकता सबैका सामु छ । यस्तोमा बहसको विषय पनि भएको थियो— के नेपालमा बृहत् राष्ट्रिय खेलकुदको आवश्यकता छ ? 

विशेषत: व्यवस्थापनको दृष्टिकोणले बृहत् राष्ट्रिय खेलकुद विवादमा आउँछ र त्यसको निकै आलोचनासमेत हुन्छ । त्यसको एउटा समाधान राखेप च्याम्पिनसिप जस्तो प्रतियोगिता पनि हो । अर्को तथ्य केही संघमाथि आफ्नो खेलको राष्ट्रिय प्रतियोगिता नियमित रूपमा आयोजना नगर्ने आरोप पनि छ । नेपाली खेलकुदमा संघ निष्क्रिय रहनु त एउटा रोग नै हो । राखेप च्याम्पिनसिपले यो समस्यालाई केही हदसम्म चिर्ने प्रयास गरेको देखियो । 

 

खास–खास खेल त्यसको पृष्ठभूमि र त्यसलाई सुहाउने स्थानमा हुँदा पनि त्यसको फाइदा देखियो, जस्तो खोखो, कपर्दी आदि । यी खास खेलको प्रतिस्पर्धा आ–आफ्नो स्थानमा हुँदा अपनत्व पनि महसुस हुने रहेछ । यस अर्थमा राखेप च्याम्पियनसिपको आयोजना नेपाली खेलकुदका लागि कोसेढुंगा मानिएको छ । अब यसको आयोजना र प्रत्येक खेलको राष्ट्रिय टिमको निर्माणपछि नेपाली खेलकुदले एउटा गति लिनेछ, ६ महिनापछि हुने एसियाली खेलकुदका लागि । 

यद्यपि प्रतियोगिताका क्रममा पुरानै रोग पनि देखियो, खास–खास खेलमा र त्यो थियो निकै कमजोर र फितलो व्यवस्थापन । कतिपय खेलका प्रतियोगिता केवल प्रतियोगिताका लागि गरिएजस्तो पनि देखियो । यसले प्रतियोगिताको आयोजनालाई लिएर प्रश्न गर्ने ठाउँसमेत बनायो, तर समग्रमा प्रतियोगिताले एउटा राम्रो सन्देशसमेत दियो । सबैभन्दा ठूलो कुरा यसले कम बजेटमा शून्य जस्तै रहेको नेपाली खेलकुदलाई निकै व्यस्त तुल्यायो । 

सात पटककी च्याम्पियन नवीना

राखेप च्याम्पिनसिपले कुनै एक खास खेल र खेलाडीलाई चर्चामा ल्यायो भने त्यो थियो— टेबल टेनिस । यसपटकको प्रतियोगिताले नेपाली टेबलटेनिसलाई एउटा ठूलै उपलब्धि दियो र त्यो थियो, नविना श्रेष्ठ लगातार सात पटक महिला एकलमा राष्ट्रिय च्याम्पियन हुनु । नेपाली खेलकुदमा यसरी लगातार च्याम्पियन भएको उदाहरण विरलै छ । यस्तोमा नवीना नेपाली टेबल टेनिसले सधैं सम्झने नाम बनेको छ । नवीना २०६७ देखि लगातार विजेता रहँदै आएकी छिन् । यसपटकको फाइनलमा उनले एलिना महर्जनलाई हराइन । संयोग कस्तो रह्यो भने पछिल्ला चार संस्करणमा प्रत्येक पटक पराजित खेलाडी यिनै एलिना रहँदै आएकी छिन् । यसपल्ट उपाधि जितेपछि नवीनाको प्रतिक्रिया थियो— मैले अहिले शिखरमा पुगेको अनुभव गरेकी छु । यसका लागि मैले निकै मेहनतसमेत गरेकी थिएँ । यता नवीनाकै शिष्य स्यान्टु श्रेष्ठले पुरुष एकलमा उपाधि हात पारे । 

महिला फुटबलमा कमजोर तयारी

महिला फुटबलले यसपटक अपेक्षाअनुसार नै विजेता पायो र त्यो टिम थियो, एपीएफ । फरवार्ड सावित्री भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले एपीएफले पुलिसलाई २–१ ले हराएको थियो, जुन सुपर लिगको निर्णायक खेल मानियो । सुपर लिगमा एपीएफले सबै तीन खेल जितेर ९ अंक बटुलेको थियो । पूरा प्रतियोगितामा एपीएफले कुनै पनि खेल हारेन । त्यसमाथि एपीएफले लिग जितेको यो पहिलो अवसर हो, यसअघि पुलिस नेपाली महिला फुटबलमा हाबी रहँदै आएको थियो । 

यद्यपि प्रतियोगितालाई लिएर भएको कमजोर तयारीका कारण निकै विवाद पनि भयो । एकातर्फ प्रतियोगितामा विभागीय टिम एपीएफ, पुलिस र आर्मीकै प्रभुत्व रह्यो भने अर्कातर्फ क्षेत्रीय टिम निकै कमजोर देखिए । यही कारणले क्षेत्रीय टिमले ठूलो अन्तरको हार पनि बेहोरका थिए, जुन वास्तवमै पीडादायी रहे । क्षेत्रीय टिमले प्रतियोगिताका लागि कुनै पनि प्रकारको तयारी गरेका थिएनन्, उनीहरू बाटोबाट खेलाडी बटुल्दै खालि सहभागिता जनाउन मात्र काठमाडौं आएजस्ता देखिन्थे । 

कमललाई स्वर्ण

नेपाली भारोत्तोलनका सबैभन्दा सफल खेलाडी हुन्— कमल अधिकारी । दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने कमल भारोत्तोलनका एक्ला खेलाडी हुन् । उनी ओलम्पियन पनि हुन् । अहिले उनी भेट्रान खेलाडी भैसकेका छन् । तैपनि नेपाली भारोत्तोलनमा कमलको पकड अझै कायमै छ । यसैक्रममा उनले ७७ किलोग्राम तौल समूहमा स्वर्ण पदक जिते, तर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानको छेउसम्म पुग्न सकेनन् । यसपटकको प्रतियोगितामा अरु नतिजा पनि अपेक्षित नै रहे । कमलनै पुरुषतर्फ उत्कृष्ट खेलाडी सावित भए भने महिलातर्फ तारादेवी पुन, तर प्रतियोगिताका स्टार खेलाडी मानिए— आर्मीका दिनेश श्रेष्ठ । उनले १ सय ५ किलोग्राम तौल समूहमा १९ वर्ष पुरानो कीर्तिमान भंग गरे । सन् १९९९ मा सम्पन्न दक्षिण एसियाली खेलकुदका क्रममा मदन शिवभक्तिले स्न्याचतर्फ कायम गरेको १ सय २० किलोको कीर्तिमान भंग गर्दै दिनेशले १ सय २१ किलोग्राम भार उचाले । 

टंकलाई दोहोरो सफलता

मध्यमाञ्चलका एमेच्योर गल्फ खेलाडी टंकबहादुर कार्कीका लागि यसपटकको राष्ट्रिय प्रतियोगिता धेरै अर्थमा सुखद रह्यो, किनभने उनले दुईवटा स्वर्ण जिते । पुरुषतर्फको व्यक्तिगत स्पर्धामा कार्की नै पहिलो भए भने उनकै टिमले टिम स्पर्धामा स्वर्ण पदक जित्यो । एकल फाइनलमा उनले पूर्वाञ्चलका प्रतिद्वन्द्वी शुक्रबहादुर राईलाई सात स्टोकले पछाडि पारेका थिए । टिम स्पर्धाको सफलतामा टंकलाई साथ दिने खेलाडी थिए— सुवास घिसिङ र सन्दीप तामाङ । 

मध्यमाञ्चललाई दुई स्वर्ण

मध्यमाञ्चल बास्केटबलतर्फ पूर्णत: हाबी रह्यो, किनभने उसको टिम पुरुष र महिला दुवैमा स्वर्ण जित्न सफल भयो । पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन आर्मीलाई हराएको थियो । महिलातर्फ भने मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई हरायो र यसअघि आफूले जितेको उपाधिको रक्षा गर्‍यो ।

आर्मीको वर्चस्व

सुटिङतर्फ आर्मीको वर्चस्व कायमै रह्यो, तर उसले क्लिन स्विप भने गर्न सकेन । चार स्पर्धामा सञ्चालित प्रतियोगितामा आर्मीले तीनवटा स्वर्ण पदक जित्यो भने एउटा स्वर्ण पदक मध्यमाञ्चलको नाममा रह्यो । 

प्रकाशित :माघ ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्