दृष्टिविहीनका रुपमा चिनिँदा अपूर्ण लाग्दैन
माघ ११, २०७४
निरन्तरको साधनाले सफलता हात पार्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेकी छिन्— गायिका मेनुका पौडेल । केही समयअघि पहिलो नेपाल आइडलको जति चर्चा भयो त्यससँगै चर्चामा आइन्— मेनुका । प्रतियोगितामा अरु सबल कलाकारभन्दा पृथक पहिचान बनाउन सफल मेनुकाले स्वरको मौलिक स्वादबाट धेरैको ध्यान खिचेकी थिइन् । नेपाल आइडलमा दर्शक–श्रोताहरूबाट निकै रुचाइएकी गायिका मेनुका प्रतिस्पर्धाको टप ११ बाटै बाहिरिइन् । आइडलमा उत्कृष्ट हुन नसके पनि साँगीतिक क्षेत्रमै सक्रिय मेनुकासँग साप्ताहिकको कुराकानी :
केमा व्यस्त हुनुहुन्छ ?
म अहिले नयाँ गीतहरूको रेकर्डिङ, देशका विभिन्न सहरमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूलगायत आफ्ना नयाँ गीतको सिर्जनामा काम गरिरहेकी छु ।
तपाईंको दिन कसरी बित्छ ?
मेरो दैनिकी सामान्य नै हुन्छ । बिहानै उठेर कलेज जान्छु । त्यसपछि कोठामा आई खाना खाएर आफ्नो समय अनुसार दुई–तीन घण्टा रियाज गर्छु । रियाजपछि केही समय आराम गर्छु । रेकर्डिङ छ भने त्यसमा व्यस्त भइन्छ, नत्र घरमै बसेर रियाज गरिन्छ ।
नेपाल आइडलमा आउनुअघि कहाँ र कस्तो अवस्थामा हुनुहुन्थ्यो ?
म सानैदेखि संगीतप्रति रुची राख्थें । मेरो परिवारका सदस्यहरूले पनि मेरो रुचीमा हौसला दिनुहुन्थ्यो । म पारिवारिकसँगै होस्टलको वातावरणमा पनि हुर्किएकी हुँ । होस्टलमा गाएको पहिलो गीतबाटै मेरो सांगीतिक यात्रा सुरु भएको थियो । म होस्टलमा आयोजना हुने कार्यक्रमहरूमा गीत गाउँथे । मैले गाएको गीतबाट सबै जना खुसी भएको अनुभव गर्थें ।
नेपाल आइडलबाट यति धेरै चर्चा पाउँछु भन्ने लागेको थियो ?
पहिलो कुरा त नेपाल आइडलमा जाने कि नजाने भन्ने नै टुङ्गो थिएन मेरो । मानिसले सोचेअनुसार जीवन चल्दैन । कहिले कहाँ कस्तो परिवर्तन आउँछ भन्न सकिँदैन । मेरो जीवनमा पनि त्यस्तै परिवर्तन भएर आइदियो नेपाल आइडल, जुन मैले कल्पना गरेकी थिइनँ । जतिबेला नेपाल आइडल सुरु हुने पक्का भयो त्यसपछि फर्म भरेकी थिएँ । अडिसन दिएँ र कार्यक्रममा सहभागी भएर अघि बढ्दै गएँ । टप ११ मा पुगेसँगै भोटिङका कारणले आउट पनि भएँ, तर मलाई दु:ख भने लागेन । मान्छेको जीवनमा जे पनि हुन सक्छ । आज मलाई नेपाल आइडलकी मेनुका भनेर देश–विदेशका नेपालीहरूले स्नेह, माया एवं हौसला दिइरहनुभएको छ ।
तपाईंलाई धेरैले चिनेका छन्, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
दर्शक–श्रोताहरूले दिएको प्रतिक्रियाले नै मलाई यो क्षेत्रमा अझ सशक्त ढंगले लाग्न प्रेरणा मिलेको छ । धेरैले मेरो प्रशंसा गर्नुहुन्छ, कतिपय कुरा आफ्नै कानले पनि सुनिरहेकी हुन्छु । कतिले अप्रत्यक्ष रुपमा मेरो कुरा गरिरहनु भएको हुन्छ । यसले मेरो काम गर्ने क्षमता बढाउँछ, मलाई खुसी दिन्छ ।
तपाईंलाई त गायिका कोइलीदेवीसँग दाँजिन्छ नि, कस्तो लाग्छ ?
वास्तवमा मलाई यो उपनाम नेपाल आइडलका निर्णायकहरूले दिनुभएको थियो । अहिले आमदर्शक–श्रोताले पनि त्यही उपनामले बोलाउनुहुन्छ, जसले गर्दा मलाई अझ उत्साह र हौसला प्राप्त हुन्छ । मलाई खुसी नै लाग्छ । यो आफूले भन्ने भन्दा पनि श्रोताहरूले मूल्यांकन गर्ने कुरा हो ।
अहिलेका चलनचल्तीका कुन गायकसँग गाउँन पाए हुन्थ्यो भन्ने लाग्छ ?
मेरा लागि अग्रज सबै गायक–गायिका बराबर हुनुहुन्छ । खासगरी राजेश पायल राई, प्रमोद खरेल, सत्य स्वरुप, रामकृष्ण ढकालहरूसँग गाउँन मन छ ।
औपचारिक शिक्षा कहिलेदेखि सुरु गर्नुभयो ?
हाम्रो परिवारमा बुबा, आमा र दुईजना दिदीबहिनी अनि म गरेर पाँच जना छौं । पाँच वर्षको उमेरदेखि झापाकै दुर्गा उच्च मा.वि.मा ब्रेल लिपीमा पढ्न थालेकी थिएँ । हाल म सिर्जना कलेज अफ फाइन आर्ट्स, लाजिम्पाटमा प्लस टुमा अध्ययनरत छु ।
तपाईं जन्मँदै दृष्टिविहिन हुनुहुन्थ्यो कि पछि यस्तो भएको हो ?
बाल्यावस्थादेखि नै आँखा देख्दिनथें । म जन्मजात नै दृष्टिविहिन हुँ । जन्मजात दृष्टिविहीनका कारण चिनिँदा न त आफूलाई अपूर्ण लाग्छ न त कुनै अप्ठ्यारो नै ।
आगामी योजना के छन् ?
हालसम्म मैले ४० वटाजति गीत गाइसकेकी छु । चाँडै नै चलचित्र ‘लिलिविली’ को गीत गाउँदै छु । त्यसका साथै आगामी दिनमा डान्सिङ गीतहरू पनि दर्शक–श्रोताहरूमाझ ल्याउने तयारीमा छु । भविष्यमा अझ सशक्त ढंगले प्रस्तुत हुने योजना छ ।
प्रकाशित :माघ ११, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्